परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक) खण्ड दुई
आ. अब्राहामले इसहाकलाई बलि चढाए
अर्को सुनाउनलायक कथा छ: अब्राहामको कथा। एक दिन, दुई जना सन्देशवाहकहरू अब्राहामको घर आए, जसले तिनीहरूलाई उत्साहपूर्वक स्वागत गरे। ती सन्देशवाहकहरूलाई परमेश्वरले अब्राहामलाई एउटा छोरा प्रदान गर्नुहुनेछ भनी बताउने कार्यको जिम्मा दिइएको थियो। यो सुन्नेबित्तिकै, अब्राहाम अत्यन्तै हर्षित भए: “मेरो प्रभुलाई धन्यवाद होस्!” तर तिनीहरूको पछाडि, अब्राहामकी श्रीमती सारा हिनहिनाइन्। उनको हाँसोको अर्थ के थियो भने, “त्यो त असम्भव छ, म बुढी भएँ—मैले कसरी सन्तान जन्माउन सक्छु र? मलाई छोरा दिइन्छ अरे, कस्तो ठट्टा गरेको!” साराले त्यो कुरा विश्वास गरिनन्। के ती सन्देशवाहकहरूले साराको हाँसो सुने? (सुने।) तिनीहरूले अवश्य सुने, र परमेश्वरले पनि यो कुरा देख्नुभयो। अनि परमेश्वरले के गर्नुभयो? परमेश्वरले अदृश्य रहेर हेरिरहनुभएको थियो। सारा, अर्थात् ती अज्ञानी महिलाले यो कुरा विश्वास गरिनन्—तर के परमेश्वरले तय गर्नुभएको कुरा मानवको बाधाबाट प्रभावित हुन्छ? (हुँदैन।) यो कुनै पनि मानिसको बाधाबाट प्रभावित हुँदैन। जब परमेश्वरले केही काम गर्ने तय गर्नुहुन्छ, कतिपय मानिसले यसो भन्न सक्छन्, “म त्यसमा विश्वास गर्दिनँ, म विरोध गर्छु, इन्कार गर्छु, आपत्ति जनाउँछु, मलाई यससँग समस्या छ।” के तिनीहरूका कुरा मान्य हुन्छन्? (हुँदैनन्।) त्यसोभए जब परमेश्वरले असहमति जनाउने, केही कुरा भन्न चाहने, विश्वास नगर्ने मानिसहरू छन् भन्ने देख्नुहुन्छ, के उहाँले तिनीहरूलाई स्पष्टीकरण दिन आवश्यक हुन्छ? के उहाँले तिनीहरूलाई आफ्नो कामबारे “किन र कसरी” भनी व्याख्या गर्न आवश्यक छ? के परमेश्वरले त्यसो गर्नुहुन्छ? गर्नुहुन्न। उहाँले यी अज्ञानी मानिसहरूले के गर्छन् र भन्छन् भन्नेबारे चासो राख्नुहुन्न, तिनीहरूको मनोवृत्ति के छ भन्नेबारे वास्ता गर्नुहुन्न। परमेश्वरको हृदयमा, उहाँले जे गर्न तय गर्नुभएको हुन्छ, त्यो धेरै अघि पक्का भइसकेको हुन्छ: उहाँले गर्नुपर्ने नै यही हो। यावत् थोक र घटनाहरू परमेश्वरका हातको नियन्त्रण र सार्वभौमिकतामा हुन्छन्, जस्तै व्यक्तिले सन्तान कहिले पैदा गर्छ, त्यो कस्तो प्रकारको सन्तान हुन्छ—यो पनि परमेश्वरकै हातमा हुन्छ, यो भनिरहनै पर्दैन। जब परमेश्वरले अब्राहामलाई छोरा दिनुहुनेछ भनेर सुनाउन सन्देशवाहकहरू पठाउनुभयो, परमेश्वरले, वास्तवमा, पछि गर्ने धेरै कुराहरूको योजना धेरै अघि नै बनाइसक्नुभएको थियो। त्यो छोराले के-के जिम्मेवारीहरू लिनेछ, उसको जीवन कस्तो प्रकारको हुनेछ, उसका सन्तति कस्ता हुनेछन्—परमेश्वरले यी सबै कुरा धेरै अघि योजना गरिसक्नुभएको थियो, र त्यसमा कुनै त्रुटि वा हेरफेर हुनेथिएन। त्यसैले, के कुनै अज्ञानी महिलाको हाँसोले केही परिवर्तन गर्न सक्थ्यो त? त्यसले केही पनि परिवर्तन गर्न सक्दैनथ्यो। अनि समय आएपछि, परमेश्वरले आफूले योजना गर्नुभएको जस्तै गर्नुभयो, र यो सबै परमेश्वरले बोल्नुभएको र तय गर्नुभएको अनुसार पूरा भयो।
जब अब्राहाम १०० वर्षका भए, परमेश्वरले उनलाई एउटा छोरा दिनुभयो। १०० वर्षसम्म छोराबिना जिएकाले, अब्राहामका दिनहरू नीरस र एक्लोपनमा बितेका थिए। एउटा निसन्तान, विशेषगरी छोरा नभएको, १०० वर्षे बुढो मानिसलाई कस्तो महसुस हुन्छ? “मेरो जीवनमा केही कुराको अभाव छ। परमेश्वरले मलाई छोरा दिनुभएको छैन, र मेरो जीवन अलि एक्लो, अलि पछुतोपूर्ण लागेको छ।” तर परमेश्वरले उनलाई छोरा दिइनेछ भनेर ती दूतहरू पठाउनुहुँदा अब्राहामको मनोदशा कस्तो थियो? (हर्षित थियो।) हर्षोल्लासबाहेक, उनी प्रत्याशाले पनि भरिएका थिए। उनले परमेश्वरलाई अनुग्रहका लागि, बाँकी वर्षहरूमा उनलाई बच्चा हुर्काउन दिनुभएको अनुमतिका लागि धन्यवाद दिए। यो निकै अद्भुत कुरा थियो, र यो त्यसरी नै हुन आएको थियो। त्यसोभए उनी खुसी हुने कारणहरू के-के थिए त? (उनीसँग सन्तति थिए, उनको वंश अगाडि बढ्ने भयो।) त्यो एउटा कुरा भयो। अर्को सबैभन्दा हर्षपूर्ण कुरा पनि थियो—त्यो के थियो? (यो बच्चा परमेश्वरले व्यक्तिगत रूपमा प्रदान गर्नुभएको थियो।) ठिक भनिस्। कुनै साधारण व्यक्तिले बच्चा पाउन लाग्दा, के परमेश्वरले आएर उसलाई भन्नुहुन्छ? के उहाँले, “म व्यक्तिगत रूपमै तँलाई यो बच्चा प्रदान गर्छु जुन मैले तँलाई प्रतिज्ञा गरेको थिएँ” भन्नुहुन्छ? के परमेश्वरले यही नै गर्नुहुन्छ? गर्नुहुन्न। त्यसोभए यो बच्चाबारे के चाहिँ विशेष थियो त? परमेश्वरले दूतहरूमार्फत अब्राहामलाई व्यक्तिगत रूपमा भन्नुभयो, “१०० वर्षको उमेरमा, तैँले एउटा बच्चा पाउनेछस्, जुन परमेश्वरले व्यक्तिगत रूपमा प्रदान गर्नुहुन्छ।” यस बच्चाबारे विशेष कुरा यही थियो: ऊ परमेश्वरले भन्नुभएको, र परमेश्वरले व्यक्तिगत रूपमा दिनुभएको बच्चा थियो। यो निकै हर्षपूर्ण कुरा थियो! अनि के यस बच्चाको विशेष महत्त्व भनेको यो मानिसहरूको मनमा विचारहरूको लहर फैलाउने कारण होइन र? अब्राहामलाई यो बच्चा जन्मेको देख्दा कस्तो महसुस भयो? “अन्ततः मैले एउटा बच्चा पाएको छु। परमेश्वरका वचनहरू पूरा भएका छन्; परमेश्वरले मलाई बच्चा दिने भन्नुभएको थियो, र उहाँले साँच्चै दिनुभयो!” जब यो बच्चा जन्मियो र उनले यसलाई आफ्नै हातले समाए, उनले महसुस गरेको पहिलो कुरा भनेको, “मैले यो बच्चा मानवका हातबाट होइन, परमेश्वरका हातबाट प्राप्त गरेको हुँ। यो बच्चाको आगमन निकै सामयिक छ। उसलाई परमेश्वरले प्रदान गर्नुभएको हो, उसलाई मैले राम्ररी हुर्काउनुपर्छ, राम्ररी शिक्षित तुल्याउनुपर्छ, र उसलाई परमेश्वरको आराधना गर्ने र परमेश्वरका वचनहरू पालन गर्ने बनाउनुपर्छ, किनभने ऊ परमेश्वरबाट आएको हो।” के उनले यो बच्चालाई निकै नै प्रिय ठाने? (ठाने।) यो एउटा विशेष बच्चा थियो। त्यसमा अब्राहामको उमेर पनि जोड्दा, उनले यो बच्चालाई कति प्रिय ठाने भनी कल्पना गर्न गाह्रो हुँदैन। आफ्नो बच्चाप्रति एउटा सामान्य व्यक्तिमा हुने गर्ने ममता, कोमलता र स्नेह अब्राहाममा पनि थियो। अब्राहामले परमेश्वरले बोल्नुभएका वचनहरू विश्वास गरे, र आफ्नै आँखाले, उहाँका वचनहरू पूरा भएको देखेका थिए। उनी, यी वचनहरू बोलिएदेखि पूरा भएसम्म तिनको गवाही पनि रहेका थिए। उनले परमेश्वरका वचनहरू कति अख्तियारपूर्ण छन्, उहाँका कार्यहरू कति चमत्कारी छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले मानिसको कति ख्याल राख्नुहुन्छ भन्ने महसुस गरे। त्यो बच्चालाई हेर्दा, अब्राहामले जटिल र जोसिला भावनाहरू महसुस गरे पनि, उनको हृदयमा परमेश्वरलाई भन्नका लागि एउटै मात्र कुरा थियो। ल भन त, उनले के भने होला? (परमेश्वरलाई धन्यवाद होस्!) “मेरो प्रभुलाई धन्यवाद होस्!” अब्राहाम कृतज्ञ थिए, र उनले परमेश्वरलाई आफ्नो गहन धन्यवाद र प्रशंसा पनि अर्पण गरे। परमेश्वर र अब्राहामका लागि, यो बच्चाको असाधारण महत्त्व थियो। किनभने, परमेश्वरले अब्राहामलाई बच्चा प्रदान गर्छु भनेको क्षणदेखि नै, परमेश्वरले केही कुरा हासिल गर्ने योजना गर्नुभएको र दृढनिश्चयता लिनुभएको थियो: उहाँले यस बच्चाबाट महत्त्वपूर्ण र ठूला कुराहरू हासिल गर्न चाहनुभएको थियो। परमेश्वरका लागि यस बच्चाको महत्त्व त्यस्तो थियो। अनि अब्राहामका लागि, उनीप्रति परमेश्वरको विशेष अनुग्रहका कारणले, परमेश्वरले उनलाई बच्चा प्रदान गर्नुभएकाले, पूरै मानवजातिको इतिहासको अवधिमा, सारा मानवजातिका सन्दर्भमा, उनको अस्तित्वको मूल्य र अर्थ असाधारण थियो, साधारण छँदै थिएन। अनि कथा त्यहीँ टुङ्गिन्छ त? टुङ्गिदैन। सबैभन्दा महत्त्वपूर्ण भाग सुरु हुन बाँकी नै छ।
अब्राहामले इसहाकलाई परमेश्वरबाट प्राप्त गरेपछि, उनले इसहाकलाई परमेश्वरको आदेश र मागअनुसार हुर्काए। ती साधारण वर्षहरूभर आफ्नो दैनिक जीवनमा, अब्राहामले इसहाकलाई बलि दिन अगुवाइ गरे, र इसहाकलाई स्वर्गमा हुनुहुने परमेश्वरका कथाहरू सुनाए। बिस्तारै-बिस्तारै, इसहाकले कुराहरू बुझ्न थाले। उनले परमेश्वरलाई धन्यवाद दिने, परमेश्वरको प्रशंसा गर्ने, र आज्ञापालन गर्ने, अनि बलि चढाउने तरिकाहरू सिके। उनले भेटी कहिले चढाइन्छ, र वेदी कहाँ छ भन्ने कुरा थाहा पाए। अब, हामी कथाको मुख्य बिन्दुमा जान्छौँ। एक दिन, जब इसहाकले कुराहरू बुझ्न थाले तर उनी परिपक्व हुन बाँकी नै थिए, परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म यो बलिका लागि थुमा चाहन्नँ। बरु इसहाक नै चढा।” इसहाकलाई अत्यन्तै प्रिय ठान्ने, अब्राहाम जस्ता व्यक्तिका लागि, के परमेश्वरका वचनहरू आकाश नै खसे झैँ थिए? अब्राहामको कुरा छोडौँ, जो यति वृद्ध थिए—आफ्नो जीवनको शिखरमा रहेका कति मानिसहरूले—३० र ४० को दशकमा रहेका कति मानिसहरूले—यो खबर सुनेर सहन सक्थे? कसैले सक्थे? (सक्थेनन्।) अनि परमेश्वरका वचनहरू सुनेपछि अब्राहामको प्रतिक्रिया के थियो? “हँ? के परमेश्वरले भन्नुभएको कुरा गलत थियो? परमेश्वर कहिल्यै गलत हुनुहुन्न, त्यसोभए के मेरा बुढा कानले गलत सुनेका हुन् त? म फेरि जाँच गर्छु।” उनले सोधे, “परमेश्वर, के तपाईँले मलाई इसहाकको बलि दिन भनिरहनुभएको हो? के तपाईँ इसहाककै बलि चाहनुहुन्छ?” परमेश्वरले भन्नुभयो, “हो, ठिक भनिस्!” यो निश्चित गरेपछि, अब्राहामलाई थाहा भयो कि परमेश्वरका वचनहरू गलत थिएनन्, न त ती परिवर्तन नै हुनेथिए। परमेश्वरले भन्न खोज्नुभएको ठ्याक्कै त्यही थियो। अनि के अब्राहामलाई यो सुन्न गाह्रो भएको थियो? (थियो।) कति गाह्रो भएको थियो? अब्राहामले मनमा यसो सोचे, “यतिका वर्ष पछि, मेरो बच्चा बल्ल हुर्कन थालेको छ। यदि उसलाई जीवित बलिका रूपमा चढाइयो भने, यसको मतलब उसलाई वध गरिने थुमालाई जस्तै वेदीमा छप्काइनेछ। छप्काइनुको अर्थ उसलाई मारिनेछ, र उसलाई मारिनुको अर्थ आजदेखि म यो बच्चाबिना हुनेछु…।” अब्राहामका सोच यहाँसम्म पुगिसकेपछि, के उनले थप सोच्ने हिम्मत गरे? (गरेनन्।) किन गरेनन्? थप सोच्दा हृदयमा चक्कु रोपेझैँ झन् ठूलो पीडा हुनेथ्यो। थप सोचाइले खुसीका कुरा होइन, पीडादायी कुरा ल्याउनेथिए। बच्चालाई केही दिन वा वर्षका लागि नदेखिने गरी अन्यत्र लगिने, तर ऊ त्यहीँ हुने कुरा थिएन; यस्तो होइन कि अब्राहामले निरन्तर उसका बारेमा सोचिरहनेथिए र उसलाई ठूलो भएपछि कुनै उचित समयमा फेरि भेट्नेथिए। कुरा त्यस्तो थिएन। एकचोटि बच्चालाई वेदीमा चढाइसकेपछि, ऊ अब रहनेथिएन, ऊ फेरि कहिल्यै पनि देखिनेथिएन, परमेश्वरलाई उसको बलि चढाइनेथियो, र ऊ परमेश्वरकहाँ फर्केको हुनेथ्यो। परिस्थितिहरू पहिले जस्तै हुनेथिए। बच्चा पाउनुअघि, जीवन एक्लो थियो। यदि परिस्थितिहरू त्यसरी नै अघि बढेका भए, उसले कहिल्यै बच्चा नपाएको भए, के त्यो पिडादायी हुनेथियो? (त्यो धेरै पीडादायी हुने थिएन।) बच्चा पाउनु र त्यसपछि उसलाई गुमाउनु—त्यो अत्यन्तै पीडादायी कुरा हो। यो एक घातक कुरा हो! यो बच्चा परमेश्वरलाई फिर्ता दिनुको मतलब त्यसपश्चात त्यो बच्चा फेरि कहिल्यै देखिनेथिएन, उसको आवाज फेरि कहिल्यै सुनिनेथिएन, अब्राहामले फेरि कहिल्यै उसलाई खेलिरहेको देख्नेथिएनन्, उसलाई हुर्काउन सक्नेथिएनन्, उसलाई हँसाउन सक्नेथिएनन्, ऊ हुर्किरहेको देख्नेथिएनन्, उसको उपस्थितिले ल्याएका ती सबै पारिवारिक हर्षहरूको आनन्द लिन सक्नेथिएनन्। पीडा र तृष्णा मात्र बाँकी रहनेथ्यो। अब्राहामले त्यसबारे जति धेरै सोचे, उनलाई त्यति नै गाह्रो भयो। तर जतिसुकै गाह्रो भए पनि उनको मनमा एउटा कुरा प्रस्ट थियो: “परमेश्वरले जे भन्नुभयो र जे गर्न जाँदै हुनुहुन्छ, त्यो ठट्टा थिएन, त्यो गलत हुन सक्थेन, परिवर्तन त झनै हुन सक्थेन। यसबाहेक, बच्चा परमेश्वरबाट आएको हो, त्यसैले ऊ परमेश्वरलाई नै चढाइनुपर्छ भन्ने कुरा पूर्ण रूपमा प्राकृतिक र न्यायसङ्गत नै हो, र जब परमेश्वरले यो चाहनुहुन्छ, उसलाई बिनासम्झौता परमेश्वरकहाँ फर्काउनमा म कर्तव्यनिष्ठ छु। पारिवारिक हर्षले भरिएको विगतको दशक एक विशेष वरदान बनेको छ, जसको मैले प्रचुर आनन्द लिएको छु; मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, र परमेश्वरसँग अनुचित मागहरू गर्नु हुँदैन। यो बच्चा परमेश्वरको हो, मैले उसलाई आफ्नो भनेर दाबी गर्नु हुँदैन, ऊ मेरो व्यक्तिगत सम्पत्ति होइन। सबै मानिसहरू परमेश्वरबाट आउँछन्। यदि मलाई मेरो आफ्नै जीवन चढाउन भनियो भने पनि, मैले परमेश्वरसँग बहस गर्ने प्रयास गर्नु वा सर्तहरू राख्नु हुँदैन, परमेश्वरले व्यक्तिगत रूपमै बच्चाको घोषणा गर्नुभएको र बच्चा प्रदान गर्नुभएको खण्डमा त कुरै छाडौँ। यदि परमेश्वरले उसलाई चढाउन भन्नुभयो भने, म चढाउनेछु!”
मिनेट मिनेट, सेकेन्ड सेकेन्ड गर्दै, यसरी समय बित्दै गयो, बलि दिने क्षण झन् नजिकिँदै गयो। तर अब्राहामले, झन् दुःखी हुनुको सट्टा झन्झन् शान्त महसुस गरे। उनलाई के कुराले शान्त बनायो? के कुराले अब्राहामलाई पीडाबाट उम्कन र जे हुन लागेको थियो, त्यसप्रति सही मनोवृत्ति राख्न मद्दत गऱ्यो? उनी परमेश्वरले गर्नुभएका सबै कुराप्रति व्यक्तिमा केवल समर्पणताको मनोवृत्ति हुनुपर्छ, र परमेश्वरसँग बहस गर्ने मनोवृत्ति हुनु हुँदैन भनी विश्वास गर्थे। उनको विचार यस विन्दुमा पुगेपछि, उनलाई पीडा हुन छोड्यो। कलिलो इसहाकलाई लिएर, उनी पाइला-पाइला गर्दै, वेदीको छेउतर्फ अघि बढे। वेदीमाथि केही पनि थिएन—अरूबेला थुमाले पहिले नै पर्खिरहेको हुन्थ्यो। “बुबा, के तपाईँले आजको बलि तयार गर्न बाँकी नै छ?” इसहाकले सोधे। “होइन भने, आज केको बलि चढाइनेछ?” इसहाकले यो सोध्दा अब्राहामलाई कस्तो महसुस भयो? के यो सम्भव छ कि उनले खुसी महसुस गरे? (छैन।) त्यसोभए उनले के गरे? के उनले हृदयमा परमेश्वरलाई घृणा गरे? के उनले परमेश्वरलाई गुनासो गरे? के उनले प्रतिरोध गरे? (गरेनन्।) यी केही पनि गरेनन्। यो के कुराले देखाउँछ? त्यसपछि जे-जे भयो त्यो सबै कुराबाट अब्राहामले साँच्चै त्यस्ता कुराहरू सोचेनन् भन्ने प्रस्ट हुन्छ। उनले बाल्न लागेको दाउरा वेदीमा राखे र इसहाकलाई बोलाए। अब्राहामले इसहाकलाई वेदीमा बोलाएको दृश्य देख्दा, त्यो क्षणमा, मानिसहरू के सोच्छन्? “तिमी त कस्तो हृदयहीन बुढो मान्छे रहेछौ। तिमीमा मानवता नै छैन। तिमी मानव होइनौ! ऊ तिम्रो छोरा हो, के तिमीले साँच्चै यसो गरेर सहन सक्छौ? के तिमी साँच्चै यसो गर्न सक्छौ? के तिमी साँच्चै यति निर्दयी छौ? के तिमीमा हृदय त छ?” के तिनीहरूले सोच्ने त्यही होइन र? अनि के अब्राहामले यी कुराहरू सोचे? (सोचेनन्।) उनले इसहाकलाई आफ्नो छेउमा बोलाए र, एक शब्द पनि बोल्न नसकी, आफूले तयार पारेको डोरी निकालेर इसहाकको हात र खुट्टा बाँधिदिए। के यी कार्यहरूले यो बलि वास्तविक हुन गइरहेको थियो भन्ने सङ्केत गर्छ कि नक्कली? यो देखाउनका लागि नभई वास्तविक, अदूषित हुनुपर्थ्यो। उनले इसहाकलाई आफ्नो काँधमा उठाए, र त्यो सानो बच्चाले जतिसुकै सङ्घर्ष गरे र कराए पनि अब्राहामले कहिल्यै हार मान्ने सोचेनन्। उनले दृढतापूर्वक आफ्नो सानो छोरोलाई वेदीमा जलाउनका लागि दाउरामाथि राखे। इसहाक रोयो, चिच्यायो, फुत्किने कोसिस गऱ्यो—तर अब्राहामले परमेश्वरलाई बलि दिन कार्यहरू गर्दै थिए, बलिका लागि सबै तयारी गर्दै थिए। इसहाकलाई वेदीमा राखेपछि, अब्राहामले प्रायः थुमाहरू मार्न प्रयोग हुने चक्कु निकाले, र त्यसलाई दुवै हातले दह्रिलो गरी समातेर टाउकोमाथि उठाए, अनि इसहाकतर्फ तेर्स्याए। उनले आफ्ना आँखा बन्द गरे, र चक्कु झर्नै लाग्दा, परमेश्वरले अब्राहामसँग बोल्नुभयो। परमेश्वरले के भन्नुभयो? “अब्राहाम, आफ्नो हातलाई रोक्!” अब्राहामले इसहाकलाई परमेश्वरकहाँ फर्काउनै लागेको बेला परमेश्वरले यस्तो कुरा भन्न सक्नुहुन्छ भनी कहिल्यै कल्पना नै गरेका थिएनन्। यो उनलाई सोच्न आँट आउने कुरा नै थिएन। तर, एक-एक गरेर, परमेश्वरका वचनहरू उनको हृदयमा ठोक्किए। यसरी इसहाक बाँच्यो। त्यो दिन, वास्तवमा परमेश्वरलाई दिइने बलि अब्राहामको पछाडि थियो; त्यो एउटा थुमा थियो। यो परमेश्वरले धेरै पहिले नै तयार गरिसक्नुभएको थियो, तर परमेश्वरले अब्राहामलाई कुनै पूर्व-सङ्केत दिनुभएको थिएन, बरु उनले चक्कु उठाएर तल ल्याउन लागेकै बेला, उहाँले उनलाई रोक्न भन्नुभयो। न त अब्राहाम, न इसहाक, न कसैले यो कल्पना गर्न सक्नेथे। अब्राहामले आँटेको इसहाकको बलि हेर्दा, के अब्राहामले साँच्चै आफ्नो छोराको बलि दिने अभिप्राय राखेका थिए, कि नाटक गरिरहेका थिए? (उनले साँच्चै यसो गर्ने नै अभिप्राय राखेका थिए।) उनले साँच्चै यसो गर्ने नै अभिप्राय राखेका थिए। उनका क्रियाकलापहरू विशुद्ध थिए, त्यसमा कुनै छल समावेश थिएन।
अब्राहामले आफ्नै देह र रगत बलिका रूपमा परमेश्वरलाई चढाए—र जब परमेश्वरले उनलाई यो बलि दिन लगाउनुभयो, अब्राहामले उहाँसँग यसो भन्दै बहस गर्ने प्रयास गरेनन्, “के हामीले अरू कसैलाई प्रयोग गर्न मिल्दैन र? म नै होस् वा अरू कुनै व्यक्ति।” त्यस्ता कुराहरू भन्नुको सट्टा, अब्राहामले आफ्नो सबैभन्दा प्रिय र बहुमूल्य छोरा परमेश्वरलाई दिए। यो बलि कसरी चढाइयो? उनले परमेश्वरले भनेको कुरा सुनेका थिए, र त्यसपछि अघि सरेर त्यो काम गरिहाले। यदि परमेश्वरले अब्राहामलाई बच्चा दिनुभयो र बच्चा हुर्किसकेपछि, अब्राहामलाई बच्चा फिर्ता दिन भन्नुभयो, र बच्चालाई लैजान चाहनुभयो भने के यो कुरा मानिसहरूलाई अर्थपूर्ण लाग्थ्यो होला त? (लाग्नेथिएन।) मानव दृष्टिकोणबाट, के त्यो पूर्णतया अनुचित हुनेथिएन र? के परमेश्वरले अब्राहामसँग खेलबाड गरिरहनुभएको जस्तो देखिने थिएन र? परमेश्वरले अब्राहामलाई एक दिन यो बच्चा दिनुभयो, र केही वर्ष पछि नै, उसलाई लैजान चाहनुभयो। यदि परमेश्वरलाई त्यो बच्चा चाहिएको भए, उहाँले खुरुक्क उसलाई लिएर जानुपर्थ्यो; त्यस व्यक्तिलाई, बच्चालाई वेदीमा बलि चढाउनुपर्छ भनेर यस्तो कष्ट दिनु आवश्यक नै थिएन। बच्चालाई वेदीमा चढाउनुको अर्थ के थियो? यसको अर्थ अब्राहामले उसलाई मार्नुपर्थ्यो र त्यसपछि आफ्नै दुई हातले उसलाई जलाउनुपर्थ्यो। के यो कुनै व्यक्तिले गर्न सक्ने कुरा हो? (होइन।) परमेश्वरले यो बलि माग गर्नुहुँदा उहाँले के भन्न खोज्नुभएको थियो? कि अब्राहाम आफैले यी कामहरू गर्नुपर्छ: आफैले आफ्नो छोरालाई बाँध्नुपर्छ, आफैले उसलाई वेदीमा राख्नुपर्छ, आफैले उसलाई चक्कुले मार्नुपर्छ, र त्यसपछि आफैले उसलाई परमेश्वरलाई चढाइएको बलिका रूपमा जलाउनुपर्छ। मानवलाई, यी मध्ये कुनै पनि कुरा मानिसको भावनाको ख्याल गरिएको जस्तो लाग्दैन; तिनीहरूको धारणा, मानसिकता, नैतिक दर्शन, वा नैतिकता र चलनहरूअनुसार यी मध्ये कुनै पनि कुरा अर्थपूर्ण हुनेथिएनन्। अब्राहाम शून्यतामा जिएनन्, न त उनी काल्पनिक संसारमा नै जिउँथे; उनी मानिसको संसारमा नै जिउँथे। उनमा मानव सोच र मानव विचारहरू थिए। अनि आफूलाई यो सबै कुरा आइपर्दा उनले के सोचे? उनको पीडा बाहेक, र उनलाई अन्योलमा पार्ने केही कुराहरू बाहेक, के उनमा विद्रोह वा इन्कार थियो त? के उनले परमेश्वरलाई मौखिक रूपमै आक्रमण र गाली गरे? बिलकुलै गरेनन्। उनले ठ्याक्कै उल्टो गरे: परमेश्वरले अब्राहामलाई यो काम गर्न आदेश दिनुभएदेखिनै, उनले यसलाई हल्का रूपमा लिने आँट गरेनन्; बरु, उनले तुरुन्तै तयारी गर्न थाले। अनि यी तयारीहरू थाल्दा उनको मनस्थिति कस्तो थियो? के उनी प्रसन्न, हर्षित र खुसी थिए? कि उनी पीडित, दुःखी र भारी-मनको थिए? (उनी पीडित र दुःखी थिए।) उनी पीडित थिए! उनको हरेक पाइला गह्रौँ थियो। यस मामलाबारे सचेत भएपछि, र परमेश्वरका वचनहरू सुनेपछि, हरेक दिन अब्राहामलाई एक वर्ष जस्तै महसुस भयो; उनी दुखमय थिए, हर्षित हुनै सक्दैनथे, र उनको मन भारी भएको थियो। तथापि, उनको एउटै मात्र विश्वास के थियो? (कि उनले परमेश्वरका वचनहरू पालन गर्नैपर्छ।) त्यो सही हो, त्यो उनले परमेश्वरका वचनहरू पालन गर्नैपर्छ भन्ने थियो। उनले मनमनै भने, “मेरा प्रभु यहोवाको नाउँ धन्य होस्। म परमेश्वरका मानिसहरूमध्येको एक हुँ, र मैले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ। चाहे परमेश्वरले भन्नुहुने कुरा सही वा गलत भए पनि, र इसहाक मकहाँ जसरी आएको भए पनि, यदि परमेश्वरले माग्नुहुन्छ भने, मैले दिनैपर्छ; मानिसमा यस्तो समझ र मनोवृत्ति भेटिन जरुरी छ।” परमेश्वरका वचनहरू स्वीकार गरेपछि अब्राहाम पीडा वा कठिनाइबाट मुक्त थिएनन्; उनले पीडा महसुस गरेका थिए र उनका आफ्नै कठिनाइहरू थिए, र तिनलाई विजय गर्न सजिलो थिएन! तैपनि, अन्त्यमा के भयो? परमेश्वरले चाहनुभएअनुसार, अब्राहामले आफ्नो छोरा, एउटा सानो बच्चालाई वेदीमा ल्याए, र उनले गरेका सबै कुरा परमेश्वरले देख्नुभयो। जसरी परमेश्वरले नोआलाई हेर्नुभएको थियो, त्यसरी नै उहाँले अब्राहामको हरेक चाल हेर्नुभएको थियो, र उनले गरेका सबै कुराहरूले उहाँलाई छोएको थियो। अन्त्यमा परिस्थितिहरू कसैले सोचेको जस्तो नभए पनि, अब्राहामले जे गरे त्यो सम्पूर्ण मानवजातिमाझ अद्वितीय थियो। के उनी परमेश्वरलाई पछ्याउने सबैका लागि उदाहरण बन्नुपर्छ? (बन्नुपर्छ।) उनी परमेश्वरलाई पछ्याउने मानवजातिबीचका सबैका लागि नमुना हुन्। म किन उनलाई मानवजातिका लागि नमुना भन्छु? अब्राहामले धेरै सत्यताहरू बुझेका थिएनन्, न त उनले परमेश्वरले उनलाई नै व्यक्तिगत रूपमा भन्नुभएको कुनै सत्यता वा प्रवचनहरू नै सुनेका थिए। उनले केवल विश्वास, स्वीकार र पालन गरेका थिए। उनको मानवतामा त्यस्तो अद्वितीय कुरा के थियो? (सृजित प्राणीमा हुनुपर्ने समझ।) कुन शब्दहरूले यसलाई प्रतिबिम्बित गर्छन्? (उनले भने, “मेरो प्रभु यहोवाको नाउँ धन्य होस्; मैले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ, र ती मानिसका धारणाहरूअनुरूप भए पनि वा नभए पनि, म समर्पित हुनैपर्छ।”) यसमा, अब्राहामसँग सामान्य मानवताको समझ थियो। अझ के हो भने, उनीसँग सामान्य मानवताको विवेक पनि थियो। अनि यो विवेक चाहिँ कहाँ झल्किन्थ्यो? अब्राहामलाई थाहा थियो कि इसहाक परमेश्वरद्वारा नै प्रदान गरिएका थिए, उनी परमेश्वरको वस्तु थिए, उनी परमेश्वरकै थिए, र अब्राहामले इसहाकसँग सधैँ टाँसिरहनुको सट्टा परमेश्वरले माग्नुभएको बेलामा उनलाई परमेश्वरकहाँ फर्काउनुपर्छ; मानिससँग यस्तो विवेक हुनुपर्छ।
के आजका मानिसहरूमा विवेक र समझ छ? (छैन।) यो कुन कुराहरूमा प्रतिबिम्बित हुन्छ? परमेश्वरले मानिसहरूलाई जतिसुकै अनुग्रह प्रदान गर्नुभए पनि, र तिनीहरूले जतिसुकै आशिष् वा अनुग्रह पाए पनि, तिनीहरूलाई परमेश्वरको प्रेम चुक्ता गर्न भनिँदा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (प्रतिरोधी, र कहिलेकाहीँ कष्ट र थकानको डर मान्ने खालको हुन्छ।) कष्ट र थकानको डर मान्नु भनेको विवेक र समझको कमीको ठोस प्रकटीकरण हो। बहानाहरू बनाउनु, सर्तहरू राख्ने र मोलमोलाइ गर्ने प्रयास गर्नु पनि ठोस प्रकटीकरणहरू नै हुन्, होइन त? (हो।) गुनासो गर्ने, झाराटारुवा र धूर्त तरिकाले कामहरू गर्ने, र देहसुखको लालसा गर्ने कुराहरू पनि छन्—यी सबै ठोस प्रकटीकरणहरू हुन्। आजका मानिसहरूमा कुनै विवेक छैन, तैपनि तिनीहरू बारम्बार परमेश्वरको अनुग्रहको प्रशंसा गर्छन्, र त्यस्ता सबै अनुग्रहहरू गन्छन्, र गन्दै गर्दा भावुक भएर रुन्छन्। यद्यपि, तिनीहरूले गनिसकेपछि, कुरा त्यहीँ सक्किन्छ; तिनीहरू अझै पनि झाराटारुवा नै रहन्छन्, काम गरेजस्तो गरिरहन्छन्, छली भइरहन्छन्, धूर्त भइरहन्छन् र सुस्ताइरहन्छन्, पश्चात्तापका कुनै निश्चित प्रकटीकरणहरू देखाउँदैनन्। त्यसोभए, तैँले गन्नुको के अर्थ थियो त? यो विवेकको कमीको प्रकटीकरण हो। त्यसोभए, समझको कमी कसरी प्रकट हुन्छ? परमेश्वरले तँलाई काटछाँट गर्नुहुँदा, तँ गुनासो गर्छस्, तेरो भावनामा ठेस लाग्छ, र तँ उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नस् र परमेश्वरसँग प्रेम नै छैन भन्छस्; जब तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा अलिकति कष्ट भोग्छस्, वा जब परमेश्वरले तेरा लागि खडा गर्नुभएको वातावरण अलि कठिन, चुनौतीपूर्ण, वा गाह्रो हुन्छ, तब तैँले उप्रान्त त्यो कर्तव्य निर्वाह गर्न चाहन्नस्; र परमेश्वरले खडा गर्नुभएका विभिन्न वातावरणहरूमध्ये तँ कुनैमा पनि समर्पित हुन खोज्न सक्दैनस्, तैँले देहको मात्र ख्याल गर्छस्, र तँ केवल उम्केर छाडा दौडिन चाहन्छस्। के यो समझरहित हुनु हो कि होइन? तँ परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न चाहन्नस्, र तँ उहाँबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छस्। तैँले अलिकति काम गर्दा र थोरै कष्ट भोग्दा आफ्नो योग्यताको दाबी गर्छस्, हैसियतको फाइदा उठाएर आफूलाई अरूभन्दा माथि ठान्छस् र अधिकारी भएको रवाफ देखाउन थाल्छस्। तँमा कुनै वास्तविक काम गर्ने चाहना छैन, न त कुनै वास्तविक काम गर्न सक्ने क्षमता नै छ—तँ केवल आदेश दिन र अधिकारी बन्न चाहन्छस्। तँ नियमकानूनको धज्जी उडाउन, आफूखुसी गर्न, र जथाभाबी दुष्कर्म गर्न चाहन्छस्। उम्कनु र छाडा दौडिनु बाहेक तँमा अरू कुनै कुरा प्रकट हुँदैन। के यो समझ हुनु हो? (होइन।) यदि परमेश्वरले तिमीहरूलाई एउटा असल बच्चा दिनुभयो, र पछि उहाँले सिधै त्यो बच्चा लैजान्छु भन्नुभयो भने, तेरो मनोवृत्ति कस्तो हुनेछ? के तैँले अब्राहामको जस्तै मनोवृत्ति राख्न सक्नेथिइस्? (सक्नेथिइनँ।) कतिपय मानिसहरूले यसो भन्नेथिए, “म कसरी सक्दिनँ र? मेरो छोरो बीस वर्षको भयो, र मैले उसलाई परमेश्वरको घरमा चढाएँ, जहाँ उसले अहिले कर्तव्य निर्वाह गर्छ!” के यो बलि हो? बढीमा, तैँले बस आफ्नो बच्चालाई सही मार्गमा डोर्याएको छस्—तर तँसित एउटा गोप्य मनसाय पनि छ: तँलाई तेरो बच्चा नत्र विपत्तिमा परेर नष्ट हुन सक्छ भन्ने डर छ। यस्तो होइन र? तैँले जे गरिरहेको छस् त्यसलाई बलि दिनु भनिँदैन; यो अब्राहामले इसहाकको बलि दिएको जस्तो बिलकुलै होइन। त्यसमा कुनै तुलना नै हुँदैन। अब्राहामले परमेश्वरको आदेश सुनेपछि, उनलाई—वा मानवजातिको अर्को कुनै पनि सदस्यलाई—यो निर्देशन पालन गर्न कति कठिन हुनेथियो? यो संसारको सबैभन्दा कठिन कुरा हुनेथियो; त्योभन्दा कठिन केही हुँदैन। यो एउटा थुमा वा अलिकति पैसा जस्तो चिज चढाउने कुरा थिएन, र त्यो सांसारिक सम्पत्ति वा भौतिक वस्तु थिएन, न त त्यो बलि दिने व्यक्तिसँग कुनै सम्बन्ध नभएको जनावर नै थियो। ती त्यस्ता कुराहरू हुन् जसलाई व्यक्तिले क्षणिक प्रयासमा अर्पण गर्न सक्छ—तर परमेश्वरले त अब्राहामसँग अर्को व्यक्तिको जीवनको बलि माग्नुभएको थियो। त्यो अब्राहामको आफ्नै देह र रगतको थियो। त्यो कति गाह्रो भयो होला! त्यो बच्चाको पनि विशेष पृष्ठभूमि थियो, किनकि ऊ परमेश्वरद्वारा नै प्रदान गरिएको थियो। उनलाई बच्चा प्रदान गर्नुमा परमेश्वरको उद्देश्य के थियो? उहाँको उद्देश्य के थियो भने, अब्राहामले एउटा छोरा पाओस् जो हुर्किएर वयस्क हुनेछ, उसले विवाह गर्नेछ र छोराछोरी जन्माउनेछ, र यसरी वंश कायम राख्नेछ। तर अब, यो बच्चा वयस्कतामा पुग्नु अघि नै परमेश्वरलाई फिर्ता दिनुपर्ने थियो, र ती कुराहरू कहिल्यै हुनेथिएनन्। त्यसोभए, परमेश्वरले अब्राहामलाई सन्तान दिनुको अर्थ के थियो? के कुनै अवलोकनकर्ताले यसको कुनै अर्थ लगाउन सक्छ? मानिसहरूका धारणाहरूअनुसार, यसले कुनै अर्थ राख्दैन। भ्रष्ट मानवजाति स्वार्थी हुन्छ; कसैले पनि यसको अर्थ लगाउन सक्दैन। अब्राहामले पनि यो बुझ्न सकेनन्; परमेश्वरले उनलाई इसहाकको बलि चढाउन लगाउनुभएको कुरा बाहेक, अन्ततः, परमेश्वरले के गर्न चाहनुभएको हो भन्ने कुरा उनलाई थाहा थिएन। तसर्थ, अब्राहामले के छनौट गरे? उनको मनोवृत्ति कस्तो थियो? उनले यी सबै कुराहरू बुझ्न नसके पनि परमेश्वरको आदेशअनुसार कार्य गर्न सके; उनले परमेश्वरका वचनहरू पालन गरे र प्रतिरोध नगरी, विकल्पको माग नगरी, अनि परमेश्वरसँग सर्तहरू राख्ने वा बहस गर्ने प्रयास त झनै नगरीकन उहाँका मागका प्रत्येक वचनमा समर्पित भए। अब्राहाम सबै घटनाहरूको अर्थ लगाउन सक्षम हुनु अघि नै, आज्ञापालन गर्न र समर्पित हुन सक्षम भए—जुन एकदम दुर्लभ र प्रशंसनीय कुरा हो, र यहाँ बसिरहेका तिमीहरूमध्ये कोहीको क्षमता भन्दा बाहिरको कुरा हो। अब्राहामलाई के भइरहेको थियो भन्ने थाहा थिएन, र परमेश्वरले उनलाई पूरै कथा बताउनुभएको थिएन; तैपनि, उनले मानिसहरू परमेश्वरले जे गर्न चाहनुहुन्छ त्यसमा समर्पित हुनुपर्छ, र तिनीहरूले प्रश्नहरू सोध्नु हुँदैन, यदि परमेश्वरले थप केही भन्नुभएन भने, यो मानिसहरूले बुझ्नुपर्ने कुरा नै होइन भन्ने विश्वास बोकेर, यी सबै कुरालाई गम्भीरताका साथ लिए। कतिपय मानिसहरू भन्छन्, “पक्कै पनि, यसको गहिराइमा त पुग्नैपर्छ, हैन? मर्नै परे पनि, किन भनेर त थाहा पाउनुपर्छ।” के यो सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हो? जब परमेश्वरले तँलाई बुझ्न दिनुभएको छैन भने, के तैँले बुझ्नुपर्छ र? जब तँलाई केही गर्न भनिन्छ, तैँले त्यो काम गर्। कुरालाई किन यति जटिल बनाउनु? यदि परमेश्वरले तैँले बुझ् भन्ने चाहनुहुन्थ्यो भने, उहाँले पहिले नै तँलाई बुझाइसक्नुभएको हुनेथ्यो; उहाँले नबुझाउनु भएकाले, तैँले बुझ्नु आवश्यक छैन। जब तैँले बुझ्नु आवश्यक छैन, र जब तँ बुझ्न असक्षम छस्, तब सबथोक, तैँले कसरी कार्य गर्छस् र तँ परमेश्वरमा समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरामा भर पर्छ। यो तिमीहरूका लागि कठिन छ, हैन र? यस्ता परिस्थितिहरूमा, तिमीहरू समर्पित हुँदैनौ, र तिमीहरूमा गुनासो, गलत व्याख्या, र प्रतिरोध बाहेक केही बाँकी हुँदैन। तिमीहरूमा जे प्रदर्शन हुन्छ, अब्राहाम त्यसको ठीक विपरीत थिए। तिमीहरूलाई जस्तै, उनलाई पनि परमेश्वरले के गर्न जाँदै हुनुहुन्छ भन्ने थाहा थिएन, न त उनलाई परमेश्वरका कार्यहरूको कारण नै थाहा थियो; उनले बुझेका थिएनन्। के उनी सोध्न चाहन्थे? के उनी के भइरहेको छ भनेर जान्न चाहन्थे? चाहन्थे, तर यदि परमेश्वरले उनलाई नभन्नुभएको भए, उनी अन्यत्र कहाँ सोध्न जान सक्थे र? उनले कसलाई सोध्न सक्थे? परमेश्वरका मामिलाहरू रहस्य हुन्छन्; परमेश्वरका मामिलाहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ कसले दिन सक्छ? तिनलाई कसले बुझ्न सक्छ? मानिसहरू परमेश्वरको स्थानमा उभिन सक्दैनन्। अरू कसैलाई सोधेमा, तिनीहरूले पनि बुझ्नेछैनन्। तिमीहरूले यसबारे चिन्तन गर्न सक्छौ, तर यसको भेउ पाउनेछैनौ, यो कुरा तिमीहरूले बुझ्नै सक्नेछैनौ। त्यसोभए, यदि तिमीहरूले कुनै कुरा बुझ्दैनौ भने, के त्यसको मतलब तिमीहरूले परमेश्वरले भनेअनुसार गर्नुपर्दैन भन्ने हो त? यदि तिमीहरूले केही कुरा बुझेनौ भने, के तिमीहरूले केवल अवलोकन गर्न, विलम्ब गर्न, अवसर पर्खन र अर्को कुनै विकल्प खोज्न मिल्छ? यदि तिमीहरूले कुनै कुरा बुझ्न सक्दैनौ भने—यदि त्यो तिमीहरूले बोध गर्नै नसक्ने छ भने—के त्यसको मतलब तिमीहरू समर्पित हुनुपर्दैन भन्ने हो त? के त्यसको मतलब तिमीहरूले आफ्नो मानव अधिकारमा अडिएर “मसँग मानव अधिकारहरू छन्; म एक स्वतन्त्र व्यक्ति हुँ, त्यसैले मलाई उटपट्याङ कार्यहरू गराउने तपाईँको के अधिकार छ? म स्वर्ग र पृथ्वीको बीचमा खडा हुन्छु—म तपाइँको अवज्ञा गर्न सक्छु” भन्न सक्छौ भन्ने हो त? के अब्राहामले यही गरे? (गरेनन्।) उनले आफू केवल एक साधारण र नगण्य सृजित प्राणी, परमेश्वरको सार्वभौमिकता अन्तर्गत रहेको एक व्यक्ति भएको विश्वास गरेकाले, उनले आज्ञापालन गर्न र समर्पित हुन, परमेश्वरका कुनै पनि वचनलाई हल्का रूपमा नलिन, बरु तिनलाई तिनको सम्पूर्णतामा अभ्यास गर्न रोजे। परमेश्वरले जे भन्नुहुन्छ, र तिनीहरूलाई जे गर्न भन्नुहुन्छ, मानिसहरूसँग अर्को कुनै विकल्प नै हुँदैन। तिनीहरूले सुन्नैपर्छ, र सुनेपछि, तिनीहरूले गएर अभ्यास गर्नैपर्छ। यसबाहेक, त्यसलाई अभ्यास गर्दा, मानिसहरू पूर्ण रूपमा अनि शान्त मनका साथ समर्पित हुनुपर्छ। यदि तँ परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भनी स्विकार्छस् भने, तैँले उहाँका वचनहरू पालन गर्नुपर्छ, आफ्नो हृदयमा उहाँका लागि ठाउँ राख्नुपर्छ र उहाँका वचनहरू अभ्यास गर्नुपर्छ। यदि परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भने, उहाँले तँलाई भन्नुहुने कुरालाई तैँले विश्लेषण गर्ने प्रयास गर्नु हुँदैन; उहाँले कामकुराहरू जे-जस्ता छन् भनेर भन्नुहुन्छ, ती त्यस्तै नै हुन्छन्, र तैँले बुझ्दैनस् वा बोध गर्दैनस् भन्ने कुराले फरक पार्दैन। महत्त्वपूर्ण कुरा के हो भने, उहाँले जे भन्नुहुन्छ, तैँले त्यसलाई स्वीकार गर्नुपर्छ र तँ त्यसमा समर्पित हुनुपर्छ। परमेश्वरका वचनहरूको कुरा आउँदा अब्राहामको मनोवृत्ति यही थियो। अब्राहाममा यही मनोवृत्ति भएकै कारण उनले परमेश्वरका वचनहरू पालन गर्न सके, परमेश्वरले उनलाई दिनुभएको आदेशमा समर्पित हुन सके, र परमेश्वरको नजरमा धर्मी र सिद्ध व्यक्ति बन्न सके। ती सबै अभिमानी र घमण्डी मानिसहरूका नजरमा, अब्राहाम आफ्नो आस्थाका लागि आफ्नै छोराको जीवनलाई बेवास्ता गरेर, उसलाई मार्न सहजै वेदीमा राखेर मूर्ख र अलमल्ल देखिएको तथ्यको बाबजुद पनि उनी त्यस्तो व्यक्ति बन्न सके। तिनीहरूले सोचे, त्यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण कार्य थियो; उनी कस्तो अयोग्य र हृदयहीन बुबा रहेछन् र आफ्नो आस्थाका लागि यस्तो काम गर्नुमा उनी कति स्वार्थी रहेछन्! सबै मानिसहरूका नजरमा अब्राहाम यस्तै देखिन्थे। तर, के परमेश्वरले उनलाई यसरी नै हेर्नुभयो? हेर्नुभएन। परमेश्वरले उनलाई कसरी हेर्नुभयो? अब्राहाम परमेश्वरले भन्नुभएका कुराहरू पालन गर्न र तिनमा समर्पित हुन सक्षम थिए। उनी कुन हदसम्म समर्पित हुन सक्षम थिए? उनले बिनासम्झौता त्यसो गरे। जब परमेश्वरले उनको सबैभन्दा बहुमूल्य कुरा माग्नुभयो, अब्राहामले परमेश्वरलाई त्यो फिर्ता दिए, परमेश्वरका लागि त्यसलाई चढाइदिए। परमेश्वरले अब्राहामबाट माग गर्नुभएका सबैकुरा उनले पालन गरे र उनी तिनमा समर्पित भए। चाहे मानिसका धारणाबाट हेर्दा होस् वा भ्रष्टहरूको नजरबाट हेर्दा होस्, परमेश्वरको अनुरोध अत्यन्तै अनुचित देखिन्थ्यो, तैपनि अब्राहाम समर्पित हुन सके; यो उनको निष्ठा थियो, जसमा साँचो आस्था र परमेश्वरप्रतिको समर्पणता थियो। यो साँचो आस्था र समर्पणता कसरी प्रतिबिम्बित हुन्थ्यो? यो केवल दुई शब्दमा प्रतिबिम्बित हुन्थ्यो: उनको आज्ञापालन। एउटा साँचो सृजित प्राणीसँग यो भन्दा बहुमूल्य वा मूल्यवान् कुरा केही हुँदैन, र योभन्दा दुर्लभ र सराहनीय कुरा केही हुँदैन। आजका परमेश्वरका अनुयायीहरूमा नहुने भनेको ठ्याक्कै यही सबैभन्दा बहुमूल्य, दुर्लभ र सराहनीय कुरा नै हो।
आजका मानिसहरू शिक्षित र ज्ञानवान् छन्। तिनीहरू आधुनिक विज्ञान बुझ्छन्, साथै परम्परागत संस्कृति र पतित सामाजिक संस्कारहरूद्वारा गहिरो रूपमा सङ्क्रमित, परिबन्धित र प्रभावित भएका छन्; तिनीहरूको दिमागमा विचारहरूको आँधी चल्छ, तिनीहरूमा धारणाहरूका भुलभुलैया छन्, र भित्री रूपमा, तिनीहरू पूर्ण रूपमा अव्यवस्थित अवस्थामा छन्। तिनीहरूले धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, र परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनी स्वीकार र भरोसा गर्दै गर्दा, तिनीहरू अझै पनि परमेश्वरका प्रत्येक वचनहरूप्रति तिरस्कार र बेपरवाह मनोवृत्ति राख्छन्। तिनीहरूको यी वचनहरूप्रतिको मनोवृत्ति भनेको तिनलाई बेवास्ता गर्नु हो; तिनलाई नदेखेझैँ र नसुनेझैँ गर्नु हो। यो कस्तो प्रकारको व्यक्ति हो? तिनीहरूले सबै कुराबारे “किन” भन्ने प्रश्न गर्छन्; तिनीहरूलाई सबै कुरा पत्ता लगाउनुपर्ने र सबै कुरा राम्ररी बुझ्नुपर्ने आवश्यकता महसुस हुन्छ। तिनीहरू सत्यताबारे निकै गम्भीर देखिन्छन्; तिनीहरूका बाहिरी व्यवहार र मेहनतहरू, र बाहिरी रूपमा तिनीहरूले त्याग्ने कुराहरूले परमेश्वरमाथिको आस्था र विश्वासप्रति तिनीहरूको अदम्य मनोवृत्तिको सङ्केत गर्छन्। यद्यपि, तिमीहरूले आफैलाई यो कुरा सोध: के तिमीहरू परमेश्वरको वचन र उहाँको हरेक निर्देशनमा अडिग रहेका छौ? के तिमीहरूले ती सबै लागु गरेका छौ? के तिमीहरू आज्ञाकारी व्यक्ति हौ? यदि, तैँले आफ्नो हृदयमा, यी प्रश्नहरूको “होइन” र “छैन” भन्ने जवाफ दिइरहन्छस् भने, तँसित कस्तो प्रकारको विश्वास छ त? तैँले वास्तवमा के उद्देश्यले परमेश्वरमा विश्वास गर्छस्? उहाँप्रतिको आस्थाबाट तैँले केचाहिँ पाएको छस्? के यी कुराहरू खोजबिन गर्न योग्य छन्? के ती अनुसन्धान गर्न योग्य छन्? (छन्।) तिमीहरू सबैले चस्मा लगाउँछौ; तिमीहरू आधुनिक, सभ्य मानिसहरू हौ। तिमीहरूमा वास्तवमा आधुनिक कुरा चाहिँ के छ? तिमीहरूमा सभ्य कुरा चाहिँ के छ? के “आधुनिक” र “सभ्य” हुनुले तँ परमेश्वरका वचनहरू पालन गर्ने व्यक्ति होस् भनेर प्रमाणित गर्छ? यस्ता कुराहरूले कुनै अर्थ राख्दैनन्। कतिपय मानिसहरू भन्छन्, “म निकै शिक्षित छु, र मैले ईश्वरशास्त्र अध्ययन गरेको छु।” कतिले भन्छन्, “मैले शास्त्रीय बाइबल धेरै पटक पढेको छु, र म हिब्रू बोल्छु।” कतिले भन्छन्, “म धेरै पटक इस्राएल गएको छु, र प्रभु येशूले बोक्नुभएको क्रूसलाई आफैले छोएको छु।” कतिले भन्छन्, “म आरारात पर्वतमा गएको छु र मैले जहाजका अवशेषहरू देखेको छु।” कोही भन्छन्, “मैले परमेश्वरलाई देखेको छु” र “म परमेश्वरसामु माथि उचालिएको छु।” यो सबको के काम र? परमेश्वरले तँबाट कुनै कठिन कुरा माग गर्नुहुन्न, केवल तैँले उहाँका वचनहरूलाई इमानदारीपूर्वक पालन गर् भन्ने माग गर्नुहुन्छ। यदि यो तेरो क्षमता बाहिर छ भने, अरू सबथोक बिर्सिदे; तैँले भनेको केही पनि काम लाग्नेछैन। तिमीहरू सबैलाई नोआ र अब्राहामका कथाहरू थाहा छ, तर केवल कथाहरू जान्नु आफैमा बेकार हो। के तिमीहरूले ती दुई व्यक्तिहरूमा सबैभन्दा दुर्लभ र सराहनीय कुरा के थियो भनेर कहिल्यै सोचेका छौ? के तिमीहरू उनीहरू जस्तै बन्ने इच्छा राख्छौ? (राख्छौँ।) तिमीहरू यसको कुन हदसम्म इच्छा गर्छौ? कतिपय मानिसहरू भन्छन्, “मलाई उनीहरूजस्तै हुने एकदमै इच्छा छ; खाँदा, सपना देख्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरका वचनहरू पढ्दा, र भजन सिकिरहँदा, म त्यसैको बारेमा सोच्छु। मैले त्यसका लागि धेरै पटक प्रार्थना गरेको छु, र भाकल समेत लेखेको छु। यदि मैले परमेश्वरका वचनहरू पालन नगरेमा उहाँले मलाई सराप दिनुहोस्। मलाई परमेश्वरले मसँग कहिले बोलिरहनुभएको छ भनेर थाहा नहुने मात्र हो; यस्तो होइन कि उहाँले मलाई आकाशमा गर्जनसहित भन्नुहुन्छ।” यो सबको के काम? तैँले “मलाई एकदम इच्छा छ” भन्नुको अर्थ के हो? (यो केवल एउटा मिथ्या कामना हो; यो केवल एउटा आकाङ्क्षा हो।) आकाङ्क्षाको के काम छ? यो त एउटा जुवाडे जस्तै हो जो हर दिन क्यासिनो जान्छ; उसले सबथोक गुमाएपछि पनि, ऊ अझै जुवा खेल्न चाहन्छ। कहिलेकाहीँ उसले यसो सोच्ला, “एकपटक मात्र कोसिस गर्छु, अनि म छोड्ने र फेरि कहिल्यै जुवा नखेल्ने प्रतिज्ञा गर्छु।” चाहे सपना देखिरहेको होस् वा खाइरहेको होस्, उसले एउटै कुरा सोचिरहन्छ, तर त्यसबारे सोचेपछि, ऊ अझै फर्केर क्यासिनोमै जान्छ। प्रत्येक चोटि जुवा खेल्दा, उसले त्यो नै अन्तिम पटक हो भन्छ; र प्रत्येक चोटि क्यासिनोको ढोकाबाट निस्किँदा, ऊ कहिल्यै फर्केर नआउने भन्छ—तर जीवनभर प्रयास गर्दा पनि, उसले कहिल्यै छोड्न सक्दैन। के तिमीहरू त्यो जुवाडे जस्तै छौ? तिमीहरू बारम्बार कामकुरा गर्ने सङ्कल्प गर्छौ अनि आफ्ना सङ्कल्पहरू अस्वीकार गर्छौ, परमेश्वरलाई धोका दिने त तिमीहरूको प्रवृत्ति नै हो, र यसलाई परिवर्तन गर्न सजिलो छैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।