परिशिष्ट एक: सत्यता के हो (खण्ड तीन)

ख. अपमान सहनु र गह्रौँ बोझ बोक्नु

झिँगटोमा सुतेर पित्त चाट्नुको दोस्रो प्रकटीकरण अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो। अपमान सहनु र गह्रौँ बोझ बोक्नु पनि सांसारिक मानिसहरूले वकालत गर्ने कुराहरूप्रतिको एक प्रकारको सोचाइ, मानसिकता, र मनोवृत्ति हो। समाज र संसारमा, यो एउटा सोच्ने तरिका हो जुन तुलनात्मक रूपले सकारात्मक हुन्छ, र जसलाई मानवजातिले तुलनात्मक रूपले आशावादी, अग्रगामी, र सकारात्मक ठान्दछ। त्यसोभए हामीले चिरफार गर्न चाहेको कुरा के हो? अपमान सहनु र गह्रौँ बोझ बोक्नुमा के खराबी छ? यो किन सत्यता होइन? यसको मूलतः सत्यतासँग कुनै सम्बन्ध छैन। मैले यसको सत्यतासँग कुनै सम्बन्ध छैन भन्नुको मतलब के हो? मेरो भन्नुको मतलब के हो भने, यदि तँ सत्यता अभ्यास गर्न चाहन्छस् भने, तैँले त्यो पूर्ण रूपमा परमेश्‍वरका वचनका सिद्धान्तअनुसार, र परमेश्‍वरले माग गर्ने मानक र विस्तृत नियमअनुसार नै गर्नुपर्छ। तैँले कामकुरा गर्नुप्रतिका मनोवृत्ति र दृष्टिकोण, अनि मानिसका तथाकथित विचारधारा, मानसिकता, र निष्ठाको पद्धति र माध्यमलाई छ्यासमिस पार्नु हुँदैन। परमेश्‍वरका वचन सत्यता हुन्, र तिनको यी कुराहरूसँग कुनै सम्बन्ध छैन। त्यसोभए अपमान सहनु र गह्रौँ बोझ बोक्नु किन खराब हो? म किन यो सत्यता होइन भनेर भन्छु? के यो चिरफार गर्नयोग्य छैन? (छ।) सुरुमा यस वाक्यांशको शाब्दिक अर्थ व्याख्या गरौँ; त्यसपछि बुझ्न सजिलो हुनेछ। अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनेको आफ्नो जिम्मेवारी, बोझ, वा आफूले लिने र स्विकार्ने मिसनका खातिर सबै लाज, पीडा, र बेइज्जती सहन सक्नु हो। यस वाक्यांशको आधारभूत अर्थ यही हो। त्यसोभए, कसैले सामान्यतया कस्तो परिवेश र परिस्थितिमा यो वाक्यांश प्रयोग गर्छ? यदि कसैले कुनै व्यक्तिले अपमान सहँदै छ र गह्रौँ बोझ बोक्दै छ भनेर भन्छ भने, के त्यो व्यक्ति अहिले उसको मिसन पूरा भएको, र आफूले हासिल गर्न चाहेको उद्देश्य पूरा गरेको परिस्थितिमा हुन्छ? (हुँदैन।) त्यसैले, सामान्यतया जब कसैले अपमान सहनु र गह्रौँ बोझ बोक्नुबारे कुरा गर्छ, तब उसले हैसियत र प्रभामण्डल फिटिक्कै नभएको, शक्ति त झनै नभएको कुनै महत्त्वहीन व्यक्तिलाई उल्लेख गरिरहेको हुन्छ। ऊ यस्तो परिस्थितिमा हुन्छ, तैपनि उसले अझै आफ्नो जिम्मेवारी बोक्नुपर्छ, आफूले पूरा गर्नुपर्ने मिसन काँध लिनुपर्छ, हतोत्साहित हुनु हुँदैन, सम्झौता गर्नु हुँदैन, र हार मान्नु हुँदैन। के यो पनि एक प्रकारको मानसिकता होइन र? यो मानसिकताको जोड केमा हुन्छ? “सहनु” र “बोक्नु” मा हुन्छ। “सहनु” भनेको धैर्यवान् हुनु र केही कुरा सहनु हो। केही कुरा सहनुका साथै, उसले गह्रौँ बोझ र जिम्मेवारी लिनैपर्छ र उठाउनैपर्छ, सबैका आशामा खरो उत्रन सक्नैपर्छ, अनि आफूलाई यो कार्यभार सुम्पने व्यक्तिलाई निराश तुल्याउनै हुँदैन। यो कस्तो मानसिकता हो? (दृढता।) त्यसको अर्थमा यो तत्त्व हुन्छ, तर यो सबैभन्दा आधारभूत र सतही तहको अर्थ हो। त्यसमा अरू के हुन्छ? यसलाई यसरी विश्लेषण गरौँ। “अपमान सहनु” मा “अपमान” को अर्थ के हो? (बेइज्जती र लाज।) त्यो भनेको यस व्यक्तिलाई वरपरका सबैले लज्जित पार्नु र उसलाई बेइज्जती भोगेको महसुस गराउनु हो। विशेष गरी कुन व्यवहारहरूले मानिसहरूलाई लज्जित पार्छन् र बेइज्जती भोगेको महसुस गराउँछन्? (तिनीहरूलाई उपहास गर्नु, बदनाम गर्नु, र तिखो व्यङ्ग्य हान्नुले।) ठिक भनिस्, तिनीहरूलाई उपहास र बदनाम गर्नु, साथै तिनीहरूको खिल्ली उडाउनु, तिनीहरूसँग खेलबाड गर्नु, र तिनीहरूलाई तिखो व्यङ्ग्य हान्नु। त्यसोभए, “गह्रौँ बोझ बोक्नु” मा “गह्रौँ बोझ” को अर्थ के हो? (जिम्मेवारी र कार्यभार।) जिम्मेवारी र कार्यभारमा के समावेश हुन्छन्? त्यसमा एक प्रकारको मिसन र गह्रौँ भार समावेश हुन्छन्—यो गह्रौँ भार अरू मानिसहरूले कसैलाई सुम्पेको भार हुन सक्छ, वा यो कसैले प्राप्त गर्न सङ्घर्ष गरिरहेको उद्देश्य, वा आफूले सोचेको मिसन हुन सक्छ। मानिसहरू आफूले कस्ता मिसनहरू लिइरहेको ठान्छन्? (पुर्खाको नाम राख्ने, र अरूभन्दा असल बन्ने।) (सबैभन्दा उत्कृष्ट हुनु।) यी सबै उदाहरण हुन्। यी मूलतः मानिसहरूका आफ्नै महत्त्वाकाङ्क्षाहरू हुन्। यी उद्देश्यहरू हासिल गर्न र साकार पार्नका निम्ति, तिनीहरू आफ्ना वर्तमान परिस्थितिहरूमा आफू वरपरका मानिसहरूबाट हुने बेइज्जत्ती, उपहास, बदनामी, तिखो व्यङ्ग्य, र खिसीटिउरीसमेत सहन सक्छन्। तिनीहरूलाई यो सब सहन केले प्रेरित गर्छ? उदाहरणका लागि, सेनाको वरिष्ठ जर्नेल बन्ने महत्त्वाकाङ्क्षा भएको कुनै व्यक्ति छ। उसले शक्ति हासिल गर्नुअघि, हुल्याहाहरूको एउटा समूहले उसलाई यसो भन्दै लज्जित गर्छ, “तँ? सेनाको जर्नेल अरे? अहिले तँसँग घोडाधरि छैन—तँ कसरी जर्नेल हुन सक्छस्? यदि तँ जर्नेल हुन चाहन्छस् भने, पहिला मेरो टाँगमुनिबाट छिर्!” तिनीहरू छेउछाउका सबै मानिस गलल हाँस्छन्। उसले एकछिन सोच्छ, “सेनाको जर्नेल हुन चाहनुमा कुनै खराबी छैन। तिनीहरू किन मलाई खिसी गर्छन् र मेरो खिल्ली उडाउँछन्? तर म लापरवाह हुनु हुँदैन र मैले अहिले आफ्नो क्षमता देखाउनु हुँदैन। आज भइरहेको कुरालाई विचार गर्दा, यदि मैले तिनीहरूले भनेझैँ नगरे पिटाइ खानेछु, र कुरा बिग्रियो भने ज्यानै गुमाउन सक्छु। त्यसपछि म कसरी जर्नेल हुन सक्छु र? आफ्ना आकाङ्क्षाका खातिर हुल्याहाको टाँगमुनिबाट छिर्नु केही पनि होइन। म अझै म नै हुँ, होइन र?” यस स्थितिमा, ऊ घुँडा मारेर दुईटै हातले भुईँमा टेक्छ र त्यो हुल्याहाको टाँगमुनिबाट कुकुरजस्तो बामे सर्दै छिर्छ। बामे सर्दै गर्दा, उसलाई हृदयमा यो सहन गाह्रो हुन्छ र उसको हृदयमा पीडा हुन्छ, मानौँ मुटुमा छुरा रोपिएको छ—उसको हृदयमा घृणा जाग्छ! ऊ सोच्छ, “म साँच्चै जर्नेल बनेको दिन, तँलाई टुक्रा-टुक्रा पार्नेछु!” ऊ मनमा यस्तै सोच्छ, तर बाहिर भने उसले त्यो सहनैपर्छ—उसले अरूलाई आफूले भित्र के सोचिरहेको छु भनेर थाहा दिनु हुँदैन। ऊ हुल्याहाको टाँगमुनिबाट छिरेपछि, हुल्याहाहरूको समूह सन्तुष्ट हुन्छ अनि तिनीहरूले उसलाई एक लात हान्छन् र छोडिदिन्छन्। ऊ खडा हुन्छ, आफ्नो जिउबाट फोहोर टकटकाउँछ, र यसोसमेत भन्छ, “राम्रो लात हान्यौ। अबदेखि म तिमीलाई ‘मालिक’ भन्नेछु।” उसले मनमा सोच्ने र बाहिर देखाउने कुरा बिलकुलै फरक हुन्छन्। उसले कसरी यसो गर्न सक्छ? उसको एउटै मात्र उद्देश्य छ: “म निरन्तर जिउनुपर्छ। म यो सब सहँदै छु ताकि एक दिन म जर्नेल, र अरूभन्दा उत्कृष्ट बन्न सकूँ। आज यो कष्ट र अपमान सहनु सार्थक छ। भोलि मैले अझ कडा परिश्रम गर्नैपर्छ, र आफ्नो उद्देश्य हासिल गर्न लागिपर्न कडा प्रयास गर्नैपर्छ। मलाई जेजस्तो कठिनाइ आइपरे पनि र मैले जति नै कष्ट र बेइज्जती भोगे पनि, म जर्नेल बन्नैपर्छ! म जर्नेल बनेपछि मैले गर्नुपर्ने पहिलो कुरा भनेको यस मूर्खलाई मार्नु र त्यसको टाँगमुनिबाट छिराएर मलाई अपमानित गरेको क्षतिपूर्ति लिनु हो!” भविष्यमा ऊ जर्नेल बने पनि वा नबने पनि, त्यस क्षणमा “सहनशीलता” नै उसको सर्वोच्च सिद्धान्त हो। के यसमा कुनै रणनीति वा गोप्य चालहरू अन्तर्निहित छन्? (छन्।) त्यसमा गोप्य चालहरू छन्। ऊ आफूले अरू केही गर्न नसक्ने हुनाले सहन्छ; त्यो केका लागि? त्यो उसले एक दिन यो सब बेइज्जतीको क्षतिपूर्ति लिन सक्नका लागि हो। उसको सहनशीलता “सास भइन्जेल आस हुन्छ” र “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” जस्ता भनाइहरूमा आधारित हुन्छ—यी सबै चाल हुन्। यी चालहरूले नै उसलाई हुल्याहाको टाँगमुनिबाट छिर्नुपर्ने अपमान सहन प्रेरित गरेका हुन्। यस मोडबाट उसको हृदयमा जर्नेल बन्ने चाहना झनै ठूलो र तीव्र बन्छ; उसले पटक्कै हार मान्नेछैन। त्यसोभए, उसले केका लागि बदनामी र अपमान सहेको थियो? के त्यो न्यायवान् उद्देश्य वा साँचो मर्यादा कायम राख्नका लागि थियो? उसले त्यो आफ्नै उन्मत्त महत्त्वाकाङ्क्षाका खातिर गरेको थियो। त्यसोभए यो सकारात्मक हो कि नकारात्मक? (नकारात्मक।) यस तहको अर्थलाई मूल्याङ्कन गर्दा, यो “सहनशीलता” पूर्णतया व्यक्तिगत रुचि, चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाद्वारा प्रेरित थियो। के यस सहनशीलताभित्र सत्यता छ? (छैन।) यदि त्यसमा सत्यता छैन भने, के त्यसमा सामान्य मानवता हुन्छ? (हुँदैन।) यो न्यायवान् हुँदैन, न त सोझो नै हुन्छ, झन् त्रुटिरहित हुनु त परको कुरा हो; बरु, यो त चाहना, गोप्य चाल र धूर्त युक्तिले टनाटन भरिएको हुन्छ—यो सकारात्मक हुँदैन।

यस दुष्ट मानवजातिभित्रै वकालत गरिने अपमान सहने र गह्रौँ बोझ बोक्ने सोचाइ र मानसिकता मूलतः मैले अहिले भर्खरै बताएको कथाजस्तै हो, जसमा यदि कुनै व्यक्तिले ठुला कुराहरू हासिल गर्न चाहन्छ भने, ऊ औसत व्यक्तिले सहन नसक्ने कुरा सहन सक्षम हुनैपर्छ। यस सहनशीलताले मुख्यतः केलाई जनाउँछ? (लाज सहनुलाई।) होइन। यस सहनशीलताले मानिसहरूलाई जिउन लगाउने कुराहरू साँचो हुन् कि झूटा? (झूटा।) यो महत्त्वपूर्ण बुँदा हो। मानिसहरूले तिनीहरूका आकाङ्क्षा र उन्मत्त महत्त्वाकाङ्क्षाका खातिर जिउने कुरा, बोल्ने शब्द, र देखाउने व्यवहार सबै नक्कली हुन्, ती सब स्वेच्छाले गरिँदैन; यी सबै कुराहरू यी सबै चाहना, स्वार्थ, र मानिसहरूका तथाकथित महत्त्वाकाङ्क्षा र उद्देश्यहरूको पूर्वसर्तद्वारा प्रेरित हुन्छन्। मानिसहरू जिउने यी कुराहरू सबै अस्थायी उपाय हुन्; ती फिटिक्कै इमानदार वा साँचो होइनन्; फिटिक्कै उदाङ्गो, खुल्ला वा खुलस्त हुँदैनन्; ती सबै अस्थायी उपाय हुन्। के यी सब छली षड्यन्त्र होइनन् र? अस्थायी उपाय भनेको मानिसहरूले यसरी कुनै कुरा अस्थायी रूपमा सहनु; अस्थायी रूपमा मिठो बोली बोल्नु, फकाइ-फुस्ल्याइ गर्नु र छल्नु; आफ्नो साँचो पहिचान, मानसिकता, सोच, दृष्टिकोण र घृणासमेत केही समय ढाकछोप गर्नु, र अर्को व्यक्तिलाई त्यो हेर्न नदिनु हो। बरु, तिनीहरू अर्को व्यक्तिलाई आफ्नो कमजोर र असक्त, दुर्बल र डरपोक पक्ष हेर्न दिन चाहन्छन्। तिनीहरू आफ्नो साँचो मुहार पूर्ण रूपले ढाक्छन्—तिनीहरू केका लागि यसो गर्छन्? तिनीहरू एक दिन ठूलो अभियान पहल गर्न, अरूभन्दा उत्कृष्ट बन्न, अरूलाई नियन्त्रण गर्न, र अरूमाथि प्रभुत्व जमाउन सकौँ भन्नका लागि यसो गर्छन्। मानिसहरूले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश अभ्यास र प्रकट गर्दा के देखिन्छ? के यसो गर्ने मानिसहरूमा इमानदार मनोवृत्ति हुन्छ? के तिनीहरू आफूलाई साँचो अर्थमा बुझ्छन्, र आफ्ना लागि आत्म-ग्लानि गर्छन्? (त्यसो गर्दैनन्।) उदाहरणका लागि, अरूले भन्छन्, “तिमीजस्तो व्यक्ति जर्नेल हुन चाहने?” तिनीहरूले विचार गरेर भन्छन्, “म त्यो गर्न सक्दिनँ। म जर्नेल हुनेछैनँ। मैले ठट्टा मात्र गरेको।” तिनीहरूले भन्ने शब्दहरू साँचो हुन् कि झूटा? (झूटा।) तिनीहरू हृदयमा के सोचिरहेका हुन्छन्? “मजस्तो व्यक्ति मात्र जर्नेल बन्न सक्छ!” तिनीहरू हृदयमा यस्तो सोच्छन्, तर के तिनीहरूले यो जोरले भन्नु ठीक हुन्छ? (हुँदैन।) किन हुँदैन? तिनीहरू पिटाइ खानबाट जोगिन र आफ्नो वास्तविक क्षमता लुकाउन यसो भन्छन्, “मैले ठट्टा मात्र गरेको। म यत्तिको आँटिलो छैनँ कि वास्तवमै जर्नेल बन्न चाहूँ। बरु तिमी पो वरिष्ठ जर्नेलजस्ता छौ—तिमी भविष्यका प्रधान सेनापति हौ। त्यो त जर्नेलभन्दा पनि ठुलो हो!” के यी शब्दहरू साँचो हुन्? (होइनन्।) तिनीहरूका साँचो शब्दहरू कहाँ छन्? (तिनीहरूका हृदयमा।) ठिक हो, तिनीहरू आफ्ना साँचो शब्दहरू हृदयमा राख्छन् र जोरले भन्दैनन्। किन तिनीहरू ती जोरले भन्दैनन्? तिनीहरू त्यसो गरेमा पिटाइ खाइनेछ भनेर डराउँछन्, त्यसैले ती भन्दैनन्, र ती प्रकट गर्दैनन्; तिनीहरू कसैलाई थाहा पाउन दिँदैनन्, आफ्नो वास्तविक क्षमता सदाका लागि लुकाउँछन्। आफ्नो वास्तविक क्षमता लुकाउनुको अर्थ के हो? यसको अर्थ कुनै व्यक्तिले अरू मानिसलाई आफ्नो साँचो क्षमता जान्न दिँदैन; उसले अरू मानिसलाई ऊप्रति प्रतिरक्षात्मक हुन र उसको हितविपरीत कार्य गर्नबाट रोक्न त्यो क्षमता लुकाउँछ र त्यो मुखबाट खुस्किन दिँदैन। के यो पनि झिँगटोमा सुतेर पित्त चाट्नुको साँचो अर्थ होइन र? (हो।) झिँगटोमा सुतेर पित्त चाट्नु; अपमान सहनु र गह्रौँ बोझ बोक्नु; आफ्नो उद्देश्य, चाहना, र घृणा कहिल्यै नबिर्सनु; अनि मानिसहरूलाई आफ्नो साँचो रूप र वास्तविक क्षमता कहिल्यै जान्न नदिनु। मानिसहरूका समूहमा हुँदा, कतिपय सक्षम मानिसहरू त्यति धेरै कुरा गर्दैनन्; तिनीहरू चुपचाप बस्छन् र कम बोल्छन्, अनि तिनीहरूले केही भनिहाले पनि, आफूले सोचिरहेको आधा कुरा मात्र प्रकट गर्छन्। तिनीहरू के भन्न चाहन्छन् भनेर जान्न वा बुझ्न नसकेर अरू मानिसहरू सधैँ अरकच्च पर्छन्, र सोच्छन्, “तिनीहरू किन यस्तो नबुझिने तरिकाले कुरा गर्छन्? हृदयबाट कुनै कुरा भन्न किन त्यस्तो गाह्रो? के भएको हो?” वास्तवमा, तिनीहरूका हृदयमा तिनीहरूले व्यक्त नगरिरहेका सोचहरू हुन्छन्, र यसमै भ्रष्ट स्वभाव हुन्छ। अरू चाहिँ यसरी बोल्दैनन्, तर तिनीहरूले कामकुरा गर्दा सधैँ आफ्नो वास्तविक क्षमता लुकाउँछन्। तिनीहरूले आफ्नो वास्तविक क्षमता लुकाउनुको उद्देश्य के हो? तिनीहरू योग्य मानिसहरूले वा दुर्जेय व्यक्तिहरूले त्यो देखे भने, ईर्ष्या गर्नेछन्, तिनीहरूप्रति निशाना साँध्नेछन् र तिनीहरूलाई हानि गर्नेछन् भनेर डराउँछन्। के समूहमा सधैँ अरूको प्रशंसा गर्ने, सधैँ अरूको गुणगान गाउने, र सधैँ अरू सबै आफूभन्दा राम्रा छन् भन्ने मानिसहरू सबैभन्दा कुटिल प्रकारका मानिस हुँदैनन् र? (हुन्छन्।) तँलाई तिनीहरू वास्तवमा भित्री रूपमा कस्ता हुन्छन् भन्ने कहिल्यै थाहा हुँदैन। बाहिरबाट हेर्दा, तँ तिनीहरूले त्यसबारे कुरा नगरेको देख्छस्, त्यसैले तँ तिनीहरूसँग उन्मत्त महत्त्वाकाङ्क्षा छैन भन्ने सोच्छस्, तर वास्तवमा तँ गलत छस्। कतिपय यस्ता मानिस अपमान सहने र गह्रौँ बोझ बोक्ने मानिस हुन्छन्। यो त चलचित्र जस्तो हो जसमा प्रायः यस्ता दृश्यहरू हुन्छन्—कतिपय मानिस घरबाहिर हुँदा बारम्बार असल कामकुराहरू गर्छन्, तिनीहरू पुरानो र फाटेको लुगा लगाउँछन्, अनि समूहमा हुँदा तिनीहरूलाई सधैँ हेपिन्छ; तिनीहरू अरूका अगाडि यस्ता हुन्छन्। तर, तिनीहरू घर पुगेपछि एउटा गोप्य कोठामा जान्छन्। गोप्य कोठाको भित्तामा एउटा नक्सा हुन्छ, र तिनीहरूले नक्साका अस्सी प्रतिशत स्थानमाथि निगरानी गर्न सूचकहरू लगाइसकेका हुन्छन्। तैपनि, तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्ने मानिसहरू तिनीहरूलाई अझै गिज्याउने गर्छन् र तिनीहरूको यो उन्मत्त महत्त्वाकाङ्क्षाबारे उनीहरूलाई केही थाहा हुँदैन। एक दिन जब नक्सामा भएका सबै स्थानहरू तिनीहरूको नियन्त्रणमा आउँछन् र तिनीहरूको उद्देश्य पूर्ण रूपमा साकार हुन्छ, तब तिनीहरूलाई गिज्याउने मानिसहरू पूर्ण रूपले जिल्ल पर्छन् र भन्छन्, “यो व्यक्ति त दियाबलस पो निस्क्यो—उसको महत्त्वाकाङ्क्षा हदभन्दा ज्यादा रहेछ! उसले धेरै वर्षसम्म नाटक गरेको रहेछ। ऊ वास्तवमा को हो भनेर कसैले छर्लङ्ग देखेन।” तिनीहरू भन्छन्, “मैले त अपमान सहेँ र गह्रौँ बोझ बोकेँ। यदि मैले त्यसरी नसहेको भए र तिमीहरूलाई नबहकाएको भए, यदि मैले तिमीहरूलाई सबै कुरा बताएको भए, के मैले यस्तो ठूलो कुरा हासिल गर्न सकेको हुनेथिएँ र?” दुष्ट मानिसहरू र अत्यधिक महत्त्वाकाङ्क्षा भएकाहरूका साझा विशेषताहरू के-के हुन्? एउटा पक्ष के हो भने, तिनीहरूको ताकत र दृढता सामान्य मानिसहरूको भन्दा धेरै हुन्छ। साथै, तिनीहरूका गोप्य चालहरू सामान्य मानिसहरूको भन्दा अधिक हुन्छन्, अनि यदि औसत व्यक्तिले तिनीहरूसँग अन्तरक्रिया गऱ्यो भने, ऊ ठगिन्छ। ठगिनुको अर्थ के हो? त्यसको अर्थ, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैन। तिनीहरूले देख्न सक्ने भनेको तिनीहरूले बाहिर भन्ने र गर्ने कुरा मात्र हुन्। तैँले तिनीहरू मनभित्र के सोच्छन् भनेर तिनीहरूले गर्ने र भन्ने कुराबाट कुनै भेउ पाउन सक्छु भनेर नसोच्। के यो तिनीहरूद्वारा ठगिनु होइन र? ताकत र दृढता आफैमा सकारात्मक शब्दहरू हुन्, तर तिनीहरूको गोप्य चालले तिनीहरूको ताकत र दृढतालाई नकारात्मक बनाएको हो। साथै, तिनीहरूमा सामान्य मानिसहरूको भन्दा निकै धेरै चाहना र उन्मत्त महत्त्वाकाङ्क्षा हुन्छन्। औसत व्यक्तिमा कामना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तर उसलाई आफूले कुनै कुरा हासिल गर्न सकिदैन भन्ने लाग्दा ऊ हार मान्छ र त्यो कष्ट भोग्न चाहँदैन। त्यसबाहेक, ऊ जोसँग लड्न चाहन्छ त्यो कुरा खुलस्त बताउँछ; ऊसँग गोप्य चालहरू हुँदैनन्। तर, यस्तो प्रकारका दुष्ट मानिसहरूमा अत्यधिक महत्त्वाकाङ्क्षाहरू हुन्छन्, र तिनीहरू सधैँ गोप्य चाल र छली षड्यन्त्रहरू बुन्छन्। तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू कहिल्यै त्याग्नेछैनन्; तिनीहरूले अन्त्यसम्मै—मृत्युसम्मै लडाइँ गर्नेछन्।

पाठ्यपुस्तकहरूमा युये राज्यको राजा गाउजियानले कसरी झिँगटोमा सुतेर पित्त चाट्यो भन्ने कथा बताइएको हुन्छ। आमाबुबाले पनि आफ्ना बच्चाहरूलाई यसबारे सिकाउँछन्। यो कथा सुन्ने कतिपय बच्चाहरू सोच्छन्, “औसत व्यक्ति हुनु नै राम्रो हो। मानिसहरूले यस्तो अत्यधिक महत्त्वाकाङ्क्षा राख्नु के आवश्यक छ र? कसले झिँगटोमा सुतेर पित्त चाट्न आफै कष्ट भोग्न सक्छ? त्यो सामान्य मानिसहरूले सहन सक्ने कष्ट होइन।” उन्मत्त महत्त्वाकाङ्क्षा भएका मानिसहरूमा मात्र त्यस्तो कष्ट भोग्ने सङ्कल्प हुन्छ; त्यसमा गोप्य चाल अन्तर्निहित हुन्छ। तथापि, मानवजाति यस्तो मानसिकताको वकालत गर्छ। उदाहरणका लागि, यस्तो वाक्यांश छ, “मानिसहरूले जति नै कष्ट र बेइज्जती भोगे पनि, तिनीहरूको परिस्थिति जति नै भयानक भए पनि, तिनीहरूले तिनीहरूका महत्त्वाकाङ्क्षाहरू कहिल्यै बिर्सनु हुँदैन।” यस समाजले मानिसहरूलाई आफ्नो खुसी र उद्देश्यका लागि सङ्घर्ष गर्न उत्साहित र उत्प्रेरित गराउन झिँगटोमा सुतेर पित्त चाट्नु, अनि अपमान सहनु र गह्रौँ बोझ बोक्नुजस्ता विचारहरूको वकालत गर्छ, त्यसोभए हामी त्यसलाई किन गलत भनेर आलोचना गर्छौँ? सबै मानवजाति शैतानद्वारा भ्रष्ट तुल्याइएको छ। के मानवजातिको कुनै सदस्यको उद्देश्य सत्यतातर्फ, र सही दिशातर्फ लक्षित छ? (छैन।) तसर्थ, मानवजातिले जति धेरै झिँगटोमा सुतेर पित्त चाट्छ, र जति धेरै अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ, शैतानका शक्तिहरू उति नै धेरै उद्दण्ड बन्नेछन्, मानवजातिका युद्ध र हत्याहरू त्यति नै धेरै हुनेछन्, मानवजाति त्यति नै धेरै दुष्ट बन्नेछ, र समाज त्यति नै धेरै अँध्यारो बन्नेछ। त्यसको विपरीत, यदि तैँले स्वर्गका बन्दोबस्तहरू पालन गर्न सकिस् र आफूलाई सबै कुराको प्राकृतिक व्यवस्थाअनुरूप बनाउन सकिस् भने, यदि तैँले कामकुरा जस्ताका तस्तै स्विकार्न, यस व्यवस्थालाई सम्मान गर्न, र स्वर्गका बन्दोबस्तहरू पर्खन सकिस् भने, तैँले अपमान सहनु र गह्रौँ बोझ बोक्नुपर्दैन। तँ जाग्नुपर्छ र होसमा आउनुपर्छ। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्नु सही हो। यसबाहेक, मानिसहरूले आफूले गर्ने हरकुरामा कम्तीमा पनि त्यो आफ्नो विवेकअनुसार गर्न सक्नुपर्छ, र त्योभन्दा अझ, परमेश्‍वरले मानवजातिका लागि तय गरेका व्यवस्थाहरूअनुसार गर्न सक्नुपर्छ। त्यसपछि, के मानिसहरूले अझै मुकुण्डो लगाउनु र गह्रौँ बोझ बोक्नुपर्छ? (पर्दैन।) अहँ, तिनीहरूले त्यसो गर्नुपर्दैन। के तिमीहरूले यस सङ्गतिद्वारा अपमान सहनु र गह्रौँ बोझ बोक्नु ठ्याक्कै कस्तो व्यवहार हो भनेर बुझ्यौ? अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य सकारात्मक हो कि नकारात्मक? (नकारात्मक।) यदि कसैले कुनै व्यक्तिले अगुवा बन्नका निम्ति अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने, वा कुनै व्यक्तिले आफूलाई परमेश्‍वरले दिएको कार्यभार पूरा गरेर इनाम पाउन अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने, वा कुनै व्यक्तिले सिद्ध पारिन खोज्न अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर भन्ने हो भने—के यी शब्दहरू मान्य हुन्छन्? (अहँ, हुँदैनन्।) अपमान सहनु र गह्रौँ बोझ बोक्नु पूर्णतया शैतानी दर्शन हो; यसमा कुनै सत्यता छैन, र तैँले यी शब्दहरू सुन्नेबित्तिकै ती विकृत छन् भन्ने स्पष्ट हुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका बन्दोबस्तहरू पर्खन र उहाँको सार्वभौमिकताप्रति समर्पित हुन अपमान सहन्छ र गह्रौँ बोझ बोक्छ भनेर कसैले भन्छ भने, के यसो भन्नु सही हो? (होइन।) यो कसरी सही होइन? ती दुई एकअर्कासँग मेल खाँदैनन्—परमेश्‍वरलाई तैँले अपमान सहनुपर्ने आवश्यकता पर्दैन, न त उहाँलाई तैँले बेइज्जती भोग्नुपर्ने नै आवश्यकता पर्छ। यहाँ बताइएझैँ अपमान सहनु र गह्रौँ बोझ बोक्नुबीच, अनि मानिसहरूले परमेश्‍वरमा विश्वास गर्नु र उहाँप्रति समर्पित हुनुबीच के-कस्तो सारभूत भिन्नता छ? (अपमान सहनु र गह्रौँ बोझ बोक्नु परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू फाल्ने प्रयास हो।) अपमान सहनु र गह्रौँ बोझ बोक्नुको अर्थ हो, मानिसहरूमा तिनीहरूले पछ्याउने तिनीहरूकै योजना, महत्त्वाकाङ्क्षा, चाहना र उद्देश्यहरू हुन्छन्। के यी कुरा परमेश्‍वरले मानिसहरूबाट माग गर्ने मानक, र परमेश्‍वरले मानिसहरूलाई पछ्याउन दिने उद्देश्यअनुरूप हुन्छन्? (हुँदैनन्।) अहँ, ती हुँदैनन्। मानिसहरूले अपमान सहेर र गह्रौँ बोझ बोकेर आफ्ना लागि के प्राप्त गर्ने लक्ष्य राख्छन्? तिनीहरू आफ्नो स्वार्थ प्राप्त गर्ने लक्ष्य राख्छन्, र त्यसको परमेश्‍वरले मान्छेका लागि योजनाबद्ध गर्ने र सार्वभौमिकता राख्नुहुने भवितव्यसँग कुनै सम्बन्ध हुँदैन।

अपमान सहनु र गह्रौँ बोझ बोक्नु भन्ने भनाइ अभ्यास गर्ने जोकसैको एउटा आशय र उद्देश्य हुन्छ। उदाहरणका लागि, एक नवीन कलेज स्नातक इन्टर्नशीप गर्न पहिलोपटक कुनै कम्पनीमा पुग्दा, वरिष्ठ कर्मचारीहरूले भन्छन्, “यहाँ आउने कलेज स्नातकहरूले तीन वर्षसम्म कफी पुर्‍याउने काम गर्नुपर्छ।” उसले मनमनै सोच्छ, “म कलेज स्नातक भए पनि तिमीसामु झुक्दिनँ!” ऊ मनमनै यस्तो सोच्छ, तर त्यो सबैले थाहा पाउनेगरी व्यक्त गर्ने आँट गर्दैन। बाहिर चाहिँ उसले झूटो मुस्कान दिनैपर्छ; उसले हरेक दिन नियमहरू पालन गर्नैपर्छ, लुरुक्क पर्नैपर्छ, झुक्नैपर्छ र जीहजुरी गर्नैपर्छ, र अरूले उसमा गल्तीहरू भेट्टाउँदा त्यो सहनैपर्छ। उसले यो सहनुको उद्देश्य के हो? त्यसको उद्देश्य उसले कुनै दिन विजयको फुङ्कार लगाउन, प्रबन्धक वा हाकिमको सचिव बन्न, र आफूलाई खिस्याउनेहरूलाई कुल्चन सक्नका लागि हो। ऊ यही सोच्दैन र? कतिपय मानिसहरू भन्छन्, “उसले सोच्नुपर्ने त्यसरी नै हो र उसले गर्नुपर्ने त्यही हो। नत्र, उसले जीवनभरि मानिसहरूबाट दुर्व्यवहार भोग्नेछ। त्यसरी कसले कष्ट भोग्न चाहन्छ? साथै, यदि मानिसहरूमा महत्त्वाकाङ्क्षा छैनन् भने, तिनीहरूले कसरी काम चलाउन सक्छन्? मानिस उँभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ—जीवन यसरी नै चल्छ। जुन सिपाही जनरल बन्‍न चाहँदैन, ऊ असल सिपाही नै होइन।” यी शब्दहरू तिनीहरूको आदर्श वाक्य बन्छन्, तर यो सब शैतानी तर्क हो। तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्न यसरी सहनैपर्छ—दिनदिनै, वर्षैपिच्छे, सबैप्रति शिष्ट हुनैपर्छ र सबैलाई आदर गर्नैपर्छ। एक दिन, हाकिमले उसलाई भन्छ, “यी तीन वर्ष तिम्रो कार्यसम्पादन राम्रो भएको छ। अर्को हप्तादेखि तिमी विक्रेता बन्नेछौ।” यो सुनेर ऊ मनमा बेखुस हुन्छ: “मैले विक्रेता बन्नकै लागि तीन वर्ष परिश्रम गरेको रहेछु! मलाई त म बिक्री कार्यकारी निर्देशक बन्नेछु भन्ने लागेको थियो!” तर उसले बढुवाका लागि धन्यवाद भन्नैपर्छ। ऊ अझै आफ्नो लक्ष्यमा पुगेको छैन, त्यसैले उसले सहिरहनैपर्छ। उसले अपमान सहिरहन्छ र गह्रौँ बोझ बोकिरहन्छ, पिउँदै र झुटो मुस्कान छर्दै कष्टकर रूपमा हाकिमको पछिपछि लाग्छ, अनि उसले दस वर्षसम्म यसरी सहेपछि बल्ल आफ्नो उद्देश्य हासिल गरेको हुन्छ। एक दिन, हाकिमले उसलाई बताउँछ, “तिमीले आफ्नो काम राम्रोसँग गरेका छौ। म तिमीलाई सहायकमा बढुवा गर्नेछु।” यो सुनेर ऊ मनमनै एकदमै खुसी हुन्छ—उसले अन्त्यमा त्यो हासिल गरेको छ! यो कस्तो परिणाम हो? उसका नजरमा अब ऊ अरू सबै जनाभन्दा श्रेष्ठ हो। के उसले यो सब स्वेच्छाले गरेको होइन र? (होइन।) उसले यो सब कसका लागि गरेको हो? (आफ्नै लागि।) आफ्नै लागि। त्यसमा सकारात्मक वा अपनाउनुपर्ने कुनै कुरा छैन, झन् प्रशंसा गर्न र गुणगान गाउनयोग्य कुरा हुनु त परै जाओस्। तर आजको समाजमा यस्तै मानसिकताको वकालत गरिन्छ—अपमान सहनु र गह्रौँ बोझ बोक्नु, टाँगमुनि पुच्छर लुकाएर लुरुक्क पर्नु। तसर्थ, मानिसहरूले वकालत गर्ने यो “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश कस्तो हो? (खराब वाक्यांश।) यो कसरी खराब हो? मानिसहरू आफ्नै आशय र उत्प्रेरणाका कारण, अनि आफ्ना चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू पूरा गर्न अपमान सहन्छन् र गह्रौँ बोझ बोक्छन्। त्यो सही उद्देश्यका लागि होइन। त्यसैले, म भन्छु, तीमध्ये कुनै पनि अपनाउनयोग्य छैन, अनि तीमध्ये कुनै पनि प्रशंसा वा सराहना गर्नयोग्य छैन, अनि निश्चित रूपले सम्झनयोग्य छैन। प्राचीन समयमा राजमहलमा घटेको घटनालाई फेरि हेरौँ। एउटा सम्राट मरेको हुन्छ। साम्राज्ञीले आफ्नो छोरा सानै छ र यदि उसले सिंहासनमा बस्नुपरेमा राजसभा नियन्त्रण गर्न पटक्कै सक्नेछैन भन्ने देख्छे, त्यसैले उसले आफ्नो छोराले सम्राटका रूपमा वास्तवमै शासन गरोस् भनी सुनिश्चित गर्न अपमान सहन्छे र गह्रौँ बोझ बोक्छे अनि पूर्व सम्राटको भाइसँग विवाह गर्छे, र ती दुई जनाले सँगै उसको छोराको सिंहासनको दाबीलाई आड दिन्छन्। उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य के थियो? त्यसको उद्देश्य उसको छोराका निम्ति सम्राटको पद थियो। उसको छोराको सम्राटको पद सुरक्षित भएपछि, उसको हैसियत विधवा साम्राज्ञी हुनेथियो। यसलाई अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनिन्छ। उसले कस्तो अपमान सहिरहेकी थिई? ऊ पवित्र रहिन; सम्राट मर्नेबित्तिकै उसले आफ्नो देवरसँग विवाह गरी, जसले गर्दा उसको बदनाम भयो। मानिसहरूले उसको पिठ्यूँपछाडि आलोचना र निन्दा गरे, अनि इतिहासका पुस्तकहरूमा समेत उसको सकारात्मक मूल्याङ्कन भएको छैन। के उसले वास्ता गरी? वास्तवमा उसले आफ्नो देवरसँग विवाह गर्नअघि आइपर्ने परिणामबारे सोचेकी थिई, त्यसोभए, किन उसले अझै त्यसो गरी? आफ्नो छोराका लागि सम्राटको पद र आफ्ना लागि विधवा साम्राज्ञीको हैसियत जोगाउनका निम्ति। त्यही कारणले मात्र उसले यस्तो बदनामी सही र स्वेच्छाले यो कष्ट भोगी। यसलाई अपमान सहनु र गह्रौँ बोझ बोक्नु भनिन्छ। उसले यो सब बेइज्जती सहेर के पाई? उसले झनै ठूलो लाभ पाई। उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुको उद्देश्य यही थियो। उसले यो ठुलो लाभ पाएपछि, त्यो सब बदनामीको कुनै अर्थ रहेन। उसले यो सब बदनामीको सट्टा आफू र आफ्नो छोराका लागि शक्ति र हैसियत प्राप्त गरी। त्यसोभए, उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नु सकारात्मक थियो कि नकारात्मक? (नकारात्मक।) उसको व्यवहारलाई मात्र हेर्दा, उसले आफूलाई त्याग्न सकी, अनि उसको छोराको दृष्टिकोणबाट हेर्दा, उसले सहेको बेइज्जती र कष्टको निस्वार्थ पक्ष थियो, त्यसैले मानिसहरूले उसलाई प्रशंसा गर्दै भन्नुपर्छ, “कति महान् आमा!” तर उसका चाहना र उन्मत्त महत्त्वाकाङ्क्षाहरू, अनि उसको साँचो उद्देश्यलाई हेर्दा, मानिसहरूले उसको आलोचना गर्नुपर्छ; उसका कार्यहरू निन्दा गर्नलायक छन्।

के परमेश्‍वरमा विश्वास गर्ने मानिसहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? (छैन।) यदि मानिसहरूले परमेश्‍वरका वचनहरू स्विकार्छन् अनि उहाँको न्याय, सजाय, काटछाँट, परीक्षा र शोधन स्विकार्छन्, अनि मानिसहरूप्रति उहाँको श्राप र निन्दासमेत स्विकार्छन् भने, के तिनीहरूले अपमान सहनु र गह्रौँ बोझ बोक्नु आवश्यक छ? (छैन।) यो निश्चित छ। विश्वासीहरूका सन्दर्भमा “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने वाक्यांश प्रयोग गर्नुको कुनै औचित्य छैन र यसको निन्दा गरिन्छ। यस सन्दर्भमा यो वाक्यांश प्रयोग गर्नु किन गलत हो? यस सन्दर्भमा यो व्यवहार सही होइन भनेर कसरी प्रमाणित हुन्छ? मुखले र धर्मसिद्धान्तअनुसार मात्र यो वाक्यांश गलत छ भनेर मानिलिनु स्वीकार्य हुँदैन; तैँले त्यो कस्ता सत्यताहरूसँग सम्बन्धित छ भनेर जान्नैपर्छ। पहिले, तँ के सोच्थिस् भने, मानिसहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने र मुक्ति दिइने कुरा स्विकार्नका निम्ति अपमान सहनु र गह्रौँ बोझ बोक्नु, झिँगटोमा सुतेर पित्त चाट्नु, युये राज्यका राजा गाउजियानको मानसिकता अपनाउनु, अनि कहिल्यै हार नमान्नु आवश्यक छ—तँ लट्ठक नै थिइस् र तँमा सत्यता बुझ्ने क्षमता थिएन। अहिले, मेरो सङ्गतिपछि तँ सोच्छस्, “यो वाक्यांश राम्रो छैन। पहिले, म सधैँ यो वाक्यांश प्रयोग गर्ने गर्थेँ—कसरी म यति मूर्ख हुन सकेको?” तँ सत्यता बुझ्दैनस् र आफ्नो बुझ्ने क्षमता कमजोर छ भनेर तैँले देख्न सक्छस्। तैँले यो वाक्यांशमा के गलत छ भनेर बुझ्नैपर्छ। तँ त्यसमा के गलत छ भनेर साँच्चै बुझ्न सक्ने भएपछि, तैँले यस वाक्यांशलाई राम्ररी बुझ्नेछस्। यदि तैँले त्यस वाक्यांशको आंशिक भाग मात्र प्रस्ट रूपमा देख्छस्, जहाँ तैँले त्यसको नकारात्मक पक्ष स्पष्टसित देख्छस्, तर मानिसहरूले सकारात्मक ठान्ने पक्ष स्पष्टसित देख्दैनस् भने, त्यसको अर्थ तैँले अझै सत्यता बुझेको छैनस्। मैले भर्खरै सङ्गति गरेको कुरा सुनेपछि, के तिमीहरूले यी कुराहरूलाई मेरा यी पद्धतिअनुसार चिरफार र विश्लेषण गर्न सक्नेछौ? परमेश्‍वरका घरमा अपमान सहनु र गह्रौँ बोझ बोक्नुको अभ्यास किन आवश्यक छैन? म किन यो पद्धति र मानसिकतालाई परमेश्‍वरको घरले निन्दा गर्छ र यो सत्यताअनुरूप छैन भनेर भन्छु? (परमेश्‍वर, मेरो बुझाइ के हो भने, परमेश्‍वरको घरमा परमेश्‍वरका वचनको न्याय र सजाय स्विकार्नु अनि बर्खास्त गरिनु वा निन्दित हुनुसमेत अपमान सहनुमा पर्दैन। बरु, यो त मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरको काम गर्ने तरिका हो, र यसको उद्देश्य हामीहरूलाई सत्यता पछ्याउने सही मार्गमा डोर्‍याउनु हो। यसको अपमान सहनु र गह्रौँ बोझ बोक्नुसँग बिलकुलै सम्बन्ध छैन। यदि मानिसहरूले सही तरिकाले बुझ्न सके भने, तिनीहरूलाई यो परमेश्‍वरको प्रेम र उत्थान हो, अनि परमेश्‍वरको न्याय र सजाय स्विकार्नु उहाँको ठूलो हेरचाह र सुरक्षा, अनि मानिसहरूका लागि उहाँको मुक्ति हो भनेर थाहा हुनेछ।) के यो कथन सही छ? (सही छ।) यदि तैँले न्याय र सजायलाई स्पष्टसँग देख्न सकिनस् भने, तेरो हृदयमा विरोध र गुनासो उत्पन्न हुनेछन्, अनि तैँले “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने शैतानी दर्शनको वाक्यांश अभ्यास गर्नेछस्, र मनमनै सोच्नेछस्, “होइन, मैले अपमान सहनैपर्छ र गह्रौँ बोझ बोक्नैपर्छ, अनि युये राज्यका राजा गाउजियानको मानसिकता अपनाउनैपर्छ।” त्यसपछि, तैँले आफूलाई अघि बढ्नमा प्रोत्साहित र उत्प्रेरित गर्न “अपमान सहनु र गह्रौँ बोझ बोक्नु” भन्ने शब्दहरूलाई आफ्नो टेबलको माथि कुँद्नेछस्, अनि त्यसलाई आफ्नो आदर्श वाक्य बनाउनेछस्। के त्यसले समस्या निम्त्याउँदैन र? निस्सन्देह, आजको सङ्गतिपछि तिमीहरूले निश्चित रूपमा यसो गर्नेछैनौ, तर के तिमीहरू मैले चिरफार नगरेको “आफ्नो बत्ती लुकाएर अँध्यारोमा सामर्थ्य बटुल्नु” भन्नेजस्ता अरू वाक्यांशहरूलाई आफ्नो आदर्श वाक्य बनाउनेछौ? यसको प्रकृति उस्तै छैन र? यी कुराहरू परम्परागत चिनियाँ संस्कृतिका हिस्सा हुन्। के यी कुराहरू शैतानका विष हुन्? ती सबै शैतानका विष हुन्; ती सबै संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू हुन्।

विगतमा, मैले मुख्यभूमि चीनका मण्डलीहरूमा भर्खरै काम थालेको समयमा काम गर्दै गर्दा, परमेश्‍वरको घरले कतिपय दाजुभाइ-दिदीबहिनीको साक्षरता सुधार्न बन्दोबस्त मिलायो। त्यतिबेला परिस्थिति कस्तो थियो? त्यहाँ कतिपय मानिस पाका उमेरका थिए र कतिपय मानिस अझ विकट क्षेत्रमा बस्थे। उनीहरूको शैक्षिक स्तर तुलनात्मक रूपले कम थियो र उनीहरू राम्ररी पढ्न सक्दैनथे। उदाहरणका लागि, परमेश्‍वरका वचनहरूले “कम क्षमता,” “परमेश्‍वरको स्वभाव,” “परमेश्‍वरको अभिप्राय,” र अन्य निश्चित शब्दहरूबारे कुरा गर्छन्, तर उनीहरू तिनको अर्थ बुझ्दैनथे वा जान्दैनथे। पछि, परमेश्‍वरको घरले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूले फुर्सदका समयमा आफ्नो साक्षरता सुधार्न सक्छन्, र कम्तीमा पनि केही निश्चित वाक्यांश, शब्दावली र संज्ञाको अर्थ जान्नुपर्छ भनेर बतायो। नत्र, उनीहरूले परमेश्‍वरका वचन पढ्दा, शब्द र वाक्यांशहरूको अर्थसमेत बुझ्नेथिएनन्, त्यसैले उनीहरूले कसरी परमेश्‍वरका वचनहरू बुझ्न सक्नेथिए र? अनि यदि उनीहरूले परमेश्‍वरका वचन बुझ्न नसकेका भए, कसरी सत्यता अभ्यास गर्न सक्नेथिए र? यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले यी कुरा सिक्न धेरै प्रयास गर्न थाले। यो राम्रो कुरा हो, तर विकृत बुझाइ भएका कतिपय मानिसले परिस्थितिको अनुचित लाभ उठाए। भेलाहरूका समयमा, कतिपय अगुवा आफ्नो साक्षरता सुधार्नुको महत्त्व, दाजुभाइ-दिदीबहिनीहरू कसरी साक्षर हुनुपर्छ, साक्षरताको फाइदा, र उनीहरू साक्षर भएनन् भने के हुनेछ भन्नेबारे मात्रै कुरा गर्थे। तिनीहरू यस्ता अनेक धर्मसिद्धान्तबारे कुरा गर्थे। यी कुरा सत्यता होइनन्, र तीबारे अति धेरै कुरा गर्नु आवश्यक छैन। कसैले यी कुरा भन्नेबित्तिकै, मानिसहरूले ती बुझ्न सक्छन्; तीबारे भेलाहरूमा सङ्गति गर्नु पर्दैन मानौँ ती सत्यता हुन्। कतिपय अगुवाले भेलाहरूमा ती कुरा सत्यता भएझैँ गरी तीबारे सङ्गति गर्न धेरै समय खर्च मात्र नगरी नयाँ युक्ति पनि निकाले, दाजुभाइ-दिदीबहिनीहरूलाई विशेष गरी बिरलै प्रयोग गरिने शब्दहरूबारे जाँच गरे। यदि दाजुभाइ-दिदीबहिनीहरूले उत्तर दिन नसकेमा, त्यसले अगुवाहरूलाई अत्यन्तै शिक्षित देखाउनेथिएन र? त्यस दौरान वास्तविक काम नगर्ने कतिपय झुटा अगुवाहरू थिए—तिनीहरू जीवन अनुभव, सत्यता, वा परमेश्‍वरका वचनबारे सङ्गति गर्दैनथे, बरु साक्षरताबारे मात्र सङ्गति गर्थे। यसलाई के भनिन्छ? यसलाई आफूले गर्नुपर्ने काम नगर्नु भनिन्छ। के यो समस्या होइन र? (हो।) म किन यस समस्याबारे कुरा गर्दै छु? तिमीहरूलाई यसको के काम? के तिमीहरू यस्तो कुरा गर्न सक्छौ? यस्तो कार्य गर्ने मनसाय राख्ने कोही छ? यदि तिमीहरू यस्तो काम गर्छौ भने, तिमीहरू साँच्चै भ्रमित मानिस हौ! मैले यी टुक्काहरूबारे कुरा गरेको देख्ने कतिपय मानिस हुन्छन्, र तिनीहरू काम गर्न तत्पर हुन्छन् अनि यसो भन्दै आफूलाई तयार पार्न थाल्छन्, “सत्यतामा सङ्गति गर्नु त यस्तो सजिलो रहेछ। टुक्काहरूबारे मात्र सङ्गति गरे पुग्छ। तपाईं टुक्काहरूबारे सङ्गति गर्न सक्नुहुन्छ, र म चाहिँ दुई भागका चुट्किला, ठेट बोली, भनाइ र उखानहरूबारे सङ्गति गर्नेछु।” के यो आफ्नो उचित काम नगर्नु होइन र? (हो।) यिनीहरू कस्ता मानिस हुन्? के तिनीहरूमा आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) तिनीहरूमा आत्मिक बुझाइ हुँदैन, र तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरू के सोच्छन्? “तपाईं केही काम नहुँदा बसेर फतरफतर बोलिरहनुहुन्छ र हामीलाई केही टुक्काहरू सुनाएर धोका दिनुहुन्छ। यदि मैले तपाईंका विधिहरू पछ्याएको भए, म पनि सङ्गति गर्न सक्थेँ!” आत्मिक बुझाइ नहुने मानिसहरू मामिलालाई बाहिरबाट मात्र हेर्छन् र अन्धाधुन्ध मेरो अनुकरण गर्छन्। यी अगुवाहरूलाई यो व्यवहार अनुकरण गरेकामा बर्खास्त गर्नुपर्छ, र तिनीहरूले गरेजस्तो गर्ने जोकोहीलाई पनि बर्खास्त गर्नुपर्छ। म किन यसबारे बोलिरहेको छु? तिमीहरू यस व्यवहारमा संलग्न हुनुअघि नै म तिमीहरूको ध्यान त्यसतिर तान्दै छु, ताकि तिमीहरू गलत मार्गमा नलाग। म यी कुराहरूबारे कुरा गर्न सक्छु, तर यदि तैँले तीबारे कुरा गरिस् भने बुझ्ने तरिकाले कुरा गर्न सक्छस्? तैँले सक्दैनस्। त्यसोभए, म किन यी भनाइ र टुक्काहरूबारे कुरा गर्छु? म कुन सर्तमा तीबारे कुरा गर्छु? जब मानिसहरूले सत्यताको अवधारणा र परिभाषा बुझ्छन्, र त्यसपछि यदि मैले त्यस आधारमा झन् गहिरिएर मानिसहरूले सत्यता ठान्ने अझ धेरै कुराको चिरफार गरेँ भने, मानिसहरूले यो बुझ्न सक्दैनन्; तिनीहरूलाई आफूले त्यसबारे कसरी चिन्तन गर्नुपर्छ भनेर थाहा हुँदैन, र आफूले त्यसलाई अरू कस्ता कुराहरूसँग जोड्नुपर्छ भनेर थाहा हुँदैन। किनभने तिमीहरू बुझ्दैनौ, त्यसैले मैले तिमीहरूलाई टुक्काबारे केही कथा बताएँ। यो आवश्यक थियो। सत्यताका सन्दर्भमा, कतिपय मानिस आफू विश्वविद्यालय तहमा भएको ठान्छन्, र किन आफूले अझै यो प्राथमिक विद्यालयको पाठ्यक्रम फेरि पढिरहेका छन् भनेर सोच्छन्। तिनीहरू यो प्राथमिक कक्षा होइन, यो त पहिल्यै विश्वविद्यालय कक्षा हो भनेर बुझ्न सक्दैनन्। तिमीहरू अझसम्म विश्वविद्यालय पुगेका छैनौ, यो सारा समय प्राथमिक विद्यालयमै अड्केर बसेका छौ, तर तिमीहरू आफू विश्वविद्यालय पुगिसकेको सोच्छौ, र निराधार आत्म-सन्तुष्टि मान्छौ। दुर्भाग्यवश, यो भावना गलत हो; यो गलत भावना हो—तिमीहरू विश्वविद्यालयसम्म पुग्नबाट अझै धेरै टाढा छौ। तसर्थ, म तिमीहरूलाई फेरि सम्झाउँछु: मैले भर्खरै बताएका कुराहरू नगर। आफूले बुझेका कुरामा इमानदारीसाथ सङ्गति गर, र यदि बुझेका छैनौ भने, वाहियात कुरा नगर। सत्यतामा सङ्गति गर्नु भनेको फतरफतर गर्नु होइन; तैँले फतरफतर गरेको सुनेर खेर फाल्ने समय कसैसँग पनि छैन। अन्धाधुन्ध मेरो अनुकरण नगर्, र युये राज्यका राजा गाउजियान वा आधुनिक इतिहास वा प्राचीन इतिहासबारे कुरा नगर्, किनभने मैले झिँगटोमा सुतेर पित्त चाट्नेबारे कुरा गरेको छु। ती कुराबारे कुरा गरेर के काम? के मानिसहरू ती कुरा सुन्न इच्छुक हुन्छन्? मानिसहरू सुन्न इच्छुक भए पनि, ती कुराहरू सत्यता होइनन्।

मैले भर्खरै परमेश्‍वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरूले कसरी अपमान सहनु र गह्रौँ बोझ बोक्नु पर्दैन, झन् अपमान सहन र गह्रौँ बोझ बोक्न अभ्यास गर्नु त परको कुरा हो भन्नेबारे कुरा गरेँ। व्यक्तिले किन यस्तो “राम्रो” वाक्यांश र “उच्च” मानसिकता अभ्यास गर्न सक्दैन? समस्या कहाँ छ? व्यक्तिले किन अपमान सहने र गह्रौँ बोझ बोक्ने मानसिकता राख्न सक्दैन? धर्मसिद्धान्तका सन्दर्भमा भन्नुपर्दा, अपमान सहनु र गह्रौँ बोझ बोक्नु सत्यता नभएकाले त्यस्तो हुन्छ; यो वाक्यांश परमेश्‍वरले बोल्नुभएको थिएन; यो मानवजातिबाट परमेश्‍वरले गर्नुहुने माग होइन, न त उहाँले उहाँलाई पछ्याउनेहरूलाई दिनुभएको कार्य सिद्धान्त नै हो। म किन यो वाक्यांश सत्यता होइन र अभ्यासको सिद्धान्त होइन भनेर भन्छु? सर्वप्रथम, अपमान सहनु र गह्रौँ बोझ बोक्नुमा “अपमान” शब्दलाई हेरौँ। “अपमान” ले केलाई जनाउँछ? यसले अनादर र लज्जित पारिनुलाई जनाउँछ। त्यसोभए, जब मानिसहरू परमेश्‍वरमा विश्वास गर्छन् र परमेश्‍वर तिनीहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ, तब के तिनीहरू परमेश्‍वरप्रति समर्पित भएर अपमानित भइरहेका हुन्छन्? के तिनीहरूले अनादर सहिरहेका हुन्छन्? (हुँदैनन्।) के मानिसहरूले सहनुपर्छ र यसो भन्नुपर्छ, “मैले परमेश्‍वरप्रति समर्पित हुन आफ्नो हृदयको आगो दबाउनैपर्छ, आफ्नो हृदयको रिस दबाउनैपर्छ, आफ्नो हृदयको गुनासो दबाउनैपर्छ, र हृदयको नसुल्झिएको भावना दबाउनैपर्छ। मैले त्यो सहनुपर्छ र आवाज निकाल्नु हुँदैन। मेरा लागि त यी सबै कुरा अपमान हुन्, त्यसैले म ती दबाउनेछु”? के तिनीहरूले यसो गरेर सत्यता अभ्यास गरिरहेका छन्? (हुँदैनन्।) तिनीहरूले के अभ्यास गरिरहेका हुन्छन्? विद्रोहीपन, झूटोपन, र ढोँग। सत्यता अभ्यास गर्न अनि सत्यताप्रति र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन, तैँले पहिला गर्नैपर्ने कुरा भनेको कुनै पनि प्रकारको पीडा सहनु होइन, र तैँले कुनै पनि प्रकारको अपमान सहनु आवश्यक छैन। के तेरा लागि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त अनि तँबाट उहाँले गर्ने मागहरू अपमान हुन्? (होइनन्।) उहाँले तँलाई अपमान गरिरहनुभएको छैन। परमेश्‍वरले तेरो खुलासा गरेर, तँलाई न्याय गरेर, सजाय दिएर, जाँचेर, र शोधन गरेर तँलाई अपमान गरिरहनुभएको हुँदैन। बरु, उहाँले तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू खुलासा गर्नुहुँदा, साथसाथै तँलाई आफूलाई बुझ्न, ती हटाउन र तीविरुद्ध विद्रोह गर्न, र त्यसपछि परमेश्‍वरको मागअनुसार काम गर्न लगाइरहनुभएको हुन्छ। यसले के परिणाम ल्याउँछ? तँ परमेश्‍वरमा समर्पित हुन, सत्यता बुझ्न, परमेश्‍वरलाई खुसी पार्ने व्यक्ति बन्न, अनि परमेश्‍वरले अनुमोदन गर्ने व्यक्ति बन्न सक्नेछस्। तसर्थ, के तैँले यी कुराहरू हासिल गर्दाको क्रम र समयावधिमा भोग्ने कुनै पनि कुराहरू अपमान हुन्? के कुनै कुराहरू छन्, जसमा परमेश्‍वरले तँलाई अपमान गरिरहनुभएको छ? (छैनन्।) उदाहरणका लागि, जब परमेश्‍वरले तेरो खुलासा गर्नुहुन्छ, जब उहाँले तेरो अहङ्कार, दुष्टता, छलीपन, हठिपन, वा क्रूरताको खुलासा गर्नुहुन्छ, तब के यीमध्ये कुनै पनि तथ्य होइनन्? (त्यसो होइन।) ती सबै तथ्य हुन्। परमेश्‍वरले जुनै प्रकारका वचनहरूद्वारा तेरो खुलासा गर्नुभए पनि, उहाँले तँलाई जुनै प्रकारका वचनहरू भन्नुभए पनि, ती सबै तथ्य हुन्। मानिसहरूले यो चिन्न सके पनि वा नसके पनि, र मानिसहरूले जति नै बुझ्न र स्विकार्न सके पनि, यी सबै कुरा तथ्य हुन्। ती आधारहीन छैनन्, न त ती बढाइचढाइ गरिएका नै हुन्, अनि ती निश्चित रूपले तँलाई झुटो आरोप लगाउनका लागि होइनन्। त्यसोभए, के यी कुराहरूको उद्देश्य तेरो अपमान गर्नु हो? (होइन।) तिनको उद्देश्य तेरो अपमान गर्ने नभएको मात्र होइन, तिनको उद्देश्य दुष्ट मानिसहरूका मार्गमा नहिँड्न र शैतानलाई नपछ्याउनका लागि सम्झाउनु र चेतावनी दिनु हो, तिनको उद्देश्य तँलाई जीवनमा सही मार्गमा हिँड्न लगाउनु हो। यी कुराहरूले तँमा ल्याउने परिणाम र पार्ने प्रभाव सकारात्मक हुन्छ। परमेश्‍वरका यी कार्यहरूको प्रकृति पूर्ण रूपले उचित हुन्छ। उहाँले तँलाई मुक्ति दिन यी कुराहरू गरिरहनुभएको छ, र ती पूर्ण रूपले सत्यताअनुरूप छन्। यो नै मानिसहरूले भोग्नुपर्ने कष्ट, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, र साँचो सृजित प्राणी बन्न भोग्नैपर्ने कष्ट हो। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति भनेको यस कष्टलाई अनादरका रूपमा सहनु नभई यसलाई सक्रिय रूपले स्विकार्नु हो। यो कष्ट अपमान होइन, यो उपहास होइन, अनि मानिसहरूलाई छेड हान्नु होइन, झन् परमेश्‍वरले मानिसहरूलाई जिस्काउनु त हुँदै होइन। यो पूर्णतया मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले, तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुनाले, र सत्यतालाई प्रेम नगर्ने हुनाले नै उत्पन्न हुन्छ। यो पीडा परमेश्‍वरका वचन र मानिसहरूबाट परमेश्‍वरले गर्ने मागका कारण तिनीहरूमा उत्पन्न हुन्छ, त्यसोभए के परमेश्‍वरले मानिसहरूलाई जानाजानी दिने वा तिनीहरूलाई अतिरिक्त रूपमा दिने, अनि मानिसहरूले भोग्नुनपर्ने यस पीडाको कुनै पक्ष छ? त्यस्तो केही छैन। त्यसविपरीत, यदि मानिसहरूले यो पीडा अति थोरै भोगे भने, तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सक्दैनन्। मानिसहरूका विद्रोही स्वभावहरू जति नै गम्भीर भए पनि, र परमेश्‍वरले मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नुहुँदा, तिनीहरूले त्यसलाई जति नै मान्न र स्विकार्न सके पनि, आखिरमा परमेश्‍वरले मानिसहरूलाई दिने कुरा अपमान होइन, र मानिसहरूले भोग्ने कुरा अनादर होइन। बरु, यो मानिसहरूले भोग्नुपर्ने कुरा हो; यो शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको व्यक्तिले भोग्नुपर्ने पीडा हो; मानिसहरूले यो पीडा भोग्नुपर्छ। म किन तिनीहरूले यो भोग्नुपर्छ भनेर भन्छु? किनभने मानिसहरू परमेश्‍वरप्रति अति गहन रूपले विद्रोही छन् र तिनीहरू शैतान बनेका छन्। यदि मानिसहरू यी भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरको मुक्ति स्विकार्न चाहन्छन् भने, तिनीहरूले यो कष्ट भोग्नैपर्छ। यो एकदमै सही र उचित हो; यो मानिसहरू हिँड्नैपर्ने मार्ग हो, र यो तिनीहरूले भोग्नैपर्ने कष्ट हो। तिनीहरूलाई यो कष्ट परमेश्‍वरले दिइरहनुभएको होइन। यो त चिसो पानी पिएपछि पेट बिग्रनुझैँ हो। यसमा कसलाई दोष दिने? चिसो पानीलाई? (होइन।) कसले तँमाथि यो कष्ट ल्यायो? (हामी आफैले।) यो तैँले आफूमाथि आफैले ल्याएको होस्। मानिसहरूले भोग्ने यो परिणाम र यो प्रक्रिया तिनीहरूको आफ्नै कर्मको फल हो; यसमा उल्लेख गर्नुपर्ने अनादर वा अपमान केही छैन। कतिपय मानिसहरू त्यसलाई यसरी बुझ्दैनन्; तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू के सोच्छन्? “परमेश्‍वरको घरले मलाई अगुवा हुन दियो; यसले मलाई त्यस पदका लागि अघि सार्‍यो, र मैले अगुवाका रूपमा आफ्नो काम खुसीसाथ पूरा गरेको छु। परमेश्‍वरको घरले मलाई आफ्नो काम राम्ररी नगरेकोमा र गल्तीहरू गरेकोमा बरखास्त गर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। म के बनेको छु? के ममा अझै निष्ठा र मर्यादा छ? के ममा अझै कुनै मानव स्वतन्त्रता छ? के ममा अझै स्वायत्तता छ?” तिनीहरू के सोच्छन् भने, मानिसहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति यस मामिलामा बिना कुनै विकल्प समर्पित हुनु हुँदैन, र यदि मानिसहरू पूर्ण रूपमा समर्पित भए भने, तिनीहरू मूर्ख र मर्यादाविनाका मानिस हुन्छन्, अनि तिनीहरू अति कमजोर र दुःखी रूपमा जिउँछन्। तसर्थ, यस्तो व्यक्ति मानिसहरूले न्याय, सजाय र काटछाँट स्विकार्दा “कुनै व्यक्ति होचो छानामुनि उभिँदा, उससँग टाउको निहुर्याउने बाहेक अरू कुनै विकल्प हुँदैन” भन्ने भनाइझैँ अपमान भोग्नैपर्छ भन्ने सोच्छ। हेर् त, यहाँ अर्को शैतानी दर्शन छ। यो चिरपरिचित वाक्यांशले तिनीहरूलाई निहुरिन लगाउँछ। तिनीहरू के सोचिरहेका हुन्छन्? के तिनीहरू स्वेच्छाले समर्पित भइरहेका हुन्छन्, कि अपमान सहिरहेका र गह्रौँ बोझ बोकिरहेका हुन्छन्? (अपमान सहिरहेका र गह्रौँ बोझ बोकिरहेका हुन्छन्।) तिनीहरू आफूले अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको सोच्छन्। तिनीहरू स्वेच्छाले समर्पित भइरहेका हुँदैनन्। तिनीहरूको समर्पण स्वेच्छिक हुँदैन, र त्यो शुद्ध हुँदैन। बरु, तिनीहरूसित समर्पित हुनुको विकल्प हुँदैन। त्यसैले, तिनीहरू यो विकल्पहीनतालाई एक प्रकारको अपमान ठान्छन्। यस्ता व्यक्तिले यसरी सोच्न सक्ने हुनाले, के तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति समर्पित हुनुलाई सत्यताको अभ्यास ठान्छन्? ठान्दैनन्। उसले समर्पित हुनुलाई सत्यता ठान्दैन। बरु, उसले अपमान सहनु र गह्रौँ बोझ बोक्नुलाई सत्यता ठान्छ। के यी कुराहरूको प्रकृति फरक हुँदैन र? (हुन्छ।) स्वेच्छाले समर्पित हुने मानिसहरू अनि अपमान सहने र गह्रौँ बोझ बोक्नेहरू दुवै समर्पित हुने भए पनि, अनि तिनीहरू कसैले समस्या खडा नगर्ने वा प्रतिरोध नगर्ने भए पनि, र यसो हेर्दा तिनीहरू आज्ञाकारी, शिष्ट, र असल देखिए पनि, यी कुराहरू फरक प्रकृतिका नै हुन्छन्। सच्चा रूपले समर्पित हुने मानिसहरू समर्पित हुनुलाई आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्वका रूपमा लिन्छन्; तिनीहरू यसलाई आफ्नो परम कर्तव्य र सत्यताका रूपमा लिन्छन्। सच्चा रूपले समर्पित नहुनेहरूले बाहिरी रूपमा प्रतिरोध नगरे पनि, हृदयमा आफूले अपमान सहिरहेको र गह्रौँ बोझ बोकिरहेको सोच्छन्, अनि तिनीहरूका नजरमा अपमान सहनु र गह्रौँ बोझ बोक्नु नै सर्वोच्च सत्यता हो। तिनीहरू अपमान सहनुलाई सत्यता अभ्यास गर्नु ठान्छन्, अनि समर्पित हुनुलाई के ठान्छन्? तिनीहरू त्यसलाई सत्यता अभ्यास गर्नु नठानी अपमान सहनु ठान्छन्। के यो त उल्टो भएन र? यसलाई के भनिन्छ? (तिनीहरू यसलाई उल्टो रूपमा लिन्छन्।) तिनीहरू यसलाई उल्टो रूपमा लिन्छन्। तिनीहरू सत्यतालाई संसारसँग व्यवहार गर्ने दर्शनका रूपमा लिन्छन्; तिनीहरू धर्मसिद्धान्त र संसारसँग व्यवहार गर्ने मानिसको दर्शनलाई सत्यताका रूपमा लिन्छन्। के यो कालोलाई सेतो र सेतोलाई कालो बनाउनु होइन र? (हो।) यो त कालोलाई सेतो र सेतोलाई कालो बनाउनु हो। त्यसोभए यो समस्या कसरी समाधान गर्नुपर्छ? मानिसहरूले आफूले भोग्ने यो कष्ट अपमान होइन, न त यो कसैले तिनीहरूलाई अपमान गर्ने प्रयास गरिरहेको नै हो भनेर बुझ्नैपर्छ। त्यसोभए मानिसहरू केले गर्दा कष्ट भोग्छन्? (मानिसहरूको भ्रष्ट स्वभावले गर्दा।) ठिक भनिस्। यदि तँमा भ्रष्ट स्वभावहरू नभएका भए, र तैँले सत्यता बुझेको भए, तँ परमेश्‍वरमा समर्पित हुन सकेको, परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति पूर्णतया समर्पित हुन सकेको, अनि परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सकेको भए, तैँले यो कष्ट भोग्नुपर्ने थिएन। तसर्थ, यो अपमान अस्तित्वमा छैन। तैँले कुरा बुझिस्, होइन त?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्