परिशिष्ट एक: सत्यता के हो (खण्ड एक)

एउटा भजन गाऔँ: सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ।

१  परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो।

२  परमेश्‍वरले नै सबै थोकलाई आज्ञा दिनुहुन्छ, र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध गर्नुहुन्छ, र हरेकलाई तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र परमेश्‍वरका चाहनाअनुसार तिनलाई आफ्‍नै स्थान प्रदान गर्नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्‍वरबाट कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, सृजित प्राणीका रूपमा मानिसले पनि मानिसको कर्तव्य पूरा गर्नैपर्छ। चाहे ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको माझमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

“सारा सृष्टि परमेश्‍वरको प्रभुत्वमा आउनै पर्छ” भन्ने भजनमा भएको सत्यता के हो? कुन हरफ सत्यता हो? (सबै हरफ सत्यता हुन्।) अन्तिम हरफले के भन्छ? (“सबै थोकमाझ मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ अझै परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव मात्र हो; ऊ सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन।”) मानिस परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन, सृजित प्राणी परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; परमेश्‍वरबाहेक सबै कुरा सृजित प्राणी हुन्। मानिस परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; यही नै सत्यता हो। के यो सत्यता परिवर्तन हुन सक्छ? के यो समयका अन्त्यमा परिवर्तन हुनेछ? (हुनेछैन।) यो नै सत्यता हो। सत्यता के हो भनेर मलाई कसले बताउन सक्छ? (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो।) हामीले “सत्यता के हो” भन्ने शीर्षकबारे दुईपटक सङ्गति गरेका छौँ, त्यसैले मापदण्ड के हो भन्नेबारे कुरा गरौँ। यहाँ महत्त्वपूर्ण कुरा मापदण्ड हो। (मापदण्ड भनेको मानक, सही सिद्धान्त, कानुन, र नियम हो। मापदण्डको आधार परमेश्‍वरको वचन हो।) अरू कसले थप बताउन चाहन्छ? (मापदण्ड सबैभन्दा मानक, सबैभन्दा सही सिद्धान्त, कानुन र नियम हो, जसलाई परमेश्‍वरका वचनबाट लिइन्छ।) यहाँ “सबैभन्दा” भन्ने शब्द थपिएको छ, तर के यो “सबैभन्दा” शब्द आवश्यक छ? “सबैभन्दा” शब्द थप्नु र नथप्नुमा के फरक छ? “सबैभन्दा” पछि दोस्रो सबैभन्दा, तेस्रो सबैभन्दा इत्यादि आउँछ। तँलाई “सबैभन्दा” थप्नेबारे के लाग्छ? (त्यो उपयुक्त होइन, किनभने सत्यता नै एक मात्र मानक हो। “सबैभन्दा” थपेपछि त्यसले अरू कुरा त्योभन्दा दोस्रो दर्जाको र तेस्रो दर्जाको हो भन्ने एक प्रकारको सापेक्षतालाई देखाउँछ।) के यो व्याख्या सही हो? (हो।) यसले केही अर्थ राख्छ। यदि तिमीहरूसँग “सत्यता के हो” भन्ने कुराको परिभाषाबारे सही दृष्टिकोण र बुझाइ छ, अनि तिमीहरूले परमेश्‍वर नै सत्यता हुनुहुन्छ भनेर स्पष्टसँग बुझ्छौ भने, “सबैभन्दा” शब्द थप्नुपर्छ कि पर्दैन, त्यो थप्नु सही हो कि होइन, त्यो थप्दा के फरक पर्छ, त्यो नथप्नुको अर्थ के हो, र तिमीहरूले त्यो थप्नुको अर्थ के हो भनेर बुझ्न सक्छौ। अब, “सबैभन्दा” नथप्नु नै सही हो भन्ने कुरा पुष्टि भएको छ। यो शब्द थप्ने व्यक्तिले के गल्ती गरेको छ? उसले के सोच्यो भने, परमेश्‍वरको जुनै पक्ष व्याख्या गरिए पनि, “सबैभन्दा” शब्द थप्नुपर्छ। उसले यो तुलना गर्दा कहाँ गल्ती गर्‍यो? परमेश्‍वरका कुन कथनहरू, कुन सत्यता खण्डन भएका छन्? (सृजित प्राणी परमेश्‍वरभन्दा माथि कहिल्यै हुन सक्दैन; “सबैभन्दा” शब्द थप्नुले सृजित प्राणी र परमेश्‍वरबीच दोस्रो र तेस्रो दर्जाहरू छन् भन्ने दर्शाएको देखिन्छ।) के यो सही हो? (हो।) यसले केही अर्थ राख्छ; यसलाई त्यसरी व्याख्या गर्न सकिन्छ। के अगाडि “सबैभन्दा” शब्द थप्नु गलत हो भनेर पुष्टि गर्ने अरू कुनै कथनहरू छन्? (मलाई केही याद आयो, त्यो के हो भने, सत्यता परमेश्‍वरबाट मात्र आउन सक्छ, परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ, त्यसैले दोस्रो सबैभन्दा, तेस्रो सबैभन्दा इत्यादि तुलनात्मक अभिव्यक्तिहरू हुन सक्दैन।) यो पनि सही हो। (सत्यता भनेको मानिसहरूको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका लागि मापदण्ड हो। कानुन, नियम, र मापदण्डहरू परमेश्‍वरबाट मात्र आउन सक्छन्, र मानिसहरूसँग आफ्नो कार्यका लागि मापदण्ड वा नियम हुँदैन, न त तिनीहरूले आफ्ना लागि नियम बनाउन नै सक्छन्, त्यसैले “सबैभन्दा” शब्द थप्नु आवश्यक छैन।) यो व्याख्या अलि व्यावहारिक छ। अरू केही? (परमेश्‍वरको अख्तियार र परमेश्‍वरको सार अद्वितीय छन्। परमेश्‍वरको सार नै सत्यता हो, र यससँग कुनै कुराको तुलना हुन सक्दैन। “सबैभन्दा” शब्द थप्दा सत्यता अब अद्वितीय रहेन भन्नेजस्तो देखिन्छ।) यो कथन कस्तो छ? (राम्रो।) त्यसमा के राम्रो छ? (त्यसले परमेश्‍वर अद्वितीय हुनुहुन्छ भनेर औँल्याउँछ।) “अद्वितीय”—तिमीहरू सबैले यो शब्द बिर्स्यौ। परमेश्‍वर अद्वितीय हुनुहुन्छ। के परमेश्‍वरले बोलेको हरेक वाक्यमा, साथै मानिसका निम्ति परमेश्‍वरको हरेक मागमा व्यक्त मापदण्ड मानवजातिमाझ पाउन सकिन्छ? (सकिँदैन।) के मानवजातिको ज्ञान, पारम्परिक संस्कृति, वा सोचमा यी कुराहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरूले सत्यता सिर्जना गर्न सक्छन्? अहँ, सक्दैनन्। तसर्थ, “सबैभन्दा” शब्द थप्नुले दोस्रो र तेस्रो दर्जाहरूलाई दर्शाउँछ, उँचो, निचो र अझ निचो भनेर भिन्नता छुट्याउँछ, अनि कामकुराहरूलाई पहिलो तह, दोस्रो तह, तेस्रो तह… मा विभाजन गर्छ। त्यसको अर्थ सबै सही कुराहरू निश्चित क्रममा मापदण्ड बन्न सक्छन्। के त्यसलाई यसरी बुझ्न सकिन्छ? (सकिन्छ।) त्यसोभए, “सबैभन्दा” शब्द थप्नुमा के समस्या छ? त्यसले परमेश्‍वरका वचन, परमेश्‍वरको सत्यतालाई सापेक्षिक कुरा, उहाँले मानिसहरूमाझ सृष्टि गरेको ज्ञान, दर्शन, अन्य सही कुराभन्दा तुलनात्मक रूपले मात्र उच्च कुरामा परिणत गर्छ। यसले सत्यतालाई दर्जाहरूमा विभाजन गर्छ। परिणामस्वरूप, भ्रष्ट मानिसहरूमाझ हुने सही कुराहरू पनि सत्यता बन्छन्। त्यसबाहेक, यस्ता कुराहरू मानिसको कार्य र आत्मआचरणका निम्ति मापदण्ड पनि बन्छन्—केवल तुलनात्मक रूपले तल्लो तहमा। उदाहरणका लागि, मानिसहरू सभ्य हुनु, शिष्ट बन्नु, मानव दयालुपन र उनीहरूमा जन्मजातै हुने केही असल कुरा सबै मापदण्ड बन्छन्—यसले ती के बनेका हुन्छन् भनेर इङ्गित गर्छ? (सत्यता।) ती सत्यता बनेका हुन्छन्। हेर्, “सबैभन्दा” शब्द थप्नुले यस मापदण्डको प्रकृति परिवर्तन गर्छ। मापदण्डको प्रकृति परिवर्तन भएपछि, के परमेश्‍वरको परिभाषा पनि परिवर्तन हुन्छ? (हुन्छ।) परमेश्‍वरको परिभाषा के बन्छ? यस परिभाषामा, परमेश्वर अद्वितीय हुनुहुन्न; परमेश्वरको अख्तियार, शक्ति र सार अद्वितीय हुँदैनन्। परमेश्‍वर मानवजातिमाझ शक्ति र अख्तियारसहितको सबैभन्दा उच्च दर्जाको भूमिका मात्र बन्नुहुन्छ। मानवजातिमाझ क्षमता र प्रतिष्ठासहितको कुनै पनि व्यक्तिलाई परमेश्‍वर बराबर मान्न र उहाँसित तुलना गर्न सकिन्छ, ऊ केवल उहाँजति उच्च वा महान् हुँदैन। मानवजातिमाझका तुलनात्मक रूपले सकारात्मक ती व्यक्तित्व र अगुवाहरूलाई दर्जामा ठिक परमेश्‍वरपछाडि राख्न सकिन्छ, तिनीहरूले दोस्रो, तेस्रो, चौथो कमान सम्हाल्न सक्छन्…, र परमेश्‍वरचाहिँ सबैभन्दा उच्च कमानमा हुनुहुन्छ। के यस्तो अर्थ्याइले परमेश्‍वरको पहिचान र सारलाई पूर्ण रूपमा परिवर्तन गर्दैन र? “सबैभन्दा” भन्ने केवल एउटा शब्दले परमेश्‍वरको सारलाई पूर्ण रूपमा परिवर्तन गर्छ। के यो समस्या हो? (हो।) त्यसैले, “सबैभन्दा” भन्ने शब्द नथपी, यी शब्दहरू कुन तरिकाले सही हुन्छन्? (तिनले तथ्य बताउँछन्।) यो तथ्य के हो? (त्यो के हो भने, परमेश्‍वर सत्यता, सिद्धान्त, मानक, र मापदण्ड हुनुहुन्छ।) त्यो के हो भने, परमेश्‍वर नै यी सबै मापदण्डको स्रोत हुनुहुन्छ। भ्रष्ट मानवहरूमाझ, सृजित प्राणीहरूमाझ यस्तो मापदण्ड हुँदैन। यी मापदण्डहरू व्यक्त गर्नुहुने एक मात्र स्रोत परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरमा मात्र यो सार छ। सबै सकारात्मक कुराको वास्तविकता र मापदण्डको स्रोत परमेश्‍वर मात्र हुनुहुन्छ। यदि कुनै व्यक्तिलाई मानिसको आत्मआचरण, कार्य र परमेश्‍वरको आराधनाका सिद्धान्तहरूबारे केही थाहा छ, मापदण्डबारे केही थाहा छ, र उसले केही सत्यता बुझ्छ भने, के ऊ परमेश्‍वर बन्न सक्छ? (सक्दैन।) के ऊ सत्यताको स्रोत हो? के ऊ सबै सत्यता व्यक्त गर्ने व्यक्ति हो? (होइन।) त्यसोभए, के उसलाई परमेश्‍वर भन्न सकिन्छ? सकिँदैन। सारगत भिन्नता यही हो। के तैँले बुझिस्? (बुझेँ।) मैले अहिले “सत्यता के हो” भन्ने शीर्षकबारे दुईपल्ट कुरा गरिसकेको भए पनि, तिमीहरूका उत्तरमा अझै यस्तो ठूलो त्रुटि छ, जसले परमेश्‍वरलाई सृजित प्राणीहरूमध्येको एकमा परिणत गर्छ, सृजित प्राणीहरूलाई परमेश्‍वर बराबर बनाउँछ, ती दुईबीचको सम्बन्धलाई समान बनाउँछ। यसले त्यो मामिलाको प्रकृतिलाई परिवर्तन गर्छ, जुन परमेश्‍वरलाई इन्कार गर्नुसरह हो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, मानवहरू सृजित प्राणी हुन्—यी दुई समान दर्जाका भूमिकाहरू होइनन्। तर तैँले “सबैभन्दा” भन्ने शब्द थप्दा के हुन्छ? ती दुई सार र दर्जामा समान हुन्छन्, केवल श्रेष्ठता वा हीनताका हिसाबले फरक हुन्छन्। मैले तिमीहरूलाई यसबारे विस्तृत रूपमा सोध्दा, तिमीहरूले मनमनै सोच्यौ, “के यो हामीलाई कम आँक्नु होइन र? हामी सबै शिक्षित मानिस हौँ, कसरी यी थोरै शब्द बिर्सन सक्छौँ र? हामी यसबारे आफ्नो नोटसमेत नहेरी सजिलै बोल्न सक्छौँ।” तिमीहरूले आफ्नो मुख खोल्नेबित्तिकै समस्या खुलासा भएको थियो। मैले बोलेपछि तिमीहरूले त्यो धेरैपटक पढ्यौ, तैपनि सही तरिकाले दोहोऱ्याउन सकेनौ। यसको कारण के हो? तिमीहरू यस सन्दर्भमा अझै सत्यता बुझ्दैनौ। कसैले “सबैभन्दा” भन्ने शब्द थप्यो र सोच्यो, “तिमीहरू कसैले ‘सबैभन्दा’ थपेनौ; तिमीहरूमा परमेश्‍वरप्रति त्यति धेरै आस्था छैन, हैन? मलाई हेर त, मैले ‘सबैभन्दा’ शब्द थपेँ। त्यसले म शिक्षित छु भन्ने देखाउँछ—म कलेज पढेको समय खेर गएन!” उसले “सबैभन्दा” थपेपछि, तिमीहरूमध्ये धेरैजसोले समस्या याद गरेनौ। तिमीहरूमध्ये थोरैलाई मात्र केही गडबड छ भन्ने लाग्यो, तर किन भनेर बताउन सकेनौ। अरूले त्यो व्याख्या गरेपछि, तिमीहरूले त्यो सिद्धान्तमा बुझ्यौ, र तिमीहरूलाई त्यो व्याख्या सही रहेछ भन्ने थाहा भयो। तर के तिमीहरूले त्यसलाई सत्यताका सन्दर्भमा बुझ्यौ? (बुझेनौँ।) मैले “सबैभन्दा” थप्नु किन गलत हो भन्नेबारे सङ्गति गरेँ, र तिमीहरूले त्यो बुझ्यौ, तर के तिमीहरूले त्यस समस्याको सार साँच्चै बुझ्यौ? (अहँ, बुझेनौँ।) तिमीहरूले त्यो प्रस्टसँग देखेनौ। त्यसो किन? (हामी सत्यता बुझ्दैनौँ।) अनि तिमीहरू किन सत्यता बुझ्दैनौ? के तिमीहरूले मैले भनेको कुरा बुझेनौ? यदि तिमीहरूले बुझ्यौ भने, सत्यताचाहिँ कसरी अझै बुझ्न सक्दैनौ? “परमेश्‍वर स्वयम् अद्वितीय” भन्ने शीर्षकमा कतिवटा अध्याय छन्? तिमीहरूले ती कतिपटक पढेका छौ? के तिमीहरू साँच्चै यी वचनहरू बुझ्छौ? (अहँ, बुझ्दैनौँ।) तिमीहरू बुझ्दैनौ, त्यसैले आज तिमीहरूले आफूलाई मूर्ख बनाएका छौ। यी शब्दहरूले तिमीहरूलाई प्रकट गरेका छन्। के त्यो सही होइन? (हो।) के तिमीहरूले यसबाट कुनै कुरा सिकेका छौ? के तिमीहरू फेरि यस्तो कुनै कुरा आइपर्दा आफ्नो कथित चतुऱ्याइँअनुसार कार्य गर्नेछौ? तिमीहरूले त्यसो गर्ने आँट गर्नेछैनौ, होइन र? यदि व्यक्तिले सत्यता बुझेन भने, जतिसुकै शिक्षा वा ज्ञान भए पनि, त्यो बेकार हुनेछ। यदि तँ अशिक्षित होस् र यो शब्द प्रयोग गर्न जान्दैनस् भने, सायद “सबैभन्दा” शब्द थप्नेथिइनस्, र यो समस्या खडा हुन्थेन होला। तैँले कम्तीमा पनि यो गल्ती गर्नेथिइनस् र आफूलाई मूर्ख बनाउनेथिइनस्। तर तँ शिक्षित भएकाले अनि तैँले निश्चित शब्दहरूको अर्थ र प्रयोग बुझ्ने हुनाले, ती परमेश्‍वरमा लागू गरिस्। परिणामस्वरूप, तैँले समस्या खडा गरेको, चतुऱ्याइँलाई भद्दापनमा परिणत गरेको छस्। यदि तैँले त्यो व्यक्तिमा लागु गरिस् भने, त्यो व्यक्तिपूजा र चापलूसी मात्र हुन्छ, जुन धेरैभन्दा धेरै घिनलाग्दो कुरा मात्र हो। तर यदि तैँले त्यो परमेश्‍वरमा लागु गरिस् भने, समस्या गम्भीर बन्छ। त्यो परमेश्‍वरलाई इन्कार गर्ने, उहाँको प्रतिरोध गर्ने र उहाँलाई निन्दा गर्ने शब्द बन्छ। सत्यता नभएका भ्रष्ट मानवहरूले यो गल्ती गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। भविष्यमा, लापरवाहीसाथ क्रियाविशेषण वा विशेषण नथप्न सावधान बन्। किन? किनभने परमेश्‍वरको पहिचान, सार, वचन र स्वभावसँग सम्बन्धित कुराहरू नै भ्रष्ट मानिसहरूमा सबैभन्दा कमी हुने, अनि तिनीहरूको बुझाइ सबैभन्दा सतही र सबैभन्दा दुर्लभ हुने क्षेत्र हुन्। तसर्थ, सत्यता नबुझ्ने मानिसहरू जथाभाबी काम नगर्न होसियार हुनैपर्छ; विवेकी हुनु राम्रो हो।

अ. “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने विचारको विश्लेषण

कतिपय मानिसले भर्खरै सत्यताको परिभाषा र अवधारणालाई व्याख्या गरे। तिमीहरू सत्यताको परिभाषा र अवधारणा बुझ्छौ, तर के तिमीहरू सत्यता के हो भनेर साँच्चै बुझ्छौ? मैले यसबारे तिमीहरूलाई जाँच्नुपर्छ। म तिमीहरूलाई कसरी जाँच्नेछु? म तिमीहरूलाई जाँच्न तिमीहरूको सामर्थ्य प्रयोग गर्नेछु। अनि तिमीहरूको सामर्थ्य के हो? तिमीहरू सिकाइ, शब्द र शब्दावलीसँग परिचित छौ; हरेक समूहका मानिसहरूले सिक्ने संसारसँग व्यवहार गर्ने विभिन्न दर्शन र पद्धतिहरूसँग परिचित छौ; अनि मानव पारम्परिक संस्कृति, साथै तिनका धारणा र कल्पनाहरूसँग परिचित छौ। तिमीहरू सबै नस्ल, जाति र राष्ट्रका मानिसहरू जिउने विभिन्न नियम र धारणाहरूसँग पनि परिचित छौ। के यी कुरा तिमीहरूको सामर्थ्य होइनन् र? यीमध्ये केही निश्चित टुक्का हुन्, केही उखान हुन् र केहीचाहिँ भनाइ हुन्; कतिपय चाहिँ जनसाधारणले प्रचलित रूपमा प्रयोग गर्ने बुझ्न सजिलो बोलचालका भाषा हुन्। आफूलाई सोध, मानिसहरूले बारम्बार गहन सोच र दृष्टिकोण राख्ने र तिनलाई टुक्कामा परिणत गर्ने कुरा के हुन्? पहिला केही भनाइ, टुक्का र नियम, साथै संसारसँग व्यवहार गर्ने मानिसहरूको शैली र तिनीहरूका पारम्परिक धारणालाई विश्लेषण गरौँ, ताकि हामीले ठ्याक्कै सत्यता भनेको के हो भनेर बुझ्न सकौँ। हामी वास्तवमा सत्यता भनेको के हो भनेर नकारात्मक दृष्टिकोणबाट छलफल गर्नेछौँ। के यो राम्रो शैली हो? (हो।) त्यसोभए, सुरु गर्न एउटा बताऊ। (न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।) के यो कथन सही छ? (छैन।) “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।” पहिले यसबारे सङ्गति गर्न सुरु गरौँ। अघि बढ र यस भनाइको अर्थ व्याख्या गर। (यसको अर्थ तपाईँले जसलाई रोजगारी दिनुहुन्छ तिनीहरूलाई अविश्वास नगरी भरोसा गर्नुपर्छ भन्ने हो। यदि तपाईँ कसैलाई भरोसा गर्नुहुन्न भने, उसलाई रोजगारी नदिनुहोस्।) यो शाब्दिक अर्थ्याइ हो। पहिले, मलाई बता त, संसारका धेरैजसो मानिस यस भनाइसँग सहमत छन् कि असहमत? (सहमत।) तिनीहरू यस भनाइसँग सहमत छन्। यस समाजका धेरैजसो मानिस “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ अरूलाई रोजगारी दिने सिद्धान्तका रूपमा पालन गर्छन् भनेर भन्नु जायज हो, र तिनीहरूले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा यस सिद्धान्तलाई पालन गर्छन्। त्यसोभए, यस भनाइको कुनै पक्ष सही छ? (छैन।) त्यसोभए, धेरैजसो गैरविश्‍वासीले यस भनाइलाई किन सही ठान्छन् अनि पूर्ण रूपमा स्विकार्छन् र लागु गर्छन्? तिनीहरू कुन प्रेरणाले त्यसो गर्छन्? तिनीहरू किन त्यसो भन्छन्? कतिपय मानिसहरू भन्छन्: “यदि तिमीले कसैलाई रोजगारी दिँदैछौ भने, उसलाई शङ्का गर्न मिल्दैन; तिमीले उसलाई भरोसा गर्नैपर्छ। तिमीले ऊसित यो काम फत्ते गर्ने प्रतिभा र चरित्र छ, अनि ऊ तिमीप्रति बफादार रहनेछ भनेर भरोसा गर्नैपर्छ। यदि तिमी उसलाई शङ्का गर्छौ भने, उसलाई रोजगारी नदेऊ। भनाइ नै छ, ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ यो भनाइ सही हो।” वास्तवमा, यो भनाइ बहकाउने दुष्ट शब्दबाहेक अरू केही होइन। यो कहाँबाट आउँछ? यसको आशय के हो? यसको योजना के हो? (परमेश्‍वर, पछिल्लो सङ्गतिमा कतिपय मानिसले अरूले उनीहरूका काममा हस्तक्षेप नगरून् भन्ने चाहे भने, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भनेर भन्नेछन् भनी उल्लेख गरेको मलाई याद छ। तिनीहरूले त्यसो भन्नुको मतलब हो, “तपाईँले मलाई यो जागिर दिनुभएको र मलाई प्रयोग गरिरहनुभएको हुनाले, तपाईँले मेरो काममा हस्तक्षेप गर्नु हुँदैन—तपाईँले मैले गर्ने काममा हात हाल्नु हुँदैन।”) यो भनाइ प्रयोग गर्ने मानिसहरूमा कस्तो स्वभाव हुन्छ? (ख्रीष्टविरोधीको स्वभाव, जो स्वेच्छाचारी हुन्छ र नियमकानुनको धज्जी उडाउँछ।) वास्तवमा तिनीहरूमा यही स्वभाव हुन्छ। यो भनाइ प्रयोग गर्ने वा सोच्नेहरू रोजगारी दिनेहरू हुन् कि रोजगारी पाउनेहरू? यस भनाइले सबैभन्दा बढी कसलाई फाइदा गर्छ? (रोजगारी पाउनेहरूलाई।) रोजगारी पाउनेहरूलाई यस भनाइबाट कसरी फाइदा हुन्छ? यदि तिनीहरूले आफ्नो रोजगारदातालाई बारम्बार यही भनाइमा जोड दिइरहे भने, तिनीहरूले उसमा निश्‍चित प्रकारको सोच हालिरहेका हुन्छन्; त्यसमा कुरा मनमा हालिदिने वा सिकाउने प्रकृति हुन्छ। यो त रोजगारदातालाई यसो भन्नुसरह हो: तपाईँले कसैलाई रोजगारी दिनुभएपछि, ऊ तपाईँप्रति बफादार हुनेछ भनेर भरोसा गर्नैपर्छ। उसले काम राम्रोसँग गर्नेछ, ऊसित यो दक्षता छ भनेर तपाईँले भरोसा गर्नैपर्छ। तपाईँले उसलाई पटक्कै शङ्का गर्नु हुँदैन, किनभने उसलाई शङ्का गर्नु भनेको तपाईंकै खती हुनु हो। यदि तपाईँ सधैँ दोधारमा हुनुहुन्छ, यदि तपाईँ सधैँ उसका ठाउँमा अरू कसैलाई राख्न खोज्नुहुन्छ भने, यसले तपाईँप्रतिको उसको बफादारीलाई असर गर्न सक्छ। यो कुरा सुनेर, के रोजगारदाता यस भनाइद्वारा सजिलै प्रभावित हुन्छ वा बहकिन्छ? (हुन्छ।) अनि रोजगारदाता प्रभावित भइसकेपछि वा बहकिसकेपछि, रोजगारी पाउनेलाई फाइदा हुनेछ। मानौँ कि रोजगारदाताले यस्तो सोचाइलाई स्विकार्छ, र आफूले रोजगारी दिएको व्यक्तिबारे कुनै शङ्का वा आशङ्का पाल्दैन; उसले त्यस व्यक्तिले गरेको काम, त्यो व्यक्ति ऊप्रति बफादार भए-नभएको, वा त्यो व्यक्तिसँग यी कुराहरू गर्ने क्षमता भए-नभएको बारेमा सुपरिवेक्षण वा सोधपुछ गर्दैन। त्यो अवस्थामा, रोजगारी पाउने व्यक्ति रोजगारदाताको सुपरिवेक्षण र रेखदेखबाट बच्न सक्छ र पछि उसले आफ्नो रोजगारदाताको इच्छा पूरा नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छ। मलाई बता त, जब कुनै कामदारले यो भनाइ प्रयोग गर्छ, तब के ऊसँग आफ्नो रोजगारदाताप्रति पूर्ण रूपमा बफादार हुने चरित्र साँच्चै हुन्छ? के उसलाई सुपरिवेक्षण गर्नै पर्दैन? (त्यसो होइन।) हामी किन त्यसो भन्छौँ? प्राचीन समयदेखि वर्तमान समयसम्म सर्वमान्य तथ्य के छ भने, मानवजाति गहन रूपले भ्रष्ट छन्, तिनीहरूमा भ्रष्ट स्वभावहरू छन्, र तिनीहरू निकै धूर्त र छली छन्; इमानदार मानिस कोही छैन र मूर्खहरूले समेत झूट बोल्छन्। यसले गर्दा अरू मानिसलाई रोजगारी दिने सन्दर्भमा धेरै कठिनाइ हुन्छ, अनि भरोसायोग्य व्यक्ति भेट्टाउनु प्रायः असम्भव हुन्छ, झन् पूर्ण रूपले भर पर्न सकिने व्यक्ति भेट्टाउने त कुरै भएन। तुलनात्मक रूपले रोजगारी दिन सकिने केही मानिसहरू भेट्टाउनु नै धेरैभन्दा धेरै आशा गर्न सकिने कुरा हो। भरोसायोग्य मानिस नै नभएपछि, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” कसरी सम्भव हुन्छ? त्यो सम्भव हुँदैन, किनभने भरपर्दो कोही हुँदैन। त्यसोभए, तुलनात्मक रूपले रोजगारी दिन सकिनेहरूलाई हामीले कसरी प्रयोग गर्नुपर्छ? हामी सुपरिवेक्षण र निर्देशनमार्फत मात्र त्यो गर्न सक्छौँ। गैरविश्‍वासीहरूले आफूलाई केही मात्रामा आश्‍वस्तताको प्रत्याभूति गर्न सूचनाकर्ता र गुप्तचर पठाएर आफूले रोजगारी दिएको व्यक्तिको कामको निगरानी गर्छन्। यसरी, प्राचीन समयका मानिसहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्दै आफूलाई भ्रममा पारिरहेका थिए। “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने यो भनाइ प्रतिपादन गर्ने व्यक्तिले वास्तवमा आफूमा चाहिँ यो भनाइ लागु गरेन। यदि उसले साँच्चै लागु गरेको भए, ऊ विचारहीन व्यक्ति, केवल धोका खाने र ठगिने पहिलो दर्जाको मूर्ख मात्र हुनेथियो। के यो तथ्य होइन? “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइमा सबैभन्दा ठूलो कमी कहाँ छ भन्नेबारे कुरा गरौँ। “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” को जग के हो? त्यो पक्कै पनि रोजगारी पाउने व्यक्ति पूर्ण रूपले भरपर्दो, बफादार र जिम्मेवार होओस् भन्ने हुनुपर्छ। रोजगारदाताले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भनाइ लागु गर्नका निम्ति कामदार यस्तो व्यक्ति हो भन्ने कुराको शतप्रतिशत सुनिश्चितता हुनैपर्छ। हिजोआज, यस्तो भरोसायोग्य व्यक्ति भेट्टाउन सकिँदैन; तिनीहरू लगभग अस्तित्वमा छैनन्, जसले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यो भनाइलाई बकवास बनाउँछ। यदि तैँले भरहीन व्यक्ति छानिस् र त्यस व्यक्तिबारे आफ्नो शङ्कालाई दबाउन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ लागु गरिस् भने, के तैँले आफूलाई भ्रममा पारिरहेको हुँदैनस् र? तैँले रोजगारी दिएको व्यक्तिलाई शङ्का गर्दैनस् भन्दैमा, के ऊ भरपर्दो हुन र बफादारीपूर्ण र जिम्मेवार ढङ्गले कामकुरा गर्न सक्षम हुन्छ? वास्तवमा, तैँले शङ्का गरे पनि नगरे पनि, उसले आफू जस्तो व्यक्ति हो त्यहीअनुसार व्यवहार गर्न जारी राख्नेछ। यदि ऊ छली व्यक्ति हो भने, उसले छली कामकुरा गरिरहनेछ; यदि ऊ निष्कपट व्यक्ति हो भने, उसले निष्कपट कामकुरा गरिरहनेछ। यो तैँले ऊबारे शङ्का गर्छस् कि गर्दैनस् भन्ने कुरामा भर पर्ने कुरा होइन। उदाहरणका लागि, मानिलिऊँ, तैँले कुनै छली व्यक्तिलाई रोजगारी दिइस्। तँलाई हृदयमा यो व्यक्ति छली हो भन्ने थाहा छ, तैपनि तँ उसलाई यसो भन्छस्, “म तिमीलाई शङ्का गर्दिनँ, त्यसैले, अघि बढ र आत्मविश्‍वासका साथ आफ्नो काम गर”; त्यसपछि के त्यो व्यक्ति तैँले उसलाई शङ्का गर्दैनस् भन्दैमा छलकपटविना कामकुरा गर्ने निष्कपट व्यक्ति बन्नेछ? के त्यो सम्भव छ? त्यसको विपरीत, यदि तैँले कुनै निष्कपट व्यक्तिलाई रोजगारी दिइस् भने, के ऊ तैँले उसलाई शङ्का गरेका र नबुझेका कारण छली व्यक्तिमा परिणत हुनेछ? अहँ, हुनेछैन। तसर्थ, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ मूर्ख व्यक्तिले मनोशान्तिका लागि गर्ने विशुद्ध प्रयास हो, त्यो आफैलाई धोका दिने बकवास कुरा हो। मानवजातिको भ्रष्टता कुन हदसम्म हुन्छ? हैसियत र शक्तिको पछ्याइले बाबु र छोरा, साथै दाजुभाइलाई एकअर्काविरुद्ध खडा हुने र मारामार गर्ने तुल्याएको छ; त्यसले आमा र छोरीलाई एकअर्कालाई घृणा गर्ने तुल्याएको छ। कसले कसलाई भरोसा गर्न सक्छ र? पूर्ण रूपले भर पर्न सकिने कुनै व्यक्ति छैन, तुलनात्मक रूपले रोजगारी दिन सकिने व्यक्तिहरू मात्र छन्। तैँले जसलाई रोजगारी दिए पनि, गल्ती हुनबाट रोक्ने एउटै मात्र तरिका भनेको उसलाई निगरानी वा सुपरिवेक्षण गर्नु हो। त्यसैले, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्नु, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिनु” त आफूलाई भ्रममा पार्ने भनाइ हो। त्यो बकवास, भ्रम हो, र यो पटक्कै मान्य छैन। परमेश्‍वरले किन आखिरी दिनहरूमा मानवजातिलाई स्वच्छ पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ? किनभने मानवजातिलाई गहन रूपले भ्रष्ट पारिएको छ। परमेश्‍वरप्रति साँचो रूपले समर्पित हुने कोही छैन, र परमेश्‍वरका निम्ति प्रयोगयोग्य कोही छैन। त्यसैले, परमेश्‍वरले बारम्बार मानिसहरू इमानदार होऊन् भन्ने माग गर्नुहुन्छ। किनभने मानवजाति अति छली हुन्छन्, तिनीहरू शैतानको भ्रष्ट स्वभावले भरिएका हुन्छन् र तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू आफूलाई पाप र दुष्टता गर्नबाट रोक्नै सक्दैनन्, अनि तिनीहरूले कुनै पनि स्थान र कुनै पनि समयमा परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन सक्छन्। भ्रष्ट मानवहरूमध्ये प्रयोग गर्न सकिने वा भरपर्दो व्यक्ति कोही छैन। मानवजातिमध्येबाट कुनै व्यक्तिलाई छनौट गरेर प्रयोग गर्नु वास्तवमै गाह्रो छ! सर्वप्रथम, मानिसहरूले कसैलाई साँचो रूपमा बुझ्नु असम्भव छ; दोस्रो, मानिसहरूले अरूलाई छर्लङ्ग देख्न सक्दैनन्; तेस्रो, विशेष परिस्थितिहरूमा, मानिसहरूले अरूलाई नियन्त्रण वा व्यवस्थापन गर्न झनै असम्भव छ। यस पृष्ठभूमिमा, प्रयोग गर्न कसैलाई खोज्नु सबैभन्दा कठिन कुरा हो। तसर्थ, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ एकदमै त्रुटिपूर्ण छ र अलिकति पनि व्यावहारिक छैन। यस भनाइका आधारमा कसैलाई छनौट गरेर प्रयोग गर्नु भनेको धोकामा पर्नु मात्र हो। यस भनाइलाई सही र सत्यता मान्ने जोकोही सबैभन्दा मूर्ख मानिस हो। के यस भनाइले अरूलाई प्रयोग गर्नेसम्बन्धी कठिनाइ साँच्चै हल गर्न सक्छ? पटक्कै सक्दैन। त्यो त आफैलाई छल गर्दै वा भ्रममा पार्दै आफूलाई सान्त्वना दिने तरिका मात्र हो।

हाम्रो सङ्गतिको यस मोडमा, के तिमीहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ सही हो कि होइन भनेर आधारभूत बुझाइ प्राप्त गरेका छौ? के यो भनाइ सत्यता हो? (होइन।) त्यसोभए यो के हो? (शैतानको दर्शन।) अझ तोकेरै भन्दा, यस भनाइले अरूको सुपरिवेक्षण वा निरीक्षणबाट उम्कने वा त्यसबाट मुक्त हुन चाहने व्यक्तिका लागि बहानाको काम गर्छ; यो सबै दुष्ट मानिसहरूले आफ्नो स्वार्थ जोगाउन र उद्देश्य पूरा गर्नका लागि फैलाउने गुप्त रणनीति पनि हो। यो भनाइ आफूलाई जे मन लाग्यो त्यही गर्ने भित्री मनसाय राख्नेहरूका लागि बहानाबाजी हो। यो त यस्ता मानिसहरूले नैतिक इन्साफ, र विवेकको सुपरिवेक्षण, निरीक्षण र निन्दाबाट न्यायोचित ढङ्गले उम्कनका लागि फैलाउने भ्रम पनि हो। तथापि, अहिले कतिपय मानिस व्यावहारिक र सही हुन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइलाई विश्‍वास गर्छन्। के यस्ता मानिसहरूमा सुझबुझ हुन्छ? के तिनीहरू सत्यता बुझ्छन्? के यस्ता मानिसहरूको सोच र दृष्टिकोण समस्याजनक हुन्छ? यदि मण्डलीभित्रकै कसैले यो भनाइ फैलाउँछ भने, उसले त्यो कुनै मनसाय राखेर गर्छ, उसले अरूलाई बहकाउने प्रयास गरिरहेको हुन्छ। उसले आफूबारे अरूका शङ्का वा उपशङ्काहरू हटाउन “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ प्रयोग गर्न खोजिरहेको हुन्छ। अप्रत्यक्ष रूपमा, यसको अर्थ ऊ आफूले काम गर्न सक्छ, आफू प्रयोग गरिन सक्ने व्यक्ति हो भनेर अरूले भरोसा गरेको चाहन्छ। के यो उसको आशय र उद्देश्य होइन र? त्यही हुनुपर्छ। तिनीहरूले मनमनै सोच्छन्, “तिमीहरू मलाई कहिल्यै भरोसा गर्दैनौ र सधैँ शङ्का गर्छौ। कुनै मोडमा तिमीहरूले सायद ममा कुनै सानोतिनो समस्या भेट्टाउनेछौ र मलाई बरखास्त गर्नेछौ। यदि यो कुरा मेरा मनमा सधैँ रह्यो भने, मैले कसरी काम गर्ने?” त्यसैले तिनीहरू यो दृष्टिकोण फैलाउँछन् ताकि परमेश्‍वरको घरले तिनीहरूलाई शङ्का नगरी भरोसा गरोस् र स्वतन्त्र रूपले काम गर्न छोडिदेओस्, यसरी तिनीहरूको उद्देश्य पूरा हुन्छ। यदि कसैले साँचो रूपमा सत्यता पछ्याइरहेको छ भने, उसले परमेश्‍वरको घरले उसको कामको सुपरिवेक्षण गरेको देख्दा त्यसलाई उचित रूपमा लिनुपर्छ, यो आफ्नै सुरक्षाका लागि हो, र अझ महत्त्वपूर्ण कुरा त, त्यो परमेश्‍वरको घरको कामप्रति जिम्मेवार हुनु पनि हो भनेर जान्नुपर्छ। तिनीहरूले आफ्नो भ्रष्टता प्रकट गर्न सक्ने भए पनि, परमेश्‍वरलाई आफ्नो छानबिन र सुरक्षा गरिमाग्न प्रार्थना गर्न सक्छन्, वा आफूले दुष्टता गरेमा उहाँको दण्ड स्विकार्ने कसम खान सक्छन्। के यसले तिनीहरूलाई मनोशान्ति दिनेछैन र? मानिसहरूलाई बहकाउन र आफ्नो उद्देश्य पूरा गर्न किन भ्रम फैलाउनु? कतिपय अगुवा र कामदारहरू सधैँ परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षण वा तिनीहरूको कामबारे जान्न माथिल्ला अगुवा र कामदारहरूले गर्ने प्रयासको प्रतिरोध गर्ने मनोवृत्ति राख्छन्। तिनीहरू के सोच्छन्? “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ तिमीहरू किन सधैँ मलाई सुपरिवेक्षण गरिरहन्छौ? यदि तिमीहरू मलाई भरोसा गर्दैनौ भने किन प्रयोग गर्छौ?” यदि तैँले तिनीहरूको कामबारे सोधिस् वा त्यसको प्रगतिबारे सोधपुछ गरिस् र त्यसपछि तिनीहरूको व्यक्तिगत स्थितिबारे सोधिस् भने, तिनीहरू झनै रक्षात्मक बन्नेछन्: “यो काम मलाई सुम्पिइएको छ; यो मेरो कार्यक्षेत्रभित्र पर्छ। तिमीहरू किन मेरो काममा हस्तक्षेप गरिरहेका छौ?” तिनीहरूले सिधै भन्ने आँट नगरे पनि, यसरी पेच हान्नेछन्, “भनाइ नै छ, ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ तिमी किन यस्तो शङ्कालु व्यक्ति भएको?” तिनीहरूले तँलाई निन्दा गर्ने र नाम दिनेसमेत गर्नेछन्। अनि यदि तैँले सत्यता बुझिनस् र तँमा सुझबुझ छैन भने के हुन्छ? तिनीहरूले पेच हानेको सुनेपछि, तैँले भन्नेछस्, “के म शङ्कालु छु र? त्यसोभए म गलत छु। म छली हुँ! तिमीले ठिक भन्यौ: न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।” के तँ यसरी बहकिएको हुँदैनस् र? के “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ सत्यतासँग मिल्दो छ? छैन, त्यो बकवास हो! यी दुष्ट मानिसहरू अन्तर्घाती र छली हुन्छन्; तिनीहरू अन्योलमा परेका मानिसहरूलाई बहकाउन यस भनाइलाई सत्यताका रूपमा प्रस्तुत गर्छन्। यो भनाइ सुनेपछि अन्योलमा परेको व्यक्ति साँच्चै बहकिन्छ, अनि ऊ रनभुल्ल हुन्छ, र सोच्छ, “उसको कुरा सही हो, मैले यस व्यक्तिलाई अन्याय गरेको छु। उसले आफैँ भन्यो त: ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ मैले कसरी उसलाई शङ्का गर्न सकेँ? यसरी काम गर्न सकिँदैन। मैले उसलाई उसको काममा खोजीनिती नगरी हौसला दिनैपर्छ। मैले उसलाई प्रयोग गरिरहेको हुनाले, उसलाई भरोसा गर्नुपर्छ र नियन्त्रण नगरी स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ। मैले उसलाई काम गर्ने ठाउँ दिनुपर्छ। ऊसँग यो काम गर्ने क्षमता छ। अनि उसमा त्यो क्षमता छैन भने पनि, पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ!” यो कस्तो प्रकारको तर्क हो? के यसमध्ये कुनै सत्यतासँग मेल खान्छ? (खाँदैन।) यी शब्दहरू सबै सही लाग्छन्। “हामीले अरूलाई बाँध्न मिल्दैन।” “मानिसहरूले केही गर्न सक्दैनन्; सबै कुरा गर्ने त पवित्र आत्मा नै हुनुहुन्छ। पवित्र आत्माले सबथोक छानबिन गर्नुहुन्छ। परमेश्‍वरले पूर्ण रूपमा रेखदेख गर्नुहुने हुनाले हामीले शङ्का गर्नु पर्दैन।” तर यी कस्ता शब्दहरू हुन्? के ती शब्द बोल्ने मानिसहरू भ्रमित होइनन् र? तिनीहरू यति पनि छर्लङ्गै देख्न सक्दैनन् र एउटै वाक्यले बहकिन्छन्। धेरैजसो मानिस “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने भनाइलाई सत्यताका रूपमा लिन्छन्, अनि यसद्वारा बहकिन्छन् र बन्धनमा पर्छन् भनेर भन्दा अत्युक्ति हुँदैन। मानिसहरूलाई छनौट वा प्रयोग गर्दा तिनीहरू यसको बाधा र प्रभावमा पर्छन्, र यसैलाई आफ्ना कार्यहरू नियन्त्रण गर्न समेत दिन्छन्। फलस्वरूप, धेरै अगुवा र कामदारहरूले मण्डलीको कामको जाँच गर्दा र मानिसहरूलाई बढुवा र प्रयोग गर्दा सधैँ कठिनाइ र आशङ्काहरू महसुस गर्छन्। अन्त्यमा, तिनीहरूले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने शब्‍दहरूद्वारा आफूलाई सान्त्वना दिन मात्र सक्छन्। जब तिनीहरू कामको जाँच वा सोधपुछ गर्छन्, तब यस्तो सोच्छन्, “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई भरोसा गर्नुपर्छ, आखिर पवित्र आत्‍माले नै मानिसहरूको छानबिन गर्नुहुन्छ, त्यसकारण मैले सधैँ शङ्का गरेर अरूको सुपरिवेक्षण गर्नु हुँदैन।” तिनीहरू यो वाक्यांशद्वारा प्रभावित भएका हुन्छन्, होइन र? यो वाक्यांशको प्रभावबाट आउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यदि कुनै व्यक्ति “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यस दृष्टिकोणसँग सहमत हुन्छ भने, के उसले अरूको काम निरीक्षण र निर्देशन गर्नेछ? के उसले मानिसहरूको काममा सुपरिवेक्षण र अनुगमन गर्नेछ? यदि यस व्यक्तिले आफूले प्रयोग गर्ने सबैलाई भरोसा गर्छ अनि तिनीहरूलाई तिनीहरूको काममा कहिल्यै निरीक्षण वा निर्देशन गर्दैन, अनि तिनीहरूलाई कहिल्यै सुपरिवेक्षण गर्दैन भने, के उसले बफादारीका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छ? के उसले दक्षतापूर्वक मण्डलीका काम अघि बढाउन र परमेश्‍वरको आज्ञा पूरा गर्न सक्छ? के ऊ परमेश्‍वरको आज्ञाप्रति बफादार भइरहेको हुन्छ? दोस्रो, यो परमेश्‍वरको वचन र आफ्‍नो कर्तव्य पालन गर्न नसक्‍नु मात्रै होइन, यो त शैतानको युक्ति र संसारसँग व्यवहार गर्ने शैतानी दर्शनलाई सत्यताका रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति होइनस्, झन् परमेश्‍वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ हदैको बदमास होस्। परमेश्‍वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताका रूपमा अभ्यास गर्नु सत्यता र परमेश्‍वरलाई धोका दिनु हो! तँ परमेश्‍वरको घरमा काम गर्छस्, तैपनि तेरो कामका सिद्धान्तहरू शैतानी तर्क र संसारसँग व्यवहार गर्ने दर्शन हुन्; तँ कस्तो व्यक्ति होस्? यो त परमेश्‍वरलाई विश्‍वासघात गर्ने र परमेश्‍वरलाई अत्यन्तै लज्‍जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्‍वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? (हो।) तैँले परमेश्‍वरको इच्‍छा नपछ्याउनेबाहेक, शैतानको एउटा दुष्ट भनाइ र संसारसँग व्यवहार गर्ने दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार बन्छस् र शैतानलाई मण्डलीभित्र त्यसका क्रियाकलाप गर्न सघाउँछस्, अनि मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछस्। यस समस्याको सार निकै गम्‍भीर छ, होइन र?

हिजोआज, धेरैजसो अगुवा र कामदारहरू आफ्ना हृदयमा शैतानको विष पाल्छन् र अझै शैतानी दर्शनअनुसार जिउँछन्, अनि परमेश्‍वरका थोरै वचनले मात्र तिनीहरूका हृदयमा प्रभुत्व जमाउँछन्। धेरै अगुवा र कामदारहरूको काम समस्याजनक हुन्छ—वास्तवमा तिनीहरूलाई हृदयमा कतिपय मानिस काम गर्न सक्दैनन् र समस्याहरू निश्चित रूपले खडा हुन्छन् भन्ने थाहा भए पनि, तिनीहरू कामको प्रबन्ध गरेपछि कहिल्यै कामको निरीक्षण वा सुपरिवेक्षण गर्दैनन्। तथापि, तिनीहरू यो समस्या कसरी समाधान गर्ने भन्ने थाहा नभएर “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” दृष्टिकोण मात्र अपनाउँछन् र झारा टार्छन्, तिनीहरूले मनोशान्तिसमेत पाउँछन्। यसले गर्दा कतिपय मानिसले वास्तविक काम गर्न सक्दैनन्, अनि तिनीहरू सामान्य मामलाहरूमै झारा टार्दै व्यस्त रहन्छन्। परिणामस्वरूप, तिनीहरूले मण्डलीको काम लथालिङ्ग पार्छन्, र कतिपय ठाउँमा त परमेश्‍वरलाई चढाएको भेटीसमेत चोरी हुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले यो हेर्न नसकेर माथिलाई मामिलाको रिपोर्ट गर्छन्। यो थाहा पाएर झूटो अगुवा अक्क न बक्क हुन्छ र उसलाई विपत्ति आउनै लागेको झैँ लाग्छ। त्यसपछि माथिले उसलाई सोध्नुहुन्छ: “तिमीले किन कामको निरीक्षण गरेनौ? तिमीले किन गलत व्यक्ति प्रयोग गऱ्यौ?” जवाफमा झूटो अगुवाले भन्छ: “मलाई व्यक्तिको सारबारे ज्ञान छैन, त्यसैले म त केवल ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने’ सिद्धान्त पालन गर्छु। मैले गलत व्यक्ति प्रयोग गरेर यस्तो विपत्ति निम्त्याउँछु भनेर कहिल्यै अपेक्षा गरेको थिइनँ।” के तिमीहरू “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने दृष्टिकोण सही छ भनेर विश्‍वास गर्छौ? के यो वाक्यांश सत्यता हो? परमेश्‍वरको घरको काममा र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा उसले किन यो वाक्यांश प्रयोग गर्छ? यसमा के समस्या छ? “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ अवश्य नै गैरविश्‍वासीका शब्‍दहरू, शैतानबाट आएका शब्दहरू हुन्—त्यसोभए उसले किन तिनलाई सत्यताका रूपमा लिन्छ? उसले यी शब्दहरू सही हुन् कि गलत हुन् भनेर किन भन्‍न सक्दैन? यी स्पष्ट रूपमै मान्छेका शब्‍दहरू, भ्रष्ट मानवजातिका शब्‍दहरू हुन्, ती सत्यता हुँदै होइनन्, ती परमेश्‍वरका वचनहरूको पूर्ण विपरीत छन्, र तिनलाई मानिसका कार्यहरू, आत्मआचरण, र परमेश्‍वरको आराधनाको मापदण्डका रूपमा लिनु हुँदैन। त्यसोभए, यो वाक्यांशलाई कसरी लिनुपर्छ? यदि तैँले साँच्‍चै नै खुट्ट्याउन सक्छस् भने, तैँले तेरो अभ्यासको सिद्धान्तका रूपमा यसको सट्टा कस्तो सत्यता सिद्धान्त प्रयोग गर्नुपर्छ? त्यो “आफ्‍नो सारा हृदय, सारा प्राण र सारा मनले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नु” भन्‍ने हुनुपर्छ। सारा हृदय, सारा प्राण, र सारा मनले काम गर्नु भनेको कोहीद्वारा नियन्त्रित नहुनु हो; यो एउटै हृदय र मनको हुनु हो, त्योबाहेक अरू केही होइन। यो तेरो जिम्‍मेवारी र कर्तव्य हो, र यसलाई तैँले राम्ररी पूरा गर्नुपर्छ, किनभने यसो गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित कुरा हो। तैँले जस्तोसुकै समस्याहरू सामना गरे पनि, सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। तिनलाई जसरी सम्‍हाल्‍नुपर्ने हो, त्यसरी सम्‍हाल्; यदि काटछाँट गर्नु परे पनि गर्, र बर्खास्त गर्नु परे पनि गर्। सङ्क्षेपमा भन्दा, परमेश्‍वरका वचनहरू र सत्यताअनुसार काम गर्। के सिद्धान्त यही होइन र? के यो “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्‍ने वाक्यांशको ठिक उल्टो छैन र? न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने भन्नुको अर्थ के हो? यसको अर्थ यदि तैँले कुनै व्यक्तिलाई रोजगारी दिइस् भने, तैँले ऊमाथि शङ्का गर्नु हुँदैन, उसलाई लगाम लगाउन छोड्नुपर्छ, उसको सुपरिवेक्षण गर्नु हुँदैन, र उसलाई जसरी मन लाग्छ त्यसरी काम गर्न दिनुपर्छ; र यदि तँलाई त्यस व्यक्तिप्रति शङ्का लाग्छ भने, तैँले उसलाई काममा लगाउनु हुँदैन। के यसको अर्थ यही होइन र? यो अत्यन्तै गलत छ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ। हरेक व्यक्तिमा शैतानी स्वभाव हुन्छ, र उसले परमेश्‍वरलाई विश्‍वासघात गर्न र उहाँको प्रतिरोध गर्न सक्छ। कोही पनि भरपर्दो हुँदैन भन्दा हुन्छ। यदि कुनै व्यक्तिले हदैसम्म कसम खाए पनि, यसको कुनै अर्थ हुँदैन, किनभने मानिसहरू आफ्नो भ्रष्ट स्वभावद्वारा बाँधिएका हुन्छन् र आफूलाई नियन्त्रण गर्न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गरेपछि मात्र आफ्‍नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न, र परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिने समस्या पूर्ण रूपमा समाधान गर्न सक्छन्—मानिसहरूका पापहरूको जड समाधान गर्न सक्छन्। परमेश्‍वरको न्याय र शुद्धीकरण अनुभव गरेर मुक्ति हासिल नगरेकाहरू भरपर्दो हुँदैनन्। तिनीहरू भरोसा गर्न लायक हुँदैनन्। त्यसकारण, तैँले जब कसैलाई प्रयोग गर्छस्, तब उसलाई सुपरिवेक्षण गर्ने र निर्देशन दिने गर्नैपर्छ। साथै, तैँले तिनीहरूलाई काटछाँट गर्ने, र बारम्‍बार सत्यतामा सङ्गति दिने गर्नैपर्छ, अनि यसरी मात्रै तैँले तिनीहरूलाई निरन्तर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर स्पष्ट देख्‍न सक्‍नेछस्। यदि कतिपय मानिसले सत्यता स्विकार्न, काटछाँट स्विकार्न, बफादारीपूर्वक कर्तव्य निर्वाह गर्न, र जीवनमा निरन्तर प्रगति गर्न सक्छन् भने, तिनीहरू मात्रै प्रयोग गर्न योग्य मानिस हुन्छन्। साँचो रूपमा प्रयोग गर्नयोग्य मानिसहरूले पवित्र आत्माको कामको पुष्टि पाएका हुन्छन्। पवित्र आत्माको काम नभएका मानिसहरू भरपर्दा हुँदैनन्; तिनीहरू श्रमिक र भाडामा ल्याइएका मानिस हुन्। अगुवा र कामदारहरू चयन गर्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरूलाई तुलनात्मक रूपले उच्च अनुपातमा, कम्तीमा पनि आधाभन्दा धेरै हटाइन्छन् भने सानो अल्पसङ्ख्या मात्र प्रयोग गर्नयोग्य वा प्रयोग गर्न मिल्ने हुन्छन्—यो वास्तविकता हो। कतिपय मण्डली अगुवाहरू कहिल्यै अरूको कामको सुपरिवेक्षण वा जाँच गर्दैनन्, र आफूले सङ्गति सकाएपछि वा कामको प्रबन्ध मिलाएपछि कामप्रति ध्यान दिँदैनन्। बरु, तिनीहरू “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” वाक्यांशअनुसार चल्छन्, र मनमनै “बाँकी कुरा परमेश्‍वरलाई गर्न देऊ” समेत भन्छन्। त्यसपछि तिनीहरू आराम र सहजतामा लिप्त हुन थाल्छन्, मामिलाबारे सोधपुछ गर्दैनन् र त्यसलाई बेवास्ता गर्छन्। के तिनीहरूले यसरी काम गरेर झारा टारिरहेका हुँदैनन् र? के तिनीहरूमा कुनै जिम्मेवारी बोध हुन्छ? के यस्ता मानिसहरू झूटा अगुवा होइनन् र? परमेश्‍वर मानिसहरूले आफ्नो कर्तव्य सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले, र सम्पूर्ण बलले गरून् भन्ने माग गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूबाट जे माग गर्नुहुन्छ—त्यो नै सत्यता हो। यदि अगुवा र कामदारहरूले काम गर्दा वा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरका वचन पालन नगरी दियाबलस र शैतानका वचन पालन गर्छन् भने, के यो परमेश्‍वरलाई प्रतिरोध र विश्‍वासघात गर्नुको प्रकटीकरण होइन र? परमेश्‍वरको घरले अगुवा र कामदारहरू चयन गर्दा सत्यता स्विकार्न सक्ने, विवेक र समझ भएका, अनि राम्रो क्षमताका र कामको जिम्मेवारी लिन सक्ने मानिसहरूलाई मात्र किन रोज्नुपर्छ? किनभने मानवजाति गहिरो रूपमा भ्रष्ट हुन्छ र प्रयोग गर्न सकिने लगभग कोही हुँदैन। कुनै व्यक्तिले वर्षौँसम्म प्रशिक्षण लिएको र संवर्धन पाएको छैन भने, उसले कामकुरा एकदमै अदक्ष ढङ्गले गर्छ र उसलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न धेरै गाह्रो हुन्छ, अनि प्रयोग गर्नयोग्य बन्नुअघि उसलाई अनेक पटक न्याय, सजाय र काटछाँट गर्नुपर्ने हुन्छ। प्रशिक्षणका क्रममा धेरैजसो मानिस खुलासा भएर हटाइन्छन्, अनि अगुवा र कामदारहरू निकै उच्च दरमा हटाइन्छन्। किन यस्तो गरिन्छ? किनभने शैतानले मानवजातिलाई एकदमै गहिरो रूपमा भ्रष्ट पारेको छ। धेरैजसो मानिस सत्यतालाई प्रेम गर्दैनन्, न त विवेक र समझको मानक नै पूरा गर्छन्। त्यसैले, तिनीहरूमध्ये धेरैजसो प्रयोग गर्नयोग्य हुँदैनन्। तिनीहरूले केही कर्तव्य निर्वाह गर्न सक्नका लागि धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्नैपर्छ र अलिकति सत्यता बुझ्नैपर्छ। भ्रष्ट मानवजातिको वास्तविकता यही हो। त्यसैले, यसका आधारमा हामी के निष्कर्षमा पुग्न सक्छौँ भने, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश पूर्ण रूपमा गलत छ र यसको बिलकुलै कुनै व्यावहारिक महत्त्व छैन। हामी “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने भनाइ झूटो शिक्षा र भ्रम हो भनेर निश्चितताका साथ भन्न सक्छौँ; यो दुष्ट भनाइ, शैतानी दर्शन हो, र यस्तो चित्रण शतप्रतिशत उचित हो। परमेश्‍वरले “भ्रष्ट मानवजातिलाई भरोसा गर्न सकिन्छ” भन्ने अर्थ लाग्ने कुरा कहिल्यै भन्नुभएको छैन। उहाँले सधैँ मानिसहरू इमानदार होऊन् भन्ने माग गर्नुभएको छ, जसले सारा मानवजातिमाझ एकदमै थोरै मानिस मात्र इमानदार छन्, सबै जनाले झूट बोल्न र छल गर्न सक्छन्, अनि सबैमा छली स्वभाव छ भनेर प्रमाणित गर्छ। त्यसबाहेक, भ्रष्ट मानवजातिले परमेश्‍वरलाई विश्‍वासघात गर्ने शतप्रतिशत सम्भावना छ भनेर उहाँले भन्नुभएको छ। परमेश्‍वरले कुनै व्यक्तिलाई प्रयोग गर्नुभए पनि, त्यो व्यक्ति वर्षौँसम्म काटछाँटबाट गुज्रनैपर्छ, र प्रयोग गरिँदै गर्दासमेत, उसले शुद्ध हुन धेरै वर्षसम्म न्याय र सजाय भोग्नैपर्छ। अब मलाई बताओ त, के साँच्चै कोही भरपर्दो व्यक्ति छ? छ भन्ने आँट कसैले गर्दैन। अनि कसैले आँट नगर्नुले के प्रमाणित गर्छ? त्यसले सबै मानिस भरपर्दा छैनन् भन्ने प्रमाणित गर्छ। त्यसैले, “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” वाक्यांशमै फर्कौँ। यो कुन रूपमा गलत छ? त्यसबारे हास्यास्पद कुरा के छ? के यो प्रस्ट छैन र? यदि कसैले अझै यो भनाइ कुनै पनि रूपमा सही वा प्रयोग गर्नयोग्य छ भन्ने ठान्छ भने, ऊ सत्यता नभएको र निश्चय नै बेतुके व्यक्ति हो। आज, तिमीहरू यस वाक्यांशमा भएको समस्या देख्न र यो भ्रम हो भनेर निर्धारण गर्न सक्छौ, अनि यो तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेकाले, र तिमीहरू भ्रष्ट मानवजातिको सारलाई अझ स्पष्टसित देख्न र त्यसबारे अझ प्रस्ट अन्तर्ज्ञान प्राप्त गर्न सक्ने भएकाले गर्दा नै हो। यसैकारणले गर्दा मात्र तिमीहरू यो शैतानी वाक्यांश, यो झूटो शिक्षा र भ्रम पूर्णतः त्याग्न सक्छौ। यदि परमेश्‍वरको मुक्तिको काम नभएको भए, तिमीहरू पनि यो शैतानी भनाइद्वारा बहकिनेथियौ, र तिमीहरूले त्यसलाई मानक उक्ति वा आदर्श वाक्यका रूपमा समेत प्रयोग गर्नेथियौ। त्यो कति दयनीय कुरा हुनेथियो—तिमीहरूमा सत्यता वास्तविकता पटक्कै हुनेथिएन।

“न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश धेरैजसो मानिसले पहिले सुनेको कुरा हो। तिमीहरूलाई यो वाक्यांश सही लाग्छ कि गलत? (गलत।) यदि तिमीहरूलाई यो गलत लाग्ने भए, त्यसले किन अझै तिमीहरूलाई वास्तविक जीवनमा प्रभाव पार्न सक्छ? तिमीहरूलाई यस्ता कुराहरू आइपर्दा, यो दृष्टिकोण पैदा हुनेछ। त्यसले तँलाई केही हदसम्म बाधा दिनेछ, र त्यसले तँलाई बाधा दिएपछि तेरो काम प्रभावित हुनेछ। त्यसैले, यदि तँलाई यो गलत लाग्छ र तैँले यो गलत हो भनेर निर्धारण गरिसकेको छस् भने, तँ किन अझै त्यसद्वारा प्रभावित हुन्छस् र किन आफ्नो मनलाई शान्ति दिन अझै त्यो प्रयोग गर्छस्? (किनभने मानिसहरू सत्यता बुझ्दैनन्, तिनीहरू परमेश्‍वरका वचनअनुसार अभ्यास गर्नयोग्य हुँदैनन्, त्यसैले तिनीहरूले संसारसँग व्यवहार गर्ने शैतानको दर्शनलाई अभ्यासका लागि आफ्नो सिद्धान्त वा मापदण्डका रूपमा लिनेछन्।) यो एउटा कारण हो। अरू कारण पनि छन्? (किनभने यो वाक्यांश मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खान्छ, अनि तिनीहरूले सत्यता नबुझ्दा स्वाभाविक रूपले यो वाक्यांशअनुसार कार्य गर्नेछन्।) मानिसहरू सत्यता नबुझ्दा मात्र यस्तो हुने होइनन्, तिनीहरू सत्यता बुझ्दासमेत सत्यताअनुसार अभ्यास गर्न सक्षम नहुन सक्छन्। यो वाक्यांश “मानिसहरूको दैहिक रुचिसँग तुलनात्मक रूपले मेल खानु” सही कुरा हो। मानिसहरूले सत्यता अभ्यास गर्नुभन्दा आफ्ना दैहिक रुचिहरू जोगाउन धूर्त चाल वा संसारसँग व्यवहार गर्ने शैतानी दर्शन पछ्याउँछन्। त्यसबाहेक, तिनीहरूसँग यसो गर्ने आधार हुन्छ। त्यो आधार के हो? त्यो के हो भने, यस वाक्यांशलाई जनमानसले सही भनेर व्यापक रूपमा स्विकार्छन्। तिनीहरूले यस वाक्यांशअनुसार कामकुरा गर्दा, अरू सबैका अगाडि तिनीहरूको कार्य मान्य हुन सक्छ र तिनीहरू आलोचनामुक्त हुन सक्छन्। नैतिक दृष्टिकोणबाट वा कानुनी दृष्टिकोणबाट हेरे पनि, वा पारम्परिक धारणाको दृष्टिकोणबाट हेरे पनि, यो मान्य दृष्टिकोण र अभ्यास हो। त्यसैले, जब तँ सत्यता अभ्यास गर्न इच्छुक हुँदैनस् वा जब तैँले त्यो बुझ्दैनस्, तब तैँले बरु परमेश्‍वरलाई चिढ्याउँछस्, सत्यता उल्लङ्घन गर्छस्, र पछि हटेर नैतिक सीमा उल्लङ्घन नहुने स्थानमा जान्छस्। अनि यो स्थान के हो? त्यो तैँले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” सीमा हो। पछि हटेर यस स्थानमा जाँदा र यो वाक्यांशअनुसार कार्य गर्दा, तँलाई मनोशान्ति मिल्नेछ। त्यसले किन तँलाई मनोशान्ति दिन्छ? किनभने अरू सबैले पनि यसरी नै सोच्छन्। त्यसबाहेक, तेरो हृदयले सबै अपराधी हुँदा कानुन लागु गर्न सकिन्न भन्ने धारणा पनि पाल्छ, र तैँले सोच्छस्, “सबैले यसरी नै सोच्छन्। मैले यस वाक्यांशअनुसार अभ्यास गरेँ भने, परमेश्‍वरले मलाई निन्दा गरे पनि केही फरक पर्नेछैन, किनभने जे भए पनि म परमेश्‍वरलाई देख्न सक्दिनँ वा पवित्र आत्मालाई छुन सक्दिनँ। कम्तीमा अरूका नजरमा, म मानव गुण भएको, अलिकति विवेक भएको व्यक्ति ठहरिनेछु।” तैँले यी “मानव गुण” का खातिर, मानिसहरूलाई तँप्रति शत्रुताको नजरविना हेर्न लगाउनका लागि सत्यतालाई विश्‍वासघात गर्न रोज्छस्। त्यसपछि सबै जनाले तँलाई राम्रो ठान्नेछन्, तेरो आलोचना हुनेछैन, अनि तैँले आरामदायी जीवन जिउनेछस् र मनोशान्ति पाउनेछस्—तैँले खोज्ने भनेको मनोशान्ति हो। के यो मनोशान्ति सत्यताप्रति व्यक्तिको प्रेमको प्रकटीकरण हो? (अहँ, होइन।) त्यसोभए, यो कस्तो स्वभाव हो? के यसमा छलीपन हुन्छ? हो, त्यसमा छलीपन हुन्छ। तैँले त्यसबारे केही विचार गरेको छस्, र तँलाई “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांश सही होइन, त्यो सत्यता होइन भन्ने थाहा छ। त्यसोभए, तँ गतिरोधको स्थितिमा पुग्दा, किन अझै सत्यता रोज्दैनस्, बरु मानिसहरूले सबैभन्दा बढी ग्रहण गर्ने पारम्परिक संस्कृतिबाट लिइएको दार्शनिक वाक्यांश पालन गर्छस्? तँ किन यसलाई रोज्छस्? यो मानिसहरूको जटिल सोचहरूसित सम्बन्धित छ, र जटिल सोचहरू आएपछि, त्यसमा कस्तो स्वभाव समावेश हुन्छ? (दुष्टता।) दुष्टताबाहेक यसमा अर्को पक्ष पनि सक्रिय हुन्छ। तैँले यो वाक्यांश सही हो भनेर पूर्ण रूपमा मान्दैनस्, तैपनि अझै त्यो पालन गर्न सक्छस् र आफूलाई त्यसको बहकाउ र नियन्त्रणमा पर्न दिन्छस्। यहाँ एउटा कुरा निश्चित छ: तँ सत्यताप्रति वितृष्ण छस्, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। के यही स्वभाव होइन र? (हो, यही स्वभाव हो।) यति चाहिँ निश्चित छ। मानिसहरू कामकुरा गर्दा धेरै दृष्टिकोणहरूद्वारा प्रभावित हुन्छन्, अनि वास्तवमा तैँले यस्ता दृष्टिकोणहरू सही हुन् भनेर हृदयमा अवश्यै विश्‍वास गर्छस् भन्ने नभए पनि, तँ ती पालन गर्न र त्यसमा टाँसिइरहन सक्छस्, जुन निश्चित स्वभावद्वारा धकेलिएको हुन्छ। तैँले यी दृष्टिकोणहरू गलत हुन् भन्ने विश्‍वास गरे पनि, तँ अझै तीद्वारा प्रभावित र ढलपल हुन अनि तिनको चालबाजीमा पर्न सक्छस्। यो दुष्ट स्वभाव हो। उदाहरणका लागि, कतिपय मानिसहरू लागु औषधी प्रयोग गर्छन् वा जुवा खेल्छन्, तर साथसाथै ती नराम्रो कुरा हुन् पनि भन्छन्, र अरूलाई ती कुरा नगर्न सुझावसमेत दिन्छन् ताकि उनीहरूले सबथोक नगुमाऊन्। तिनीहरू यस्ता कुरा गलत हुन्, नकारात्मक कुरा हुन् भनेर विश्‍वास गर्छन्, तर के तिनीहरूले तिनलाई त्याग्न र छोड्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले कहिल्यै आफूलाई रोक्न सक्नेछैनन्, र तिनीहरू खुल्लमखुल्ला यसोसमेत भन्छन्, “जुवा पनि पैसा कमाउने एउटा माध्यम हो, त्यसैले यो पेशा बन्न सक्छ।” के तिनीहरूले केवल त्यसलाई सुन्दरीकरण गरिरहेका छैनन् र? वास्तवमा, तिनीहरू मनमनै सोच्छन्, “यो कस्तो पेशा हो? मैले आफ्नो सबै बहुमूल्य थोक बन्धकी राखेको छु र त्यसबाट आएको सबै पैसा गुमाएको छु। आखिरमा, कुनै पनि जुवाडेले सामान्य जीवन जिउन सक्दैन।” त्यसोभए, तिनीहरू किन अझै पनि त्यसलाई सुन्दरीकरण गर्छन्? किनभने तिनीहरूले त्यो छोड्न सक्दैनन्। अनि तिनीहरूले किन छोड्न सक्दैनन्? किनभने त्यो तिनीहरूको प्रकृतिमै हुन्छ; त्यसले त्यहाँ जरा गाडिसकेको हुन्छ। तिनीहरूलाई यो कुरा चाहिन्छ र तिनीहरू त्यसविरुद्ध विद्रोह गर्न सक्दैनन्—त्यो तिनीहरूको प्रकृति नै हो। हामीले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने वाक्यांशबारे लगभग पर्याप्त रूपमै सङ्गति गरेका छौँ। के कुनै व्यक्ति उसमा यस्तो दृष्टिकोण स्विकार्ने क्षणिक आवेग आएका कारण यस वाक्यांशद्वारा प्रभावित हुन्छ, कि शैतानले लापरवाहीपूर्ण क्षणको फाइदा उठाएर यस व्यक्तिमा यस्तो दृष्टिकोण हालिदिएर त्यहीअनुसार काम गर्न लगाएकाले त्यसरी प्रभावित हुन्छ? (त्यस्तो होइन।) यो व्यक्तिको भ्रष्ट प्रकृतिसँग सम्बन्धित कुरा हो; उसले यस्तो मार्ग रोज्छ किनभने यो कुरा उसको प्रकृतिमै हुन्छ। तैँले “न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने” भन्ने यस वाक्यांशलाई यसरी चिरफार गरेर अब त्यसलाई आधारभूत रूपमा बुझेको छस्। यस वाक्यांशलाई संसारसँग व्यवहार गर्ने शैतानको दर्शनका रूपमा चित्रण गरिन्छ—यो कुनै हालतमा सत्यता होइन। के यसको सत्यतासँग कुनै सम्बन्ध छ? (छैन।) यसको सत्यतासँग पटक्कै कुनै सम्बन्ध छैन, र परमेश्‍वरले यसलाई निन्दा गर्नुहुन्छ। यो सत्यता होइन; यो परमेश्‍वरबाट नभई शैतानबाट आउँछ। निश्चितताका साथ भन्न सकिन्छ कि यस वाक्यांशको सत्यतासँग वा परमेश्‍वरका विश्‍वासीहरूले कसरी कार्य गर्नुपर्छ, कसरी आफूलाई आचरणमा ढाल्नुपर्छ र परमेश्‍वरलाई कसरी उपासना गर्नुपर्छ भन्ने कुराको मापदण्डसँग पटक्कै सम्बन्ध छैन। यस वाक्यांशलाई पूर्ण रूपमा निन्दा गरिएको छ। यस वाक्यांशका भ्रामक गुणहरू तुलनात्मक रूपले निकै प्रस्ट छन्, जसले तिमीहरूलाई त्यो सही हो कि होइन भनेर चिन्न सजिलो बनाएको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्