परिशिष्ट एक: सत्यता के हो (खण्ड छ)

“कहिल्यै हार नमान्नु” भन्ने भनाइ मानिसहरूले आफू शैतानी स्वभावद्वारा निर्देशित हुँदा भन्ने कुरा हो, र यो शैतानी संसारले वकालत गर्ने मानसिकता हो। हामी यस मानसिकतालाई केका रूपमा हेर्छौँ? (मानसिक रोगका रूपमा।) यो जिउन र कामकुरा गर्नका लागि मानिसहरूमा हुने एक प्रकारको सोचाइ र सिद्धान्त हो, जसलाई मानसिक रोग लागेका मानिसहरूले वकालत गर्छन्। यसले मानिसहरूलाई आफ्नै‍ कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू पूरा गर्नका लागि हरसम्भव उपायहरू प्रयोग गर्न, जस्तोसुकै परिस्थिति भए पनि कहिल्यै निरुत्साहित नहुन, “दृढ रहो र कहिल्यै नत्याग” भन्ने सिद्धान्तअनुसार कामकुरालाई पछ्याउन, अनि आफ्ना चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू उचित छन् कि छैनन् भनेर विश्लेषण नगर्न उक्साउँछ र उत्प्रेरित गर्छ; तिनीहरूमा यो मानसिकता छ भने, त्यो प्रशंसायोग्य हुन्छ। यदि कुनै व्यक्तिले मानवजातिलाई लाभ पुग्ने केही कुरा अनुसन्धान गरेको, कहिल्यै हार नमानेको, असफलताद्वारा निरुत्साहित नभएको, सकारात्मक दिशामा प्रगति गरिरहेको, र मानिसहरूले भविष्यमा अझ राम्रो जीवन जिउन सकून् भनी अनुसन्धान गरिरहेको भए, यो केही मात्रामा प्रशंसनीय हुनेथियो। तथापि, के मानवजातिले यस संसारमा पछ्याउने लक्ष्य यही हो? कसले निस्वार्थ भावले मानवजातिको भलाइका लागि यस्ता कुराहरू गर्छ? कसैले गर्दैन। कतिपय मानिसले बाहिरी रूपमा मानवजातिका लागि राम्रो गरेका नाममा कामकुरा गरे पनि, त्यसको पछाडि तिनीहरूले आफ्नै ख्याति र व्यावसायिक उपलब्धिका लागि त्यो गरिरहेका हुन्छन्, ताकि तिनीहरूको नाम इतिहासमा लेखियोस्। तिनीहरूका उद्देश्यहरू यिनै हुन्, र यीमध्ये कुनै पनि उद्देश्य उचित छैनन्। यी कुराबाहेक, कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूलाई के गर्न निर्देशित गर्छ? सर्वप्रथम, कहिल्यै हार नमान्ने मानसिकताले मानिसहरूको सीमा र नैसर्गिक प्रवृत्तिलाई चुनौती दिन्छ। उदाहरणका लागि, खेलमैदानमा एक व्यक्तिले तीन पल्टनबाजी लगाउँछ र उसको मुटुले त्यो सहन सक्दैन, तर ऊ भन्छ, “म कहिल्यै हार मान्दिनँ। मैले आफ्नो सीमा र गिनिज वर्ल्ड रेकर्डलाई चुनौती दिनैपर्छ। म दस पल्टनबाजी लगाउनेछु!” परिणामस्वरूप, आठौँ पल्टनबाजी लगाएपछि ऊ मर्छ। यदि यस मानसिकताले उसलाई यसो गर्न उत्प्रेरित नगरेको भए के हुन्थ्यो? (उसले त्यो आफ्नो क्षमताअनुसार गर्नेथियो।) ठिक भनिस्। परमेश्‍वर मानिसहरूले के गरून् भन्ने माग गर्नुहुन्छ? परमेश्‍वर मानिसहरू सामान्य मानवतामा जिऊन् भन्ने माग गर्नुहुन्छ, र मानिसहरूलाई कमजोरी राख्न अनुमति दिनुहुन्छ। मानिसहरूको नैसर्गिक प्रवृत्ति र अङ्गहरूले सहन सक्ने सीमा हुन्छ। मानिसहरू आफूले कुन स्तर हासिल गर्न सक्छु भनेर स्पष्ट हुनुपर्छ। के त्यो व्यक्ति उसले लगातार दस पल्टनबाजी लगाउँदा के नतिजा हुन्छ भन्नेबारे स्पष्ट थियो? ऊ यसबारे स्पष्ट थिएन, र उसले त्यो अन्धाधुन्ध गरेको र आफ्नो सीमालाई चुनौती दिएको थियो, त्यसोभए, उसको मृत्यु हुनुमा कसको दोष थियो? (उसैको दोष थियो।) त्यस व्यक्तिले दस पल्टनबाजी लगाउने प्रयास गर्नुको स्रोत शैतानले सधैँ उसलाई यसो भन्दै उत्प्रेरित गरिरहनु थियो, “तैँले कहिल्यै हार मान्नै हुँदैन। पाँच पल्टनबाजी लगाएपछि हार मान्नु दयनीय कुरा हो। तैँले आठ पल्टनबाजी लगाउनुपर्छ!” उसले सोच्यो, “आठले पनि पुग्दैन। म दस पल्टनबाजी लगाउनेछु!” परिणामस्वरूप, आठौँ पल्टनबाजी लगाएपछि उसको मुटुको धड्कन रोकियो र सास चल्न छोड्यो। के उसलाई शैतानले खेलाएको थिएन र? अवश्य नै, हामी यसलाई उदाहरणका रूपमा मात्र प्रयोग गरिरहेका छौँ; बिस पल्टनबाजी लगाउँदा पनि कुनै समस्या नहुने कुनै व्यक्ति हुन सक्छ। जब मानिसहरूमा लडाइँ गर्न यो कहिल्यै हार नमान्ने इच्छा हुन्छ, तब तिनीहरू बारम्बार लडाइँ गर्छन् र आफ्नो ज्यान फाल्न पुग्छन्। यदि तिनीहरूले आफ्नो ज्यान फाल्छन् तर कुनै दुष्टता गरेका हुँदैनन् भने त्यो अलि राम्रो परिदृश्य हो। त्यसो हो भने तिनीहरूले अर्को जुनीमा व्यक्तिका रूपमा पुनर्जन्म पाउने मौका पाउन सक्छन्, र फेरि व्यक्ति बन्दा कस्तो हुन्छ भन्ने कुराको स्वाद पाउन सक्छन्। तर, कतिपय मानिसहरूले ठूलो दुष्टता गरेका हुन्छन् र त्यसले विपत्ति पैदा गरेको हुन्छ, त्यसैले तिनीहरूले कैयौँ जुनीसम्म त्यसको भयानक मूल्य चुकाउनैपर्छ; तिनीहरूले त्यसको क्षतिपूर्ति गरिरहनैपर्छ, र हरेक जुनीमा कष्ट भोग्नैपर्छ। यदि तिनीहरूले यस जुनीमा त्यो सबको क्षतिपूर्ति गर्दैनन् भने, अर्को जुनी छँदै छ, र तिनीहरूलाई त्यो सबको क्षतिपूर्ति गर्न कति जुनी लाग्नेछ भन्ने कुरा अज्ञात छ। परिणाम यही हो।

कतिपय मानिस सुसमाचार प्रचार गर्न असफल हुँदा त्यो स्विकार्न मान्दैनन्, र भन्छन्, “म कहिल्यै हार मान्दिनँ। मैले यसपाली कसैलाई विश्‍वासमा ल्याइनँ—म असफल भएँ। अर्कोपटक म असफल हुन मिल्दैन। म अवश्य नै परमेश्‍वरको गवाही हुनैपर्छ, र विजयी हुने बालक बन्नैपर्छ!” मानिसहरूमा यो सङ्कल्प हुनु राम्रो हो, तर तिनीहरूले “कहिल्यै हार नमान्नु” भन्ने शब्दहरू भन्न सक्ने तथ्यचाहिँ के हो नि? यो कस्तो स्वभाव हो? के यो प्रधान स्वर्गदूतको स्वभाव होइन र? के परमेश्‍वरले तिनीहरूलाई यसरी गवाही दिन लगाउनुभएको हो? के तिनीहरू सत्यता बुझ्छन्? के तिनीहरूले जे गरिरहेका छन् त्यो परमेश्‍वरको गवाही दिनु हो? तिनीहरूले परमेश्‍वरको बेइज्जत गरिरहेका छन्। तिमीहरूलाई यिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? (लट्ठक।) तिनीहरू लट्ठक हुन्। तिनीहरू सत्यता बुझ्दैनन्, तैपनि परमेश्‍वरको गवाही दिन्छौँ भनेर भन्छन्—यदि तिनीहरूले परमेश्‍वरलाई बेइज्जत नगरेका भए त्यो नै पर्याप्त हुनेथियो। “कहिल्यै हार नमान्नु” कस्ता प्रकारका शब्दहरू हुन्? यी शब्दहरूको अर्थ के हो? तिनको अर्थ कहिल्यै हार नस्विकार्नु हो। वास्तवमा, यी मानिसहरू असफल भएका हुन्छन्, तर आफूले असफलता नस्विकारेर मानसिक विजय हासिल गरेको छु भन्ने सोच्छन्। सबै गैरविश्‍वासी मानिसहरूले धेरै असफलता भोगेपछि पनि निरन्तर सङ्घर्ष गर्ने, र आफूलाई जति धेरै रोकावट आइपऱ्यो त्यति नै धेरै साहसी हुँदै जाने मानसिकतालाई उच्च सम्मान गर्छन्। यदि तैँले यस्तो मानसिकता राख्ने गर्थिस् र उद्देश्य हासिल गर्नका लागि सङ्घर्ष गर्न यस्तो मानसिकतामा भर पर्ने गर्थिस् भने, के यो लज्जास्पद कुरा होइन र? “कहिल्यै हार नमान्नु” भन्ने शब्दहरूले मुख्यतः मानिसहरूको भ्रष्ट स्वभावका कुन पक्षहरू देखाउँछन्? यी शब्दहरूले मानिसहरूको सारका कुन पक्षहरूको प्रतिनिधित्व गर्न सक्छन्? के यस्ता आत्मसमर्पण गर्नुभन्दा बरु मर्ने र हार स्विकार्नुअघि बरु मर्ने यस्ता मानिसहरू अहङ्कारी र समझहीन होइनन् र? मानिसहरू यस हदसम्म अहङ्कारी हुन सक्ने, र हार स्विकार्नुभन्दा बरु मर्ने तथ्य समझ नहुने समस्या मात्र होइन; तिनीहरूमा अपराध गर्न उद्धत मानिसमाझैँ बुद्धिको पनि अलि कमी हुन्छ। कतिपय मानिस भन्छन्, “के तिनीहरू जवान र लापरवाह भएकाले यस्तो हुन्छ?” एउटा सम्बन्ध त छ। समाजमा एउटा लोकप्रिय भनाइ छ: “जित्नका लागि तिमीले सबथोक दाउमा राख्नैपर्छ।” यसले त रिसाहा युवाजस्तो जवान मानिसहरूको सबथोक दाउमा राख्ने मानसिकतालाई प्रतिनिधित्व गर्छ। “यदि तँ आफ्नो जीवन जोखिममा पार्न इच्छुक छस् भने, तैँले कुनै पनि कुरा हासिल गर्न सक्छस्”—कहिल्यै हार नमान्ने मानसिकता यही हो। के वृद्ध मानिसहरूसँग यस्तो जोस हुन्छ? तिनीहरूसँग पनि हुन्छ। हेर् त, सबै राजनीतिक वृत्त व्यावहारिक रूपमा वयस्क र वरिष्ठहरू मिलेर बनेका हुन्छन्—प्रतिद्वन्द्व उग्र हुन्छ! मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू सबैमा धेरथोर मात्रामा यस्तो मानसिकता हुन्छ। तिनीहरू वृद्ध वा जवान हुनुसँग यसको त्यति सम्बन्ध हुँदैन, तर त्यो सिधै तिनीहरूको स्वभावसँग जोडिएको हुन्छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरिस् र सत्यता बुझिस् भने, यस मामिलालाई स्पष्टसँग देख्नेछस्, र यस्तो मानसिकता सत्यता सिद्धान्तहरूअनुरूप छैन र त्यो भ्रष्ट स्वभाव हो भनेर थाहा पाउनेछस्। यदि तँ सत्यता बुझ्दैनस् भने, यो मामला प्रस्टसित बुझ्न सक्नेछैनस् र सोच्नेछस्, “लड्ने इच्छा हुनु राम्रो हो; यो उचित हो। मानिसमा अलिकति लड्ने इच्छा छैन भने तिनीहरू कसरी जिउन सक्छन्? यदि तिनीहरूमा अलिकति लड्ने इच्छा छैन भने, तिनीहरूसित जिउने कुनै जोस बाँकी हुनेछैन। त्यसपछि जिउनुको के अर्थ रहन्छ? तिनीहरू हरेक प्रतिकूल परिस्थितिप्रति झुक्छन्—त्यो कति कमजोर र डरपोक हुनु हो!” सबै मानिसहरू आफू जीवित रहुञ्जेल इज्जतको लागि लड्नैपर्छ भन्ने सोच्छन्। तिनीहरू इज्जतको लागि कसरी लड्छन्? “लडाइँ” भन्ने शब्दलाई जोड दिएर। तिनीहरूलाई जुनै परिस्थिति आइलागे पनि, तिनीहरू लडाइँ गरेर आफ्ना लक्ष्यहरू पूरा गर्ने कोसिस गर्छन्। कहिल्यै हार नमान्ने मानसिकता “लडाइँ” शब्दबाट आउँछ। नास्तिकहरूले सबैभन्दा बढी श्रद्धा गर्ने कुरा लडाइँ गर्ने जोस हो। तिनीहरू स्वर्गसँग लडाइँ गर्छन्; तिनीहरू पृथ्वीसँग लडाइँ गर्छन्; तिनीहरू अरू मानिसहरूसँग लडाइँ गर्छन्—तिनीहरूलाई सबैभन्दा बढी खुसी पार्ने कुरा यही हो। तिनीहरू व्यक्ति लडाइँ गर्न जति धेरै सक्षम छ, ऊ उति नै धेरै बहादुर हुन्छ भन्ने विश्‍वास गर्छन्—बहादुरहरू लडाइँ गर्ने इच्छाले भरिएका हुन्छन्। कहिल्यै हार नमान्ने मानसिकता यहीँनेर नै उत्पन्न भएको हो; लडाइँको चुरो कुरो यही नै हो। शैतानका खालका हरप्रकारका पिशाचहरूले कहिल्यै सत्यता स्विकारेका हुँदैनन्, त्यसोभए, तिनीहरू के-कस्ता कुराअनुसार जिउँछन्? तिनीहरू लडाइँ गर्ने शैतानी दर्शनअनुसार जिउँछन्। तिनीहरू हरेक दिन लडाइँ गर्दै जिउँछन्। तिनीहरू जे काम गरे पनि तिनीहरू सधैँ लडेर जित्ने प्रयास गर्छन् र जितको धाक लगाउँछन्। तिनीहरू आफूले गर्ने हरकुरामा इज्जतको लागि लड्ने कोसिस गर्छन्—के तिनीहरू त्यो हासिल गर्न सक्छन् त? तिनीहरू ठ्याक्कै केका लागि प्रतिस्पर्धा र लडाइँ गरिरहेका हुन्छन्? तिनीहरूको सबै लडाइँ प्रसिद्धि, प्राप्ति र हैसियतका लागि हुन्छ; तिनीहरूका सबै लडाइँ आफ्नो स्वार्थका लागि हुन्छ। तिनीहरू किन लडिरहेका हुन्छन्? नायक भएको नाटक गर्न र उच्च सम्मानित कहलाइनका लागि। तर, तिनीहरूको लडाइँ मृत्युमै टुङ्गिनुपर्छ, र तिनीहरू दण्डित हुनैपर्छ। यसमा कुनै सन्देह छैन। जहाँ शैतान र पिशाचहरू हुन्छन्, त्यहाँ लडाइँ हुन्छ नै; अन्त्यमा तिनीहरू नष्ट हुँदा, लडाइँ पनि टुङ्गिनेछ। शैतान र पिशाचहरूको परिणाम यही हुनेछ।

के लड्न कहिल्यै हार नमान्ने इच्छा भएको मानसिकतालाई संवर्धन गर्नुपर्छ र बढावा दिनुपर्छ? (पर्दैन।) त्यसोभए मानिसहरूले यसलाई कसरी लिनुपर्छ? (मानिसहरूले यसलाई त्याग्नुपर्छ।) मानिसहरूले यसलाई खुट्ट्याउनुपर्छ, निन्दा गर्नुपर्छ, र त्याग्नुपर्छ। यो वाक्यांश सत्यता होइन, र यो मानिसहरूले पालन गर्नुपर्ने मापदण्ड होइन, झन् मानवजातिका लागि परमेश्‍वरको माग हुनु त परको कुरा हो। यसको परमेश्‍वरका वचनहरूसँग, र मानिसहरूका लागि परमेश्‍वरको मागसँग कुनै सम्बन्ध छैन। परमेश्‍वर मानिसहरूबाट के माग गर्नुहुन्छ? परमेश्‍वरलाई तैँले लड्दा कहिल्यै हार नमान्ने इच्छाको खाँचो पर्दैन। परमेश्‍वर मानिसहरूले आफ्नो भ्रष्ट सार बुझून्, आफू कस्तो व्यक्ति, कस्तो प्रकारको व्यक्ति हो, आफूमा केको कमी छ, आफ्नो क्षमता धेरै छ कि थोरै छ, आफ्नो बुझ्‍ने क्षमता कस्तो छ, आफू परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति हो कि होइन र आफू सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चिनून् भन्ने चाहनुहुन्छ। परमेश्‍वर तैँले आफूलाई यिनै तरिकाले सटिक रूपमा चिनेको, त्यसपछि तैँले आफ्नो कद र क्षमताअनुसार आफूले सक्ने कुरा सक्दो गरेको चाहनुहुन्छ। के यसमा “लड्नु” को अर्थ छ? (छैन।) तैँले लड्नुपर्दैन। कतिपय मानिस भन्छन्: “के म आफ्नो भ्रष्ट स्वभावसँग लड्न सक्दिनँ?” के तेरो भ्रष्ट स्वभावलाई लडेर जित्न सकिन्छ? के यसलाई लडेर परिवर्तन गर्न सकिन्छ? (सकिँदैन।) अहँ, यसलाई परिवर्तन गर्न सकिँदैन। कतिपय मानिस भन्छन्, “के म शैतानका दुष्ट शक्तिहरूसँग लड्न सक्छु? के म ख्रीष्टविरोधीहरूसँग लड्न सक्छु? के म दुष्ट मानिसहरू, दुष्ट स्वभाव भएका मानिसहरू, अनि अवरोध र बाधा पुऱ्याउने मानिसहरूसँग लड्न सक्छु?” यो निश्चय नै सही होइन। यो किन सही होइन? लड्नु आफैमा सत्यता अभ्यास गर्नु होइन। परमेश्‍वरको वचनले कतिबेला “ख्रीष्टविरोधीहरूसँग लड्,” “फरिसीहरूसँग लड्,” “पाखण्डीहरूसँग लड्,” वा “आफ्नो भ्रष्ट स्वभावसँग लड्” भन्यो? के परमेश्‍वरले यी कुराहरू भन्नुभएको छ? (भन्नुभएको छैन।) त्यसको विपरीत, यस शैतानी संसारमा जमिनदारहरूविरुद्ध, सत्तामा हुनेहरूविरुद्ध, र बुद्धिजीवीहरूविरुद्ध लडाइँ हुन्छ, साथै जनमानसबीच लडाइँ हुन्छ, भाले जुधाइ, कुकुर लडाइँ र गोरू जुधाइ इत्यादि हुन्छ। जे भए पनि, यी कुनै पनि कुराहरू राम्रा होइनन्। लडाइँ एउटा तरकिब हो जसद्वारा शैतानले मानिसहरूलाई हानि गर्छ र जीवित कुराहरूमाथि विपत्ति ल्याउँछ। त्यसले मानवजातिलाई शान्तिपूर्वक सह-अस्तित्वमा जिउन दिँदैन। बरु, त्यसले मानिसहरूबीच मतभेद र घृणा पैदा गर्छ, त्यसपछि त्यसले मानिसहरूलाई आपसमा लड्न र एकअर्काको हत्या गर्न लगाउँछ, जबकि आफू भने छेउमा बसेर मनोरञ्जन र झैझगडा हेर्छ। यो शैतानी व्यवहार भएको हुनाले, यदि मण्डली र परमेश्वरको घरमा लड्नुसँग सम्बन्धित कतिपय व्यवहार, घटना, वा मामिला उत्पन्न भयो भने, तिमीहरू यी कुरालाई कसरी हेर्छौ? तिमीहरू समर्थन र अनुमोदन देखाउँछौ, वा त्यसलाई रोक्छौ? (त्यसलाई रोक्छौँ।) तिमीहरूले त्यसलाई रोक्नुपर्छ, तिनीहरूलाई स्पष्टसँग कामकुरा बताउनुपर्छ, तिनीहरूलाई बुझाउनुपर्छ, र तिनीहरूलाई तिनीहरूले सत्यताअनुसार, सिद्धान्तअनुरूप कामकुरा गर्नैपर्छ, र परमेश्‍वरका वचनहरूसँग पूर्ण रूपले मेल खाने गरी कार्य गर्नैपर्छ भनेर बताउनुपर्छ। तिमीहरू तिनीहरूलाई काटछाँट पनि गर्न सक्छौ, तर तिनीहरूलाई काटछाँट गर्नु, हप्की लगाउनु, र ताडनासमेत दिनु लड्नु होइन। लड्नुले केलाई जनाउँछ? लड्नु भनेको कुनै मामिलाबारे साँचो कुरा के हो र के होइन भनेर आवेगमा आई अरू मानिससँग विवाद गर्नु, मानिसहरूसँग तर्क गर्नु र समझहीन हुनु, रिस पोखाउनु, गोप्य षड्यन्त्र र छली युक्तिहरूसमेत प्रयोग गर्नु, वा कुनै व्यक्तिलाई उसले आत्मसमर्पण नगरून्जेल परास्त गर्न, हराउन र बारम्बार यातना दिन मानिसका चाल, तौरतरिका र माध्यमहरू प्रयोग गर्नु हो। यसलाई लड्नु भनिन्छ। लड्नु पूर्णतया आवेगपूर्ण व्यवहार र कार्य हो, अनि यो कामकुरा गर्ने पूर्णतया शैतानी प्रकारको व्यवहार, विधि र माध्यम पनि हो। यसको सत्यतासँग कुनै सम्बन्ध छैन। कतिपय मानिस भन्छन्, “परमेश्‍वरका चुनिएका मानिसहरू खडा भएर झूटा अगुवा, ख्रीष्टविरोधी, फरिसी र दुष्ट व्यक्तिजस्ता मानिसहरूसँग लड्नु कसरी गलत हो र? के तिनीहरूले आत्मसमर्पण नगरून्जेल वा तिनीहरू नहटाइन्जेल तिनीहरूसँग लड्नु राम्रो कुरा होइन र? के त्यसपछि परमेश्‍वरको घर शान्त हुनेछैन र? के त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो मण्डली जीवन शान्तिपूर्वक बिताउन सक्नेछैनन् र? हामीलाई किन यी मानिसहरूसँग लड्न दिँइदैन?” के यी मानिसहरूसँग लड्नु सही हो? सर्वप्रथम, एउटा कुरा निश्चित छ, र त्यो के हो भने, लड्नु गलत कुरा हो। त्यो किन गलत हो? परमेश्‍वर दुष्ट मानिसहरूलाई दण्ड दिनुहुन्छ र निन्दा गर्नुहुन्छ, त्यसैले मानिसहरू तिनीहरूसँग लड्छन् भने, त्यसले के फरक पार्छ र? गर्नका लागि अरू कुनै राम्रो काम नहुँदा मानिसहरूले तिनीहरूलाई अपमान गर्नु, दण्डित गर्नु र यातना दिनु, तिनीहरूमाथि चिच्याउनु, भुइँमा दबाउनु र आलोचना गर्नु कसरी गलत हो र? परमेश्‍वरले प्रशासनिक आदेशहरू जारी गर्नुहुन्छ, र ती आदेशहरूमा लड्नुसित सम्बन्धित सर्तहरू हुँदैनन्। परमेश्‍वर केवल प्रशासनिक आदेशहरू तोक्नुहुन्छ, जसभित्र हर प्रकारको व्यक्तिलाई सम्हाल्ने विधि र सिद्धान्तहरू हुन्छन्। ती आदेशहरूले मानिसहरूलाई कस्ता मानिसलाई निष्कासित गर्नुपर्छ, कस्ता मानिसलाई निकाल्नुपर्छ, कस्ता मानिसलाई बर्खास्त गर्नुपर्छ, कस्ता मानिसलाई संवर्धन गर्नुपर्छ, कस्ता मानिसलाई प्रयोग गर्नुपर्छ, कस्ता मानिसलाई प्रयोग गर्नु हुँदैन, कस्ता मानिसलाई मुक्ति दिन सकिन्छ, र कस्ता मानिसलाई मुक्ति दिन सकिँदैन भनेर बताउँछन्। परमेश्‍वर मानिसहरूलाई सिद्धान्तहरू मात्र बताउनुहुन्छ। तसर्थ, मानिसको हैसियतले तिमीहरूले परमेश्‍वरका यी वचनहरूलाई कसरी अर्थ्याउनुपर्छ? परमेश्‍वरका यी सबै वचन सत्यता हुन्। सत्यता के हो? सत्यता भनेको परमेश्‍वरले कुनै पनि कुरा गर्नुहुँदा वा कुनै पनि प्रकारको व्यक्तिसँग व्यवहार गर्नुहुँदा, तिनीहरू दुष्ट कुराहरू गरेर परमेश्‍वरको घरको काम र हितमा अत्यन्तै हानि पुऱ्याएको दुष्ट व्यक्ति भए पनि, उहाँले तिनीहरूलाई सम्हाल्न अझै आफ्ना विधिहरू प्रयोग गर्नु हो; उहाँले तिनीहरूलाई सम्हाल्न कुनै शैतानी वा आवेगपूर्ण विधि पटक्कै प्रयोग गर्नुहुनेछैन। यसलाई के भनिन्छ? यसलाई मानिसहरूलाई निष्पक्ष व्यवहार गर्नु भनिन्छ। के यस निष्पक्षताभित्र लडाइँ हुन्छ? हुँदैन। के यो सत्यता हो? (हो।) यो व्यक्ति जति नै आवेगी, जति नै शैतानी, र जति नै दुष्ट भए पनि, हामी परमेश्‍वरका वचनलाई उसलाई सम्हाल्न प्रयोग गर्ने सर्वोच्च निर्देशन, र सही सिद्धान्त मान्छौँ। हामी उसलाई भर्त्सना गर्दैनौँ, वा आवेगमा आएर ऊविरुद्ध हूल बाँधेर जाइलाग्दैनौँ; हामी त्यस्तो काम बिलकुलै गर्दैनौँ। यसैलाई नै मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नु भनिन्छ, र परमेश्‍वरले मानिसहरूलाई दिएका सिद्धान्तहरू यिनै हुन्।

पूर्वी संसारमा “लड्दा कहिल्यै हार नमान्ने इच्छा” भन्ने निश्चित वाक्यांश छ। पश्चिमी संसारमा पनि त्यस्तै अर्थ लाग्ने कुनै वाक्यांश हुन सक्छ। तिनीहरू शैतानद्वारा भ्रष्ट पारिऊन्जेल र शैतानको शक्तिका अधीनमा रहुन्जेल, हरव्यक्तिमा शैतानी स्वभाव हुन्छ, ऊ एकदमै अहङ्कारी र आत्मधर्मी हुन्छ, र कसैसँग झुक्दैन। मानिसहरू यस्तो स्वभावद्वारा प्रेरित हुँदा, तिनीहरूमा निश्चित रूपले कहिल्यै हार नमान्ने मानसिकता र सोच्ने तरिका उत्पन्न हुनेछ। मानिसहरू मानवजातिले प्रचारप्रसार गर्ने यस्तो सोचाइ र मानसिकतालाई उचित, सकारात्मक, अनि आफूलाई आफ्ना मार्गमा अघि बढ्दा र जिउन जारी राख्दा मानिसहरूलाई सहयोग गर्नका लागि पर्याप्त कुरा ठान्छन्। तिनीहरूले यो तथाकथित मानसिकता र सोचाइ जति नै उचित भएको ठाने पनि, र तिनीहरूले यसलाई जति नै उचित भने पनि, हामी सबैमा यसबारे सुझबुझ हुनैपर्छ। सारा मानवजातिभरि सत्यताले प्रभुत्व जमाएको एउटा जाति पनि छैन। कुनै जातिले जति नै उच्च, प्राचीन, वा रहस्यमय विचार वा परम्परागत संस्कृति पैदा गरेको भए पनि, वा शिक्षा प्राप्त गरेको भए पनि, वा त्यसमा ज्ञान भए पनि, एउटा कुरा निश्चित छ: यी कुनै पनि कुराहरू सत्यता होइनन्, वा तिनको सत्यतासँग कुनै सम्बन्ध छैन। कतिपय मानिस भन्छन्, “परम्परागत संस्कृतिमा भएका कतिपय नैतिक शिक्षा, वा सही र गलत, ठिक र बेठिक, कालो र सेतो मापन गर्ने धारणाहरू सत्यताको निकै नजिक रहेजस्तो देखिन्छन्।” ती कुराहरू सत्यताको नजिक रहेजस्तो लाग्ने तथ्यले ती अर्थमा नजिक छन् भन्ने सङ्केत गर्दैन। भ्रष्ट मानवजातिका भनाइहरू शैतानबाट आउँछन्, ती कहिल्यै सत्यता हुँदैनन्, जबकि परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। त्यसैले, मानवजातिका शब्दहरू परमेश्‍वरका वचनसँग जति नै नजिक भएजस्तो देखिए पनि, ती सत्यता होइनन् र सत्यता बन्न सक्दैनन्; यसमा कुनै शङ्का छैन। ती शब्दचयन र अभिव्यक्तिमा मात्र नजिक हुन्छन्, तर वास्तवमा, यी परम्परागत धारणाहरू परमेश्‍वरको वचनका सत्यताहरूसँग मेल खाँदैनन्। यी शब्दहरूको शाब्दिक अर्थमा केही निकटता हुन सक्ने भए पनि, तिनीहरूको स्रोत एउटै हुँदैन। परमेश्‍वरका वचनहरू सृष्टिकर्ताबाट आउँछन्, जबकि परम्परागत संस्कृतिका शब्द, विचार र दृष्टिकोणहरू शैतान र पिशाचहरूबाट आउँछन्। कतिपय मानिस भन्छन्, “परम्परागत संस्कृतिका विचार, दृष्टिकोण, र प्रसिद्ध भनाइहरूलाई सर्वत्र सकारात्मक कुराका रूपमा स्विकारिन्छ; ती झूट र भ्रम भए पनि, मानिसहरूले सयौँ—हजारौँ—वर्षसम्म कायम राखेमा, के ती सत्यता बन्न सक्छन्?” कदापि सक्दैनन्। यस्तो दृष्टिकोण बाँदरहरू विकसित भएर मानिस बनेका हुन् भन्ने भनाइ जत्तिकै हास्यास्पद छ। परम्परागत संस्कृति कहिल्यै सत्यता बन्न सक्नेछैन। संस्कृति संस्कृति नै हो, र त्यो जति नै उच्च भए पनि, त्यो त भ्रष्ट मानवजातिले उत्पन्न गरेको तुलनात्मक रूपले सकारात्मक कुरा मात्र हो। तर सकारात्मक हुनु सत्यता हुनुबराबर होइन, सकारात्मक हुँदैमा त्यो मापदण्ड बन्दैन; त्यो केवल तुलनात्मक रूपले सकारात्मक कुरा हो, त्योभन्दा बढी केही होइन। त्यसोभए, के अब हामीलाई यो “सकारात्मकता” पछाडि परम्परागत संस्कृतिले मानवजातिमाथि पार्ने प्रभाव असल छ कि खराब छ भन्ने कुरा स्पष्ट छ? निस्सन्देह, त्यसले मानवजातिमाथि खराब र नकारात्मक प्रभाव पार्छ।

आज हामीले “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” भन्ने भनाइलाई चिरफार गऱ्यौँ। यो संसारसँग व्यवहार गर्ने एक प्रकारको दर्शन हो। हामीले ऐतिहासिक पृष्ठभूमि बोकेको “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने प्रसिद्ध टुक्कालाई पनि चिरफार गऱ्यौँ। के तिमीहरूलाई संसारसँग व्यवहार गर्ने मानवजातिका परम्परागत संस्कृति र दर्शनहरूबारे नयाँ बुझाइ दिन यी दुई वाक्यांश नै पर्याप्त छैनन् र? संसारसँग व्यवहार गर्ने परम्परागत संस्कृति र दर्शनहरूको सार ठ्याक्कै के हो? पहिलो, तिमीहरू यी कुराहरू पटक्कै सकारात्मक होइनन् भनेर निश्चित हुन सक्छौ। ती मानिसहरूको भ्रष्ट स्वभावबाट उत्पन्न हुन्छन्—तिनको स्रोत शैतान हो। तिनले मानवजातिका लागि के ल्याउँछन्? तिनले मानवजातिलाई बहकाउँछन्, भ्रष्ट पार्छन्, अनि बन्धनमा पार्छन् र नियन्त्रित गर्छन्। यो निश्चित छ र यसमा कुनै सन्देह छैन। तिनले मानवजातिका लागि ल्याउने हरकुरा नकारात्मक प्रभाव र नकारात्मक असर हो, त्यसोभए के ती सत्यता हुन्? (होइनन्।) ती सत्यता होइनन्, तैपनि मानवजाति तिनलाई सत्यताका रूपमा पवित्र मान्छन्। यो के भएको हो? मानिसहरू बहकिएका छन्। मानिसहरूले परमेश्‍वरबाट मुक्ति नपाएका हुनाले, तिनीहरू सत्यता नबुझ्ने हुनाले, र तिनीहरूले यस्ता वाक्यांश र मामिलाहरूबारे परमेश्‍वरले भन्नुपर्ने सही कुराहरू नसुनेका हुनाले, तिनीहरू अन्ततः आफ्ना धारणाअनुसार आफूले तुलनात्मक रूपमा सही, असल र आफ्नो इच्छासँग मिल्दो ठान्ने विचार र दृष्टिकोण स्विकार्छन्। यी कुराहरू पहिला तिनीहरूका हृदयमा पसेका हुन्छन् र त्यहाँ हाबी भएका हुन्छन्, त्यसैले मानिसहरू तिनमा सयौँ-हजारौँ वर्षसम्म टाँसिइरहन्छन्। यी परम्परागत संस्कृति, जो शैतानी दर्शन हुन्, तिनले धेरै अगाडिदेखि नै मानिसहरूका हृदयमा जरा गाढेका हुन्छन्, मानिसहरूको पुस्ता दर पुस्तालाई बहकाएका र प्रभाव पारेका हुन्छन्। यदि तिमीहरू सत्यता स्विकार्दैनौ भने, यी दर्शनहरूले तिमीहरूलाई निरन्तर बहकाउनेछन् र प्रभाव पार्नेछन्। आज मैले “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” र “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने वाक्यांशहरूबारे चिरफार र सङ्गति गरेँ। यी वाक्यांशहरूमध्ये एउटा भनाइ हो भने अर्को चाहिँ टुक्का हो। हामी यी दुई वाक्यांशमा सारा संसारमा शैतानी संस्कृति भनेको ठ्याक्कै के हो भनेर बुझ्न सक्छौँ: त्यो विधर्म र भ्रमहरूले बनेको हुन्छ, जसले मानिसहरूलाई बहकाउँछ, भ्रष्ट पार्छ, अहित र हानि गर्छ। यदि मानवजातिले शैतानका यी दर्शनहरू पालना गरेमा, मानिसहरू आफ्नो जीवन जिउँदै गर्दा झन्-झनै भ्रष्ट र दुष्ट मात्र हुनेछन्; तिनीहरूले एकअर्कालाई काटमार गर्नेछन्, तिनीहरू आपसमा लड्नेछन्, र त्यसको अन्त्य हुनेछैन। मानिसहरूबीच भरोसा हुनेछैन, मैत्रीपूर्ण सहअस्तित्व र आपसी प्रेम हुनेछैन। सङ्क्षेपमा भन्दा, यस संस्कृतिले मानवजातिमाथि प्रतिकूल परिणामहरू मात्र ल्याउँछ। त्यसले यी तथाकथित विचार र मानसिकताहरूको मार्गदर्शनमा मानवजातिलाई निरन्तर दुष्टता गर्ने तुल्याउँछ, निरन्तर परमेश्‍वरको प्रतिरोध गर्छ, मानिसहरूको नैतिक सीमिततालाई निरन्तर चुनौति दिन्छ, र आफ्नो उद्देश्य पूरा गर्न कुनै पनि माध्यम प्रयोग गर्छ। अन्त्यमा, तिनीहरूले विनाशको मार्ग पछ्याएर दण्ड पाउनेछन्। मानव संस्कृतिको सार यही हो। भनाइहरूका सन्दर्भमा भन्नुपर्दा, तीबारे तिमीहरूको दृष्टिकोण के हो? कतिपय मानिसले भन्लान्, “ती कुरा मानवजातिले समर्थन गर्ने सच्चा विचार होइनन्। उच्च समाजका तुलनात्मक रूपले उच्च स्तरको अन्तर्दृष्टि हुने मानिसहरू ती पालन गर्दैनन्।” अहिले भर्खरै, हामीले उच्च समाजका मानिसहरू सहमत हुने टुक्का, “झिँगटोमा सुतेर पित्त चाट्नु” लाई चिरफार गऱ्यौँ। के यो टुक्का उच्च स्तरको हो? (होइन।) यो उच्च स्तरको होइन, तर यो टुक्का, यी विचार र मानसिकताहरूलाई निश्चय नै उच्च शिक्षा लिइरहेका प्रत्येकले र मानव समाजको प्रत्येक उच्चस्तरीय क्षेत्रले प्रशंसा र समर्थन गर्छन्। यो मानव संस्कृति हो। मानवजातिलाई परम्परागत संस्कृतिका यी पक्षहरूद्वारा सिकाइएको छ, भावशून्य र भ्रष्ट पारिएको छ। अनि अन्तिम परिणाम के हुन्छ? परम्परागत संस्कृतिले मानवजातिलाई बहकाउँछ, बाँध्छ, र बन्धनमा राख्छ, अनि एक प्रकारको मानसिकता र सिद्धान्त स्वाभाविक रूपमा उत्पन्न हुन्छ, जसलाई मानवजातिले समर्थन गर्छ र फैलाउँछ, व्यापक रूपमा प्रसार गर्छ र मानिसहरूलाई स्विकार्न लगाउँछ। अन्त्यमा, त्यसले सबैको हृदय कब्जा गर्छ, सबैलाई यस्तो मानसिकता र विचारको समर्थन गर्न लगाउँछ, र सबै जना यस विचारद्वारा भ्रष्ट पारिन्छन्। मानिसहरू निश्चित हदसम्म भ्रष्ट पारिँदा, तिनीहरूमा सही वा गलतबारे कुनै धारणा रहँदैन; तिनीहरू त्यसउप्रान्त न्याय के हो र दुष्टता के हो भनेर खुट्ट्याउन चाहँदैनन्, न त तिनीहरू अबदेखि सकारात्मक कुरा के हुन् र नकारात्मक कुरा के हुन् भनेर खुट्ट्याउन नै इच्छुक हुन्छन्। तिनीहरू आफू वास्तवमा मानव हो कि होइन भनेर अस्पष्ट हुने दिनसमेत आउँछ, अनि आफू पुरुष हो कि स्त्री हो भनेर थाहा नपाउने विकृत मानिसहरू धेरै हुन्छन्। यस्तो मानवजाति विनाशबाट कति टाढा छ? नोआको समयका मानिसहरूको तुलनामा अहिलेको मानवजातिको कस्तो छ? के तिनीहरू झनै दुष्ट छैनन् र? तिनीहरू दुष्टताको पराकाष्ठामै पुगिसकेका छन्, र तिनीहरू यति दुष्ट छन् कि तिनीहरूका कतिपय कुरा तिमीहरू सुन्न सक्दैनौ—त्यो सुनेपछि तिमीहरूलाई घिन लाग्छ। सबै मानिस निश्चित हदसम्म विकृत हुन्छन्। बाहिरबाट हेर्दा, मानिसहरूको शरीर मानवको जस्तो देखिन्छ, तर तिनीहरूले हृदयमा सोच्ने कुराहरू वास्तवमा मानिसहरूले सोच्नुपर्ने कुरा हुँदैनन्; तिनीहरू सबै विकृत हुन्छन् र आफूलाई बदल्न सक्दैनन्। मैले तिनीहरू आफूलाई परिवर्तन गर्न सक्दैनन् भन्नुको अर्थ के हो? मैले त्यसो भन्नुको अर्थ के हो भने, सायद एक वा दुई सय वर्षअघि अझ धेरै मानिसहरू परमेश्‍वर बोल्नुभएको र उहाँले वाणीहरू व्यक्त गर्नुभएको सुन्न इच्छुक हुनेथिए। तिनीहरू यस संसारमा न्याय, साथै धार्मिकता र निष्पक्षता छ भनेर भरोसा गर्थे। मानिसहरू यस्तो तथ्य स्विकार्न इच्छुक थिए, र तिनीहरू त्यो साकार होस् भन्ने उत्कट चाह गर्थे। त्योभन्दा पनि, तिनीहरू कुनै दिन अन्धकार र दुष्टताको प्रभावबाट मानवजातिलाई मुक्ति दिन सक्ने मुक्तिदाता आउनुहुनेछ भन्ने आशा गर्थे। तथापि, एक वा दुई सय वर्षपछि यस्ता मानिसहरू झन्-झन् कम छन्। परमेश्‍वरको वचन बुझ्न सक्ने मानिसहरू कति छन्? सत्यता स्विकार्न सक्ने मानिस कति छन्? धेरै मानिसले परमेश्‍वरको अनुग्रह पाए पनि, के भो र? उहाँलाई साँचो रूपमा पछ्याउने मानिसहरूको सङ्ख्या झन्-झन् घट्दै गइरहेको छ। भन्नुको अर्थ, मानवजातिमाझ परमेश्‍वरको वचन सुनेपछि प्रोत्साहित हुने, सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्ने, ज्योतिको तृष्णा गर्ने, न्यायको तृष्णा गर्ने, अनि परमेश्‍वरको राज्यको आगमन, निष्पक्षता र धार्मिकताको तृष्णा गर्ने मानिसहरू झन्-झन् कम छन्। यसले के देखाउँछ? यसले शैतानका दर्शन, नियम, विचार, र तथाकथित मानसिकताहरूले सारा मानवजातिलाई बहकाएको छ र भ्रष्ट पारेको छ भनेर देखाउँछ। तिनीहरू कुन हदसम्म बहकाइएका र भ्रष्ट पारिएका छन्? सबै मानिसले शैतानका भ्रम र दुष्ट भनाइहरूलाई सत्यताका रूपमा स्विकारेका छन्; तिनीहरू सबै शैतानको आराधना गर्छन् र शैतानलाई पछ्याउँछन्। तिनीहरू परमेश्‍वर अर्थात् सृष्टिकर्ताका वचनहरू बुझ्दैनन्। सृष्टिकर्ताले जे भन्नुभए पनि, उहाँले जति भन्नुभए पनि, अनि उहाँका वचनहरू जति नै प्रस्ट र व्यावहारिक भए पनि, कसैले बुझ्दैन; कसैले बोध गर्दैन। तिनीहरू सबै भावशून्य र मन्द बुद्धिका छन्, अनि तिनीहरूको सोचाइ र दिमाग छ्यासमिस भएका छन्। ती कसरी छ्यासमिस भए? तिनलाई छ्यासमिस पार्ने शैतान हो। शैतानले मानिसहरूलाई पूर्ण रूपमा भ्रष्ट पारेको छ। आजका समाजमा सबै प्रकारका फरक-फरक विचार, विचारधारा, र कथन हुन्छन्। मानिसहरू आफूले चुन्ने कुरामै विश्वास गर्छन्, र आफूले चुन्ने कुरालाई नै पछ्याउँछन्। कसैले पनि तिनीहरूलाई के गर्ने भनेर बताउन सक्दैन, न त तिनीहरूले उनीहरूलाई के गर्ने भनेर बताउन नै सक्छन्। त्यो यस हदसम्म हुन्छ। त्यसैले, तिमीहरूले परमेश्‍वरमा विश्वास गर्ने छनौट गर्न सक्नु आशिष् हो। आज, तिमीहरू परमेश्‍वरले भनिरहनुभएको कुरा बुझ्न सक्छौ, तिमीहरूमा अलिकति विवेकको बोध छ, तिमीहरू परमेश्‍वरले भन्ने कुरालाई विश्वास गर्छौ, परमेश्‍वरको राज्यको आगमनको, अनि ज्योति, न्याय, निष्पक्षता, र धार्मिकताका राज्यमा जिउने तृष्णा गर्छौ। के तिमीहरूमा यस्तो इमानदारी बिरलै हुन्छ? तिमीहरूले त्यो कसरी प्राप्त गर्‍यौ? परमेश्‍वरको सुरक्षा र तँलाई स्पष्टता प्रदान गर्नका निम्ति तँमा पवित्र आत्माले काम गर्नुमार्फत तैँले परमेश्‍वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन सकेको हो। यदि परमेश्‍वरले तँमा काम नगर्नुभएको भए, के तँ अहिले यहाँ विश्वासीका रूपमा हुन सक्नेथिइस् र? के तँ अहिले जसरी बदलेको छस्, त्यसरी नै बदलिन सक्थिस्? हेर् त, अहिले ती गैरविश्वासीहरूमा अझै पनि मानव स्वरूप छ त? तैँले अहिले धेरै सत्यता नबुझ्लास्, र धेरै मामिलामा तेरो दृष्टिकोण अझै ठ्याक्कै गैरविश्वासीहरूको जस्तै छ—तिनीहरू जे सोच्छन्, तँ पनि त्यही सोच्छस्। तैँले कहिलेकाहीँ तिनीहरूका कतिपय दृष्टिकोण नस्विकारे पनि, तँमा सुझबुझ छैन, र तँसँग हिँड्ने अर्को मार्ग छैन। तैँले सत्यता बुझ्ने दिन आउँदा, तिनीहरूको दृष्टिकोण गलत र दुष्ट रहेछ भनेर खुट्ट्याउन सक्नेछस्, अनि तेरो हृदयले तिनलाई इन्कार गर्न सक्नेछ। त्यसपछि, तैँले तिनीहरूको पिशाची रूप स्पष्टसँग देख्नेछस्। तैँले तिनीहरू मानव नभई जीवित दियाबलस हुन् भनेर देख्नेछस्। तिनीहरू मानव भेसमा हुन्छन्, तर मानवीय कुराहरू गर्दैनन्। कुरा यही हो भनेर तँ कसरी भन्न सक्छस्? तिनीहरूले प्रचारप्रसार गर्ने शब्दहरू सबै सुन्नमा निकै राम्रो र मानिसहरूलाई बहकाउन सक्ने हुन्छन्, तर तिनीहरूले गर्ने र पूरा गर्ने कुरा एकदमै दुष्ट र कुरूप हुन्छ, र त्यो स्पष्टतः निर्लज्ज र अनुचित हुन्छ। तिनीहरू टाँसिरहने तथाकथित विचार र मानसिकताहरू एकदमै दुष्ट र प्रतिक्रियावादी हुन्छन्, परमेश्‍वरको वचन र सत्यताको पूर्णतया विपरीत हुन्छन्, अनि परमेश्‍वरका वचन र सत्यताको ठिक उल्टा हुन्छन्, तैपनि यी मानिसहरू यी झूटा तर्क र विधर्महरूलाई सत्यताका रूपमा लिन्छन् र सशक्त ढङ्गले तिनको प्रचारप्रसार गर्छन्, मानवजातिलाई बहकाउन र भ्रष्ट पार्न जोरदार र सार्वजनिक रूपमा बढवा दिन्छन्, ताकि तिनीहरूले आफ्ना विभिन्न नीच र निर्लज्ज अपराध र कुरूप अनुहार ढाकछोप गर्न सकून्। यसबाट तैँले तिनीहरू सबै पिशाच, साथै तर्क गर्न नसकिने पशु र अशुद्ध आत्मा हुन् भन्ने कुरा स्पष्टसँग देख्न सक्छस्। तँ तिनीहरूसँग समझदारीपूर्ण कुरा गर्न र असल वा साँचो वचन बोल्न सक्दैनस्। तैँले स्पष्टताको यो हद देख्न सक्ने समय आउँदा, मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएको छ; तँ अरू मानिसजस्तै भ्रष्ट छस्; अहिले वर्तमान समयमा परमेश्‍वरमा विश्वास गर्दा र केही सत्यता बुझ्दा मात्र तँ केही मानव स्वरूपमा जिउन, दियाबलस् र शैतानको प्रभावबाट मुक्त हुन, र तिनलाई खुट्ट्याउन, घृणा गर्न, र त्याग्न सक्छस्; परमेश्‍वरको मुक्तिविना तँ ठिक तिनीहरूजस्तै हुनेछस्—तिमीहरूबीच कुनै भिन्नता हुनेछैन—अनि तैँले कुनै पनि प्रकारको दुष्टता वा दुष्ट कुरा गर्न सक्नेछस् भनेर जान्नेछस्। अहिले तैँले सत्यता पछ्याइरहेको छस्, सत्यतामा धेरै काम र मेहनत लगाइरहेको छस्, अभ्यासलाई महत्त्व दिइरहेको छस्, र सत्यतालाई आफ्नै वास्तविकतामा परिणत गरिरहेको छस्। जब तँ सत्यता बुझ्छस्, सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनका वास्तविकतामा जिउन सक्छस्, र वास्तविक अनुभवात्मक गवाही दिन सक्छस्, तब तेरो हृदय खुसी र शान्त हुनेछ, तेरो मानसिकता र स्थिति झन्-झन् धेरै सामान्य हुनेछ, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्-झन् नजिक र झन्-झन् सामान्य हुनेछ, अनि तेरा दिनहरू झन्-झनै राम्रा हुनेछन्। यदि तँ सत्यता अभ्यास गर्दैनस्, सधैँ शैतानी दर्शनहरूअनुसार जिउँछस्, र सधैँ परमेश्‍वरलाई गलत बुझ्छस् र उहाँलाई शङ्का गर्छस् भने, तेरो हृदय परमेश्‍वरबाट झन्-झनै टाढिनेछ, परमेश्‍वरप्रतिको तेरो विश्वास व्यर्थ जानेछ, र तैँले केही प्राप्त गर्नेछैनस्। तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गर्दै आएको भए पनि, धेरै शब्द र धर्मसिद्धान्त बुझे पनि, अनि गैरविश्वासीहरूका विभिन्न भ्रामक सोच र दृष्टिकोणहरू नस्विकारे पनि, त्यो व्यर्थ हुन्छ। किनभने तँ सत्यता बुझ्दैनस् अनि केही शब्द र धर्मसिद्धान्तबारे मात्र कुरा गर्न सक्छस्, र तँ अझै सत्यता अभ्यास गर्न सक्दैनस्। ती कुराहरू पहिला तेरा हृदयमा पसेकाले र त्यहाँ प्रबल भएकाले, तँमाथि अझै हाबी भएकाले, तँ यी कुराअनुसार मात्र जिउन सक्छस्। तैँले जे गर्न चाहे पनि, र तँमाथि जे-जस्तो परिस्थिति आइपरे पनि, आफूलाई यी शैतानी दर्शनहरूद्वारा नियन्त्रित हुनबाट जोगाउन सक्नेछैनस्। त्यसैले, यदि यी शैतानी दर्शनहरू तेरो हृदयमाथि हाबी छन् भने, तैँले सत्यता अभ्यास गर्न सक्नेछैनस्। कतिपय मानिस भन्छन्, “म सत्यता अभ्यास गर्दिनँ, न त शैतानलाई नै पछ्याउँछु।” के यो सम्भव छ? त्यहाँ कुनै मध्य मार्ग छैन। तैँले सत्यता स्विकारेर, सत्यता बुझेर, र त्यसपछि आफ्ना हृदयमा पहिला प्रवेश गरेका र त्यहाँ हाबी भएका ती शैतानी कुराहरू हटाएर मात्र सत्यताअनुसार कामकुरा गर्न पुग्न सक्छस्। सत्यता र परमेश्वरको वचन तेरा हृदयमाथि हाबी हुँदा, तैँले स्वाभाविक रूपमा आफूले भन्ने र गर्ने कुरामा सत्यता अभ्यास गर्न सक्नेछस्।

मानिसहरूले शैतानको तर्क र सोच, अनि तिनीहरूको जिउने तरिकालाई नियन्त्रण गर्ने मानसिक आधारहरूलाई केका रूपमा लिन्छन्? मनोवैज्ञानिक पोषण? प्राणका निम्ति तागतिलो झोल? वास्तवमा, यी मानिसहरूलाई भ्रष्ट पार्ने कुरा हुन्, र यदि कसैले “ती खाएमा” ऊ मर्नेछ। यदि मानिसहरूले यी कुराहरू निरन्तर रूपमा स्विकारेमा र आफूभित्र शैतानी कुराहरू थुपारेमा, त्यसले के जनाउँछ? त्यसले तिनीहरूले अझै आफ्नो सुरुको भ्रष्ट स्वभाव फालेका छैनन्, र त्यसमाथि तिनीहरू शैतानबाट नयाँ भ्रष्टता स्विकार्न अघि सरेका छन् भन्ने जनाउँछ। यसको अर्थ तिनीहरूका लागि कुरा समाप्त हुनु हो। तिनीहरूले मुक्ति पाउन नसक्नु अवश्यम्भावी छ। तैँले यी कुराहरूलाई निरन्तर खुट्ट्याउनुपर्छ र इन्कार गर्नुपर्छ, साथै तिनलाई निरन्तर फाल्नुपर्छ, यी कुराहरूअनुसार जिउनु हुँदैन, र परमेश्‍वरका वचनहरू स्विकार्नुपर्छ। यसो भन्ने मानिसहरू छन्, “म यी कुरा स्विकार्नेछैनँ। परमेश्‍वरका वचन आफै ममा प्रवेश गर्नेछन्।” यो सम्भव छैन। तैँले सक्रिय रूपमा सत्यता खोज्नैपर्छ र सत्यता स्विकार्नैपर्छ, अनि सत्यता बुझ्ने प्रक्रियामार्फत स्वाभाविक रूपमा झूटा तर्क र विधर्महरूबारे सुझबुझ पाउनेछस्, अनि तिनलाई बिस्तारै त्याग्नेछस्। यसरी, परमेश्वरको वचन बिस्तारै कामकुरा गर्ने तेरो सिद्धान्त बन्नेछ, र तैँले कामकुरा गर्दा ती गर्ने कुन तरिका परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ भनेर जान्नेछस्, तैँले एकदमै स्वाभाविक रूपमा सत्यता अभ्यास गर्नेछस्, अनि तेरो भ्रष्ट स्वभावको यो पक्ष परिवर्तन भएको हुनेछ। तिमीहरूलाई यो गर्न गाह्रो हुन्छ भन्ने लाग्छ कि हुँदैन भन्ने लाग्छ? त्यो वास्तवमा गाह्रो हुँदैन। त्यसबारे गाह्रो कुरा भनेको मानिसहरूले त्यो अभ्यास नगर्नु मात्र हो। कतिपय मानिस सोच्छन्, “यो एकदमै गाह्रो हुन्छ—स्वर्ग उक्लनुभन्दा गाह्रो! के यो त माछालाई जमिनमा जिउन बाध्य पार्नु होइन र? के यो मलाई कठिन स्थितिमा हाल्नु होइन र?” के कुरा त्यही हो? होइन, कुरा त्यो होइन। तैँले यी मामिलालाई सही ढङ्गले लिनैपर्छ र तँमा यी मामिलाबारे सही सुझबुझ हुनैपर्छ। आज मैले केही शैतानी भ्रमहरूलाई मात्र सङ्गति र चिरफार गर्न यति लामो समय बिताएको छु, तर के मानिसहरूभित्र यी केही कुरा मात्र बटुलिएका हुन्छन्? (होइन।) यीभन्दा अझ धेरै नै हुन्छन्! पछि, म यी विषयहरूमा क्रमिक रूपमा सङ्गति गर्नेछु। पहिले, मैले यस पक्षमा सङ्गति गरेको थिइनँ, त्यसोभए के तिमीहरूले कहिल्यै यी विषयबारे आफै मनन गऱ्यौ? तिमीहरूले गरेनौ। तिमीहरूले तिनमा मनन गऱ्यौ भने, केही परिणाम पाउनेछौ त? यदि तिमीहरूले सत्यतामा केही प्रयास लगाउन सकेका भए, शैतानी भ्रमहरूलाई केही मात्रामा खुट्ट्याउनेथियौ, अनि तिमीहरू अहिलेजस्तो पूर्णतया अज्ञानी हुनेथिएनौ। के यी विषयहरूबारे आजको मेरो सङ्गति अचानक गरिए जस्तो देखिन्छ? के यसो भन्ने कोही छ, “के हामीले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनेबारे सङ्गति गरिरहेका छैनौँ र? हामी कसरी अचानक यी विषयहरूमा सङ्गति गरिरहेका छौँ?” यी सबै मामिला शैतानको भ्रष्ट स्वभावसँग सम्बन्धित छन्। यी सबै मामिला मानिसहरूले शैतानको भ्रष्ट स्वभाव खुट्ट्याउनुसँग पनि सम्बन्धित छन्, र सही रूपले सत्यता बुझ्ने मानिसहरूको क्षमताका लागि लाभदायी छन्। कम्तीमा पनि, सङ्गति गरेपछि मानिसहरूलाई “यो ठूलो वाक्यांश त सत्यता रहेनछ” भन्ने थाहा हुनेछ। यस मोडदेखि “झिँगटोमा सुतेर पित्त चाट्नु” र “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्नु न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिनु” जस्ता भ्रमहरू तेरो हृदयबाट हट्छन् होला। तिमीहरूमध्ये कतिपयले तिनलाई अहिले नै हटाउन नसकौला, तर कम्तीमा पनि तँलाई यी वाक्यांशहरू सत्यता होइनन् भन्ने थाहा छ, र तैँले अर्को पाली कसैले यी वाक्यांशहरू भनेको सुन्दा, तँलाई ती वाक्यांशहरूले बहकाइरहेका छन् भनेर थाहा हुनेछ, अनि तैँले ती स्विकार्नेछैनस्। तिमीहरूको हृदयलाई ती वाक्यांशहरू केही हदसम्म सही छन्, र ती अझै पनि गर्नका लागि सही कुरा हुन् भन्ने लागे पनि, तँ यसो पनि सोच्छस्, “परमेश्‍वरले यी वाक्यांशहरू सत्यता होइनन् भनेर भन्नुभएको छ। म ती वाक्यांशअनुसार कार्य गर्न सक्दिनँ।” के यो तेरा लागि लाभदायी छैन र? (छ।) मैले यी कुराहरू भन्नुको उद्देश्य के हो? म किन यी वाक्यांशहरूलाई यसरी चिरफार गर्दै छु? विश्वासीहरू सधैँ भन्छन्, “हामीले सत्यता अभ्यास गर्नैपर्छ। परमेश्‍वरका सबै वचन सत्यता हुन्। परमेश्‍वरका सबै वचन सकारात्मक कुरा हुन्, र हामीले अभ्यास गर्नुपर्ने कुरा हुन्।” एक दिन तँलाई काटछाँट गरिन्छ, अनि “झिँगटोमा सुतेर पित्त चाट्नु” र “स्वर्गले कुनै व्यक्तिलाई ठूलो जिम्मेवारी सुम्पन लाग्दा, उसको हृदयले पहिला पीडा भोग्नैपर्छ” भन्ने वाक्यांशहरू तेरो हृदयमा पैदा हुन्छन्। के यी सत्यता हुन्? के त्यो ठट्टा होइन र? यदि तँलाई परमेश्‍वरको गवाही दिन लगाइएको भए, तैँले त्यो कसरी गर्नेथिइस्? तँ भन्छस्, “विश्वासीहरूले अपमान सहनैपर्छ र गह्रौँ बोझ बोक्नैपर्छ, झिँगटोमा सुतेर पित्त चाट्नैपर्छ, अनि उनीहरूमा लड्दा कहिल्यै हार नमान्नु भन्ने मानसिकता हुनैपर्छ।” के यो परमेश्‍वरको गवाही दिनु हो? (होइन।) तैँले शैतानी तर्कलाई परमेश्‍वरका वचन र सत्यता ठानेर अनि त्यसको गवाही दिएर, परमेश्‍वरको गवाही उचित रूपमा नदिएको मात्र हुँदैनस्, तर तँ शैतानका लागि हाँसोको पात्र पनि बनेको हुन्छस् र तैँले परमेश्‍वरलाई अपमान गरेको हुन्छस्। तँ यो के गरिरहेको छस्? यदि परमेश्‍वरले तँलाई यसका लागि निन्दा गर्ने हो भने, तैँले त्यसलाई अन्याय ठान्नेथिइस् र भन्नेथिइस्, “म अनजान छु। म बुझ्दिनँ। परमेश्‍वरले यसबारे मसँग कहिल्यै सङ्गति गर्नुभएको छैन।” यदि परमेश्‍वरले तँलाई निन्दा गर्नुभएन, तर तेरा कार्यहरूको प्रकृति एकदमै गम्भीर छ भने, उहाँले यसबारे के गर्नुपर्छ? के तँलाई एकातिर पन्छाउनुपर्छ? (होइन।) केही गर्नुपर्दैन। मेरा सन्दर्भमा भन्नुपर्दा, म तिमीहरूलाई सत्यता भनेको ठ्याक्कै के हो, तिमीहरूले असल र सही ठान्ने वाक्यांशहरू सत्यतासँग सम्बन्धित छन् कि छैनन्, अनि ती सत्यता हुन् कि होइनन् भनेर तिमीहरूको बुझाइको स्तरअनुसार र मैले तिमीहरूलाई बताउन सक्ने कुराअनुसार सम्भव भएसम्म बुझ्न लगाउनेछु र सम्भव भएसम्म जान्न लगाउनेछु। मैले तिमीहरूलाई यी कुराहरू बुझाउनैपर्छ। यदि तँ यी कुराहरू जानेपछि पनि उही तरिकाले सोच्छस्, र तँ अझै जिद्दी हुन्छस् भने, परमेश्‍वरले तँलाई एकातिर पन्छाउनुहुनेछैन, न त तँलाई बेवास्ता नै गर्नुहुनेछ। तँ निन्दाको हकदार हुनेछस्, र परमेश्‍वरले कार्य गर्नुहुनेछ। परमेश्‍वरले किन यसो गर्नुहुनेछ? तैँले यी कुराहरू नबुझेर यसरी व्यवहार गरिस् भने, परमेश्‍वरले यसलाई तँ मूर्ख र अज्ञानी बनेको रूपमा लिनुहुनेछ, तर यदि तैँले यी कुराहरू जानेर पनि यसरी व्यवहार गरिस् भने, तैँले जानाजानी गलत गरिरहेको हुन्छस्, र परमेश्‍वरले यसलाई सिद्धान्तअनुसार सम्हाल्नैपर्ने हुन्छ।

डिसेम्बर १९, २०१९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्