परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई) खण्ड दुई
परमेश्वरले नोआलाई जहाज निर्माण गर्ने आज्ञा दिनुभएपछि उसलाई त्यो काम गर्न कति समय लाग्यो? (एक सय बिस वर्ष।) यी १२० वर्षमा, नोआले एउटा कुरा गर्यो: उसले जहाज बनायो र विभिन्न प्रकारका जीवित प्राणीहरू सङ्कलन गर्यो। यो एउटा मात्र कुरा भएको, धेरैवटा फरक कार्यहरू नभएको भए पनि, यही एउटा कुरामा अत्यन्तै धेरै काम समावेश थियो। त्यसोभए यसो गर्नुको उद्देश्य के थियो? उसले किन यो जहाज निर्माण गर्यो? यसो गर्नुको उद्देश्य र महत्त्व के थियो? परमेश्वरले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुँदा हरेक प्रकारका जीवित प्राणीहरू बाँच्न सकून् भनेर यसो गरिएको थियो। त्यसैले, नोआले जे गर्यो त्यो, परमेश्वरले जलप्रलयद्वारा संसारको विनाश गर्नु अघि, हरेक प्रकारका जीवित प्राणीको अस्तित्वको लागि तयारी गर्नका लागि गर्यो। अनि परमेश्वरको लागि, के यो अति जरुरी कुरा थियो? परमेश्वरको बोलीको लवज र परमेश्वरले दिनुभएको आदेशको सारबाट, के नोआले परमेश्वर अधीर हुनुहुन्छ र उहाँको अभिप्राय जरुरी छ भन्ने सुन्न सक्थ्यो? (सक्थ्यो।) उदाहरणको लागि, मानिलिऊँ तिमीहरूलाई यसो भनियो, “महामारी आउँदैछ। यो बाहिरी संसारमा फैलिन थालेको छ। तिमीहरूले गर्नुपर्ने एउटा काम छ र यो चाँडै गर्नुपर्छ: चाँडो खाना र मास्क किन। कुरा यति मात्रै हो!” तिमीहरू यसमा के सुन्छौ? के यो अत्यन्तै जरुरी छ? (हो।) त्यसोभए यो कहिले गर्नुपर्छ? के तिमीहरूले अर्को वर्ष, त्यसपछिको वर्ष, वा अहिलेदेखि धेरै वर्ष पर्खनुपर्छ? होइन—यो एउटा जरुरी काम हो, एउटा महत्त्वपूर्ण मामला हो। अरू सबै कुरालाई छोडेर पहिले यसलाई ध्यान देओ। के यी वचनहरूबाट तिमीहरूले यही सुन्छौ? (हो।) त्यसोभए परमेश्वरप्रति समर्पितहरूले के गर्नुपर्छ? तिनीहरूले गरिरहेको काम तुरुन्तै छोड्नुपर्छ। अरू कुनै पनि कुराको अर्थ हुँदैन। परमेश्वरले भर्खरै गर्नका निम्ति दिनुभएको आदेशको सम्बन्धमा उहाँ धेरै अधीर हुनुहुन्छ; तिनीहरूले यो कार्य गर्न र कार्यान्वयन गर्नको लागि कुनै समय खेर फाल्नु हुँदैन, जुन परमेश्वरको निम्ति अत्यतन्तै जरुरी छ र जसले परमेश्वरको मनलाई आतुर बनाइराख्छ; तिनीहरूले अन्य कामहरू गर्नु अघि यसलाई पूरा गर्नुपर्छ। समर्पणको अर्थ यही हो। तर यदि तैँले “महामारी आउँदैछ रे? यो फैलिरहेको छ रे? यदि यो फैलिरहेको छ भने, त्यसलाई फैलिन दिनुहोस्—त्यो हामीकहाँ फैलिरहेको छैन। यदि फैलियो भने, हामी त्यतिबेला नै त्यसको सामना गर्नेछौँ। मास्क र खाना किन्ने रे? मास्कहरू त सँधै पाइन्छन्। ती लाए पनि नलाए पनि फरक पर्दैन। हामीसँग खाना छँदै छ नि, त्यसको बारेमा किन चिन्ता गर्ने? केको हतार? महामारी यहाँ नआएसम्म पर्खौँ। हामीसँग अहिले हामीले गर्नुपर्ने अन्य कुराहरू छन्” भन्ने सोच राखेर यसलाई विश्लेषण गर्छौँ भने, के यो समर्पण हो? (होइन।) यो के हो? यसलाई समग्रमा विद्रोह भनिन्छ। अझ विशेष रूपमा भन्दा, यो उदासीनता, विरोध, विश्लेषण र जाँच हो, साथै आफ्नो हृदयमा तिरस्कार राख्नु, यो कहिल्यै हुन सक्दैन भन्ने सोच्नु र यो वास्तविक हो भनेर विश्वास नगर्नु हो। के यस्तो मनोवृत्तिमा साँचो आस्था हुन्छ? (हुँदैन।) तिनीहरूको समग्र हैसियत यो हो: परमेश्वरका वचनहरूको सन्दर्भमा र सत्यताप्रति, तिनीहरूसँग सधैँ ढिलाइ, उदासीनता, र लापरवाहीको मनोवृत्ति हुन्छ; तिनीहरूले हृदयमा यसलाई त्यति महत्त्वपूर्ण ठान्दैनन्। तिनीहरूले सोच्छन्, “हामी तपाईंले भन्नुहुने कुराहरू सुन्नेछौँ जुन सत्यतासँग र तपाईंका उच्च प्रवचनहरूसँग सम्बन्धित छन्—म तिनलाई नबिर्सिऊँ भन्नका लागि लेखेर राख्न हिचकिचाउँदिन। तर तपाईंले खाना र मास्क किन्ने सम्बन्धमा भन्नुहुने कुराहरू सत्यतासँग सम्बन्धित छैनन्, त्यसैले म तिनलाई अस्वीकार गर्न सक्छु, म मनमा तिनलाई उपहास गर्न सक्छु, र म तपाईंलाई उदासीनता र उपेक्षाको मनोवृत्तिले व्यवहार गर्न सक्छु; मैले कानले सुन्नु नै पर्याप्त हुन्छ, तर म हृदयमा जे सोच्छु त्यो तपाईंको चिन्ताको विषय होइन, यो तपाईंको चासोको विषय हुँदै होइन।” के परमेश्वरका वचनहरूप्रति नोआको मनोवृत्ति यही थियो? (थिएन।) ऊ यस्तो थिएन भनेर केले देखाउँछ? हामीले यसको बारेमा कुरा गर्नैपर्छ; यसले तँलाई परमेश्वरप्रति नोआको मनोवृत्ति पूर्ण रूपमा फरक थियो भन्ने कुरा सिकाउनेछ। यसलाई प्रमाणित गर्ने तथ्यहरू पनि छन्।
सबथोक हातैले गर्नुपर्ने र सम्पन्न गर्नुपर्ने त्यो पूर्व-औद्योगिक युगमा, प्रत्येक श्रमसाध्य कार्य धेरै कठिन र समय लाग्ने किसिमको हुन्थ्यो। जब नोआले परमेश्वरको आज्ञा सुने, जब उनले परमेश्वरले व्याख्या गर्नुभएका यावत कुराहरू सुने, उनले यो मामलाको गम्भीरता, र परिस्थितिको गहनता थाहा पाए। उनलाई परमेश्वरले संसारलाई नष्ट गर्दै हुनुहुन्छ भन्ने थाहा भयो। अनि, उहाँले किन यस्तो काम गर्दै हुनुहुन्थ्यो? किनभने मानिसहरू अत्यन्तै दुष्ट थिए, परमेश्वरको वचनमा विश्वास गर्दैनथे, र परमेश्वरको वचनलाई इन्कार समेत गर्थे, साथै परमेश्वरले त्यस मानवजातिलाई घृणा गर्नुहुन्थ्यो। के परमेश्वरले त्यस मानवजातिलाई एकदुई दिनदेखि मात्रै घृणा गर्नुभएको थियो? के परमेश्वरले आवेगमा आएर, “आज मलाई यो मानवजाति मन पर्दैन। म यो मानवजातिलाई नष्ट गर्नेछु, त्यसकारण यो काममा लाग् र मेरो लागि ठूलो जहाज बना” भनेर भन्नुभएको थियो? के यस्तो भएको थियो? होइन। परमेश्वरका वचनहरू सुनेपछि, नोआले परमेश्वरको कुरा बुझे। परमेश्वरले त्यो मानवजातिलाई एकदुई दिनदेखि मात्रै घृणा गर्दै आउनुभएको थिएन; उहाँ यसलाई नष्ट गर्न तत्पर हुनुहुन्थ्यो, ताकि मानवजातिको नयाँ सुरुवात हुन सकोस्। तर यसपटक, परमेश्वरले फेरि अर्को मानवजाति सृष्टि गर्ने चाहना गर्नुभएन; बरु उहाँले नोआ अर्को युगको मालिक, अर्थात् मानवजातिको पुर्खाको रूपमा जिउन सौभाग्यशाली बनोस् भन्ने चाहनुहुन्थ्यो। परमेश्वरले भन्नुभएको कुराको यस पक्षलाई बुझिसकेपछि, नोआले आफ्नो अन्तरात्मादेखि परमेश्वरको जरुरी अभिप्रायलाई बुझ्न सके, उनले परमेश्वरको आतुरीलाई बोध गर्न सके—त्यसकारण, जब परमेश्वरले बोल्नुभयो, त्यसलाई होसियारीसाथ, ध्यानपूर्वक र लगावका साथ सुन्नेबाहेक, नोआलाई हृदयमा केही कुरा महसुस भयो। उनलाई के महसुस भयो? त्यो आतुरी, त्यो संवेग, जुन सृष्टिकर्ताका जरुरी अभिप्रायहरूलाई बुझेपछि साँचो सृजित प्राणीले महसुस गर्नुपर्छ। त्यसकारण, परमेश्वरले जहाज बनाउने आदेश दिइसक्नुभएपछि नोआले मनमा के सोचे? तिनले सोचे, “आजदेखि, ठूलो जहाज बनाउनु जत्तिको अर्थपूर्ण कुरा अरू हुनेछैन, योभन्दा महत्त्वपूर्ण र अत्यावश्यक अरू कुनै कुरा हुनेछैन। मैले सृष्टिकर्ताको हृदयका वचनहरू सुनेको छु, मैले उहाँको जरुरी अभिप्राय थाहा पाएको छु, त्यसकारण मैले ढिलाइ गर्नु हुँदैन; परमेश्वरले भन्नुभएको र बनाउन लगाउनुभएको ठूलो जहाज मैले हतारोसाथ निर्माण गर्नुपर्छ।” नोआको मनोवृत्ति कस्तो थियो? लापरवाह हुन आँट नगर्ने मनोवृत्ति। अनि, उनले जहाज निर्माण गर्ने काम कसरी पूरा गरे? ढिलाइ नगरीकन पूरा गरे। उनले परमेश्वरले भन्नुभएको र निर्देशन दिनुभएको हरेक विवरणलाई लापरवाह वा झाराटारुवा नबनी कुनै ढिलासुस्ती नगरी, र आफ्नो सारा शक्तिले पालन गरेर पूरा गरे। समग्रमा भन्दा, नोआले सृष्टिकर्ताको आज्ञाप्रति समर्पणको मनोवृत्ति राखेका थिए। यसबारे तिनी बेपरवाह थिएनन्, र तिनको हृदयमा प्रतिरोध थिएन, न त उदासीनता नै थियो। बरु, उनले हरेक कुरालाई याद गर्ने क्रममा लगनशील भई सृष्टिकर्ताको अभिप्रायलाई बुझ्ने प्रयास गरे। उनले परमेश्वरको जरुरी अभिप्रायलाई बुझेपछि चाँडो अघि बढ्ने, परमेश्वरले उनलाई भन्नुभएको काम तुरुन्तातुरुन्ती पूरा गरिहाल्ने निर्णय गरे। “तुरुन्तातुरुन्तै” भन्नुको अर्थ के हो? यसको अर्थ पहिले एक महिना लाग्ने कामलाई जतिसक्दो कम समयमा पूरा गर्नु, फिटिक्कै लसकमसक नगरी वा अलिकति पनि आलटाल नगरी, पूरै परियोजनालाई सकेजति अघि बढाएर तोकिएको मितिभन्दा तीन वा पाँच दिनपहिले नै पूरा गर्नु हो। स्वभाविकतः, तिनी हरेक काम गर्दा, हानि र गल्तीहरूलाई कम गर्न र दोहोर्याउनुपर्ने गरी कुनै काम नगर्न सक्दो प्रयास गर्थे; तिनले हरेक काम र प्रक्रियालाई गुणस्तर सुनिश्चित गरेर तोकिएको समयमा नै राम्ररी पूरा गर्थे। यो लसकमसक नगर्ने कार्यको साँचो प्रकटीकरण थियो। त्यसोभए, तिनले लसकमसक नगरी काम गर्न सक्नुको पूर्व शर्त के थियो? (तिनले परमेश्वरको आज्ञा सुनेका थिए।) हो, यसको पूर्वसर्त र प्रसङ्ग त्यही थियो। अब, नोआले किन लसकमसक नगरी काम गर्न सके? कतिपय मानिसहरू नोआमा साँचो समर्पण थियो भनेर भन्छन्। त्यसकारण तिनमा त्यस्तो के थियो जसले गर्दा तिनले त्यस्तो साँचो समर्पण हासिल गर्न सके? (उनले परमेश्वरको हृदयबारे सोच्थे।) सही हो! हृदय हुनु भनेको यही हो! हृदय भएका मानिसहरूले परमेश्वरको हृदयबारे सोच्न सक्छन्; हृदय नभएका मानिसहरू रित्तो खबटा, मूर्ख हुन्, तिनीहरू परमेश्वरको हृदयबारे सोच्न जान्दैनन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “परमेश्वरका लागि यो जति नै आतुरी भए पनि, म वास्ता गर्दिनँ, म जसरी मन लाग्छ त्यसरी नै गर्नेछु—आखिर, म जाँगरमरुवा वा अल्छी होइन।” यस्तो मनोवृत्ति, यस्तो नकारात्मकता, सक्रियताको पूर्ण अभाव—यो परमेश्वरको हृदयबारे विचार गर्ने व्यक्ति होइन, न त उसले परमेश्वरको हृदयबारे सोच्ने तरिका नै बुझ्छ। त्यस्तो अवस्थामा, के तिनीहरूमा साँचो विश्वास हुन्छ? अवश्य नै हुँदैन। नोआले परमेश्वरको हृदयबारे सोच्थे, तिनमा साँचो विश्वास थियो, त्यसकारण तिनले परमेश्वरको आज्ञा पूरा गर्न सके। त्यसैले, परमेश्वरको आज्ञा स्वीकार गरेर केही प्रयास गर्न इच्छुक हुनु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्वरका अभिप्रायहरूबारे पनि सोचविचार गर्नैपर्छ, आफ्नो सर्वस्व सुम्पनुपर्छ र बफादार हुनैपर्छ—जसको लागि तँसँग विवेक र समझ हुनुपर्छ; मानिसहरूमा हुनुपर्ने कुरा यही हो, र नोआमा यही कुरा थियो। यदि नोआले ढिलासुस्ती गरेका भए, र तिनमा कुनै आतुरीको आभास, कुनै चिन्ता, कुनै प्रभावकारिता नभएको भए, त्यति ठूलो जहाज बनाउन नोआलाई कति वर्ष लाग्नेथियो, तिमीहरूलाई के लाग्छ? के यो १०० वर्षमा पूरा हुनेथियो? (हुनेथिएन।) निरन्तर निर्माण गर्दा पनि धेरै पुस्तासम्म लाग्नेथियो। एकतर्फ, जहाज जस्तो ठोस कुरा निर्माण गर्न वर्षौं लाग्छ; त्यति मात्र होइन, सबै जीवित प्राणीहरू सङ्कलन गर्न र खोज्नको लागि त्यति नै समय लाग्छ। के यी प्राणीहरूलाई बटुल्नु सजिलो थियो? (थिएन।) थिएन। त्यसकारण, परमेश्वरका आदेशहरू सुनिसकेपछि, र परमेश्वरको जरुरी अभिप्रायलाई बुझिसकेपछि, नोआले यो सहज पनि हुनेछैन र सरल पनि हुनेछैन भन्ने चाल पाए। उनले यो काम परमेश्वरका इच्छाहरू अनुसार पूरा गर्नुपर्छ, र परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्नुपर्छ, ताकि परमेश्वर सन्तुष्ट र ढुक्क हुनुहुनेछ, परमेश्वरको कामको अर्को चरण सहजताको साथ अघि बढ्नेछ भन्ने तिनलाई थाहा थियो। नोआको हृदय त्यस्तो थियो। अनि यो कस्तो प्रकारको हृदय थियो? यो परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हृदय थियो। जहाज निर्माणमा नोआको व्यवहारलाई हेर्दा, उनी पूर्ण रूपमा महान् आस्था भएको मानिस थिए र उनले सय वर्षसम्म परमेश्वरको वचनप्रति कुनै शङ्का गरेनन्। उनी केमा निर्भर थिए? उनी परमेश्वरप्रतिको आस्था र समर्पणमा निर्भर थिए। नोआ पूर्ण रूपमा समर्पित हुन सक्षम थिए। उनको पूर्ण समर्पणका विवरणहरू के के हुन्? उनको विचारशीलता। के तिमीहरूसँग यो हृदय छ? (छैन।) तिमीहरू धर्मसिद्धान्तहरू बोल्न र नाराहरू लगाउन सक्षम छौ, तर तिमीहरूले अभ्यास गर्न सक्दैनौ र कठिनाइहरूको सामना गर्दा तिमीहरूले परमेश्वरका आदेशहरू लागु गर्न सक्दैनौ। जब तिमीहरू कुरा गर्छौ, तिमीहरू धेरै स्पष्ट रूपमा कुरा गर्छौ, तर जब वास्तविक कार्यसम्पादनको कुरा आउँछ र तिमीहरूले केही कठिनाइ सामना गर्छौ, तब तिमीहरू नकारात्मक बन्छौ र जब तिमीहरूलाई थोरै कष्ट हुन्छ, तिमीहरू गुनासो गर्न थाल्छौ, र हार मान्न चाहन्छौ। यदि आठदश वर्षसम्म भारी वर्षा भएन भने, तिमीहरू नकारात्मक हुने थियौ र परमेश्वरलाई शङ्का गर्ने थियौ, र यदि अर्को २० वर्ष भारी वर्षा बिना नै बित्यो भने, के तिमीहरू नकारात्मक नै रहिरहने थियौ? नोआले जहाज निर्माण गर्न १०० वर्ष भन्दा बढी समय लगाए र उनी कहिल्यै पनि नकारात्मक भएनन् वा उनले परमेश्वरमा शङ्का गरेनन्, उनले जहाज निर्माण गरिरहे। नोआबाहेक अरू कसले यसो गर्न सक्थ्यो? तिमीहरूमा कस्ता कमी कमजोरीहरू छन्। (हामीसँग सामान्य मानवता वा विवेक छैन।) त्यो सही हो। तिमीहरूसँग नोआको जस्तो चरित्र छैन। नोआले कतिवटा सत्यताहरू बुझे? तिमीहरूको विचारमा के उनले तिमीहरूले भन्दा धेरै सत्यताहरू बुझे? तिमीहरूले धेरै प्रवचनहरू सुनेका छौ। परमेश्वरको देहधारणका रहस्यहरू, परमेश्वरको तीन चरणका कार्यको भित्री सत्यता, परमेश्वरको व्यवस्थापनको योजना; यी मानवजातिलाई सुनाइएका सर्वोच्च र सबैभन्दा गहिरा रहस्यहरू यिनै हुन् र यी सबै तिमीहरूलाई स्पष्ट पारिएका छन्, त्यसोभए तिमीहरूमा अझै पनि नोआको जस्तो मानवता नहुनु र तिमीहरू नोआले गर्न सक्ने काम गर्न असमर्थ हुनुको कारण के हो? तिमीहरूको आस्था र मानवता नोआको भन्दा अत्यन्तै निकृष्ट छन्! यसो भन्न सकिन्छ कि तिमीहरूसँग साँचो आस्था, वा मानवताभित्र हुनुपर्ने न्यूनतम विवेक वा समझ छैन। तिमीहरूले धेरै प्रवचनहरू सुनेका र झट्ट हेर्दा सत्यताहरू बुझेको जस्तो देखिए पनि, तिमीहरूको मानवताको गुणस्तर र तिमीहरूको भ्रष्ट स्वभाव धेरै प्रवचनहरू सुनेर वा सत्यताहरू बुझेर तुरुन्तै परिवर्तन हुन सक्दैनन्। यी कुराहरूको समझबिना, मानिसहरूले आफू प्राचीन सन्तहरूभन्दा धेरै तल्लो स्तरको नभएको महसुस गर्छन्, र मनमनै सोच्छन् “अब हामी परमेश्वरको आज्ञा पनि स्वीकार गर्दैछौँ र परमेश्वरको आफ्नै मुखबाट परमेश्वरको वचन सुन्दैछौँ। हामी परमेश्वरले हामीलाई गर्न भन्नुहुने हरेक कुरालाई पनि गम्भीरतापूर्वक लिइरहेका छौँ। सबैले यी कुराहरूमा सँगै सङ्गति गर्छन् र त्यसपछि योजना बनाउने, तैनाथ गर्ने र कामकुरा पूरा गर्ने काम गर्छन्। हामी कसरी प्राचीन सन्तहरूभन्दा फरक छौँ?” अहिले तिमीहरूले देख्ने भिन्नता ठूलो छ कि छैन? यो विशाल छ, विशेष गरी चरित्रको हिसाबले। आजका मानिसहरू धेरै भ्रष्ट, स्वार्थी र घृणित छन्! तिनीहरूलाई लाभ नहुने हो भने तिनीहरूले सिन्कोसम्म भाँच्दैनन्! असल कामकुरा गर्नु र असल कार्यहरू तयारी गर्नु तिनीहरूका लागि साह्रै थकाइलाग्दो हुन्छ! तिनीहरूमा कर्तव्य गर्ने इच्छा छ तर इच्छाशक्ति छैन, तिनीहरू कष्ट भोग्न इच्छुक छन् तर यसलाई सहन सक्दैनन्, तिनीहरू मूल्य तिर्न चाहन्छन् तर सक्दैनन्, तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक छन् तर यसलाई पूरा गर्न सक्दैनन्, र तिनीहरू परमेश्वरलाई प्रेम गर्न चाहन्छन् तर यसलाई व्यवहारमा उतार्न सक्दैनन्। यस प्रकारको मानवतामा कति कमी छ मलाई बताऊ त! यसको पूर्ति गर्न कति सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ?
हामीले भर्खरै नोआले परमेश्वरको अभिप्रायको ख्याल राखेको सन्दर्भमा सङ्गति गर्यौँ, जुन उनको मानवताको बहुमूल्य पाटो थियो। अर्को कुरा पनि छ—त्यो के हो? परमेश्वरका वचनहरू सुनेपछि, नोआले एउटा तथ्य थाहा पाए; त्यसैले पनि उनले परमेश्वरको योजना के हो भनेर थाहा पाए। योजना केवल स्मारकस्वरूप जहाज निर्माण गर्ने, वा मनोरञ्जन पार्क बनाउने वा कुनै ठूलो भवनलाई निशान बनाउने थिएन—कुरो त्यस्तो थिएन। परमेश्वरले भन्नुभएको कुराबाट, नोआलाई एउटा तथ्य थाहा भयो: परमेश्वरले यस दुष्ट मानवजातिलाई घृणा गर्नुहुन्थ्यो, र यस मानवजातिलाई जलप्रलयद्वारा नष्ट गर्नुपर्छ भनी तय गर्नुभएको थियो। यस बीचमा, अर्को युगसम्म बाँच्नेहरूलाई यस जहाजले जलप्रलयबाट बचाउने थियो; यसले तिनीहरूलाई बाँच्न मदत गर्ने थियो। अनि यस तथ्यमा प्रमुख समस्या के थियो? यो थियो कि परमेश्वरले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुने थियो र उहाँले नोआले जहाज निर्माण गरेर बाँचेको र हरप्रकारको जीवित प्राणी बाँचेको, तर मानवजाति नष्ट भएको चाहनुभयो। के यो ठूलै कुरा थियो? यो कुनै सामान्य पारिवारिक मामला थिएन, न त कुनै व्यक्ति वा जातिसँग सम्बन्धित केही सानो मामला नै थियो; बरु, यसमा एउटा ठूलै कार्य समावेश थियो। कस्तो प्रकारको ठूलो कार्य? परमेश्वरको व्यवस्थापनको योजनासँग सम्बन्धित एउटा कार्य। परमेश्वरले केही ठूलो काम गर्न लाग्नुभएको थियो, यस्तो काम जसले सम्पूर्ण मानवजातिलाई समेट्थ्यो र जुन उहाँको व्यवस्थापन, मानवजातिप्रति उहाँको मनोवृत्ति र यसको भाग्यसँग सम्बन्धित थियो। यो परमेश्वरले नोआलाई यो काम सुम्पनुहुँदा उनले थाहा पाएको तेस्रो जानकारी हो। अनि नोआले परमेश्वरका वचनहरूबाट यो कुरा सुन्दा उनको मनोवृत्ति कस्तो थियो? के त्यो विश्वास, शङ्का, वा पूर्ण अविश्वास थियो? (विश्वास।) उनले कुन हदसम्म विश्वास गरे? उनले यो विश्वास गरे भनेर कुन तथ्यहरूले प्रमाणित गर्छन्? (परमेश्वरका वचनहरू सुनेपछि, उनले तिनीहरूलाई अभ्यास गर्न थाले र परमेश्वरले भन्नु भएबमोजिम जहाज निर्माण गरे, जसको अर्थ परमेश्वरका वचनहरूप्रति उनमा विश्वासको मनोवृत्ति थियो।) नोआमा प्रदर्शन भएका सबै कुराहरूबाट—नोआले परमेश्वरले सुम्पनुभएको कुरालाई स्विकारेपछिको कार्य सम्पादन र कार्यान्वयनको तहदेखि, अन्त्यमा त्यो सम्पन्न भएको तथ्यसम्म हेर्दा—नोआलाई परमेश्वरले भन्नुभएको हरेक वचनप्रति पूर्ण विश्वास थियो भन्ने देख्न सकिन्छ। उनलाई किन पूर्ण विश्वास थियो? उनलाई कसरी शङ्का लागेन? उनले कसरी यसको विश्लेषण गर्ने प्रयास गरेनन् र हृदयमा यसलाई जाँच गर्ने प्रयास किन गरेनन्? यो केसँग सम्बन्धित छ? (परमेश्वरमाथिको आस्थासँग।) ठिक भनिस्, यो नै परमेश्वरमाथि नोआको साँचो आस्था थियो। त्यसकारण, जब परमेश्वरले बोल्नुभएका सबै कुरा र उहाँका हरेक वचनको कुरा आउँथ्यो, नोआले केवल सुन्ने र स्वीकार गर्ने काम मात्र गरेनन्; बरु उनले अन्तरात्मामा साँचो ज्ञान र आस्था राखे। परमेश्वरले उनलाई जलप्रलय कहिले हुनेछ, वा त्यो आउन कति वर्ष लाग्नेछ, वा उक्त जलप्रलय कुन स्तरको हुनेछ, वा परमेश्वरले संसारलाई नष्ट गरिसकेपछि कस्तो हुनेछ भन्नेजस्ता विभिन्न विवरणहरू नबताए पनि, नोआले परमेश्वरले भन्नुभएको सबै कुरा पहिले नै तथ्य बनिसकेका छन् भनेर विश्वास गरे। नोआले परमेश्वरको वचनलाई कथा, मिथक, केही भनाइ, वा कुनै लेखको रूपमा लिएनन्, तर उनको हृदयको गहिराइमा परमेश्वरले यो गर्न लाग्नुभएको छ र परमेश्वरले पूरा गर्न दृढनिश्चय हुनुभएको कुरालाई कसैले पनि बदल्न सक्दैन भन्ने कुरामा विश्वास गरे र उनी त्यसमा निश्चित थिए। नोआले महसुस गरे कि मानिसहरूले परमेश्वरका वचनहरू र परमेश्वरले पूरा गर्न चाहेको कुराप्रति केवल एउटा मात्र मनोवृत्ति राख्न सक्छन्, जुन यो तथ्यलाई स्वीकार गर्नु, परमेश्वरले दिनुभएको आदेशमा समर्पण गर्नु र परमेश्वरले सहयोग गर्न भन्नुहुने कार्यहरूमा सहकार्य गर्नु हो—उनको मनोवृत्ति यही थियो। अनि नोआको यस्तै—विश्लेषण नगर्ने, जाँच नगर्ने, शङ्का नगर्ने, तर हृदयको गहिराइबाट विश्वास गर्ने र त्यसपछि परमेश्वरको अपेक्षामा र परमेश्वरले पूरा गर्न चाहनुभएको कुरामा सहकार्य गर्ने निर्णय गर्ने—मनोवृत्तिकै कारणले गर्दा जहाज निर्माण र प्रत्येक प्रकारका जीवित प्राणीको सङ्कलन र अस्तित्वको तथ्य पूरा भएको थियो। यदि, परमेश्वरले जलप्रलयले संसारलाई नष्ट गर्नुहुने कुरा सुनेर नोआले शङ्का गरेका भए; यदि उनले यसलाई नदेखेको, अनि यो कहिले हुने हो भनेर थाहा नपाएको, धेरै अज्ञात कुराहरू भएको कारणले यसलाई पूर्ण रूपमा विश्वास नगर्ने आँट गरेका भए, के जहाज निर्माण गर्नेप्रति उनको मानसिकता र विश्वास प्रभावित हुने थियो, के त्यो परिवर्तन हुने थियो? (हुने थियो।) त्यो कसरी परिवर्तन हुने थियो? जहाज निर्माण गर्दा, उनले कन्जुस्याइँ गर्न सक्थे, परमेश्वरका निर्देशहरूलाई बेवास्ता गर्न सक्थे वा परमेश्वरले भन्नुभएझैँ जहाजभित्र हरेक प्रकारका जीवित प्राणीहरू भेला नगर्न सक्थे; परमेश्वरले एउटा भाले र एउटा पोथी हुनैपर्छ भन्नुभएको थियो, जसमा उनले भन्न सक्थे, “तीमध्ये केहीका लागि एउटा मात्र पोथी भए पुग्छ। म तीमध्ये केहीलाई फेला पार्न सक्दिनँ, त्यसैले तिनीहरूको बारेमा बिर्सनुहोस्। संसारलाई नष्ट गर्ने जलप्रलय कहिले हुने छ भनेर कसलाई थाहा छ र।” जहाज निर्माण गर्ने र हरप्रकारका जीवित प्राणीहरू सङ्कलन गर्ने महान् कार्य गर्न १२० वर्ष लाग्यो। यदि नोआलाई परमेश्वरका वचनहरूमा साँचो विश्वास नभएको भए के उनी १२० वर्षसम्म लागिपरेका हुन्थे? पक्कै हुने थिएनन्। बाहिरी संसारको हस्तक्षेप र आफ्ना परिवारका सदस्यहरूको विभिन्न गुनासोहरूको कारण, जो व्यक्तिले परमेश्वरका वचनहरूलाई तथ्य मान्दैन उसको लागि जहाज निर्माण गर्ने कार्य पूरा गर्न धेरै गाह्रो हुने थियो, चाहे १२० वर्ष नै किन नलागोस्। पछिल्लो पटक, मैले तिमीहरूलाई १२० वर्ष लामो समय हो कि होइन भनेर सोधेँ। तिमीहरू सबैले हो भन्यौ। मैले तिमीहरूलाई कति समय टिक्न सक्छौ भनेर सोधेँ र मैले तिमीहरूलाई १५ दिन व्यवस्थापन गर्न सक्छौ भनेर सोध्दा, तिमीहरूमध्ये कसैले पनि सक्छु भनेनौ र मेरो मन दुख्यो। तिमीहरू नोआभन्दा धेरै निकृष्ट छौ। तिमीहरू उनको एउटा रौँ बराबर छैनौ, तिमीहरूमा उनको आस्थाको दश भागको एक भाग पनि छैन। तिमीहरू कत्ति दयनीय छौ! एकातिर, तिमीहरूको मानवता र निष्ठा धेरै कम छ। अर्कोतिर, तिमीहरूमा मूलतः सत्यताको पछ्याइ नै छैन भन्न सकिन्छ। त्यसैले, तिमीहरू परमेश्वरमा साँचो आस्था राख्न असमर्थ छौ, न त तिमीहरूमा साँचो समर्पण नै छ। त्यसोभए तिमीहरू अहिले सम्म कसरी टिकिरहन सकेका छौ—मैले सङ्गति गर्दा तिमीहरू किन अझै पनि बसेर सुनिरहेका हुन्छौ? तिमीहरूमा दुईवटा पक्षहरू पाइन्छन्। एकातिर, तिमीहरू धेरैजसो अझै राम्रो बन्न चाहन्छौ; तिमीहरू नराम्रो मान्छे बन्न चाहँदैनौ। तिमीहरू राम्रो बाटो लिन चाहन्छौ। तिमीहरूसँग यो अलिकति सङ्कल्प छ, तिमीहरूसँग यो थोरै राम्रो आकाङ्क्षा छ। त्यो सँगसँगै, तिमीहरूमध्ये धेरैजसो मृत्युदेखि डराउँछौ। तिमीहरू मृत्युसँग कुन हदसम्म डराउँछौ? बाहिरी संसारमा समस्याको सानो सङ्केत देखा पर्नेबित्तिकै, तिमीहरूमध्ये आफ्नो कर्तव्य पूरा गर्न थप मिहिनेत लगाउनेहरू छौ; जब परिस्थिति शान्त हुन्छ, तिनीहरू आराममा रमाउँछन् र आफ्नो कर्तव्यमा धेरै कम मिहिनेत लगाउँछन्; तिनीहरू सधैँ आफ्नो देहलाई ध्यान दिइरहेका हुन्छन्। नोआको साँचो आस्थाको तुलनामा, तिमीहरूमा प्रकट भएको कुरामा कुनै साँचो आस्था छ? (छैन।) मलाई पनि त्यस्तै लाग्छ। थोरै आस्था भए तापनि, यो दयनीय रूपमा सानो छ र यसले परीक्षाको चुनौतीलाई सामना गर्न सक्दैन।
मैले कहिल्यै पनि कुनै कार्य बन्दोबस्त तयार गरेको छैन, तर मैले प्रायः यस प्रकारका प्रास्तावनाहरू राखिएको सुनेको छु: “अहिले, विभिन्न देशहरू गम्भीर अस्तव्यस्ततामा छन्, सांसारिक प्रवृत्तिहरू झन्-झन् दुष्ट हुँदै गइरहेका छन् र परमेश्वरले मानवजातिलाई दण्ड दिनुहुने छ; हामीले यसो-यसो गरेर आफ्नो कर्तव्यलाई स्वीकार्य स्तरमा पूरा गर्नुपर्छ र परमेश्वरप्रति आफ्नो बफादारी अर्पण गर्नुपर्छ।” “आजकाल, महामारीहरू झन्-झन् गम्भीर हुँदै जान्छन्, वातावरण झन्-झन् प्रतिकूल हुँदै जान्छ, प्रकोपहरू झन्-झन् गम्भीर हुँदै जान्छन्, मानिसहरूले रोग र मृत्युको खतरा सामना गर्छन्, र यदि हामी परमेश्वरमा विश्वास गर्छौँ र परमेश्वरसामु अझ बढी प्रार्थना गर्छौँ भने मात्र हामी प्रकोपबाट बच्ने छौँ, किनकि परमेश्वर मात्र हाम्रो आश्रय हुनुहुन्छ। आजकल, त्यस्ता परिस्थितिहरू र यस्तो वातावरणको सामना गर्दा, हामीले यसो-उसो गरेर असल कार्यहरू तयार गर्नुपर्छ र यस्ता-यस्ता काम गरेर आफूलाई सत्यताद्वारा सुसज्जित गर्नुपर्छ—यो अत्यावश्यक छ।” “यस वर्षको किराको प्रकोप अत्यन्तै गम्भीर थियो, मानवजातिले अनिकालको सामना गर्ने छ र चाँडै नै लुटपाट र सामाजिक अस्थिरताको सामना गर्ने छ, त्यसैले परमेश्वरमा विश्वास गर्नेहरू प्रार्थना गर्न र परमेश्वरको सुरक्षा माग्न बारम्बार परमेश्वरसामु आउनुपर्छ, साथै सामान्य मण्डली जीवन र सामान्य आत्मिक जीवन कायम राख्नुपर्छ।” आदि इत्यादि। त्यसपछि, प्रस्तावना बोलिसकेपछि, निश्चित बन्दोबस्तहरू सुरु हुन्छन्। हरेक पटक, यी प्रस्तावनाहरूले मानिसहरूको आस्थामा समयोचित र निर्णायक भूमिका खेलेका छन्। त्यसैले म सोच्छु, यदि यी प्रस्तावनाहरू र बयानहरू नदिने हो भने के कार्य बन्दोबस्तहरू पूरा हुने थिएनन्? यी प्रस्तावनाहरूबिना, के कार्य बन्दोबस्तहरू कार्य बन्दोबस्त हुने थिएनन्? के तिनीहरूलाई जारी गर्ने कुनै कारण हुने थिएन? यी प्रश्नहरूको जवाफ पक्कै पनि “त्यस्तो होइन” भन्ने हुन्छ। अहिले म के जान्न चाहन्छु भने, मानिसहरूले के उद्देश्य बोकेर परमेश्वरमा विश्वास गर्छन्? परमेश्वरप्रति तिनीहरूको आस्थाको महत्त्व के हो? के तिनीहरूले परमेश्वरले पूरा गर्न चाहनुभएका तथ्यहरू बुझ्छन् कि बुझ्दैनन्? मानिसहरूले परमेश्वरका वचनहरूलाई कुन रूपमा लिनुपर्छ? सृष्टिकर्ताले माग्नुहुने यावत कुराहरूलाई तिनीहरूले कुन रूपमा लिनुपर्छ? के यी प्रश्नहरू विचार गर्न योग्य छन्? यदि मानिसहरूलाई नोआको मानकमा नापिएको भए, मेरो विचारमा तिनीहरूमध्ये कोही पनि “सृजित प्राणी” उपाधिको लायक हुने थिएनन्। तिनीहरू परमेश्वरसामु आउन योग्य हुने थिएनन्। यदि आजका मानिसहरूको आस्था र समर्पणलाई नोआप्रतिको परमेश्वरको मनोवृत्ति र परमेश्वरले नोआलाई छान्नुभएको मापदण्डहरूद्वारा मापन गरिएको भए, के परमेश्वर तिनीहरूसँग सन्तुष्ट हुन सक्नुहुन्थ्यो? (सक्नुहुन्न थियो।) तिनीहरू धेरै टाढा छन्! मानिसहरू सधैँ भन्छन् कि तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् र उहाँको आराधना गर्छन्, तर यो आस्था र आराधना तिनीहरूमा कसरी प्रकट हुन्छ? वास्तवमा, यो परमेश्वरमा तिनीहरूको निर्भरता, उहाँप्रति तिनीहरूका मागहरू, साथै उहाँको विरुद्धमा तिनीहरूको साँचो विद्रोह र देहधारी परमेश्वरप्रति तिनीहरूको तिरस्कारको रूपमा प्रकट हुन्छ। के यी सबैलाई सत्यताप्रति मानवजातिको अवहेलना र सिद्धान्तको खुला उल्लङ्घनको रूपमा लिन सकिन्छ? वास्तवमा, भएकै त्यही हो—यो नै यसको सार हो। हरेक पटक कार्य बन्दोबस्तहरूमा यी शब्दहरू समावेश हुँदा, मानिसहरूको “आस्था” बढ्छ; हरेक पटक कार्य बन्दोबस्तहरू जारी हुँदा, जब मानिसहरूले कार्य बन्दोबस्तका आवश्यकताहरू र महत्त्व महसुस गर्छन् र ती पूरा गर्न सक्षम हुन्छन्, तब तिनीहरूले आफ्नो समर्पणको स्तरमा वृद्धि भएको छ, अब आफूसँग समर्पण छ भन्ने विश्वास गर्छन्—तर वास्तवमा, के तिनीहरूमा साँच्चै आस्था र साँचो समर्पण हुन्छ? नोआको मानकद्वारा नाप्दा यो कथित आस्था र समर्पण ठ्याक्कै के हो? वास्तवमा, एक प्रकारको लेनदेन हो। यसलाई कसरी सम्भवतः आस्था र साँचो समर्पण मान्न सकिन्छ? यो मानिसहरूको तथाकथित साँचो आस्था के हो? “आखिरी दिनहरू आइसकेका छन्—आशा छ कि परमेश्वरले चाँडै कार्य गर्नुहुने छ! यो कति ठूलो आशिष् हो कि परमेश्वरले संसारलाई नष्ट गर्नुहुँदा म यहाँ हुने छु, कि मैले बाँकी रहने भाग्य पाउने छु र विनाशको विध्वंस भोग्ने छैन। परमेश्वर धेरै असल हुनुहुन्छ, उहाँले मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ, परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ! उहाँले मानिसलाई धेरै माथि उठाउनुभएको छ, परमेश्वर साँच्चै परमेश्वर हुनुहुन्छ, परमेश्वरले मात्र त्यस्ता कामहरू गर्न सक्नुहुन्छ।” अनि तिनीहरूको तथाकथित साँचो समर्पण के हो? “परमेश्वरले भन्नुहुने सबै कुरा सही हुन्छ। उहाँले जे गराउनुहुन्छ त्यो गर; होइन भने, तिमी विपत्तिमा डुब्ने छौ र तिम्रो निम्ति सबै समाप्त हुने छ, तिमीलाई कसैले पनि बचाउन सक्ने छैन।” तिनीहरूको आस्था साँचो आस्था होइन र तिनीहरूको समर्पण पनि साँचो समर्पण होइन—यी झूटबाहेक अरू केही होइनन्।
आज, संसारका लगभग सबैलाई नोआले जहाज निर्माण गरेको बारेमा थाहा छ, हैन र? तर भित्री कथाबारे कति जनालाई थाहा छ? कति जना मानिसहरूले नोआको साँचो आस्था र समर्पणलाई बुझ्छन्? अनि नोआको बारेमा परमेश्वरको मूल्याङ्कन के थियो भनेर कसले जान्दछ—र चासो राख्छ? कसैले पनि यसतर्फ ध्यान दिँदैन। यसले के देखाउँछ? यसले देखाउँछ कि मानिसहरू सत्यतालाई पछ्याउँदैनन् र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। पछिल्लो पटक, मैले यी दुई व्यक्तिहरूका कथाहरूमा सङ्गति गरेपछि, के कसैले फर्केर बाइबलका यी कथाहरूका विवरणहरू पढ्यो? के तिमीहरू नोआ, अब्राहाम र अय्यूबका कथाहरू सुनेर भावुक भयौ? (हो, भयौँ।) के तिमीहरूलाई यी तीन मानिसहरूको डाह लाग्छ? (लाग्छ।) के तिमीहरू उनीहरू जस्तै हुन चाहन्छौ? (हो, चाहन्छौँ।) त्यसोभए, के तिमीहरूले उनीहरूका कथा, र उनीहरूको व्यवहारको सार, परमेश्वरप्रतिको उनीहरूको मनोवृत्ति, साथै उनीहरूको आस्था र समर्पणको बारेमा विस्तृत सङ्गतिहरू गर्यौ? यस्ता प्रकारका मानिसहरू जस्तै हुन चाहने मानिसहरूले कहाँबाट सुरु गर्नुपर्छ? मैले धेरै पहिले अय्यूबको कथा पहिलो पटक पढेको थिएँ र मलाई नोआ र अब्राहामका कथाहरूको बारेमा पनि केही समझ थियो। प्रत्येक पटक म ती तीन मानिसहरूले प्रदर्शन गरेको कुरा, परमेश्वरलेउनीहरूलाई भन्नुभएका र गर्नुभएका कुरा र उनीहरूका विभिन्न मनोवृत्तिहरूबारे पढ्दा र मनमा सोच्दा, मेरा आँसु झर्न खोज्छन्—म भावुक हुन्छु। तिनलाई पढ्दा तिमीहरूलाई चाहिँ के कुराले भावुक बनायो? (परमेश्वरको सङ्गति सुनेपछि, मैले बल्ल थाहा पाएँ कि जब अय्यूब आफ्नो परीक्षाहरूबाट गुज्रिरहेका थिए, तब उनलाई परमेश्वरले उनको निम्ति दुःख भोगिरहनु भएको छ भन्ने लाग्यो र उनले परमेश्वरले दुःख भोगेको नचाहेको हुनाले उनले आफू जन्मेको दिनलाई नै सरापे। मैले हरेक चोटि यो पढ्दा, मलाई अय्यूब साँच्चै परमेश्वरका अभिप्रायहरूप्रति विचारशील थिए भन्ने लाग्थ्यो र म धेरै भावुक हुन्थेँ।) अरू के हुनसक्छ? (नोआले जहाज निर्माण गर्दा यस्तो कठिनाइहरू भोगे, तर उनी अझै पनि परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुन सक्षम थिए। अब्राहामलाई १०० वर्षको उमेरमा एउटा बच्चा दिइयो र उनी हर्षले भरिए, तर जब परमेश्वरले उनलाई आफ्नो बच्चा अर्पण गर्न भन्नुभयो, उनी आज्ञापालन र समर्पण गर्न सक्षम भए, तर हामी त्यसो गर्न सक्दैनौँ। हामीसँग नोआ वा अब्राहामको मानवता, विवेक वा समझ छैन। म उनीहरूका कथाहरू पढ्दा प्रशंसाले भरिन्छु र उनीहरू हाम्रा लागि अनुकरणीय आदर्शहरू हुन्।) (तपाईंले पछिल्लो पटक सङ्गति गर्दा भन्नुभयो कि नोआ जहाज निर्माणमा १२० वर्षसम्म लागिपर्न सके र उनले परमेश्वरले सिद्ध रूपमा गर्नू भनेर दिनुभएका आदेशहरू पूरा गरे अनि परमेश्वरका अपेक्षाहरूलाई निराश पारेनन्। यसलाई आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिसँग तुलना गर्दा, म देख्छु कि मसँग एकाग्रता बिलकुलै छैन। यसले मलाई ग्लानि महसुस गराउँछ र भावुक पनि बनाउँछ।) तिमीहरू सबै भावुक भएका छौ, हैन र? (हो।) हामी अहिलेका लागि यस विषयमा सङ्गति गर्ने छैनौँ; हामीले नोआ र अब्राहामका कथाहरू सकाएपछि यो सबैबारे छलफल गर्ने छौँ। म तिमीहरूलाई बताउने छु कि कुन भागहरूले मलाई भावविह्वल बनायो र तिमीहरूलाई भावविह्वल बनाउने कुराहरू पनि तिनै थिए कि भनेर हेर्ने छौँ।
हामीले भर्खरै परमेश्वरमाथि नोआको साँचो आस्थाबारे सङ्गति गर्यौँ। जहाज निर्माण गर्ने उनका स्थापित तथ्यहरू नै उनको साँचो आस्था देखाउनका लागि पर्याप्त छन्। नोआको साँचो आस्था उनको हरेक काममा, उनको हरेक विचारमा र परमेश्वरले उनलाई दिनुभएको आदेशप्रति उनले देखाएको मनोवृत्तिमा प्रदर्शित हुन्छ। यो परमेश्वरमा नोआको साँचो आस्था देखाउनको निम्ति पर्याप्त छ—जुन शङ्कारहित र मिसावटमुक्त छ। परमेश्वरले जे गर्न भन्नुभएको थियो त्यो उनका आफ्नै धारणाहरूसँग मिल्दो भए पनि नभए पनि, त्यो उनले जीवनमा गर्ने योजना बनाएको कुरा भए पनि नभए पनि, साथै यो उनको जीवनका कुराहरूसँग जति बाझिए पनि, झन् यो कार्य त जतिसुकै कठिन भए पनि, उनको एउटै मनोवृत्ति थियो: स्वीकार, समर्पण र कार्यान्वयन। अन्ततः, तथ्यहरूले देखाउँछन् कि नोआले बनाएको जहाजले प्रत्येक प्रजातिका जीवित प्राणीहरू, साथै नोआको आफ्नै परिवारलाई बचायो। जब परमेश्वरले जलप्रलय ल्याउनुभयो र मानव जातिलाई नष्ट गर्न थाल्नुभयो, उक्त जहाजले नोआको परिवार र पानीमा तैरिरहेका विभिन्न प्रकारका जीवित प्राणीहरूलाई बोक्यो। परमेश्वरले चालिस दिनसम्म ठूलो जलप्रलय पठाएर पृथ्वीलाई नष्ट गर्नुभयो र नोआको आठ जनाको परिवार र जहाजमा प्रवेश गरेका विभिन्न जीवित प्राणीहरू मात्र बाँचे, अन्य सबै मानिसहरू र जीवित प्राणीहरू नष्ट भए। यी तथ्यहरूबाट के देखिन्छ? नोआमा परमेश्वरप्रति साँचो आस्था र साँचो समर्पण भएको कारण—परमेश्वरसँगको नोआको साँचो सहकार्यमार्फत—परमेश्वरले गर्न चाहनुभएको सबै कुरा साकार भयो; यो सबै वास्तविकतामा परिणत भयो। परमेश्वरले नोआको यही कुरालाई महत्त्व दिनुभयो र नोआले परमेश्वरलाई निराश पारेनन्; उनले परमेश्वरले दिनुभएको महत्त्वपूर्ण आज्ञालाई पूरा गरे र परमेश्वरले सुम्पनुभएको सबै कुरा सम्पन्न गरे। नोआ परमेश्वरको आज्ञा पूरा गर्न सक्षम हुनु एकातिर परमेश्वरको आज्ञाको कारणले थियो भने त्यो सँगसँगै यो धेरै हदसम्म परमेश्वरप्रति नोआको साँचो आस्था र पूर्ण समर्पणको कारणले पनि थियो। नोआसँग यी दुई सबैभन्दा प्रिय वस्तुहरू भएको कारण नै उनलाई परमेश्वरले प्रेम गर्नुभयो; र नोआसँग साँचो आस्था र पूर्ण समर्पण भएकोले नै परमेश्वरले उनलाई बाँकी रहनुपर्ने व्यक्ति र बाँच्न योग्य व्यक्तिको रूपमा देख्नुभयो। नोआ बाहेक सबै जना परमेश्वरको घृणाका पात्र थिए, यसको तात्पर्य तिनीहरू सबै परमेश्वरको सृष्टिमाझ जिउन अयोग्य छन् भन्ने थियो। नोआले जहाज बनाएकोबाट हामीले के देख्नुपर्छ? एउटा कुरा त, हामीले नोआको आदर्श चरित्र देखेका छौँ; नोआमा विवेक र समझ थियो। अर्को कुरा, हामीले परमेश्वरप्रति नोआको साँचो आस्था र साँचो समर्पण देखेका छौँ। यी सबै अनुकरणीय छन्। परमेश्वरको आज्ञाप्रति नोआको आस्था र समर्पणको कारणले गर्दा नै नोआ परमेश्वरको नजरमा प्रिय बने, परमेश्वरले प्रेम गर्ने सृजित प्राणी बने—जुन एक भाग्यशाली र आशिषित् कुरा थियो। त्यस्ता मानिसहरू मात्र परमेश्वरको मुहारको प्रकाशमा जिउन योग्य हुन्छन्; परमेश्वरको नजरमा, तिनीहरू मात्र जिउन योग्य छन्। जिउन योग्य मानिसहरू: यसको अर्थ के हो? यसको अर्थ ती मानिसहरू हुन् जो परमेश्वरले मानवजातिलाई प्रदान गर्नुभएको सबै कुराको आनन्द लिन योग्य छन्, परमेश्वरको मुहारको प्रकाशमा जिउन योग्य छन्, परमेश्वरका आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न योग्य छन्; यस्ता मानिसहरू परमेश्वरका प्रिय हुन्छन्, तिनीहरू साँचो सृजित मानिसहरू हुन् र ती परमेश्वरले प्राप्त गर्न चाहनुहुने जनहरू हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।