परिशिष्ट एक: सत्यता के हो (खण्ड चार)
कष्ट र अपमानबीच कुन चाहिँ सकारात्मक हो? के यी दुईबीच कुनै भिन्नता छ? (छ।) कष्टचाहिँ सकारात्मक हो। यदि तँ स्वेच्छाले न्याय, सजाय काटछाँट स्विकार्छस्, र यो कष्ट स्वेच्छाले भोग्छस् भने, तैँले यस कष्टको व्याख्या यसरी गर्नेछस्, “मैले यो कष्ट भोग्नुपर्छ। परमेश्वरले जे गर्नुभए पनि, मैले त्यो बुझिनँ भने पनि र यो मलाई हृदयमा स्विकार्न गाह्रो भए पनि, साथै म नकारात्मक र कमजोर भए पनि, उहाँले गर्ने हरकुरा सही हुन्छ। ममा भ्रष्ट स्वभाव छ र मैले परमेश्वरसँग बहस गर्नु हुँदैन। यो मलाई हृदयमा स्विकार्न जति नै गाह्रो भए पनि, यो मेरा आफ्नै गल्तीहरूले गर्दा आएको हो। परमेश्वर गलत हुनुहुन्न; परमेश्वरले गर्ने हरकुरा सही हुन्छ। म कष्ट भोग्न लायक छु। कसले मलाई भ्रष्ट स्वभाव राख्न लगायो? कसले मलाई परमेश्वरको प्रतिरोध गर्न लगायो? कसले मलाई दुष्टता गर्न लगायो? परमेश्वर मलाई ती कुराहरू दिनुहुन्न, ती मेरो आफ्नै प्रकृतिद्वारा उक्साइएका हुन्छन्। मैले यो कष्ट भोग्नुपर्छ।” त्यसोभए, के मानिसहरूले यो कष्ट भोग्नु सकारात्मक कुरा हो? (हो।) यदि मानिसहरूले यसलाई सकारात्मक तरिकाले र परमेश्वरबाट आएको भनी बुझे भने, यो कष्ट सकारात्मक हो। तथापि, मानिलिऊँ तिनीहरू भन्छन् “म समर्पित हुन सक्छु, तर म समर्पित हुने भए पनि, मैले अझै आफ्नो तर्कलाई स्पष्टसित व्याख्या गर्नैपर्छ, र आफूले मनमा सोच्ने र गर्ने कुरा अरूलाई प्रस्ट रूपमा बताउनैपर्छ। म यस्तो डरपोक र भ्रमित तरिकाले मात्र समर्पित हुन मिल्दैन। नत्र, म मनमा कुराहरू गुम्साएर राखेकाले मर्नेछु।” तिनीहरू सधैँ कामकुरालाई स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्न, भित्री-बाहिरी सबै कुरा स्पष्टसित व्याख्या गर्न, तिनीहरूका तर्कबारे, तिनीहरूले सोच्ने कुराबारे, तिनीहरूले कसरी मूल्य चुकाउँछन् भन्नेबारे र तिनीहरू कति सही छन् भन्नेबारे कुरा गर्न चाहन्छन्। तिनीहरू परमेश्वरप्रति समर्पित हुने व्यक्ति हुन—आफूलाई सही साबित गर्न, आफ्नो बचाउ गर्न, वा आफ्नै तर्कबारे कुरा गर्नबाट आफूलाई रोक्न इच्छुक हुँदैनन्। तिनीहरू त्यस्तो व्यवहार गर्न इच्छुक हुँदैनन्। त्यस्तो अवस्थामा, तिनीहरू समर्पणलाई के ठान्छन्? तिनीहरू यसलाई अनादर सहनु ठान्छन्। तिनीहरू भित्र के सोच्छन्? “मैले परमेश्वरलाई मलाई अनुमोदन गर्न लगाउन र म समर्पित भएको छु भनेर भन्न लगाउन यो सब अनादर सहनैपर्छ।” के वास्तवमै यस्तो अपमान हुन्छ? यदि यस्तो बिलकुलै हुँदैन भने, तिनीहरू किन यो “अपमान” हटाउन कामकुरालाई अझै स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्छन्? यो साँचो समर्पण होइन। तैँले कामकुरा गर्ने आशय सही भए पनि, परमेश्वर यसरी परिस्थितिहरू योजनाबद्ध गर्न चाहनुहुन्छ। तैँले आफ्नो बचाउ गर्नुपर्दैन; तैँले बहस गर्नुपर्दैन। अय्यूबले तैँले भन्दा राम्ररी कामकुरा गर्थ्यो कि गर्दैनथ्यो? (उसले राम्ररी कामकुरा गर्थ्यो।) अय्यूबको परीक्षा लिँदा, यदि उसले बहस र आफ्नो बचाउ गरेको भए, के परमेश्वरले सुन्नुहुनेथ्यो? अहँ, उहाँले सुन्नुहुनेथिएन। यो तथ्य हो। के अय्यूबलाई परमेश्वर मानिसहरूले गर्ने आफ्ना बचावहरू सुन्नुहुन्न भन्ने थाहा थियो? अय्यूबलाई थाहा थिएन, तर उसले आफ्नो बचाव गरेन। उसको कद यस्तो थियो; ऊ साँचो रूपमा समर्पित थियो। परमेश्वरले अय्यूबलाई त्यसरी व्यवहार गर्नुपर्ने त्यस्तो के खराब कुरा उसले गरेको थियो? उसले कुनै खराब कुरा गरेको थिएन। परमेश्वरले अय्यूब उहाँको डर मान्छ र दुष्टताबाट अलग बस्छ, र ऊ सिद्ध व्यक्ति हो भनेर भन्नुभयो। “अपमान” का सन्दर्भमा भन्नुपर्दा, परमेश्वरले अय्यूबलाई ती अनादरहरू भोग्न लगाउनु हुँदैनथ्यो, उसलाई शैतानका हातमा सुम्पनु हुँदैनथ्यो अनि शैतानलाई उसलाई जाँचेर उसका सबै सम्पत्ति खोस्न दिनु हुँदैनथ्यो। यसलाई समर्पित नहुने मानिसहरूको तर्कको हिसाबले हेर्दा, अय्यूबले कष्ट र ठूलो अनादर भोग्यो, अनि उसले ती परीक्षाहरू पाउँदा परमेश्वरबाट पछि अझ धेरै आशिष् पाउन अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको थियो। वास्तवमा के यो साँचो थियो? (थिएन।) के अय्यूबले यसरी सोचेको र अभ्यास गरेको थियो? (थिएन।) उसले कसरी अभ्यास गऱ्यो? उसले यी परीक्षाहरूलाई कसरी सम्हाल्यो? उसले सहनुपरेन, न त उसलाई अनादर भोगिरहेको छु भन्ने नै लाग्यो। उसले के सोच्यो? (परमेश्वरले दिनुभयो र उहाँले नै लिनुभयो।) ठिक भनिस्। मानिसहरू परमेश्वरबाट आउँछन्। परमेश्वरले तँलाई जीवन र सास दिनुभयो। तँ सम्पूर्ण रूपले परमेश्वरबाट आएको होस्, त्यसोभए के तैँले प्राप्त गर्ने सबै कुरा परमेश्वरले तँलाई दिएका कुरा होइनन् र? तैँले घमण्ड गर्नुपर्ने कुरा के छ? सबै कुरा परमेश्वरले दिनुहुन्छ, त्यसैले यदि परमेश्वरले त्यो लान चाहनुहुन्छ भने, तैँले तर्क गर्नुपर्ने के कारण छ? उहाँले तँलाई केही कुरा दिनुहुँदा, तँ खुसी हुन्छस्, अनि उहाँले तँलाई कुनै कुरा नदिँदा, तँ बेखुस हुन्छस्, परमेश्वरबारे गुनासो गर्छस्, परमेश्वरबाट त्यो कुरा माग्छस्, र परमेश्वरसँग लडाइँ गर्छस्। परमेश्वरले तँलाई केही कुरा दिनुहुन्छ वा दिनुहुन्न भन्ने कुरा उहाँमै निर्भर हुन्छ; त्यसमा मानिसहरूले तर्क गर्नुपर्ने केही कारण छैन। के अय्यूबले यस्तै व्यवहार गऱ्यो? (हजुर।) अय्यूबले यस्तै व्यवहार गऱ्यो। के उसको हृदयमा अन्यायको बोध भयो? (भएन।) अहँ, भएन। यसलाई बाहिरबाट हेर्दा, अय्यूबसित अन्यायविरुद्ध आवाज उठाउने, आफूलाई सही साबित गर्न तर्क-वितर्क गर्ने, आफ्नो बचाउ गर्ने, परमेश्वरविरुद्ध उभिने, र परमेश्वरलाई सबै कुरा स्पष्ट र खुल्ला रूपमा व्याख्या गर्ने पर्याप्त कारण थियो। यी कुराहरू गर्न सबैभन्दा लायक ऊ नै थियो, तर के उसले त्यसो गऱ्यो? अहँ, उसले गरेन। उसले एक शब्द पनि भनेन, केवल केही कामकुरा गऱ्यो: उसले आफ्नो खास्टो च्यात्यो, आफ्नो कपाल खौऱ्यो, भुईँमा लम्पसार पऱ्यो र आराधना गऱ्यो। यी श्रृङ्खलाबद्ध कार्यहरूले मानिसहरूलाई उसलाई केका रूपमा हेर्ने तुल्याए? परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, अनि सिद्ध व्यक्ति। सिद्ध व्यक्तिको परिभाषा के हो? परमेश्वरले गर्ने कुराको कुनै आलोचना नगर्ने, बरु त्यसको प्रशंसा गर्ने र त्यसप्रति समर्पित हुने, अनि आफूले जति नै ठूलो कष्ट भोगे पनि “मैले अन्याय भोगेको छु। यो अपमान हो” भन्दैन। उसले जति नै ठूलो कष्ट भोगे पनि, कहिल्यै यस्तो एक शब्द प्रदर्शन गर्दैन, वा यस्तो एक शब्द भन्दैन। यसलाई के भनिन्छ? गैरविश्वासीहरू यसलाई “आफूलाई त्याग्नु” भन्छन्। यहाँ तर्क कहाँ छ? के कुरा यही हो? (होइन।) “आफूलाई त्याग्नु” भनेको मानसिक रोग र बकवास हो। अय्यूबलाई जति नै ठूलो वा जति नै पीडादायी मामला आइपरे पनि, उसले कहिल्यै परमेश्वरसँग बहस गरेन वा उहाँसँग लडाइँ गरेन; ऊ केवल समर्पित भयो। ऊ समर्पित हुनुको सुरुवाती कारण के थियो? परमेश्वरको डर। उसको समर्पित हुने क्षमता परमेश्वरसम्बन्धी उसको बुझाइबाट आएको हो। उसले सबथोक परमेश्वरबाट आउँछ, र परमेश्वरले गर्ने हरथोक सही हुन्छ भनेर विश्वास गऱ्यो।
बर्खास्त गरिएका कतिपय टोली अगुवा र सुपरिवेक्षकहरू निरन्तर रुन्छन्, रिस पोखाउँछन्, र भावुक बन्छन्। तिनीहरूलाई आफूले अन्याय भोगेको छु भन्ने लाग्छ, तिनीहरू परमेश्वर धर्मी हुनुहुन्न भनेर गुनासो गर्छन्, अनि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको खुलासा र रिपोर्ट गरेर तिनीहरूलाई अन्याय गरेका छन् भन्ने सोच्छन्, र भन्छन्, “तिमीहरूमा विवेक छैन। म तिमीहरूलाई राम्रो गर्थेँ, तर तिमीहरूले मलाई यसरी गुन तिर्यौ! परमेश्वर धर्मी हुनुहुन्न। मैले यस्तो ठूलो अन्याय भोगेको छु, तैपनि परमेश्वरले मलाई सुरक्षा दिनुभएन; तिनीहरूले मलाई त्यतिकै कठोरतासाथ बरखास्त गरे। तिमीहरू सबै मलाई तुच्छ ठान्छौ, र परमेश्वर पनि मलाई तुच्छ ठान्नुहुन्छ!” तिनीहरू आफूलाई एकदमै अन्यायपूर्ण व्यवहार गरिएको छ भन्ने सोच्छन् र रिस पोखाउँछन्। मलाई बता त, के यस्तो व्यक्ति समर्पित हुन सक्छ? मैले देखेअनुसार यो सजिलो छैन। त्यसोभए, तिनीहरू सक्किएका होइनन् र? तँ केका लागि रिस पोखाउँछस्? यदि तँ यो स्विकार्न सक्छस् भने, स्विकार्। यदि तँ सत्यता स्विकार्न सक्दैनस्, र सत्यताप्रति समर्पित हुन सक्दैनस् भने, परमेश्वरको घरबाट निस्केर जा! परमेश्वरमा विश्वास नगर्—कसैले तँलाई बाध्य पारिरहेको छैन। तँलाई कस्तो अन्याय भएको छ? तँ केका लागि रिस पोखाउँछस्? यो परमेश्वरको घर हो। यदि तँसँग हिम्मत छ भने, गएर समाजमा रिस पोख्, अनि रिस पोखाउन शैतान र दियाबलस राजाहरू खोज्न जा। परमेश्वरको घरमा रिस नपोख्। तँ टोली अगुवाबाट बर्खास्त भइस् भने त्यो के ठूलो कुरा हो र? तँ टोली अगुवा होइनस् भने पनि अझै जिउन सक्छस् त, सक्दैनस् र? यदि तँ टोली अगुवा होइनस् भने, के तैँले परमेश्वरमा विश्वास गर्नेछैनस्? अय्यूबले यस्तो ठूलो कष्ट भोग्यो, तर उसले के भन्यो? उसले एक शब्द पनि गुनासो गरेन, र यसो भन्दै परमेश्वरको प्रशंसासमेत गऱ्यो: “यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। के उसले प्रशस्त इनाम र लाभ पाएका कारण यहोवाको नामको प्रशंसा गरेको थियो? होइन। उसले त्यसरी नै बुझ्यो, र त्यसरी नै अभ्यास गऱ्यो। के यसको सम्बन्ध व्यक्तिको चरित्रसित पनि छैन र? (छ।) कतिपय मानिसको चरित्र नीच हुन्छ, र तिनीहरूलाई अलिकति अन्याय हुँदा, तिनीहरू आफूलाई अत्यन्तै अन्यायपूर्ण व्यवहार गरिएको छ, र संसारका सबै मानिसले त्यसबारे दोषी महसुस गर्नुपर्छ र तिनीहरूसँग माफी माग्नुपर्छ भन्ने सोच्छन्। यी मानिसहरूले साह्रै दुःख दिन्छन्! तँ “अनादर” शब्दलाई कसरी व्याख्या गर्छस्? अनादर भोग्नु गैरविश्वासीहरूका लागि सामान्य घटना हो, तर परमेश्वरको घरमा यसलाई फरक तरिकाले भनिन्छ: सत्यता प्राप्त गर्नका निम्ति कष्ट र अनादर भोग्नु मानिसहरूले भोग्नुपर्ने कष्ट हो। सत्यता बुझ्ने मानिसहरूलाई काँटछाँट गरिए पनि वा बर्खास्त गरिए पनि, तिनीहरू यसलाई अनादर ठान्दैनन्। तिनीहरू आफू कष्ट भोग्न लायक छु, र मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले तिनीहरू यसप्रति समर्पित हुन सक्दैनन्, तर त्यो अनादर होइन भन्ने सोच्छन्। कसले चाहिँ साँच्चै अनादर भोग्छ? अनादर भोग्ने त परमेश्वर हुनुहुन्छ। परमेश्वर मानवजातिलाई मुक्ति दिनुहुन्छ, तर मानिसहरू बुझ्दैनन्। हेर्, परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेपछि तिनीहरूले मूर्तीपूजा गरे। तिनीहरूले खानका लागि आफूसँग केही नहुँदा, परमेश्वरबारे गुनासो गरे, र परमेश्वरले तिनीहरूलाई मन्ना र अन्य खानेकुरा पठाउनुपऱ्यो। केही राम्रा दिनहरू बितेपछि तिनीहरूले परमेश्वरलाई वास्ता गरेनन्, तर आफूलाई कठिनाइहरू आइपरेपछि फेरि उहाँलाई खोजे। के तिमीहरू उहाँले ठूलो अनादर भोग्नुभयो भनेर भन्दैनौ र? देहधारी परमेश्वरलाई युगहरूले इन्कार गर्दा के उहाँले ठूलो अनादर भोग्नुहुन्न र? मानिसहरू केही होइनन्, र केही कुरामा सक्षम छैनन्। तिनीहरू परमेश्वरले दिने धेरै अनुग्रहको आनन्द लिन्छन्, र परमेश्वरले प्रदान गर्ने धेरै सत्यताको आनन्द लिन्छन्, तर आफूले पाउनुपर्ने अलिकति कष्ट भोग्दा, तिनीहरूलाई त्यो एकदमै अन्यायपूर्ण लाग्छ। मानिसहरू कस्तो अन्याय भोग्छन्? कतिपय मानिसमा सामान्यतया निकै दृढता हुन्छ, तर जब तिनीहरूले अलि कष्ट भोग्छन्—जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गर्छन्, वा कसैले तिनीहरूलाई अप्रिय कुरा भन्छन्, वा तिनीहरूलाई कसैले साथ दिँदैन वा चापलूसी गर्दैन—तब तिनीहरू दबाइएको महसुस गर्छन्, आफूले ठूलो कष्ट भोगेको, र आफूलाई अन्याय भएको महसुस गर्छन्, र यस्तो गुनासो गर्छन्, “तिमीहरू सबैले मलाई तुच्छ ठान्छौ, र कसैले मलाई वास्ता गर्दैन। दुर्व्यवहार भोग्नु त मेरो भाग्यमै रहेछ!” तँ केका लागि रिस पोखाउँदै छस्? ती कुराहरू भनेर के फाइदा? के ती शब्दहरूमध्ये कुनै सत्यताअनुरूप छन्? (छैनन्।) त्यसोभए यसले के अर्थ राख्छ—के यो अपमान हो? तँ आफूले भोग्नुपर्ने कष्ट प्रस्टसित देख्न सक्दैनस्, र त्यो स्विकार्दैनस्। तैँले यतिका धेरै प्रवचन सुनेको छस्, तर मानिसहरूले कसरी सत्यता अभ्यास गर्नुपर्छ र तिनीहरू कसरी समर्पित हुनुपर्छ भनेर बुझ्दैनस्। तँलाई यसको केही पनि थाहा छैन, र तँ अझै आफूले एक प्रकारको ठूलो अनादर भोगेको छु भन्ने सोच्छस्। के तैँले अनुचित व्यवहार गरिरहेको छैनस् र? परमेश्वरको मुक्ति स्विकार्ने मानिसहरूका लागि के यो अपमानको अस्तित्व छ? (छैन।) कहिलेकाहीँ दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अवश्य नै अन्यायपूर्ण व्यवहार गर्ने भए पनि, तैँले त्यो कसरी अनुभव गर्नुपर्छ? उदाहरणका लागि, कुनै ठाउँमा पचास डलरको नोट लडिरहेको छ, र तँ त्यसको छेउछाउबाट हिँडेपछि त्यो गायब हुन्छ अनि सबैले त्यो तैँले नै लगेको होस् भनेर शङ्का गर्छन्। तैँले के गर्नेथिइस्? तँलाई मनमा दुःख लाग्नेथ्यो र तँ हतासिनेथिइस्: “म गरिब भए पनि मेरो नैतिकता अझै मरेको छैन। म अझै आफ्नो मर्यादाको ख्याल गर्छु। मैले कहिल्यै अरू कसैको कुनै कुरा लिएको छैनँ। मेरो हात एकदमै सफा छ। तिमीहरू सधैँ मलाई तुच्छ ठान्छौ, र यस्तो हुँदा मलाई नै सबैभन्दा पहिला शङ्का गर्छौ। परमेश्वरले मेरो पक्षबाट कुरा स्पष्ट पार्नुभएको छैन। यस्तो लाग्छ, उहाँले पनि मलाई मन पराउनुहुन्न!” तँ रिस पोखाउँछस्। के यो अपमान हो? (होइन।) त्यसोभए, तैँले यस परिस्थितिमा के गर्नुपर्छ? यदि तैँले त्यो लिएको भए, लिएको स्वीकार गर् र फेरि कहिल्यै कुनै कुरा नलिने कसम खा। यदि तैँले नलिएको भए, यसो भन्, “मैले त्यो लिएको छैनँ। परमेश्वरले मानिसहरूको गहनतम हृदय नियाल्नुहुन्छ। जसले त्यो पैसा लिएको हो, उसलाई त्यो थाहा छ, र परमेश्वरलाई पनि त्यो थाहा छ। म अरू एक शब्द बोल्दिनँ।” तैँले यसो भन्नुपर्दैन, “तिमीहरू मलाई तुच्छ ठान्छौ। तिमीहरू सबै मलाई हैरान पार्न चाहन्छौ।” ती कुराहरू भन्नुको के फाइदा? के त्यस्ता धेरै कुराहरू भन्नु राम्रो हो? (होइन।) किन होइन? यदि तैँले त्यस्ता धेरै कुरा भनिस् भने, त्यसले एउटा तथ्य प्रमाणित गर्छ: परमेश्वर तेरो हृदयमा हुनुहुन्न; तँ परमेश्वरमा विश्वास गर्दैनस्, र तँमा परमेश्वरप्रति साँचो विश्वास छैन। तैँले साँचो कुरा बताएपछि, परमेश्वरलाई थाहा हुन्छ। उहाँले मानिसहरूको गहनतम हृदय नियाल्नुहुन्छ, र मानिसहरूले भन्ने र गर्ने हरकुराको छानबिन गर्नुहुन्छ। अन्य मानिसहरू त्यसलाई कसरी हेर्न चाहन्छन्, त्यो तिनीहरूमा भर पर्छ। तँलाई परमेश्वर यी सबै कुरा जान्नुहुन्छ, र धेरै कुरा भन्नु आवश्यक छैन भन्ने विश्वास हुन्छ। के तँ व्यथित हुनुपर्छ? अहँ, पर्दैन। यस मामिलाको के नै महत्त्व छ र? तँलाई परमेश्वरमा विश्वास गरेकोमा बदनाम र आलोचना गरिँदा, आफूले अन्याय भोगेको महसुस हुन्छ, तर के तँ यसबारे स्पष्टसित कुरा गर्न सक्छस्? तैँले एकचित्त भई तिनीहरूविरुद्ध आफ्नो बचाउ गरेर उचित मामलामा ढिलाइ गरिरहेको हुन्छस्। यो व्यर्थको कुरा हो, होइन र? तिनीहरूसँग बहस गर्नुको के फाइदा? यो सत्यता अभ्यास गर्नु होइन।
मानिसहरूले परमेश्वरको मुक्ति अनुभव गर्ने क्रममा धेरै कष्ट भोग्छन्। के मानिसहरूले भोग्ने कष्ट अनादर हो? (होइन।) निश्चय नै होइन। म किन त्यसो भन्छु? (किनभने मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, मानिसहरूले यो कष्ट भोग्नुपर्छ।) मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्—यो त्यसको पाटो हो। त्यसबाहेक, तैँले सत्यताको जुन पक्ष बुझ्दैनस् र तँभित्रको जुन पाटो अझै नकारात्मक छ, तैँले त्यसलाई अघि सारेर त्यसबारे सङ्गति गर्न सक्छस्। तैँले त्यसलाई मनमा कैद गरिराख्नु पर्दैन। सङ्गतिको उद्देश्य के हो? (समस्या समाधान गर्नु।) सत्यता खोज्नु, सत्यता बुझ्नु, र भित्र भएका समस्याहरू समाधान गर्नु। तैँले तिनलाई मनमा कैद गरिराख्नु पर्दैन। तैँले अनादर भोग्नुपर्दैन। तैँले यसो भन्दै सहनुपर्दैन, “म बुझ्दिनँ, तैपनि मलाई अझै समर्पण गर्न लगाइँदै छ। मैले समर्पण गर्नुअघि बुझ्नैपर्छ।” यदि तैँले बुझिनस् भने, सङ्गति गर्न सक्छस्। सत्यताको खोजी गर्नु सही मार्ग हो। यो गलत होइन। कतिपय कुराबारे सङ्गति गर्दा र तिनलाई स्पष्टसित व्याख्या गर्दा, मानिसहरूले के गर्ने भनी थाहा पाउनेछन्। तैँले सत्यता खोजी गर्ने मनोवृत्ति राख्नुपर्छ, र सत्यता खोजेर समस्या समाधान गर्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस् र समर्पित हुने अभ्यास मात्र गर्छस् भने, अन्त्यमा तैँले अझै आफ्नो समस्या समाधान गर्न सक्नेछैनस्। तसर्थ, तँ समर्पित हुन आवश्यक भए पनि, तैँले भ्रमित वा सिद्धान्तहीन तरिकाले समर्पित हुनुपर्दैन। तथापि, समर्पणभित्र सबैभन्दा आधारभूत सिद्धान्त हुन्छ, जुन के हो भने, तँ आफूले नबुझ्दा पहिला समर्पित हुनुपर्छ, तँमा समर्पित हृदय, र समर्पित मनोवृत्ति हुनुपर्छ। मानिसहरूमा हुनुपर्ने चेतना यही हो। यो हासिल गरेपछि, बिस्तारै खोजी गर्। यसरी, तँ परमेश्वरको स्वभावलाई चिढ्याउनदेखि जोगिन सक्छस्, अनि सुरक्षित हुन र अन्त्यसम्म पुग्न सक्छस्। के परमेश्वरले मानिसहरूलाई खुलासा गर्न, निन्दा गर्न, अनि न्याय गर्न र सराप्नसमेत प्रयोग गर्ने सबै शब्दहरू मानिसहरूलाई अपमान गर्नका लागि हुन्? (होइनन्।) के मानिसहरूलाई यो सब सहन एकदमै ठूलो धैर्य चाहिन्छ? (चाहिँदैन।) अहँ, तिनीहरूलाई त्यो चाहिँदैन। त्यसविपरीत, मानिसहरूलाई यो सब स्विकार्न अत्यधिक विश्वास चाहिन्छ। तैँले यो स्विकारेर मात्र शैतानको भ्रष्ट प्रकृति ठ्याक्कै के हो, मानिसहरूको भ्रष्ट सार ठ्याक्कै के हो, परमेश्वरप्रतिको मानिसहरूको शत्रुताको स्रोत ठ्याक्कै के हो, अनि मानिसहरू किन परमेश्वरसँग मिल्दैनन् भनेर साँचो रूपमा बुझ्न सक्छस्। तैँले यी समस्याहरू समाधान गर्न सक्नुअघि परमेश्वरका वचनमा सत्यताको खोजी गर्नैपर्छ। यदि तैँले सत्यता स्वीकार गरिनस् भने, र परमेश्वरका वचनले जति नै स्पष्टसँग कामकुराबारे बताए पनि, तँ त्यो स्विकार्दैनस् भने, तैँले ती समस्याहरू कहिल्यै समाधान गर्नेछैनस्। तैँले “परमेश्वरका वचनले हाम्रो अपमान गर्दैनन्; हाम्रो खुलासा मात्र गर्छन्, र ती हाम्रै भलाइका लागि हुन्” भनेर बुझिस् भने पनि, यसलाई धर्मसिद्धान्तका रूपमा मात्र स्विकार्छस्; तैँले परमेश्वरले भन्ने हरकुराको साँचो अर्थ, वा यो कस्तो परिणाम हासिल गर्नका लागि हो भनेर कहिल्यै बुझ्नेछैनस्। तैँले परमेश्वरले कुरा गर्ने गरेको सत्यता ठ्याक्कै के हो भनेर पनि कहिल्यै बुझ्नेछैनस्। यसरी सङ्गति गरेपछि, के यसले निश्चित हदसम्म मानिसहरूलाई काटछाँट स्विकार्नुप्रति, बरखासी स्विकार्नुप्रति, अनि मानिसहरूका धारणासँग मेल नखाने परमेश्वरले गर्ने काम, प्रबन्ध र सार्वभौमिकताप्रति सक्रिय र सकारात्मक मनोवृत्ति राख्न लगाउन सक्दैन र? (सक्छ।) कम्तीमा पनि, मानिसहरूले परमेश्वरले गर्ने हरकुरा सही हुन्छ, आफूले यसलाई नकारात्मक तरिकामा बुझ्नु हुँदैन, र आफूले पहिला राख्नुपर्ने मनोवृत्ति भनेको सक्रिय रूपले त्यो स्विकार्नु, त्यसप्रति समर्पित हुनु र त्यससँग सहकार्य गर्नु हो भनेर सोच्नेछन्। परमेश्वरले मानिसहरूप्रति गर्ने हरकुराका लागि तिनीहरूलाई बलियो धैर्य चाहिँदैन। त्यसको अर्थ, तैँले यो सब सहनुपर्दैन। तैँले के गर्नुपर्छ? तैँले गर्नुपर्ने भनेको स्विकार्नु, खोजी गर्नु, र समर्पित हुनु हो। गैरविश्वासीहरूले प्रयोग गर्ने “अपमान सहनु” भन्ने शब्द मानिसहरूप्रति स्पष्टतः दुर्व्यवहारपूर्ण हुन्छ। परमेश्वरले गर्ने कुनै कुरामा तैँले अपमान सहनु आवश्यक छैन। तैँले धैर्य, प्रेम, विनम्रता, साथै समर्पण, स्वीकार, इमानदारी, खुल्लापन, र खोजी अभ्यास गर्न सक्छस्; यी कुराहरू तुलनात्मक रूपले सकारात्मक हुन्छन्। त्यसैले, गैरविश्वासीहरूले भनिरहेको कुरापछाडिको तर्क के हो? त्यो शैतानी दर्शन, र शैतानी झुट हो। सङ्क्षेपमा भन्नुपर्दा, अपमान सहनु भनेको परमेश्वरमा विश्वास गर्नेहरूले पालन गर्नुपर्ने सिद्धान्त होइन। त्यो सत्यता होइन; त्यो शैतानी कुरा हो। अपमान सहनु भनेको मानिसहरूले गरून् भनी परमेश्वरले माग गर्ने कुरा होइन, किनभने यहाँ अपमानको कुनै अस्तित्व छैन। मानिसहरूप्रति परमेश्वरका सबै कार्य प्रेम, मुक्ति, तिनीहरूको हेरचाह र सुरक्षाका कार्य हुन्। परमेश्वरले भन्ने कुराहरू, र उहाँले मानिसहरूमा गर्ने काम सबै सकारात्मक हुन्छन् र ती सबै सत्यता हुन्। तीमध्ये अलिकति पनि शैतानका कुराजस्ता होइनन्, अनि त्यसमा शैतानका कुनै पनि पद्धति र माध्यमहरू हुँदैनन्। परमेश्वरका वचन स्वीकार गरेर मात्र मानिसहरू शुद्ध हुन र तिनीहरूले मुक्ति पाउन सक्छन्।
शैतानले चर्चा गर्ने गरेको “अपमान सहने” कार्य मानिसहरूमा कुन-कुन तरिकामा प्रकट हुन्छ? त्यो मानिसहरूमा हानि, दुर्व्यवहार, विध्वंस र कुल्चिमिल्ची गर्नुका रूपमा प्रकट हुन्छ। सङ्क्षेपमा, त्यसले तँमाथि विपत्ति ल्याउँछ। तैँले कष्ट वा अपमान जे भोगेको भए पनि, छोटकरीमा भन्दा, शैतानले मानिसहरूलाई भोगाउने कुराहरूबाट अन्त्यमा तिनीहरूले प्राप्त गर्ने कुरा निश्चय नै सत्यता होइन। मानिसहरूले के प्राप्त गर्छन्? पीडा। शैतानले मानिसहरूमा अनगिन्ती प्रकारका अपमान र उपहास, साथै दुर्व्यवहार र भ्रष्टता निम्त्याउँछ। त्यसोभए, त्यसले मानिसहरूमा के हासिल गर्छ र तिनीहरूलाई के महसुस गराउँछ? त्यसले मानिसहरूलाई गुनासो सहन र आफूलाई जोगाउन सम्झौता गर्न लगाउँछ, अनि तिनीहरूलाई भित्र विकृत बन्ने समेत तुल्याउँछ। मानिसहरूले यो सबलाई सम्हाल्न र व्यवहार गर्न सबै प्रकारका तरकिब र पद्धति प्रयोग गर्न सिक्छन्, अनि मानिसहरूलाई चिप्लो घस्न, नाटक गर्न र झुट बोल्न सिक्छन्। जब मानिसहरू यी सबै कुरा प्रकट गर्छन् र देखाउँछन्, तब तिनीहरूको हृदय इच्छुक, खुसी, र शान्त हुन्छ कि रिसाएको र पीडामा हुन्छ? (रिसाएको र पीडामा हुन्छ।) मानिसहरूले यस संसारमा अझ बढी अपमान सहँदा तिनीहरूको हृदयको रिस बढ्छ कि घट्छ? (बढ्छ।) त्यसोभए, मानिसहरूले मानवजातिलाई झन्-झन् धेरै शत्रुवत् तरिकाले हेर्छन् कि झन्-झन् प्रेमिलो तरिकाले हेर्छन्? (शत्रुवत् तरिकाले।) मानिसहरू मानवजातिलाई झन्-झन् धेरै शत्रुवत् तरिकाले हेर्छन् र आफूले देख्ने जति सबैलाई घृणा गर्छन्। मानिसहरू जवान छँदा र भर्खरै समाजमा प्रवेश गरेको बेला, सबथोक निकै राम्रो देख्छन्, र एकदमै सहजतासाथ मानिसहरूलाई भरोसा गर्छन्। जब तिनीहरू तीसका दशकमा लाग्छन्, तब मानिसहरूलाई त्यति भरोसा गर्न छोड्छन्। जब तिनीहरू चालिसका दशकमा लाग्छन्, तब धेरैजसो मानिसहरूलाई भरोसा गर्दैनन्, र जब तिनीहरू पचासका दशकमा पुग्छन्, तब तिनीहरूको हृदय घृणाले भरिएको हुन्छ अनि तिनीहरू आफ्नो व्यवहार बदलेर अरूलाई हानि गर्ने झुकाव राख्छन्। मानिसहरू घृणाले भरिनुअघि के सहन्छन्? त्यो सबै अपमान र पीडा हो। तँसँग अरूमा हुने क्षमता र शक्ति नहुँदा, जब अरूले तँ केही होस् भनेर भन्छन्, तब तैँले तुरुन्तै मानिहाल्नुपर्छ, अनि जब तिनीहरूले तँलाई सराप्छन्, तैँले सुन्नैपर्छ। तैँले गर्न सक्ने केही छैन, तर तँ मनमा के सोच्छस्? “मसँग शक्ति भएको दिन, म तँलाई आफ्नै हातले मार्नेछु र तेरो तीन पुस्तालाई सखाप पार्नेछु!” तेरो हृदयको घृणा झन्-झन् बढ्दै जान्छ। अपमान सहनु र गह्रौँ बोझ बोक्नुले भ्रष्ट मानवजातिमाथि ल्याउने नतिजा यही हो। मानिसहरू सोच्छन्, समाजले प्रशंसा गर्ने र बढावा दिने गरेको अपमान सहने र गह्रौँ बोझ बोक्ने काम सकारात्मक कुरा हो, अनि त्यो एक प्रकारको मानसिकता र सोच्ने तरिका हो, जसले मानिसहरूलाई कडा परिश्रम गर्न र अझ बलियो बन्नका लागि लागिपर्न सक्षम बनाउँछ। त्यसोभए, यसले किन अन्त्यमा मानिसहरूमा रिस र घृणा पैदा गर्छ? (किनभने यो सत्यता होइन।) सही भनिस्। त्यो सत्यता नभएकाले त्यसले यो प्रतिकूल परिणाम ल्याउँछ। समाज र गिरोहहरूमा के कुराले पुस्तौँपुस्तासम्मको रिसराग र बदलाको भावनाले गरिने हत्या उत्पन्न गराउँछ? (मानिसहरूले अपमान भोगेपछि तिनीहरूका हृदयको घृणा बढेर जान्छ र तिनीहरू बदलाको भावनाले हत्या गर्छन्।) ठिक भनिस्, बदलाको भावनाले गरिने हत्या त्यसरी नै उत्पन्न हुन्छ। पुस्ता दर पुस्ता, मानिसहरू मानवजाति विपत्तिले नष्ट नहुञ्जेल एकअर्कालाई क्रूरतापूर्वक हत्या गर्छन्। नतिजा यही हुन्छ। मानवजाति शैतानको दर्शन र तर्कअनुसार जिएको छ अनि शैतानको सत्ताअन्तर्गत वर्तमान समयसम्म क्रमिक रूपमा विकास हुँदै आएको छ। मानिसहरूबीचको सम्बन्ध झन्-झन् टेढो हुँदै गएको छ, झन्-झन् टाढिँदै छ, झन्-झन् बढी भरोसा टुट्दै जाँदै छ, र झन्-झन् चिसिँदै छ। अहिले त्यो कुन मोडमा पुगेको छ? अहिले त्यो एकअर्कासँग कुनै सम्बन्ध नभएका दुई मानिसको हृदय आपसी घृणा र आपसी शत्रुताले भरिएको मोडमा पुगेको छ। विगतमा, छिमेकीहरू बारम्बार सम्पर्कमा रहिरहन्थे र एकअर्कासँग प्रायः भलाकुसारी गर्थे, तर अहिले, कुनै व्यक्ति मरेको पाँच-छ दिन भइसकेको हुन सक्छ, तर उसको छिमेकीलाई अत्तोपत्तो हुँदैन; कसैले पनि ऊबारे ध्यान दिँदैन। परिस्थिति कसरी यस मोडमा पुग्यो? त्यो आपसी घृणाका कारण यस मोडमा पुगेको हो। तँ अरूले तँप्रति वैरभाव राखून् भन्ने चाहँदैनस्, तर त्यो सँगसँगै तँचाहिँ अरूप्रति वैरभाव राख्छस्—यो एउटा दुष्चक्र हो। यो शैतानका नियमले मानवजातिमाथि ल्याएको प्रतिकूल परिणाम र विपत्ति हो। मानिसहरूले हृदयमा अरूप्रति राख्ने दृष्टिकोण र छाप झन्-झन् धेरै प्रतिकूल बन्दै गइरहेका छन्, त्यसैले तिनीहरू अपमान सहन र गह्रौँ बोझ बोक्नमा झन्-झन् खप्पिस बन्छन् अनि तिनीहरूका हृदयमा रिस र घृणा बढ्दै गएर अन्त्यमा तिनीहरू यसो भन्छन्, “तिनीहरू सबै मरेका भए र एक जना पनि जीवित नभएका भए राम्रो हुनेथ्यो!” के सबैको हृदय यस्तो घृणाले भरिएको हुँदैन र? तिनीहरू यो संसार जतिसक्दो चाँडो नष्ट होस् भन्ने चाहन्छन्: “सबै मानिसहरू चरम रूपमा खराब हुन्छन्। तिनीहरू नष्ट हुन लायक छन्!” तँ अरू मानिसहरू भित्री रूपमै खराब छन् भनेर भन्छस्, तर तँ नि? के तँ साँच्चै परिवर्तन भएको हुन सक्छ? के तैँले मुक्ति पाइसकेको हुन सक्छ? तैँले चरम रूपमा खराब भएकामा घृणा गरिरहँदा, तँ तिनीहरूभन्दा असल हुनुपर्छ। यदि तँ संसारका मानिसहरू जत्तिकै खराब छस् भने, तँमा समझ छैन। जब समझ भएको व्यक्तिले मानवजाति चरम रूपमा खराब छ भन्ने देख्छ, तब उसले परमेश्वरलाई सन्तुष्ट पार्न सत्यता पछ्याउनुपर्छ र मानव रूपमा जिउनुपर्छ—यो नै उपयुक्त कुरा हो। यसरी, परमेश्वरले यो दुष्ट मानवजातिलाई नष्ट गर्नुहुँदा, तिनीहरू जोगिनेछन्।
के तिमीहरू यो दुष्ट मानवजातिलाई घृणा गर्छौ? (गर्छौँ।) परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसमा केही मानवता र समझ हुन्छ; तिनीहरूको हृदय झनै दयालु हुन्छ, तिनीहरू ज्योतिको तृष्णा गर्छन्, र परमेश्वर र सत्यताले शक्ति हातमा लिऊन् भन्ने तृष्णा गर्छन्। तिनीहरू दुष्ट र अनुचित कुराहरू मन पराउँदैनन्। तिनीहरू मानवजातिका लागि आशा, प्रेम र सहनशीलताले भरिएको हुनुपर्ने हो भने तिनीहरूले कसरी मानवजातिलाई घृणा गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म स्कूलमा छँदाको समयबारे फर्केर सोच्दा, शिक्षकले मलाई हैरान पार्थ्यो, तर मैले त्यसबारे बोल्ने आँट गरिनँ; मैले त्यो सहनुपऱ्यो। त्यसैले, मैले मेहनतसाथ पढेर भविष्यमा विश्वविद्यालय जाने मन बनाएँ। म तिमीहरू सबैलाई मेरो खुबी देखाउनेछु, र त्यसपछि मचाहिँ तिमीहरूलाई हैरान पार्नेछु!” कतिपय मानिसहरू भन्छन्, “मैले जागिर खाँदाको समयबारे फर्केर सोच्दा, कम्पनीका शक्तिशाली मानिसहरूले सधैँ मलाई हैरान पार्थे, र म सोच्थेँ, ‘पख, म उपलब्धिहरू हासिल गरेर तिमीहरूलाई उछिन्नेछु। त्यसपछि म तिमीहरूको जीवन दुःखमय बनाइदिनेछु!’” अरू चाहिँ यसो भन्छन्, “मैले व्यापार गर्दाको समयलाई सम्झँदा, विक्रेता प्रबन्धकले मलाई जहिले पनि ठगी गर्थ्यो, र म सोच्थेँ, ‘मैले धेरै सम्पत्ति कमाएपछि म तँलाई ठिक पार्नेछु!’” कसैको पनि जीवन सजिलो हुँदैन, र सबैले कुनै न कुनै बेला हेपाइ खाएका हुन्छन्—तिनीहरूले मनमा घृणा गर्ने र हिसाब चुक्ता गर्नुपर्ने कतिपय मानिस हुन्छन्। संसार यस्तो भएको छ; यो घृणा र शत्रुताले भरिएको छ। मानिसहरूको एकअर्काप्रतिको शत्रुता अति चरम छ, तिनीहरू सामञ्जस्यपूर्वक मिलेर बस्न सक्दैनन् र तिनीहरूको सम्बन्ध सौहार्दपूर्ण छैन। यो संसार चाँडै समाप्त हुनेछ; यो अन्तिम घडीमा पुगेको छ। सबै जनासँग आफूले विगतमा कसैको, कतै न कतै हेपाइ खाएको, वा विगतमा कुनै कम्पनी, सङ्गठन, वा मानिसहरूको समूहका अरू कसैले हेपेको, तुच्छ ठानेको, छल गरेको र हानि गरेको आफ्नै दुःखलाग्दा कथाहरू हुन्छन्। यी कुराहरू चारैतिर हुने गर्छन्। यसले के प्रमाणित गर्छ? यसले अब मानवजातिमाझ नोआजस्ता कुनै मानिस छैन भन्ने प्रमाणित गर्छ। कुरा त्यही होइन त? (हो।) सबैको हृदय दुष्टताले भरिएको हुन्छ, अनि सत्यता, सकारात्मक कुरा र इन्साफप्रति शत्रुताले भरिएको हुन्छ। मानिसहरू मुक्ति पाउन नसक्ने भइसकेका छन्। मानिसहरूलाई मुक्ति दिन सक्ने कुनै व्यक्ति, शिक्षा र सिद्धान्त छैन—सत्य तथ्य यही हो। कतिपय मानिस अझै यस्तो आशा गर्छन्: “विश्वयुद्ध कहिले हुनेछ? युद्धपछि, मर्नलायक सबै जना मर्नेछन्, र बाँकी रहेका मानिसहरूले नयाँ सुरुवात गर्न सक्छन्। नयाँ युग सुरु हुनेछ, र नयाँ देश स्थापित हुनेछ।” के यो सम्भव छ? अहँ, छैन। कतिपय मानिस सबै प्रकारका विभिन्न धर्ममा आशा राख्छन्, तर अहिले प्रत्येक धर्म अस्ताउँदो स्थितिमा छ र ती सबैले अन्तिम सास लिइरहेका छन्। हरेक धर्म भित्रैदेखि कुहिएको हुन्छ र त्यसले कुख्याति कमाएको हुन्छ। मैले यी शब्दहरू भन्नुको मतलब के हो? त्यसको मतलब मानिसहरूलाई एउटा तथ्य बुझाउनु हो: यदि परमेश्वरले मानिसहरूलाई मुक्ति दिन वचनहरू र सत्यता प्रयोग नगर्नुभएको भए, मानवहरूभित्रको घृणा र क्रूर स्वभाव झन्-झन् खराब, र झन्-झन् व्याप्त मात्र हुँदै जानेथिए। अन्त्यमा, मानवजातिका लागि एक मात्र सम्भावना भनेको मानिसहरूले एकअर्कालाई क्रूरतापूर्वक मारेर आत्म-विनाश गर्नु हुनेथ्यो। वर्तमान समयमा, धेरै मानिस यो दुष्ट मानवजातिबाट अलग भई हिमाल र जङ्गलमा, वा मानव जीवनको कुनै नामोनिशान नभएका ठाउँमा गएर एक्लै जिउन चाहन्छन्। यसको परिणाम के हुन्छ? मानवजातिको सङ्ख्या बढ्न छोड्नेछ र अर्को पुस्ता हुनेछैन। वर्तमान पुस्तापछि मानवजाति विलुप्त हुनेछ—कुनै शाखासन्तान हुनेछैन। परमेश्वरप्रति मानवजातिको प्रतिरोध अति चरम छ, जसले उहाँको क्रोध जगाइसकेको छ। तिनीहरू चाँडै समाप्त हुनेछन्। किन धेरै मानिस विवाह गर्दैनन्? किनभने तिनीहरू छलमा परिन्छ भनेर डराउँछन्, अब कुनै असल मानिस छ भनेर विश्वास गर्दैनन्, र विवाहप्रति पूरै वैरभाव राख्छन्। यसको दोष कसलाई दिनुपर्छ? त्यसको दोष अति गहन रूपले भ्रष्ट भएका मानिसहरूलाई दे, त्यसको दोष शैतान र दियाबलसहरूलाई दे, र त्यसको दोष स्वेच्छाले भ्रष्टता स्विकार्ने मानिसहरूलाई दे। तँ अरूलाई घृणा गर्छस्, तर के तँ साँच्चै तिनीहरूभन्दा राम्रो छस्? तँमा सत्यता छैन, र तैँले अरूलाई व्यर्थैमा घृणा गर्छस्। यदि मानिसहरूमा सत्यता छैन र तिनीहरू सत्यता बुझ्दैनन् भने, अन्त्यमा तिनीहरू बन्द गल्लीमा पुग्नेछन् अनि विपत्तिमा परेर नष्ट हुनेछन्। तिनीहरूको अन्त्य यही नै हुनेछ। यदि परमेश्वरले मानवजातिलाई मुक्ति दिनुभएन भने, भ्रष्ट मानवजातिमाझ सत्यता बुझ्ने कोही हुनेछैन।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।