परिशिष्ट एक: सत्यता के हो (खण्ड दुई)
आ. “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने विचारको चिरफार
अर्को भनाइ “झिँगटोमा सुतेर पित्त चाट्नु” बारे कुरा गरौँ। यसको अर्थ के हो भनेर कसले बताउन सक्छ? (“झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइमा झिँगटोले दाउरालाई, र पित्तले पित्तथैलीलाई जनाउँछ। यसले युये राज्यको राजा गोउजियानले कसरी हरेक दिन दाउराको थाकमाथि सुतेर पित्तथैली चाट्ने गर्थ्यो, अनि ऊ कसरी बदला लिन, आफ्नो पराजयको सङ्घारबाट आफूलाई पुनः उठाउन र आफ्नो राज्य पुनर्स्थापित गर्न चाहन्थ्यो भनेर बताउँछ।) तैँले यस भनाइको पृष्ठभूमि बताइस्, यसै कथाबाट यो भनाइ आएको हो। सामान्यतया कुनै भनाइलाई व्याख्या गर्दा, त्यसको पृष्ठभूमि व्याख्या गर्नुबाहेक, त्यस भनाइको विस्तृत अर्थको—वर्तमान समयमा मानिसहरूले यसलाई प्रयोग गर्दा यो केको अलङ्कार हुन्छ भन्ने कुराको व्याख्या गर्नुपर्छ। यसलाई फेरि व्याख्या गर्। (यो आफ्नो उद्देश्य र इच्छा पूरा गर्न घुँडा धसेर काम गर्ने अनि कडा सङ्घर्ष र परिश्रम गर्ने व्यक्तिको अलङ्कार हो।) त्यसोभए, यस सन्दर्भमा “झिँगटो” र “पित्तथैली” लाई कसरी व्याख्या गर्नुपर्छ? तैँले अर्थका यी दुई पक्षलाई व्याख्या गरिनस्। यी शब्दहरूलाई हेर्दा, “झिँगटो” ले एक प्रकारको काँडेदार दाउरालाई जनाउँछ; ऊ काँडेदार दाउराको थाकमा सुत्थ्यो, त्यसपछि आफूलाई आफ्नो परिस्थिति र बेइज्जतीको बारम्बार स्मरण गराउँथ्यो, अनि आफूलाई आफूले काँध लिएको मिसनको बारम्बार स्मरण गराउँथ्यो। त्यसबाहेक, उसले छतमा एउटा पित्तथैली झुण्डाएर दिनैपिच्छे चाट्ने गर्थ्यो। मानिसहरूले पित्तथैली चाट्दा कस्तो स्वाद पाउँछन्? (तितो।) त्यो एकदमै तितो हुनेथ्यो! उसले यो अनुभूति आफूलाई आफ्नो घृणा नभुल्न, आफ्नो मिसन नभुल्न, र आफ्नो इच्छा नभुल्न याद दिलाउनका लागि प्रयोग गऱ्यो। उसको इच्छा के थियो? आफ्नो राज्य पुनः स्थापित गर्ने ठूलो कार्य। सामान्यतया झिँगटोमा सुतेर पित्त चाट्नु केको अलङ्कार हो? यो सामान्यतया दुर्भाग्यपूर्ण परिस्थितिमा भएको, तर आफ्नो मिसन र इच्छा नभुल्ने, अनि आफ्ना चाहना, आकाङ्क्षा र मिसनका लागि मूल्य चुकाउन सक्ने व्यक्तिको अलङ्कार हो। यसको अर्थ लगभग यही हो। सांसारिक मानिसहरूका दृष्टिमा, “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ सकारात्मक भनाइ हो कि नकारात्मक? (सकारात्मक।) यसलाई किन सकारात्मक भनाइ ठानिन्छ? यसले मानिसहरूलाई आइपर्ने कष्टका बीचमा आफ्नो घृणा नभुल्न, आफ्नो बेइज्जती नभुल्न उत्प्रेरित गर्छ, र कडा परिश्रम गर्न र अझ दह्रिलो बन्न लागिपर्न लगाउँछ। यो तुलनात्मक रूपले प्रेरणादायी भनाइ हो। सांसारिक मानिसहरूका दृष्टिमा, यो निस्सन्देह सकारात्मक भनाइ हो। यदि मानिसहरूले यस भनाइअनुसार कार्य गरे भने, तिनीहरूले गर्ने कुरा, कामकुरा गर्ने तिनीहरूको उत्प्रेरणा, तिनीहरूले काम गर्ने तरिका र तिनीहरूले पालन गर्ने सिद्धान्तहरू निस्सन्देह सही र सकारात्मक हुन्छन्। यसो भन्दा, यस भनाइमा मूलतः केही गलत छैन, त्यसोभए हामीले यस भनाइलाई अघि सारेर के चिरफार गर्न चाहेका हौँ त? हामीले भन्न चाहेको के हो? (हामी यो भनाइ सत्यताविपरीत जाने तरिकाहरूलाई चिरफार गर्न चाहन्छौँ।) ठीक भनिस्, हामी यो सत्यता हो कि होइन भनेर खुट्ट्याउन चाहन्छौँ। यो भनाइ एकदमै “सही” भएकाले, हामीले यो ठ्याक्कै कुन तरिकाले “सही” छ भनेर चिरफार र प्रमाणित गर्नलायक छ। त्यसपछि, हामीले यसको सही परिभाषा पाउनेछौँ, र यो वास्तवमै सत्यता हो कि होइन भनेर हेर्न सक्छौँ। हामीले हासिल गर्न चाहेको अन्तिम परिणाम यही हो। “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ विशेष परिस्थितिमा मानिसहरूले पालन गर्ने अस्तित्वको नियम हो। पहिला निश्चित होऔँ—के यो भनाइ सत्यता हो? (होइन।) यो सत्यता हो कि होइन भनेर सुरु नगरौँ। मानिसहरूले देख्न सक्ने यसको शाब्दिक अर्थलाई हेर्दा, यस भनाइको नकारात्मक अर्थ छैन। त्यसोभए, यसमा कस्तो सकारात्मक अर्थ छ त? यसले मानिसहरूलाई उत्प्रेरित गर्न सक्छ, सङ्कल्प दिन सक्छ, सङ्घर्ष गरिरहने, पछि नहट्ने, हतोत्साहित नहुने, र डरपोक नबन्ने बनाउन सक्छ। यसको सकारात्मक प्रयोग भएको पक्ष छ। तथापि, मानिसहरूले कुन परिस्थितिहरूमा यस भनाइमा भएका आत्मआचरण र कार्यका सिद्धान्तहरू पालन गर्नु आवश्यक छ? यस भनाइले पालन गर्ने सिद्धान्तहरू र परमेश्वरप्रतिको विश्वासबीच कुनै सम्बन्ध छ? त्यसको सत्यता अभ्याससँग कुनै सम्बन्ध छ? त्यसको आफ्नो कर्तव्य निर्वाह गर्नुसित कुनै सम्बन्ध छ? त्यसको परमेश्वरको मार्ग पछ्याउनुसित कुनै सम्बन्ध छ? (छैन।) तिमीहरू यति चाँडै निष्कर्षमा पुग्यौ? तिमीहरूलाई सम्बन्ध छैन भनेर कसरी थाहा भयो? (परमेश्वरका वचनले त्यो बताउँदैनन्।) त्यसो भन्नु अत्यन्तै सरल र गैरजिम्मेवार कुरा हो। जब तँ बुझ्दैनस् र “जे होस्, यो परमेश्वरका वचनमा छैन र मलाई यस भनाइको अर्थ थाहा छैन, त्यसैले म यो सुन्नेछैनँ। यसले जे मन लाग्यो त्यही भन्न सक्छ, तर म त्यो विश्वास गर्नेछैनँ” भनी भन्छस्, तब यसो भन्नु गैरजिम्मेवार कुरा हुन्छ। तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। तैँले यसलाई गम्भीरतापूर्वक लिइसकेपछि, राम्ररी बुझेपछि र यसबारे साँचो सुझबुझ प्राप्त गरेपछि, यस भनाइलाई कहिल्यै सत्यता ठान्नेछैनस्। अहिले, म तँलाई यस भनाइको सहीपन इन्कार गर्न लगाइरहेको छैनँ; बरु, म तँलाई यो भनाइ सत्यता होइन भनेर बुझ्न लगाइरहेको छु, अनि तैँले बुझ्नुपर्ने सत्यता के हो र उही परिस्थितिहरूमा कसरी सत्यता पालन गर्नुपर्छ भनेर देखाइरहेको छु। कुरा बुझिस्? त्यसोभए, तैँले के बुझिस्, मलाई बता। (झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइ दुर्भाग्यको बेला मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ भन्नेबारे हो, तर परमेश्वरका घरमा “दुर्भाग्य” शब्द अस्तित्वमा छैन। परमेश्वरले मानिसहरूलाई खुलासा गर्नु वा तिनीहरूको परीक्षा लिनु त्यो सब उहाँले तिनीहरूलाई सिद्ध पार्ने प्रक्रियाकै पाटो हो—यो दुर्भाग्य होइन। यस भनाइले मानिसहरूलाई यस समयमा तिनीहरूले भोगेको कष्ट सम्झनैपर्छ र गुमेको कुरा भविष्यमा प्राप्त गर्नैपर्छ भनेर बताउँछ। यो भनाइ परमेश्वरका घरमा मान्य हुँदैन। म एउटा उदाहरण दिनेछु, जुन अलि अनुचित छ: बर्खास्त भएपछि “झिँगटोमा सुतेर पित्त चाट्नु” भन्ने भनाइ आफूलाई उत्प्रेरित गर्न प्रयोग गर्छन्, र भन्छन्, “म युये राज्यका राजा गोउजियानबाट सिक्नेछु, र झिँगटोमा सुतेर पित्त चाट्नेछु। मैले मेरो पुरानो पद फेरि पाउने र म फेरि अगुवा बन्ने समय आउनेछ। तिमीहरूले त्यो देख्नेछौ! अहिले तिमीहरू मेरो आलोचना गर्छौ, म यस सन्दर्भमा नराम्रो छु र म त्यस सन्दर्भमा नराम्रो छु भन्छौ। एक दिन म फेरि आफूले गुमाएको कुरा प्राप्त गर्नेछु र तिमीहरूलाई म को हुँ देखाउनेछु। मैले अहिले भोगेको अपमान पखालिने समय अवश्य नै आउनेछ!”) यो एकदमै राम्रो उदाहरण हो। के तिमीहरूले यसबाट अन्तर्दृष्टि पायौ? के तिमीहरू कहिल्यै झिँगटोमा सुतेर पित्त चाट्ने चाहना राख्छौ? के तिमीहरू गुमाएको कुरा फेरि पाउनेबारे कहिल्यै सोच्छौ? (सोच्छौँ। मानिसहरूले मेरो दृष्टिकोण इन्कार गर्दा ममा यस्तो सोच आउँछ। उदाहरणका लागि, जब म दाजुभाइ-दिदीबहिनीहरूसँग केही कुराबारे छलफल गरिरहेको हुन्छु र उनीहरूले मैले अघि सारेको दृष्टिकोणमा प्रश्न गर्छन्, तब मलाई मनमा अवज्ञा गरूँ भन्ने लाग्छ, र सोच्छु, “मैले कुनै दिन राम्रो काम गरेर तिमीहरूलाई देखाउनैपर्छ।” त्यसपछि, म गएर कामको त्यो क्षेत्र सिक्न कडा मेहनत गर्छु, तर यो गलत मानसिकता हो।) यो सत्यता स्विकार्ने सत्यता खोज्ने, वा सत्यता अभ्यास गर्ने मनोवृत्ति होइन, तर अवज्ञा गर्ने र अरूलाई केही प्रमाणित गरेर देखाउन चाहने मनोवृत्ति हो—यो हार नस्विकार्ने मनोवृत्ति हो। यस्तो मनोवृत्तिलाई मानवजातिमाझ सकारात्मक मानिन्छ। कहिल्यै हार नस्विकार्नु एक प्रकारको असल स्वभाव हो, र यसको अर्थ व्यक्तिमा दृढता छ भन्ने हुन्छ, त्यसोभए यो सत्यता अभ्यास गर्नु होइन भनेर किन भनिन्छ? किनभने कामकुरा गर्दा तिनीहरूको मनोवृत्ति अनि तिनीहरूले गर्ने कुरापछाडिका सिद्धान्त र उत्प्रेरणा सत्यतामा आधारित हुँदैनन्; बरु ती त परम्परागत संस्कृतिको भनाइ “झिँगटोमा सुतेर पित्त चाट्नु” मा आधारित हुन्छन्। कसैले यो व्यक्ति एकदमै प्रभावशाली छ भनेर भन्न सके पनि, अनि उसको जित्न चाहने र हार नस्विकार्ने मानसिकता र मनोवृत्तिले संसारका मानिसहरूबाट आदर बटुले पनि, सत्यतासामु यस्तो मानसिकता र चित्तप्रकृति के हो? ती अति सूक्ष्म र अत्यन्तै भद्दा कुरा हुन्; परमेश्वर तिनलाई घृणा गर्नुहुन्छ। अरू कसैसँग बताउने केही छ? (मैले कर्तव्य निर्वाह गर्दा, म कामको त्यस क्षेत्रसित परिचित नभएकाले, मलाई लाग्छ मानिसहरू मलाई गम्भीरतापूर्वक लिँदैनन्। त्यसैले, हृदयमा चुपचाप आफूलाई यसरी झकझकाउँछु, “मैले कामको यस क्षेत्र राम्ररी अध्ययन गर्नुपर्छ र तिमीहरूलाई म वास्तवमा सक्षम छु भनेर देखाउनुपर्छ।” कहिलेकाहीँ, मानिसहरूले मेरा कर्तव्यमा कमीकमजोरी औँल्याइदिँदा, म परिवर्तन गर्न प्रयास लगाउँछु; म कष्ट सहन्छु र काम सिक्न मूल्य चुकाउँछु, अनि आफूले जति नै धेरै कष्ट भोगे पनि, म त्यो सहन्छु, तर मैले आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भनेर खोजी गरिरहेको छैनँ; बरु, म अरूलाई मेरो मान गर्न लगाउन सक्ने र अरूबाट आदर पाउन सक्ने दिन आओस् भन्ने चाहन्छु। ममा झिँगटोमा सुतेर पित्त चाट्ने एक प्रकारको स्थिति पनि छ।) तिमीहरू सबैले बताएको कुराबाट मैले एउटा समस्या याद गरेँ। तिमीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएका छौ, आफ्नो परिवार र करियर त्यागेका छौ, अनि धेरै कष्ट भोगेका छौ, तैपनि एकदमै थोरै फल पाएका छौ। तिमीहरू कष्ट सहन र आफ्ना कर्तव्यमा आफूलाई समर्पित गर्न पनि सक्षम छौ, अनि मूल्य चुकाउन सक्छौ, तर किन सत्यतामा कहिल्यै प्रगति गर्दैनौ? तिमीहरूले बुझ्ने सत्यता कसरी यति थोरै र यति सतही छ? त्यसको कारण के हो भने, तिमीहरू सत्यतामा जोड दिँदैनौ। तिमीहरू सधैँ झिँगटोमा सुतेर पित्त चाट्न चाहन्छौ, अनि तिमीहरूको हृदय आफूलाई साबित गर्ने उत्प्रेरणाले भरिएको हुन्छ। झिँगटोमा सुतेर पित्त चाट्नु एउटा “ठूलो घाउ” हो—के तँलाई यो राम्रो कुरा हो भन्ने लाग्छ? झिँगटोमा सुतेर पित्त चाट्नुको अन्तिम परिणाम के हुन्छ? जब कुनै व्यक्तिले ऊ सक्षम र योग्य छ, अरूभन्दा कम छैन र कोहीसित हार्न सक्दैन भनेर प्रमाणित गर्न चाहन्छ, तब उसले झिँगटोमा सुतेर पित्त चाट्नेछ। अर्को शब्दमा भन्नुपर्दा, उसले “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।” त्यसोभए, झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइ कसरी प्रकट हुन्छ? यो प्रकट हुने पहिलो तरिका भनेको हार नस्विकार्नु हो। दोस्रो तरिका भनेको अपमान सहनु र गह्रौँ बोझ बोक्नु हो। तैँले अरूसँग तर्क गर्न, तिनीहरूलाई खण्डन गर्न, वा आफ्नो बचाउ गर्न कुनै पनि शब्दहरू प्रयोग गर्दैनस् होला, तर गोप्य रूपले प्रयास लगाउँछस्। कस्तो प्रयास? त्यो तैँले चुकाउने मूल्य हुन सक्छ: राती अबेरसम्म काम गर्नु, बिहान सबेरै उठ्नु, वा अरूले रमाइलो गर्दा परमेश्वरका वचन पढ्नु र आफ्नो कामको क्षेत्रबारे सिक्नु, थप प्रयास गर्नु। के यो कष्ट भोग्नु हो? यसलाई झिँगटोमा सुतेर पित्त चाट्नु भनिन्छ। यो प्रकट हुने तेस्रो तरिका के हो? यो मानिसहरूमा एक प्रकारको ठूलो महत्त्वाकाङ्क्षा हुँदा, र ठूलो महत्त्वाकाङ्क्षाका कारण आफ्नो समस्याबारे गुनासो नगर्दा प्रकट हुन्छ। तिनीहरू आफूले तय गरेका र प्राप्त गर्न चाहेका उद्देश्यहरू, अनि सङ्घर्ष गर्ने यो इच्छा कायम राख्न चाहन्छन्। सङ्घर्ष गर्ने यो इच्छा के हो? उदाहरणका लागि, यदि तँ अगुवा बन्न वा कुनै काम पूरा गर्न चाहन्छस् भने, भित्री रूपमा तैँले सधैँ यो मनस्थिति कायम राख्नैपर्छ; तैँले आफ्नो सङ्कल्प, मिसन, महत्त्वाकाङ्क्षा र आकाङ्क्षा कहिल्यै बिर्सनै हुँदैन। तँ यसलाई एक वाक्यमा कसरी व्याख्या गर्छस्? (केही गर्ने आफ्नो सुरुको उत्प्रेरणा नबिर्सनू।) केही गर्ने आफ्नो सुरुको उत्प्रेरणा नबिर्सनु सही कुरा हो, तर पर्याप्त रूपमा दह्रिलो भने होइन। (आफ्नो हृदयमा ठूलो महत्त्वाकाङ्क्षा राख्नू।) त्यो झनै राम्रो हो। यसमा अलिकति त्यो भावना छ। तैँले कसरी यी शब्दहरू अझ सही र सटीक तरिकाले भन्न सक्छस्? (सङ्घर्ष गर्ने इच्छा र महत्त्वाकाङ्क्षाहरू।) तैँले यसलाई कसरी पूर्ण शब्दमा भन्नेछस्? धेरै युद्ध लडेपछि धेरै क्षति हुन्छ, तर जति लामो लडाइँ लडिन्छ, उति नै साहसी होइन्छ। यो लडाइँ गर्दा “कहिल्यै हार नमान्ने” इच्छा हो। यो त कतिपय मानिसले यसो भनेझैँ हो, “के तिमी बर्खास्त भएपछि हतोत्साहित भयौ? म धेरै पटक बर्खास्त भएको छु तर कहिल्यै हतोत्साहित भएको छैनँ। म केही कुरामा असफल हुँदा, फेरि खडा भइहाल्छु। हामीमा सङ्घर्ष गर्ने इच्छा हुनुपर्छ!” तिनीहरूको दृष्टिकोणबाट हेर्दा, यो सङ्घर्ष गर्ने इच्छा सकारात्मक कुरा हो। तिनीहरू मानिसहरूमा महत्त्वाकाङ्क्षा, आकाङ्क्षा, र लडाइँ गर्ने इच्छा हुँदा त्यो गलत कुरा हो भनेर सोच्दैनन्। तिनीहरूले अहङ्कारी भ्रष्ट स्वभावबाट उत्पन्न हुने कामना र उन्मत्त महत्त्वाकाङ्क्षालाई कसरी लिन्छन्? तिनीहरू त्यसलाई सकारात्मक कुरा ठान्छन्। त्यसैले तिनीहरू आफूले जुन उद्देश्यका लागि लडाइँ गरिरहेको छु र आफूलाई जुन उद्देश्य ठीक लागेको छ त्यो प्राप्त गर्न झिँगटोमा सुतेर पित्त चाट्ने कष्ट भोग्न सक्नु नै गर्नुपर्ने सही कुरा हो, मानिसहरू त्यसलाई राम्रो मान्छन्, र यो सत्यता हुनुपर्छ भन्ने सोच्छन्। झिँगटोमा सुतेर पित्त चाट्नुका तीन प्रकटीकरण यिनै हुन्। के यी तीन प्रकटीकरणले झिँगटोमा सुतेर पित्त चाट्नु भन्ने भनाइमा रहेको अर्थ व्याख्या गर्न सक्छन्? (हो, सक्छन्।) त्यसोभए, म यी तीन प्रकटीकरणबारे विस्तृत रूपमा सङ्गति गर्नेछु।
क. हार नस्विकार्नु
सुरुमा झिँगटोमाथि सुतेर पित्त चाट्नु भन्ने भनाइको पहिलो प्रकटीकरणबारे कुरा गरौँ: हार नस्विकार्नु। हार नस्विकार्नु भनेको के हो? मानिसहरूमा हार नस्विकार्ने मानसिकता छ भनेर प्रमाणित गर्ने कस्ता प्रकटीकरणहरू तिनीहरूमा सामान्यतया हुन्छन्? हार नस्विकार्नु कस्तो स्वभाव हो? (अहङ्कार र हठीपन।) त्यसमा अहङ्कार र हठका दुई स्पष्ट स्वभाव हुन्छन्। अरू के हुन्छ? (जित्न चाहनु।) के यो स्वभाव हो? यो प्रकटीकरण हो। अहिले हामी स्वभावबारे कुरा गरिरहेका छौँ। (सत्यताप्रति वितृष्ण हुनु।) सत्यताप्रति वितृष्ण हुनुको अर्थ निश्चय नै सत्यता नस्विकार्नु हो। उदाहरणका लागि, यदि कुनै अगुवा वा कामदारले तैँले गरिरहेको कुराले सिद्धान्त उल्लङ्घन गर्छ र परमेश्वरको घरको काममा ढिलाइ गराउँछ भनेर भन्यो, र उसले तँलाई बर्खास्त गर्न चाह्यो भने, तँ सोच्छस्, “हत्तेरी! मलाई आफूले गरिरहेको कुरा गलत हो भन्ने लाग्दैन। यदि तिमी मलाई बर्खास्त गर्न चाहन्छौ भने गर। यदि तिमी मलाई यो गर्न दिँदैनौ भने म गर्नेछैन। म समर्पित हुनेछु!” यो समर्पणभित्रै हार स्विकार्न नमान्ने मनोवृत्ति छ। यो एउटा स्वभाव हो। यस स्वभावमा अहङ्कार, हठ र सत्यताप्रति वितृष्ण हुनुबाहेक अरू के छ? के त्यसमा परमेश्वरसँग होड गर्न चाहने स्वभाव छ? (छ।) त्यसोभए यो कस्तो स्वभाव हो? यो क्रूरता हो। तिमीहरू यस्तो क्रूर स्वभाव चिन्नसमेत सक्दैनौ। किन म यो क्रूर हुन्छ भनेर भन्छु? (किनभने तिनीहरू परमेश्वरसँग होड गर्न चाहन्छन्।) सत्यतासँग होड गर्न खोज्नुलाई क्रूर भनिन्छ—यो अत्यन्तै क्रूर हुन्छ! यदि तिनीहरू क्रूर नभएका भए, तिनीहरूले सत्यतासँग होड गर्न खोज्नेथिएनन्, र परमेश्वरसँग होड गर्न वा उहाँसँग प्रतिस्पर्धा गर्न खोज्नेथिएनन्। यो क्रूर स्वभाव हो। हार नस्विकार्नुभित्र अहङ्कार, हठीपन, सत्यताप्रतिको वितृष्णा र क्रूरता हुन्छ। यससित सम्बन्धित स्पष्ट स्वभावहरू यिनै हुन्। हार नस्विकार्ने स्वभाव कसरी प्रकट हुन्छ? यसमा के-कस्ता मानसिकता समावेश हुन्छन्? हार नस्विकार्ने मानिसहरू कसरी सोच्छन्? तिनीहरूको मनोवृत्ति के-कस्तो हुन्छ? तिनीहरू आफूलाई बर्खास्तीजस्ता कुराहरू आइपर्दा के भन्छन्, के सोच्छन्, र के प्रकट गर्छन्? सबैभन्दा सामान्य प्रकटीकरण त्यतिबेला हुन्छ, जब तिनीहरू कर्तव्य निर्वाह गर्छन् र माथिले तिनीहरू यस कर्तव्य निर्वाह गर्न योग्य छैनन् भन्ने देखेर तिनीहरूलाई बर्खास्त गर्नुहुन्छ, र तिनीहरू हृदयमा यस्तो विचार गर्छन्, “म तपाईँको बराबर छैनँ। म तपाईँसँग तर्क गर्नेछैनँ। ममा प्रतिभा छ। सक्कली सुन अन्तमा चम्किन्छ, अनि म जहाँ गए पनि प्रतिभावान व्यक्ति हुँ! माथिले मेरा लागि जेजस्तो बन्दोबस्त गर्नुभए पनि म त्यो सहनेछु र अहिले ती कुरा सुन्नेछु।” तिनीहरू परमेश्वरसामु आएर प्रार्थना पनि गर्छन्, “परमेश्वर, बिन्ती छ मलाई गुनासो गर्नबाट जोगाउनुहोस्। बिन्ती छ मेरो जिब्रो नियन्त्रण गर्नुहोस् र मलाई तपाईँको आलोचना वा निन्दा गर्न नदिनुहोस्, र मलाई समर्पित हुन सक्ने बनाउनुहोस।” तर त्यसपछि तिनीहरू फेरि विचार गर्छन्, “म समर्पित हुन सक्दिनँ। यो सबैभन्दा गाह्रो पक्ष हो। म यो तथ्य स्विकार्न सक्दिनँ। म के गरूँ? यी माथिका बन्दोबस्त हुन्; मैले गर्न सक्ने केही छैन। म एकदमै प्रतिभावान छु, तर किन म आफ्नो प्रतिभा परमेश्वरका घरमा कहिल्यै प्रयोग गर्न सक्दिनँ? यस्तो लाग्छ, मैले अझै परमेश्वरको वचन मनग्गे पढेको छैनँ। अबउसो मैले परमेश्वरका वचन अझ धेरै पढ्नैपर्छ!” तिनीहरू हार मान्दैनन् र आफू अरूभन्दा कम नभएको, आफूले अलि कम समयदेखि परमेश्वरमा विश्वास गरेको मात्र हो र यसको परिपूर्ति गर्न सकिन्छ भन्ने सोच्छन्। त्यसैले, तिनीहरू परमेश्वरका वचन पढ्न र प्रवचनहरू सुन्नमा प्रयास लगाउँछन्। तिनीहरू हरेक दिन नयाँ भजन सिक्छन् र परमेश्वरका वचनको एक अध्याय पढ्छन्, अनि प्रचार अभ्यास गर्छन्। तिनीहरू क्रमिक रूपमा परमेश्वरका वचनसँग झन्-झन् परिचित हुँदै जान्छन्, तिनीहरूले धेरै आत्मिक धर्मसिद्धान्त प्रचार गर्न सक्छन्, र भेलाहरूमा सङ्गति दिन सक्छन्। के यहाँ हार नस्विकार्ने कुनै हुटहुटी छ? (छ।) यो कस्तो हुटहुटी हो? (दुष्ट हुटहुटी।) यो समस्याजनक कुरा हो! यसलाई चिरफार गर्नेबित्तिकै तिमीहरू किन तुरुन्तै यसलाई दुष्ट हुटहुटी भनेर चित्रण गर्छौ? के यी असल कुरा होइनन् र? तिनीहरूको आत्मिक जीवन सामान्य हुन्छ; तिनीहरू सांसारिक कुराहरूमा सहभागी हुँदैनन्; तिनीहरू अरूको चियोचर्चो गर्दैनन्; तिनीहरू परमेश्वरका वचनका धेरै अध्याय कण्ठाग्र भन्न र याद गरेर धेरै भजनहरू गाउन सक्छन्। तिनीहरू “विशिष्ट” हुन्! त्यसोभए किन तिमीहरू यसलाई दुष्ट हुटहुटी भन्छौ? (तिनीहरूको आशय नै आफू सक्षम छु र अरूभन्दा कम छैनँ भनेर प्रमाणित गर्नु हो।) यसलाई हार नस्विकार्नु भनिन्छ। के तिनीहरूले हार नस्विकारेर आफूलाई साँच्चै बुझिरहेका र आफ्ना समस्याहरू स्विकारिरहेका हुन्छन्? (हुँदैनन्।) के तिनीहरूले आफ्नो भ्रष्टता र अहङ्कारी स्वभाव चिनिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरूले हार नस्विकारेर के साबित गरिरहेका हुन्छन्? तिनीहरू आफू सक्षम र श्रेष्ठ छु भनेर साबित गर्न चाहन्छन्; तिनीहरू आफू अरूभन्दा राम्रो छु भनेर साबित गर्न चाहन्छन्, अनि अन्त्यमा आफूलाई बर्खास्त गर्नु गल्ती थियो भनेर साबित गर्छन्। तिनीहरूको हुटहुटी यस दिशामा लक्षित हुन्छ। के यो हार नस्विकार्नु हो? (हो।) हार नस्विकार्ने यही मनोवृत्तिले कष्ट सहने, मूल्य चुकाउने, अपमान सहने र गह्रौँ बोझ बोक्ने तिनीहरूका कार्यहरू उत्पन्न गरायो। यसो हेर्दा, तिनीहरू धेरै प्रयास लगाउँछन्, तिनीहरूले कष्ट सहन र मूल्य चुकाउन, अनि अन्त्यमा आफ्नो उद्देश्य हासिल गर्न सक्छन् जस्तो देखिन्छ, तर परमेश्वर किन खुसी हुनुहुन्न? उहाँ किन तिनीहरूलाई निन्दा गर्नुहुन्छ? किनभने परमेश्वर मानिसहरूको भित्री हृदय छानबीन गर्नुहुन्छ र हरेक व्यक्तिलाई सत्यताअनुसार मूल्याङ्कन गर्नुहुन्छ। परमेश्वर कसरी हरेक व्यक्तिको व्यवहार, अभिप्राय, प्रकटीकरण, र स्वभावको मूल्याङ्कन गर्नुहुन्छ? यी सबै कुरा सत्यताअनुसार मूल्याङ्कन गरिन्छन्। त्यसोभए, परमेश्वर कसरी यस मामिलालाई मूल्याङ्कन र परिभाषित गर्नुहुन्छ? तैँले जति नै कष्ट भोगे पनि र जति नै धेरै मूल्य चुकाए पनि, आखिर तँ सत्यतातर्फ लागिपर्दैनस्; तेरो अभिप्राय सत्यताप्रति समर्पित हुने वा सत्यता स्विकार्ने हुँदैन; बरु तँ परमेश्वर र परमेश्वरको घरले तँलाई चित्रित गरेको र सम्हालेको तरिका गलत थियो भनेर प्रमाणित गर्न कष्ट सहने र मूल्य चुकाउने आफ्नो विधि प्रयोग गर्छस्। यसले के इङ्गित गर्छ? तँ आफू कहिल्यै गलत नभएको र भ्रष्ट स्वभाव नभएको व्यक्ति होस् भनेर साबित गर्न चाहन्छस्। तँ परमेश्वरको घरले तँलाई सम्हालेको तरिका सत्यताअनुरूप थिएन, अनि कहिलेकाहीँ सत्यता र परमेश्वरका वचन गलत हुन्छन् भनेर साबित गर्न चाहन्छस्। उदाहरणका लागि, तेरो सन्दर्भमा त्रुटि र समस्या भएको थियो, अनि तेरो मामलाले परमेश्वरका वचन सत्यता होइनन् र तँ समर्पित हुनु पर्दैन भनेर साबित गर्छ। के परिणाम यही नै होइन र? (हो।) परमेश्वर यस्तो परिणामलाई अनुमोदन गर्नुहुन्छ कि निन्दा? (उहाँ त्यसलाई निन्दा गर्नुहुन्छ।) परमेश्वर त्यसलाई निन्दा गर्नुहुन्छ।
के मानिसहरूमा हुने यो हार नस्विकार्ने मनोवृत्ति सत्यताअनुरूप छ? (छैन।) यदि हामी यो मनोवृत्ति सत्यताअनुरूप छैन, र यो सत्यताबाट कोसौँ टाढा छ भनेर भन्छौँ भने, के त्यो भनाइ सही हुनेछ? हुनेछैन, किनभने त्यो मनोवृत्ति सत्यतासँग पटक्कै सम्बन्धित छैन। संसारमा र सारा मानवजातिमाझ हार नस्विकार्ने यस मनोवृत्तिको प्रशंसा हुन्छ कि निन्दा? (यसको प्रशंसा हुन्छ।) कस्तो परिवेशमा यसको प्रशंसा हुन्छ? (कार्यस्थल र विद्यालयमा।) उदाहरणका लागि, यदि कुनै विद्यार्थीले परीक्षामा साठी प्रतिशत अङ्क पाउँछ, र भन्छ, “म हार स्विकार्नेछैनँ। अर्कोपटक म नब्बे प्रतिशत अङ्क ल्याउनेछु!” अनि उसले नब्बे प्रतिशत ल्याएपछि, अर्को पल्ट सय प्रतिशत ल्याउन चाहन्छ। अन्त्यमा उसले त्यो पनि प्राप्त गर्छ, अनि उसका आमाबुबाले यो बच्चा महत्त्वाकाङ्क्षी छ र यसको भविष्य उज्ज्वल छ भन्ने सोच्छन्। अर्को परिवेश—अनि सबैभन्दा सामान्य परिवेश—प्रतिस्पर्धाहरूमा हुन्छ। कतिपय टोली प्रतिस्पर्धामा हार्छन् र लाजले तिनीहरूलाई अनुहार देखाइ नसक्नु हुन्छ, तर तिनीहरू हार स्विकार्दैनन्। यस्तो मानसिकता र हार नस्विकार्ने मनोवृत्तिका कारण, तिनीहरू निकै कडा परिश्रम गर्छन् र अझ कडा तालिम लिन्छन्, अनि अर्को प्रतिस्पर्धामा तिनीहरूले अर्को टोलीलाई हराउँछन् र उनीहरूलाई लज्जित पार्छन्। यस समाजमा र मानवजातिमाझ हार नस्विकार्नु एक प्रकारको मानसिकता हो। मानसिकता भनेको के हो? (यो मानिसहरूलाई मनोवैज्ञानिक रूपमा साथ दिने सोचाइको तरिका हो।) सही भनिस्। यो मानिसहरूलाई सधैँ साहसी भई अघि बढ्न, पराजित नहुन, हतोत्साहित नहुन, पछि नहट्न अनि आफ्ना आकाङ्क्षा र उद्देश्य हासिल गर्न साथ दिने प्रेरक शक्ति हो। यसलाई हार नस्विकार्नु भनिन्छ। यो हार नस्विकार्ने एक प्रकारको मानसिकता हो। मानिसहरू यदि आफूमा यो मानसिकता, यो “मनोभाव” छैन भने, जीवनको कुनै अर्थ हुँदैन भन्ने सोच्छन्। तिनीहरू जीवनमा के कुरामा भर पर्छन्? तिनीहरूको जीवन एक प्रकारको मानसिकतामा भर पर्छ। यो मानसिकता कहाँबाट आउँछ? यो मानिसहरूका धारणा र कल्पना, साथै तिनीहरूको भ्रष्ट स्वभावबाट आउँछ। यो अव्यावहारिक हुन्छ, र मानिसहरूले यो प्राप्त गर्न सक्दैनन्। परमेश्वरले मानवजाति सृष्टि गरेको समयदेखि अहिलेसम्म जति नै वर्ष बितेको भए पनि, यहाँ जीवित प्राणीहरू जिउने व्यवस्था, मानवजाति जिउने व्यवस्था, अनि स्वर्ग, पृथ्वी, यावत् थोक र ब्रह्माण्ड सञ्चालन हुने व्यवस्था इत्यादि जस्ता एकदमै धेरै सकारात्मक कुरा छन्। मानिसहरूको सोच र शिक्षाको तहअनुसार, तिनीहरूले यो सबैबीच पालन गर्न, आफूले कसरी कार्य गर्ने र आफूलाई आचरणमा ढाल्ने भन्ने बारेका सिद्धान्त र प्रेरक शक्ति, वा यसका आधारका रूपमा लिन कुनै व्यवस्था खोज्न सक्नुपर्छ। तथापि, मानिसहरू सही दिशामा प्रयास लगाउँदैनन्—तिनीहरू आफ्नो बल कुन दिशामा लगाउँछन्? तिनीहरू आफ्नो बल गलत दिशामा लगाउँछन्, अर्थात् तिनीहरू कामकुरा विकास हुने व्यवस्था उल्लङ्घन गर्छन्, अनि तिनीहरू सबै कुराको चक्रको व्यवस्था उल्लङ्घन गर्छन्—तिनीहरू सधैँ परमेश्वरले निर्धारित गरेका यी प्राकृतिक व्यवस्थाहरू नष्ट गर्न, अनि खुसी सिर्जना गर्नका लागि मानव पद्धति र माध्यमहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरूलाई खुसी कसरी पाइन्छ, त्यसमा के रहस्य छ, वा त्यसको स्रोत के हो भन्ने थाहा हुँदैन; तिनीहरू यो स्रोत खोज्दैनन्। बरु, तिनीहरू खुसी सिर्जना गर्न मानव शैली प्रयोग गर्ने प्रयास गर्छन्, र सधैँ चमत्कारहरू सिर्जना गर्न पनि चाहन्छन्। तिनीहरू यी सबै कुराको सामान्य व्यवस्था परिवर्तन गर्न मानव शैली प्रयोग गर्ने प्रयास गर्छन्, र त्यसपछि आफूले चाहेका खुसी र उद्देश्यहरू हासिल गर्छन्। यो सब असामान्य कुरा हो। मानिसहरू यस्ता कुराका लागि जसरी लडे पनि, आफैमा भर परेर लड्नुको अन्तिम नतिजा के हुन्छ? परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्न दिएको यो संसार अहिले क्षतिग्रस्त भएको छ। अहिले यो क्षतिग्रस्त भएकाले को सबैभन्दा बढी पीडित भएको छ? (मानिस।) मानवजाति सबैभन्दा बढी पीडित भएको छ। मानिसहरूले संसारलाई यस हदसम्म दुरुपयोग गरेका छन्, तैपनि तिनीहरू अझै कहिल्यै हार मान्नेछैनँ भनी दाबी गर्छन्। के तिनीहरूका दिमागमा केही गडबडी छैन र? कहिल्यै हार नमान्नुले अन्त्यमा कस्तो नतिजा ल्याउँछ? विनाशकारी विपत्ति। यो एक वा दुई प्रतिस्पर्धा हार्ने वा अनुहार देखाइ नसक्नु हुने कुरा मात्र होइन। तिनीहरूले आफ्नो सम्भाव्यता नष्ट गरेका र आफ्नो उम्कने बाटो बन्द गरेका हुन्छन्—तिनीहरूले आफूलाई नष्ट गरेका हुन्छन्! हार नस्विकार्नुबाट आउने कुरा यही हो।
अहिले हामी शैतानको क्रूर र अहङ्कारी स्वभावको ठेट प्रकटीकरण, अर्थात् कहिल्यै हार नमान्नुलाई चिरफार गरिरहेका छौँ। कहिल्यै हार नमान्नु एउटा मानसिकता हो। हामी यसको आलोचना गर्छौँ, खुलासा गर्छौँ, र निन्दा गर्छौँ, तर यदि तैँले यसलाई मानवजातिमाझ निन्दा गरिस् भने, के मानिसहरूले यो स्विकार्नेछन्? (स्विकार्नेछैनन्।) किन? (किनभने सबै मानिस यस वाक्यांशको प्रशंसा गर्छन्।) तिनीहरू यस मानसिकतालाई बढावा दिन्छन्। यदि कुनै व्यक्तिमा हार नस्विकार्ने र कहिल्यै हार नमान्ने मानसिकता अलिकति पनि छैन भने, अरूले उसलाई दम नभएको भन्छन्। यदि हामीले यी कुराहरूलाई बढावा दिएनौँ भने, के हामी कमजोर हुन्छौँ? (अहँ, हुँदैनौँ।) मानिसहरू भन्छन्, “तिमी कसरी कमजोर होइनौ? तिमी मनोबलसाथ जीवन जिउँदैनौ। तिमी जिउनुको के अर्थ?” के यो कथन साँचो हो? पहिला यसलाई चिरफार गरौँ: हार नस्विकार्नु कस्तो मनोवृत्ति हो? के सामान्य समझ भएका मानिसहरूमा यो मनोवृत्ति हुनुपर्छ? वास्तवमा, यदि मानिसहरूमा सामान्य समझ छ भने, तिनीहरूमा यो मानसिकता हुनु हुँदैन। यो मानसिकता राख्नु गलत हो। कुनै व्यक्तिले समझदार व्यक्ति हुन वास्तविकताको सामना गर्नैपर्छ। यसरी, हार नस्विकार्नु स्पष्टतः समझको कमी हुनु हो; यसको अर्थ तिनीहरूका दिमागमा केही गडबडी छ, र यो मनोवृत्ति अवश्य नै गलत हो। परमेश्वरका विश्वासीहरूका सन्दर्भमा ठ्याक्कै भन्नुपर्दा, तिनीहरूमा यो मानसिकता हुनु हुँदैन किनभने हार नस्विकार्नुमा अहङ्कारी स्वभाव अन्तर्निहित हुन्छ। मानिसहरूमा अहङ्कारी स्वभाव हुँदा के तिनीहरूलाई सत्यता स्विकार्न सजिलो हुन्छ? (हुँदैन।) यो समस्या हो। यदि तँ अहङ्कारी स्वभावलाई सत्यता पछ्याउने जगका रूपमा प्रयोग गर्छस् भने, तैँले के पछ्याइरहेको हुन्छस्? तैँले निश्चय नै सत्यता पछ्याइरहेको हुँदैनस्, किनभने यो पछ्याइ अन्तर्निहित रूपमै सकारात्मक हुँदैन, अनि तैँले प्राप्त गर्ने कुरा निश्चय नै सत्यता हुनेछैन; त्यो निश्चय नै मानिसहरूले कल्पना गरेको एक प्रकारको “मानसिकता” हुनेछ। यदि मानिसहरूले यस्तो मानसिकतालाई सत्यताका रूपमा लिन्छन् भने, तिनीहरू पथभ्रष्ट भएका हुन्छन्। त्यसैले, हामीले हार नस्विकार्ने मानसिकता सच्च्याउने हो भने, के भन्नेथियौँ? हामीले मानिसहरूले सत्यता सिद्धान्तअनुसार नै वास्तविक समस्या सामना गर्नुपर्छ र कामकुरा गर्नुपर्छ, तिनीहरूमा हार नस्विकार्ने मनोवृत्ति हुनु हुँदैन भनेर भन्नेथियौँ। यदि तिनीहरू हार स्विकार्दैनन् भने, तिनीहरूले कोसामु स्वीकार नगरिरहेका हुन्छन्? (परमेश्वरसामु।) तिनीहरूले सत्यतासामु स्वीकार नगरिरहेका हुन्छन्। अझ तोकेरै भन्नुपर्दा, तिनीहरूले मामलाका साँचो तथ्यहरूसामु स्वीकार नगरिरहेका हुन्छन्, तिनीहरूले आफूले केही गलत गरेको छु र आफू प्रकट भएको छु भनेर स्वीकार गरिरहेका हुँदैनन्, अनि तिनीहरूले आफूमा अहङ्कारी स्वभाव छ भनेर स्वीकार गरिरहेका हुँदैनन्। यी कुराहरू साँचो हुन्। त्यसैले, कसरी तँ यी मानिसहरूलाई खण्डन गर्न सक्छस्? तिनीहरूको प्रतिवाद गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरूलाई सबैभन्दा लज्जास्पद लाग्ने कुरा प्रयोग गर्नु हो। आजको संसारमा मानवजातिलाई सबैभन्दा लज्जास्पद लाग्ने कुरा के हो? विज्ञान। विज्ञानले मानवजातिलाई के दिएको छ? (विपत्ति।) मानवजातिले सबैभन्दा बढी प्रशंसा र गर्व गर्ने कुरा विज्ञानले तिनीहरूमाथि अभूतपूर्व विपत्ति ल्याएको छ। अहिले तिमीहरूले यो छनक पाएका हुनाले, कसरी यी मानिसहरूलाई लज्जित पार्न सक्ने गरी खण्डन गर्नुपर्छ त? तिमीहरूलाई के लाग्छ, के शैतानजस्ताहरूलाई लज्जित पार्नुपर्छ? (पार्नुपर्छ।) यदि तैँले तिनीहरूलाई लज्जित पारिनस् भने, तिनीहरूले सत्यतालाई सधैँ तुच्छ ठान्नेछन्, परमेश्वरमा विश्वास गर्नेहरूलाई भेदभाव गर्नेछन्, र परमेश्वरमा विश्वास गर्नेहरूले आफू कमजोर भएकाले मात्र परमेश्वरमा विश्वास गर्छन् भनी सोच्नेछन्। तिमीहरूले कसरी तिनीहरूको खण्डन गर्नुपर्छ? (यसो भनेर: “तिमी केवल साधारण व्यक्ति हौ। तिमीमा त्यस्तो के छ, जसले तिमीलाई हार स्विकार्नु नपर्ने बनाउँछ? केले तिमीलाई नस्विकार्नु सही लाग्ने बनाउँछ? कतिपय मानिस वैज्ञानिक भए पनि, के भो त? तिनीहरूले जति नै उच्च वैज्ञानिक प्रविधि विकास गरे पनि, के भो त? के वैज्ञानिकहरूले अहिले विज्ञानले मानवजातिमाथि ल्याएका सबै विपत्ति समाधान गर्न सक्छन्?”) तिनीहरूको खण्डन गर्ने सही तरिका यही हो। त्यसबारे सोच्, के यो तिनीहरूको खण्डन गर्ने राम्रो तरिका हो? तँ भन्छस्, “मानवजाति वर्तमान समयसम्म जिएको छ, तर मानिसहरूलाई आफ्ना पूर्खा को हुन् भन्नेसमेत थाहा छैनभने तिनीहरूले कसरी नस्विकार्न सक्छन्? तिमीलाई आफू कहाँबाट आएको हो भन्नेसमेत थाहा छैन भने तिमी के कारण धृष्टता देखाउँछौ? तिमी आफूलाई सृष्टि गर्ने परमेश्वरलाई समेत मान्दैनौ भने तिमीले कसरी हार नस्विकार्न सक्छौ? परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, र यो एकदमै महिमित कुरा हो, तर तिमी त्यो मान्दैनौ वा स्विकार्दैनौ; बरु तिमी मानिसहरू पशुबाट विकास हुँदै आएका हुन् भन्ने विश्वास र मान्यतामा जिद् कस्छौ। तिमी कति तुच्छ छौ? परमेश्वर एकदमै शक्तिशाली र उच्च हुनुहुन्छ; उहाँ भन्नुहुन्छ, तिम्रो सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ, तर तिमी आफू उहाँको सृजित प्राणी हो भन्ने स्विकार्दैनौ। तिमी कति नीच छौ?” उसले कस्तो तिखो जवाफ दिनेछ? “मानिसहरू बाँदरबाट विकसित भएर आएका हुन्, तैपनि हामी उच्च तहका प्राणी हौँ।” “त्यसोभए, के तिमी अझै जनावर र पशु होइनौ र? हामी आफू जनावर हौँ भनेर मान्दैनौँ। हामी मानिस हौँ, हामी परमेश्वरद्वारा सृजित मानव हौँ। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुभयो र उहाँ तँ व्यक्ति होस् भनेर स्विकार्नुहुन्छ, तर तिमी व्यक्ति हुन चाहँदैनौ। तिमी मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको तथ्य जिद्दी गर्दै इन्कार गर्छौ। तिमी पशु हुन नै जिद् कस्छौ। तिमी जिउनुको के अर्थ? के तिमी जिउन योग्य छौ?” के यी शब्दहरूमा तागत छ? (छ।) हामी यसरी नै यी मानिसहरूको खण्डन गर्छौँ। तिनीहरूले त्यो माने पनि वा नमाने पनि, वा स्विकारे पनि वा नस्विकारे पनि, यी तथ्य नै हुन्। म अर्को बुँदाबारे कुरा गर्नेछु। मानिसहरू कहिल्यै हार स्विकार्दैनन्, तिनीहरू आफू एकदमै सक्षम छु, आफूसँग उच्च प्रविधि र सबै प्रकारको बुद्धि छ भन्ने सोच्छन्, तर तिनीहरू प्रकृतिसँग कस्तो व्यवहार गर्छन्? तिनीहरू यससँग निरन्तर लडाइँ गर्छन् र सधैँ त्यसलाई वशमा राख्न चाहन्छन्। तिनीहरू प्रकृतिको व्यवस्था कसरी पालन गर्ने भनी पटक्कै बुझ्दैनन्। मानवजातिको व्यवस्थापनले अन्त्यमा प्रकृतिलाई के गरेको छ? के यो सब ज्ञानी र विज्ञान बुझ्ने मानिसहरूले व्यवस्थापन गरेका होइनन् र? के तँ हार स्विकार्न अस्वीकार गर्दैनस् र? के तँ सक्षम व्यक्ति होइनस् र? के तँलाई परमेश्वरको सार्वभौमिकता चाहिँदैन र? मानवजाति र प्रकृति हजारौँ वर्षदेखि सह-अस्तित्वमा रहँदै आएका छन्, तैपनि अविश्वसनीय रूपमा मानवजातिले अझै पनि प्रकृतिलाई व्यवस्थापन गर्न जान्दैन। मानवजातिले यस हदसम्म प्रकृतिलाई अत्यधिक विकास गर्छ, अत्यधिक उपभोग गर्छ, र गम्भीर रूपले प्रदूषित पार्छ कि आज प्राकृतिक स्रोतसाधनहरू झन्-झन् अपुग हुँदै गइरहेका छन्। त्यसबाहेक, न त तिनीहरूले पिउने पानी, न त तिनीहरूले खाने खानेकुरा, न त तिनीहरूले सास लिने हावा नै विषमुक्त छन्। परमेश्वरले सुरुमा प्रकृति सृष्टि गर्नुहुँदा, सबै जीवित प्राणी, खानेकुरा, हावा र पानी स्वच्छ र विषमुक्त थिए, तर उहाँले मानवजातिलाई प्रकृतिको व्यवस्थापन गर्न दिनुभएपछि, यी सबै कुरा विषाक्त भए। यी कुराहरूको “आनन्द” उठाउनुपर्ने त मानिसहरूले नै हो। त्यसोभए, मानिसहरू कसरी हार स्विकार्न सक्दैनन्? परमेश्वरले मानवजातिका लागि यस्तो सुन्दर संसार सृष्टि गर्नुभयो र तिनीहरूलाई त्यो व्यवस्थापन गर्न दिनुभयो, तर तिनीहरूले यसलाई कसरी व्यवस्थापन गरे? के तिनीहरूलाई यसको व्यवस्थापन गर्न आउँछ? मानवजातिले यसलाई पूर्ण रूपमा लथालिङ्ग हुने हदसम्म दुरुपयोग गऱ्यो—सागर, पर्वत, जमिन, हावा, र आकासमा ओजोन तहलाई समेत छोडिएन; ती सबै ध्वस्त पारिएका छन्। आखिर यो सबै कुराका प्रतिकूल परिणामहरू कसले भोग्नेछ? (मानिसहरूले।) त्यो मानवजातिले नै भोग्नेछ। मानिसहरू हुनसम्मको मूर्ख छन्, तैपनि तिनीहरू आफूलाई महान् ठान्छन् र हार स्विकार्दैनन्! तिनीहरू किन स्विकार्दैनन्? यदि मानवजातिलाई यसरी नै कामकुरा व्यवस्थापन गर्न दिइयो भने, के प्रकृति सुरुकै अवस्थामा पुनर्स्थापित हुनेछ? कहिल्यै हुनेछैन। यदि मानवजाति हार नस्विकार्ने यस मानसिकतामा भर पऱ्यो भने, तिनीहरूको व्यवस्थापनअन्तर्गत संसार र प्रकृति झन्-झन् खराब, डरलाग्दो र फोहोर मात्र हुँदै जानेछन्। अन्तिम परिणाम के हुनेछ? मानवजाति आफूले बरबाद गरेको यस पर्यावरणमा मर्नेछ। त्यसोभए, अन्त्यमा कसले यो सब परिवर्तन गर्न सक्छ? परमेश्वरले सक्नुहुन्छ। यदि मानिसहरू यसो गर्न सक्षम छन् भने, तिनीहरूमध्ये एक जना अघि सरेर संसारको वर्तमान हालतलाई बदल्ने प्रयास गर्न सक्छ, तर के यो जिम्मेवारी लिन आँट गर्ने कोही छ? (छैन।) त्यसोभए, मानिसहरू किन हार स्विकार्दैनन्? मानिसहरू आफूले पिउने पानीको सुरक्षासमेत गर्न सक्दैनन्। प्रकृतिलाई सिंह वा बाघले ध्वस्त पारेको होइन, झन् चराचुरुङ्गी, माछा वा किराफट्याङ्ग्राले ध्वस्त पार्नु त परको कुरा हो; बरु यसलाई ध्वस्त र नष्ट पार्ने त मानिसहरू स्वयम् हुन्। मानिसहरूले जे रोपे अन्त्यमा त्यसैको कटनी गर्नुपर्छ। के अहिले परिस्थितिहरूलाई बदल्ने कुनै उपाय छ त? यसलाई बदल्न सकिँदैन। निश्चित रूपमा के भन्न सकिन्छ भने, यदि परमेश्वर यी सब कुरा गर्न नआउनुभएको भए, सबै मानवजाति जिउने पर्यावरण झन्-झन् खराब, र झन्-झन् डरलाग्दो हुँदै मात्र जानेथियो; यो सुध्रिनेथिएन। परमेश्वरले मात्र यो सब बदल्न सक्नुहुन्छ। के मानवजातिले हार नस्विकार्नु ठिकै हो? के तैँले यो पर्यावरण बदल्न सक्छस्? तँलाई राम्रो पर्यावरण दिइएको थियो, तर तैँले यसलाई ध्वस्त पार्न मात्र सक्छस्; तँ यसको सुरक्षा गर्दैनस्। सम्पूर्ण संसारको खाद्य चक्र के हो? के मानवजातिले यो बुझ्छ? अहँ, तिनीहरू बुझ्दैनन्। उदाहरणका लागि, ब्वाँसो क्रूर जनावर हो। यदि मानवजातिले सबै ब्वाँसोहरू मारेको भए, आफूले प्रकृतिलाई जितेको ठान्नेथियो। यस्तो सङ्कल्प, यस्तो मनोबल, र चुनौती सामना गर्ने यो मानसिकता लिएर मानवजातिले ठूला सङ्ख्यामा ब्वाँसोहरूको सिकार गर्न थाल्छ। तिनीहरूले घाँसेमैदान क्षेत्रका धेरैजसो ब्वाँसो मारेपछि, आफूले प्रकृतिलाई जितेको र ब्वाँसोको प्रजातिलाई जितेको ठान्छन्। साथसाथै, तिनीहरू ब्वाँसोको छाला आफ्ना घरमा झुन्ड्याउँछन्, ब्वाँसोको छालाबाट बनेको लुगा लगाउँछन्, ब्वाँसोको छालाबाट बनेको टोपी ओढ्छन्, अनि ब्वाँसोको छाउराको छाला आफ्नो चुपीको टुप्पामा लगाउँछन्। तिनीहरू फोटो खिच्छन् र सारा संसारलाई बताउँछन्, “हामीले मानवजातिमाथि खतरा भएको यस प्रजाति अर्थात् ब्वाँसोलाई जित्यौँ!” के तिनीहरूको आत्मसन्तुष्टि अलि असामयिक भएन र? यसो हेर्दा, ब्वाँसोहरू कम हुँदा बाहिरी रूपमा मानिस र अन्य केही जीवित प्राणीहरूको जीवन खतरामा नपर्नेजस्तो देखिन्छ, तर त्यसपछि कस्ता नतिजाहरू आउनेछन्? मानवजातिले यसको ठूलो मूल्य चुकाउनैपर्छ। तिनीहरूले कस्तो मूल्य चुकाउनैपर्छ? जब ठूला सङ्ख्यामा ब्वाँसोहरू मारिन्छन्, तब ब्वाँसोको सङ्ख्या घट्दै जान्छ। यसलगत्तै, ब्वाँसोले खाने खरायो, मुसो, र घाँसेमैदानका अरू सबै जनावरको सङ्ख्या अत्यधिक मात्रामा बढ्न थाल्छ। यी जनावरहरूको सङ्ख्या अत्यधिक हुँदा, पहिलो नतिजा के हुन्छ? (घाँस सखाप हुन्छ।) त्यहाँ घाँस झन्-झन् कम हुँदै जान्छ। घाँस कम हुँदा, हरियाली जमिन झन्-झन् नाङ्गिदै जान्छ। यी जनावरहरूको सङ्ख्या अत्यधिक हुँदा, तिनीहरूलाई खानका लागि धेरै मात्रामा घाँस चाहिन्छ, अनि घाँस उम्रने दर र शाकाहारी जनावरहरूको सङ्ख्याको अनुपात मिल्दैन। यिनीहरूको अनुपात नमिल्दा के हुन्छ? (मरुभूमिकरण।) हो, मरुभूमिकरण हुन्छ। हरियाली जमिन नाङ्गिदै जाँदा, त्यो बालुवामा परिणत हुन थाल्छ र क्रमिक रूपमा बलौटे क्षेत्र बन्छ। धेरैजसो वनस्पतिले बालुवामा जरा गाड्दैनन् वा प्रजनन गर्दैनन्, त्यसैले बलौटे जमिन चाँड-चाँडो बढ्दै जान्छ र झन्-झन् फैलिँदै जान्छ, अनि अन्त्यमा सम्पूर्ण घाँसेमैदान मरुभूमि बन्छ। यसपछि, मरुभूमिले मानिसहरू बस्ने क्षेत्रलाई अतिक्रमण गर्न थाल्नेछ, र मानिसहरूलाई सुरुमा कस्तो लाग्नेछ? तिनीहरूलाई मरुभूमिको क्षेत्र बढेको देख्दा डर नलाग्ला, तर जब बालुवाको आँधी आउने समय आउँछ, तब मानवजातिलाई कस्तो हानि हुनेछ? सुरुमा वरिपरि धुलो उड्नेछ। त्यसपछि, जब बतासे याम आउँछ, तब मानिसहरूले अति धेरै बालुवा उडेकाले गर्दा आँखा खोल्नसमेत सक्नेछैनन्। तिनीहरूको शरीर बालुवै बालुवाले ढाकिन्छ, र तिनीहरूको मुखभरि बालुवा पस्छ। चरम अवस्थामा त घर, गाईवस्तु, वा मरुभूमि नजिकका मानिसहरूलाई बालुवाले स्वात्तै पुर्छ। के मानिसहरूले बालुवालाई रोक्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले त्यसलाई रोक्न सक्दैनन्, त्यसैले तिनीहरू झन्-झन् पछि हटेर भित्री भूभागतिर सर्दै जानुपर्ने हुन्छ। अन्त्यमा, घाँसेमैदान झन्-झन् सानो हुँदै जानेछ भने मरुभूमि झन्-झन् ठूलो हुँदै जानेछ, अनि मानवजाति जिउन सक्ने ठाउँ झन्-झन् साँघुरिदै जानेछ। त्यसोभए, मानिसहरू जिउने पर्यावरण राम्रो भएको हुनेछ कि खराब? (खराब।) तिनीहरूले भोग्नुपर्ने यो परिणाम कसरी आयो? त्यसको सुरुवात केले गर्यो? (ब्वाँसो मारेकाले।) तिनीहरूले ब्वाँसो मारेपछि त्यो सुरु भयो। त्यो यस्तो सानो साधारण कुरा थियो। यदि मानिसहरूले यो व्यवस्था कसरी पालन गर्ने र यसको सुरक्षा कसरी गर्ने भनी बुझेनन् भने, अन्त्यमा कस्ता परिणामहरू आउनेछन्? बालुवाले मानिसहरूलाई सखाप पार्नेछ। के यो विनाशकारी विपत्ति होइन र? ब्वाँसो मार्नु एक प्रकारको व्यवहार हो, तर यसभित्र रहेको मुख्य स्वभाव के हो? यस स्वभावको सार के हो? के कुराले तिनीहरूलाई यसो गर्न उत्प्रेरित गर्छ? मानिसहरूमा कस्तो सोच्ने तरिकाहरू हुन्छन् जसले यस्तो व्यवहार उत्पन्न गराउँछन्? (प्रकृतिलाई वशमा राख्न चाहने।) ठिक भनिस्, तिनीहरू त्यसलाई वशमा राख्न चाहन्छन्। मानिसहरूका सोचाइमा ब्वाँसोहरू मानवजातिका प्राकृतिक शत्रु हुन्। ब्वाँसोहरू मानवजातिका लागि खतरा हुन् र तिनले सधैँ मान्छे खान्छन्। ब्वाँसोहरू राम्रो कुरा होइनन्। मानवजातिले यसरी ब्वाँसोलाई बदनाम गर्छ, त्यसपछि तिनलाई वशमा पार्ने र सखाप पार्ने कोसिस गर्छ ताकि तीमध्ये एउटा पनि बाँकी नरहोस्। त्यसपछि, मानवजाति आराम र ढुक्कले जिउन सक्छ, अनि तिनीहरूमाथि कुनै खतरा हुनेछैन। यही उत्प्रेरणाका आधारमा मानिसहरूले ब्वाँसो मार्न थाल्छन्। यसको पछि केको हात हुन्छ? यसको पछि हार नस्विकार्ने मानसिकताको हात हुन्छ। मानवजातिले ब्वाँसोलाई कसरी उचित रूपमा व्यवस्थापन वा नियन्त्रण गर्ने भनी जान्दैन, बरु सधैँ तिनलाई मारेर सखाप पार्न चाहन्छ। तिनीहरू यो व्यवस्थालाई उल्ट्याएर अर्को व्यवस्थामा परिणत गर्न चाहन्छन्। परिणाम के हुन्छ? मानिसहरूलाई बालुवाले पुर्छ। परिणाम यही हुन्छ, होइन र? (हो।) परिणाम यही हुन्छ। परमेश्वरले सृष्टि गरेको सम्पूर्ण मानवजाति र सम्पूर्ण संसारमध्ये, यस ग्रहको एउटा सानो कुनामा—जुन परमेश्वरका नजरमा बदामको दानाभन्दा ठूलो नहुन सक्छ—यो सानो घटना घट्यो, तर मानिसहरू त्यो स्पष्टसित देख्नसमेत सक्दैनन्। तिनीहरू अझै प्रकृतिसँग प्रतिस्पर्धा गर्छन्, परमेश्वरसँग प्रतिस्पर्धा गर्छन्, र हार स्विकार्दैनन्! हार नस्विकार्नुले कस्तो नतिजा ल्याउँछ? (विनाश।) तिनीहरूले आफ्नो विनाश आफै ल्याइरहेका हुन्छन्! यो वास्तविकता अहिले पनि छँदै छ। यो नतिजा आएपछि, मानवजातिले त्यसलाई कसरी सुल्झाउनुपर्छ? (तिनीहरूले सुल्झाउन सक्दैनन्।) तिनीहरूले त्यो सुल्झाउन सक्दैनन्। कतिपय सामाजिक सङ्गठन र जनहितका क्रियाकलापहरू सञ्चालन गर्ने असल हृदयका मानिसहरू खडा भएर सन्तुलित पारिस्थितिकीतन्त्र कायम राख्न मानिसहरूलाई आह्वान गर्छन्। यसो गर्ने तिनीहरूको उत्प्रेरणा र कारण ठिक हो, अनि तिनीहरू जेका लागि आह्वान गरिरहेका छन्, त्यो पनि ठिक हो। के कसैले प्रतिक्रिया जनाउँछ? (जनाउँदैन।) सरकारले पनि पाइला चाल्दैन—यस मामलालाई कसैले वास्ता गर्दैन। मानिसहरूलाई यस मामलाको कारण थाहा छ, तर तिनीहरूले यसलाई दर्शकका रूपमा अलिकति जाँचेपछि, कुरा त्यतिमै सकिन्छ। तिनीहरू पहिलेजस्तै अझै ब्वाँसो मार्छन्। कसैले भन्छ, “यदि तिमीले यसरी ब्वाँसो मारिरह्यौ भने, एक दिन तिमीलाई बालुवामा दफन गरिनेछ,” तर तिनीहरू यस्तो जवाफ दिन्छन्, “त्यसोभए मलाई दफन गरिनेछ। म मात्र दफन हुने होइन। डराउनुपर्ने के छ र?” यो कस्तो स्वभाव हो? भावशून्यता र सोचाइको कमी; तिनीहरूमा मानवता हुँदैन। मर्न कसलाई डर लाग्दैन र? त्यसोभए तिनीहरूले कसरी यस्तो हल्का कुरा भन्न सक्छन्? तिनीहरू यस्तो कुरा होला भनेर विश्वास गर्दैनन्। तिनीहरू सोच्छन्, “पृथ्वी विशाल छ। यहाँ मरुभूमिबाहेक पर्वत र जङ्गलहरू छन्। के ती सब यति चाँडै नष्ट हुन सक्छन्? अझै प्रशस्त समय छ! हामीले केही ब्वाँसो मात्र माऱ्यौँ र कतिपय ठाउँ मरुभूमिमा परिणत भए, र तिमीलाई यस्तो डर लाग्यो? यदि तिनलाई मार्नुपर्छ भने हामीले तिनलाई मार्नैपर्छ।” के यो मूर्खतापूर्ण कुरा होइन र? तिनीहरूले केही ब्वाँसा मारे, र त्यसको केवल बीस-तीस वर्षपछि नै हरियाली घाँसेमैदानको एक भाग पूर्ण रूपले परिवर्तन भयो। यदि मानिसहरूले यस जमिनमा केही घाँसका बिऊ छर्ने वा मरुभूमिमा उम्रन उपयुक्त बिरूवाहरू रोप्ने हो भने—यदि तिनीहरूले यस पर्यावरणलाई बदल्न सकेका भए, मानवजातिले आफ्नो गल्तीको क्षतिपूर्ति गरिरहेको हुनेथ्यो र अति ढिलो भएको हुनेथिएन, तर के त्यो वास्तविकतामा त्यति सरल हुन्छ र? परमेश्वरले स्थापित गरेको व्यवस्था सर्वोत्तम र सबैभन्दा उपयुक्त हो। मानिसहरूले जमिनको अस्तित्व जोगाउन, अनि हरेक प्राणी निकै राम्ररी मिलेर बस्दै अनि आपसी नियन्त्रणमुखी र सहजीवी दुवै तरिकाले सहअस्तित्वमा रहँदै यी जनावर, वनस्पति, र मानवजाति यहाँ निरन्तर जिउन सकून् भनेर यो व्यवस्था पालन गर्नैपर्छ। यदि यसको एक भाग नष्ट भयो भने, तैँले दस वर्षको अन्तरालमा कुनै नतिजा नदेख्लास्, तर बीस वर्षपछि जब तैँले साँच्चै नतिजाहरू बोध गर्छस्, तब कसैले त्यसलाई सच्च्याउन सक्नेछैन। यसको तात्पर्य के हो? यसको तात्पर्य के हो भने, यदि परमेश्वरले ठूला परिवर्तनहरू गर्नुभएन भने, त्यस बिन्दुबाट मानवजाति जिउने परिवेश झन्-झन् खराब मात्र हुँदै जानेछ; त्यो राम्रो दिशामा विकास हुनेछैन। नतिजा यस्तो हुनेछ। यस नतिजाको स्रोत के हो? मानवजातिले प्रशंसा गर्ने हार नस्विकार्ने मानसिकता नै यसको स्रोत हो, जुन झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरण हो। मानिसहरूका नजरमा, झिँगटोमा सुतेर पित्त चाट्नु “ठूलो” र “पवित्र” भनाइ हो, तर यसले उत्पन्न गर्ने विचारले मानवजातिमा पार्ने पहिलो प्रभाव भनेको तिनीहरूमाथि त्यस्ता ठूला प्रतिकूल परिणामहरू ल्याउनु हो। मानिसहरू सोच्छन्, “के प्राकृतिक संसारमा व्यवस्था छैन र? मलाई त खासै महत्त्वको लाग्दैन। के मानिसहरू यो पवित्र छ र यसलाई नष्ट गर्नु हुँदैन भनेर भन्दैनन् र? तर म यसलाई नष्ट गर्दै छु, र हामी जे हुन्छ त्यो हेरौँला!” आज मानवजातिले “आनन्द उठाइरहेको” प्रतिकूल परिणाम तिनीहरूले हेर्न चाहने अन्तिम कुरा हो। “जे हुन्छ हेरौँला” को नतिजा यस्तै हुन्छ; यसलाई मानवजातिले हेरून् भनी तिनीहरूको अघि राखिन्छ। हरेकले “अन्तिम समय” का दृश्यहरू देखेको छ। के तिनीहरूले जे पाउनुपर्थ्यो त्यही पाएनन् र? तिनीहरूले नै आफूमाथि यो कुरा ल्याएको हो।
झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरण हार नस्विकार्नु हो। मानिसहरूले कस्ता नतिजाहरू भोग्नैपर्छ? विनाशकारी विपत्ति; तिनीहरूले आफ्ना कार्यका प्रतिकूल परिणामहरू भोगिरहेका हुन्छन्—बोलचालका भाषामा भन्नुपर्दा, तिनीहरूले आफूले मागेको कुरा पाइरहेका हुन्छन्, र पाउनुपर्ने कुरा पाइरहेका हुन्छन्! अहिले तँलाई यो वाक्यांश वास्तवमा सही हो कि होइन र यो सत्यता हो कि होइन भनेर थाहा छ, होइन र? के यो वाक्यांश सत्यता हो? (होइन।) यो सत्यता होइन। मानिलिऊँ गैरविश्वासीहरूले फेरि भन्छन्, “हामीसँग हाम्रो आत्मआचरणमा केही आत्मबल र साहस हुनुपर्छ!” तँ यसबारे विचार गर्छस् र भन्छस्, “त्यो एकदमै साँचो हो। विश्वासीका हैसियतले हामी सधैँ समर्पणबारे कुरा गर्छौँ। के त्यसमा स्वायत्तताको निकै कमी छैन र? के त्यो अति कमजोर छैन र? हामीमा मनोबल छैन।” के तँ यस्तो सोच्छस्? यदि तैँले आज मैले भनेका कुरा स्विकारिस् भने, यस्तो कहिल्यै सोच्नेछैनस्। त्यसको विपरीत तैँले भन्नेछस्, “मानवजाति असफल हुने निश्चित छ। परमेश्वरले तिनीहरूलाई घृणा गर्नु अचम्म होइन। मानवजातिले समझदारीपूर्ण कुरा गर्ने मोड पार गरिसकेको छ।” तैँले त्यस्तो विचार स्विकार्नेछैनस्। तँसँग उपयुक्त प्रत्युत्तर नभए पनि, वा यी मानिसहरूसँग तर्क गर्नु उपयुक्त नभए पनि, तँलाई हृदयमा तिनीहरूको दृष्टिकोण पटक्कै सत्यता होइन भन्ने थाहा छ। मानिसहरूले यस्तो विचारलाई जति नै सकारात्मक रूपमा हेरे पनि, र यस संसारमा मानिसहरूले जति नै यसको वकालत गरे पनि वा यसबारे कुरा गरे पनि, तँ त्यसको प्रभावमा पर्नेछैनस्। त्यसको विपरीत, तैँले त्यसलाई त्याग्नेछस् र घृणा गर्नेछस्। मैले झिँगटोमा सुतेर पित्त चाट्नुको पहिलो प्रकटीकरणबारे सङ्गति सकाएको छु। मैले सुरुमा सत्यताबारे सङ्गति दिँदै थिएँ, म कसरी विषयबाट बाहिरिएँ? मलाई यस्तो लाग्छ: यदि तैँले मेरो सङ्गतिबाट लिने कुरा परिभाषा वा अवधारणामा सीमित छ भने, तैँले यस विचारका सही र गलत पक्षहरू के हुन् भनेर कहिल्यै बुझ्नेछैनस्। तँ अन्योलमा मात्रै पर्नेछस्—तँलाई कहिलेकाहीँ यस्तो विचार सही लाग्नेछ; तँलाई कहिलेकाहीँ यस्तो विचार गलत लाग्नेछ, तर त्यसमा के गलत छ वा के सही छ भनेर तँ प्रस्ट हुनेछैनस्। साथै, तैँले बारम्बार यस “सिद्धान्त” अनुसार अभ्यास गर्नेछस्, र तँ सधैँ भ्रमित हुनेछस्। यदि तैँले स्पष्टसँग बुझ्न सकिनस् भने, यस्तो विचार त्याग्न सक्नेछैनस्। यदि तैँले त्यो त्याग्न सकिनस् भने, के तैँले सत्यतालाई पूर्ण रूपमा अभ्यास गर्न सक्छस्? के तँ परमेश्वरका वचनलाई सत्यताका रूपमा पूर्ण रूपमा आराधना गर्न र पछ्याउन सक्छस्? अहँ, पूर्ण रूपमा त सक्दैनस्। तैँले तुलनात्मक रूपमा वा कहिलेकाहीँ परमेश्वरका वचन सही हुन् वा परमेश्वरका वचन सधैँ सही हुन्छन् भनेर सोच्न मात्र सक्नेछस्, अनि यसलाई धर्मसिद्धान्तका सन्दर्भमा पालन गर्छस्। तर यदि तँ अझै यो तथाकथित ज्ञान र साँचो लाग्ने तर वास्तवमा झूटा यी शब्दहरूद्वारा प्रभावित र बाधित हुन्छस् भने, तेरा लागि परमेश्वरका वचन पूर्ण सत्यता नभई सधैँ तुलनात्मक रूपले सही हुनेछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।