परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक) खण्ड पाँच
ङ. शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने
ख्रीष्टविरोधीहरूको मानवतामा घिनलाग्दो र घृणित कुरा पनि हुन्छ—त्यो हो, तिनीहरू शक्तिशालीसँग लपक्क टाँसिन्छन् र कमजोरलाई दमन गर्छन्। यदि मण्डलीमा वा संसारमा निश्चित प्रतिष्ठित व्यक्तित्वहरू वा शक्ति वा हैसियत भएका मानिस छन् भने उनीहरू जोसुकै भए पनि ख्रीष्टविरोधीहरूले आफ्ना हृदयमा उनीहरूप्रति अनन्त ईर्ष्या र प्रशंसा बोक्छन्, साथै तिनीहरूको चापलुसी समेत गर्छन्। जब तिनीहरू इसाई जगतमा विश्वास गर्छन्, तिनीहरूले निश्चित शीर्षस्थ राजनीतिज्ञहरू विश्वासी भएको दाबी गर्छन्, जब तिनीहरूले आखिरी दिनहरूमा परमेश्वरको यो चरणको काम स्विकार्छन्, तिनीहरू नामी सम्प्रदायहरूका केही पाष्टरहरूले पनि यो कुरा स्विकारेका छन् भनेर भन्छन्। तिनीहरूले जे गरे पनि त्यसलाई सधैँ प्रभावशाली शीर्षक दिन्छन्, तिनीहरूले सधैँ सेलिब्रेटीहरूको श्रद्धा र अनुकरण गर्छन्, अनि तिनीहरू कम्तीमा कुनै प्रतिष्ठित व्यक्तित्व वा हैसियत भएको व्यक्तिसँग लपक्क टाँसिन पाएपछि मात्र सन्तुष्ट महसुस गर्छन्। जब हैसियत भएका मानिसको कुरा आउँछ, चाहे तिनीहरू असल होऊन् वा खराब, ख्रीष्टविरोधीहरू अथक रूपमा आफूलाई कृपापात्र तुल्याउँछन् र उनीहरूको चापलुसी र खुसामद गर्छन्। तिनीहरू उनीहरूलाई चिया ल्याइदिन र उनीहरूको शौच-टोकरी सफा गर्नसमेत इच्छुक हुन्छन्। अर्कोतिर हैसियत नभएकाहरूसित व्यवहार गर्दा यी व्यक्तिहरू जति नै सोझो, इमानदार र दयालु भए पनि ख्रीष्टविरोधीहरू मौका पाउने बित्तिकै उनीहरूलाई हेप्ने र कुल्चीमिल्ची गर्छन्। तिनीहरू प्रायः फलानो-फलानो व्यक्ति समाजको व्यावसायिक कार्यकारी हो, फलानो-फलानो व्यक्तिको बुबा धनी छ, फलानो-फलानो व्यक्तिसँग यति पैसा छ, फलानो-फलानो व्यक्तिको परिवार वा कम्पनी यति ठूलो छ भनेर रबाफ देखाउँछन् र समाजमा उनीहरूको ख्यातिलाई जोड दिन्छन्। मण्डलीमा रहेका झूटा अगुवा र ख्रीष्टविरोधीहरूका सम्बन्धमा भन्नुपर्दा तिनीहरूले जस्तोसुकै दुष्ट कार्यहरू गरे पनि ख्रीष्टविरोधीहरूले कहिल्यै तिनीहरूको रिपोर्ट गर्ने, खुलासा गर्ने वा तिनीहरूलाई खुट्ट्याउने गर्दैनन्। बरु तिनीहरूको पछिपछि लाग्छन् र आफूलाई जे गर्न भनियो त्यही गर्छन्। तिनीहरू आफूले जुन तहका अगुवालाई पछ्याउँछन् उसैको अनुयायी, पैदल सैनिक र दास-दासी बन्छन्। शक्ति, प्रभाव, सम्पत्ति र हैसियत भएकाहरूसँग व्यवहार गर्दा तिनीहरू अत्यन्तै अधीनस्थ, विनम्र र अनाडी देखिन्छन्। तिनीहरू अत्यन्तै आज्ञाकारी र समर्पणकारी हुन्छन्, ती मानिसहरूले भनेको सबै कुरामा टाउको हल्लाएर सहमति जनाउँछन् र त्यसको पालन गर्छन्। तर हैसियतबिनाका साधारण मानिसहरूसित व्यवहार गर्दा तिनीहरूले फरक शैली अपनाउँछन्, रोबदार बोल्ने शैली प्रयोग गरेर मानिसलाई दबाउन खोज्छन्, श्रेष्ठ हुन चाहन्छन्, मानौँ तिनीहरू अजेय, अरू सबैभन्दा बलिया र उच्च छन्, जसले गर्दा तिनीहरूमा भएका कुनै पनि समस्या, त्रुटि वा कमजोरीहरू खुट्ट्याउन कठिन हुन्छ। यो कस्तो चरित्र हो? के यो कुरा र कपटी, निर्मम हुनु अनि लाजसरम पचेको हुनुबीच कुनै सम्बन्ध छ? (हो, छ।) शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने—के ख्रीष्टविरोधीहरूको मानवताको कुरूप र दुष्ट पक्ष यही होइन र? के तिमीहरूलाई त्यस्तो मानवता भएका मानिस सोझा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) के तिनीहरूले हैसियत र शक्ति भएकाहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? के तिनीहरूले कमजोरहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? (ती कुनै पनि सत्य हुँदैनन्।) त्यसकारण झुट बोल्ने बानीसँग यस विषयवस्तुको केही सम्बन्ध छ। यस विषयवस्तुलाई मूल्याङ्कन गर्दा ख्रीष्टविरोधीहरूको चरित्र हदैसम्म घृणायोग्य हुन्छ र तिनीहरूसँग दुई पूर्णतया फरक मुहारहरू हुन्छन्। यस्तो व्यक्तिका लागि एउटा उपनाम छ—“छेपारो।” तिनीहरूले मानिसहरूलाई कहिल्यै पनि सत्यता सिद्धान्तहरू, मानवता वा ती मानिसहरूले परमेश्वरका घरमा सत्यता पछ्याइरहेका छन् कि छैनन् भन्ने आधारमा व्यवहार गर्दैनन्। बरु तिनीहरूले मानिसहरूलाई उनीहरूका हैसियत र प्रभावका आधारमा मात्र फरक-फरक व्यवहार गर्छन्। हैसियत र क्षमता भएका मानिससँग व्यवहार गर्दा तिनीहरू हदैसम्म गएर आफूलाई कृपापात्र तुल्याउँछन्, उनीहरूको चापलुसी गर्छन् र नजिकिन्छन्। तिनीहरूलाई यी मानिसहरूले कुटे पनि वा गाली नै गरे पनि तिनीहरूले कुनै गुनासोबिना त्यसलाई इच्छुक भई सहन्छन्। तिनीहरू आफ्नै उपयोगहीनता निरन्तर रूपमा स्विकार्छन् र दास बन्छन्, तैपनि भित्री रूपमा तिनीहरूले साँच्चिकै जे सोच्छन् त्यो तिनीहरूको बाहिरी व्यवहारभन्दा पूर्ण रूपमा फरक हुन्छ। यदि हैसियत र प्रतिष्ठा भएको कसैले बोलेमा त्यो सत्यतासँग पूर्ण रूपमा असम्बन्धित शैतानको कुनै भ्रम वा विधर्म नै भए पनि तिनीहरूले त्यो सुन्नेछन्, टाउको हल्लाएर सहमति जनाउनेछन् र सतही रूपमा स्विकार्नेछन्। अर्कोतिर यदि कसैसित सामर्थ्य वा हैसियत छैन भने उसका शब्दहरू जति नै सही भए पनि ख्रीष्टविरोधीहरूले तिनलाई बेवास्ता गर्नेछन् र हेयको दृष्टिले हेर्नेछन्। उसले भनेको कुरा सिद्धान्तहरू र सत्यतासित मिले पनि तिनीहरूले त्यो सुन्नेछैनन्, बरु उसको खण्डन गर्नेछन्, उसलाई गिज्याउनेछन् र गिल्ला गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको चरित्रमा भेटिने अर्को विशेषता हो। आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तिनीहरूका तरिका र सिद्धान्तहरू मूल्याङ्कन गर्दा यी व्यक्तिहरूलाई निश्चय नै विवादरहित रूपमा अविश्वासी भनेर चित्रण गर्न सकिन्छ। तिनीहरूको चरित्रका प्रकटीकरणहरू निकृष्ट, घिनलाग्दा र नीच हुन्छन्।
शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने व्यवहार ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूको सामाजिक अन्तरक्रियाको एउटा खाँटी विधि हो। तिनीहरू गैरविश्वासीहरूसँग जमेर कुरा गर्छन् र निकटता देखाउँछन्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई देख्ने बित्तिकै तिनीहरूसँग भन्ने कुरा नै हुँदैन र कुनै साझा भाषा हुँदैन। यी ख्रीष्टविरोधीहरू हुन्। परमेश्वरमाथिको आस्था, कर्तव्य निर्वाह, जीवन प्रवेश वा स्वभाव परिवर्तनहरूसँग सम्बन्धित मामलाहरू छलफल गर्दा तिनीहरूसँग भन्ने कुरा पनि हुँदैन र तिनीहरूलाई रुचि पनि हुँदैन। तर विशेषगरी सम्पत्ति र प्रभाव भएका गैरविश्वासीहरू, राजनीतिक व्यक्तित्व, समाजका कुलीन वर्ग, सङ्गीत र चलचित्रका प्रतिष्ठित व्यक्तित्वहरू, सामाजिक प्रचलनहरू, साथै भोजन र मनोरञ्जनसँग सम्बन्धित मामलाहरूबारे कुरा गर्दा तिनीहरू अत्यन्तै बोलक्कड हुन्छन् र तिनीहरूलाई रोक्नै सकिँदैन। तिनीहरू त्यस्तो जीवन र सामाजिक हैसियतको अत्यन्तै तृष्णा गर्छन् भन्ने देखिन्छ। यस्ता व्यक्तिहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि त्यो तिनीहरूका आफ्नै कठिनाइहरू र गोप्य अभिप्रायहरू अनि उद्देश्यहरूका कारणले गर्दा मात्रै हो। तिनीहरू आशिष्का लागि मात्र परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरमा विश्वास गरिसकेपछि पनि तिनीहरूले त्यस्ता कुराहरू छोड्न सक्दैनन्। त्यसकारण भोजन र मनोरञ्जनका मामलाहरू छलफल गर्दा तिनीहरू निकै उत्साहित हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गर्दा कथा अर्कै हुन्छ। हृदय र आत्माको गहिराइदेखि तिनीहरू ती मानिसहरूलाई हेयको दृष्टिले हेर्छन् जो परमेश्वरमा विश्वास गर्छन्, जो सत्यता पछ्याउँछन् र जो इमानदार र सोझा छन्। तिनीहरू त्यस्ता व्यक्तिविरुद्ध विभेद गर्छन् र उनीहरूलाई हेला गर्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीमा अगुवाहरू देख्दा यस्तो सोच्छन्, “तिनीहरू अगुवाजस्ता नै देखिँदैनन्; तिनीहरू अधिकारीहरूसँग बिलकुलै मिल्दोजुल्दो छैनन्। सांसारिक अधिकारीहरूको तुलनामा तिनीहरू अत्यन्तै निकृष्ट छन्, तिनीहरूको आचरण र शैलीमा कमी छ!” यदि तिनीहरूले केही अगुवाहरूले उच्च तहको शिक्षा हासिल गरेका छैनन् भन्ने थाहा पाएमा तिनीहरूले हृदयमा उनीहरूविरुद्ध विभेद गर्छन्। मलाई देख्दा तिनीहरूलाई कस्तो महसुस हुन्छ जस्तो तिमीहरूलाई लाग्छ? एकै नजरमा तिनीहरूले सोच्छन्, “ख्रीष्ट, देहधारी ईश्वर उच्च शिक्षाबिना कोही पनि होइन, जो खासै अग्लो छैन, जसको रूपरङ्ग साधारण छ, जसमा आभा छैन र जसको पहिरन सामान्य छ। सबैले ऊसँग सत्यता छ भन्छन्; ध्यान दिन लायक कुरा यही मात्र हो र उसमा अरू केही प्रशंसाजनक कुरा छैन। हेर त, ती शक्तिशाली मानिसहरूले समाजमा कस्ता पहिरन लगाउँछन्! तिम्रा कपडा र जुत्ता कुन ब्रान्डका हुन्? तिम्रो कपालको ढाँचा के हो? के तिमीले कुनै चर्चित सैलुनमा कपाल कटायौ? एकपटक कपाल काट्दा कति मूल्य पर्यो?” म भन्छु, “म कपाल काट्नमा एक सुका पनि खर्च गर्दिनँ; म घरमा आफै काट्छु।” तिनीहरूले भन्छन्, “के तिमी सौन्दर्य उपचार गराउँछौ? के तिमी होटेलमा बस्छौ? कति तारे होटेलमा बस्छौ? के तिमीले कहिल्यै विलासी समुद्री-जहाज चढेका छौ?” म भन्छु, “मलाई यी कुराहरूका बारेमा थाहा छैन।” तिनीहरूले भन्छन्, “त्यसोभए तिमी त अत्यन्तै अज्ञानी रहेछौ। पहिचान र हैसियत यति शिष्ट हुँदा पनि किन तिमीलाई संसारका यी विलासी र उच्चस्तरीय कुराहरूको ज्ञान वा बुझाइ छैन? तिम्रा परिस्थिति अनुसार तिमी आफैले यो कुराको केही अनुभव लिनुपर्छ। कम्तीमा पनि तिमी कुनै उच्चस्तरीय ब्युटी सैलुनमा जानुपर्छ, कुनै पाँचतारे होटेलमा बस्नुपर्छ र कुनै विलासी समुद्री जहाज चढ्नुपर्छ। कम्तीमा पनि जहाज चढ्दा तिमी पहिलो श्रेणीमा बस्नुपर्छ।” तिनीहरूले मलाई देख्दा हेला गर्छन्, तर तिनीहरू एउटा कुरा स्विकार्न बाध्य हुन्छन्, त्यो हो, “तिमीले भेलाहरूमा भनेको कुनै पनि कुरा मैले यसअघि कहिल्यै सुनेको छैनँ: मैले तिमीले भनेको कुरा सुन्नैपर्छ।” तर भेला सकिएपछि तिनीहरूले मलाई चिन्नै छोड्छन्। ठ्याक्कै ब्वाँसोजस्तै: तैँले त्यसलाई खाना दिएपछि त्यसले फनक्क फर्केर तँलाई नै टोक्छ। ब्वाँसोको प्रकृति नै त्यही हो। जब ख्रीष्टविरोधीहरूले पैसा र प्रभाव नभएका ती साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई देख्छन्, जो केवल सत्यतालाई प्रेम गर्छन् र त्यसलाई पछ्याउन सक्षम हुन्छन्, जो इच्छुक भई आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, तब तिनीहरूले उनीहरूलाई तिरस्कार र बहिष्कार गर्छन्। जब तिनीहरूले ख्रीष्टलाई हेर्छन् र एक साधारण व्यक्ति देख्छन्, जो हुलिया, रूपरङ्ग, आचरण जस्ता हरेक हिसाबमा सादा र साधारण व्यक्ति हुन्छ, तब के तिनीहरूले आफ्ना भित्री स्वभाव र दृष्टिकोण तुरुन्तै बदल्न सक्छन्? (अहँ, सक्दैनन्।) कामकुराहरूप्रति तिनीहरूको मनोवृत्ति तिनीहरूको चरित्रमा आधारित हुन्छ। सामान्य मानवताको कमी हुँदा तिनीहरूको ख्रीष्टप्रतिको मनोवृत्ति निस्सन्देह रूपमा कुनै साधारण व्यक्तिप्रतिको मनोवृत्ति जस्तै हुन्छ। त्यसमा अलिकति पनि सम्मान हुँदैन; यो तिनीहरूको सार र चरित्रद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधीको मानवताको यस पक्षको प्रकटीकरण अरू पक्षहरूमा जत्तिकै घिनलाग्दो र घृणास्पद हुन्छ।
हामीले भर्खरै सङ्गति गरेका ख्रीष्टविरोधीको चरित्रमा रहेका विभिन्न विशेषताहरूले एक-एक गरेर तिनीहरूको चरित्रको असलपन वा खराबपन, उत्कृष्टता वा निकृष्टतालाई प्रकट गर्न सक्छन्। झुट बोल्ने बानी भएको व्यक्तिको चरित्र उत्कृष्ट हुन्छ कि निकृष्ट? (निकृष्ट।) स्वार्थी र दुष्ट व्यक्तिको मानवता असल हुन्छ कि खराब? (खराब।) लाजसरम पचेको व्यक्तिको मानवता असल हुन्छ कि खराब? (खराब।) कपटी र निर्मम व्यक्तिको चरित्र उत्कृष्ट हुन्छ कि निकृष्ट? (निकृष्ट।) शक्तिशालीसँग लपक्क टाँसिन र कमजोरलाई दमन गर्न मात्र जान्ने, अनि त्यस्ता सिद्धान्तहरू मात्र पालना गर्ने व्यक्तिको चरित्र कस्तो हुन्छ? (घृणायोग्य।) त्यस्ता व्यक्ति हदैसम्म घृणायोग्य हुन्छन्, सामान्य मानवता नभएको मात्र नभई तिनीहरू मानव नै होइनन्—तिनीहरू सबैभन्दा दुष्ट हुन्, दियाबलस हुन् भन्दा पनि सही हुन्छ। जसमा अलिकति पनि विवेक र समझ हुँदैन, ऊ दियाबलस हो, मानव होइन।
च. भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्ने
ख्रीष्टविरोधीहरूको मानवतामा अर्को प्रकटीकरण पनि छ: तिनीहरू भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्छन्। भन्नुको मतलब भौतिक वस्तुहरूप्रति तिनीहरूको चाहना र माग अत्यन्तै ठूलो छ—त्यो असीमित छ। तिनीहरू विलासी जीवनशैलीको आकाङ्क्षाहरूले भरिएका हुन्छन् र तिनीहरूको लोभको तृप्ति कहिल्यै हुँदैन। कतिपयले भन्लान्: “अधिकांश ख्रीष्टविरोधीहरूमा यो प्रकटीकरण हुँदैन।” यो नहुनुको अर्थ तिनीहरूको मानवतामा यो कुरा छैन भन्ने होइन। त्यस्ता मानिसहरूले एकपटक हैसियत प्राप्त गरेपछि के खाने, कस्तो पहिरन लगाउने र कस्तो देखिने भन्नेबारे तिनीहरूका सिद्धान्तहरू के-के हुन्छन्? आफूसँग हैसियत हुने बित्तिकै तिनीहरूलाई आफ्नै तरिकाले चल्नैपर्ने हुन्छ, तिनीहरूले अवसरहरू फेला पार्छन्, तिनीहरूका निश्चित सर्तहरू हुन्छन् र तिनीहरूको जीवन फरक हुन्छ। तिनीहरूले खानेकुरामा धेरै ध्यान दिन थाल्छन्, देखावट र विलासीतामा जोड दिन्छन्। तिनीहरू ब्रान्डेड वस्त्र लगाउने र सामानहरू प्रयोग गर्ने अड्डी कस्छन्, तिनीहरू बस्ने घर र चढ्ने गाडी उच्चस्तरीय र विलासी नै हुनुपर्छ। तिनीहरूले कामकाजको वाहन किन्दा पनि त्यसमा विलासी सामान जोडिएको हुनुपर्छ। कतिपयले सोध्लान्: “यदि तिनीहरूसँग पैसा छैन भने किन यस्ता वस्तुहरूमा जोड दिन्छन्?” तिनीहरूसँग पैसा छैन भन्दैमा त्यस्ता वस्तुहरू पछ्याउँदैनन् र तिनीहरूको मानवतामा यो चाहना हुँदैन भन्ने होइन। त्यसकारण ख्रीष्टविरोधीहरूले एकपटक परमेश्वरको घरका भेटीहरूमाथि पकड पाएपछि तिनीहरूले जथाभाबी तिनलाई फजुल रूपमा उडाउँछन्। तिनीहरू सबथोक किन्न र त्यसको आनन्द लिन चाहन्छन्, यतिसम्म कि तिनीहरू निर्लज्ज बन्छन् र तिनीहरूलाई नियन्त्रणमा राख्नै गाह्रो हुन्छ। तिनीहरूलाई सुनले लेपन गरिएको कपमा उच्च गुणस्तरीय चिया पिउनुपर्छ, तिनीहरूको खाना भव्य भोज हुनैपर्छ, तिनीहरू विशेष स्तरको जिनसेंग मात्र खान अड्डी कस्छन्, सधैँ नयाँ मोडेलका विश्व-स्तरीय ब्रान्डका कम्प्युटर र फोन मात्र प्रयोग गर्छन्। तिनीहरू हजारौँ रुपैयाँ पर्ने चस्मा लगाउँछन्, कपाल मिलाउन सयौँ रुपैयाँ खर्च गर्छन्, मसाज र साउनाका लागि हजार वा त्योभन्दा बढी मूल्य तिर्छन्। छोटकरीमा भन्दा तिनीहरू सबथोक उच्च-गुणस्तरीय र ब्रान्डेड माग गर्छन्, प्रतिष्ठित व्यक्तित्व र शक्तिशाली मानिसहरूले आनन्द लिने वस्तुहरूको आनन्द लिन चाहन्छन्। ख्रीष्टविरोधीहरूसँग एकपटक हैसियत भएपछि यी सारा कुरूप चिजहरू स्पष्ट हुन्छन्। भेलाहरूमा यदि तीनदेखि पाँचजना मानिसहरूले मात्र तिनीहरूको प्रवचन सुनेमा तिनीहरूलाई त्यो अपर्याप्त लाग्छ र तिनीहरू तीन-सयदेखि पाँच-सय मानिसहरू हुनुपर्ने अड्डी कस्छन्। जब अरूले बाह्य परिस्थितिहरू प्रतिकूल भएका कारण तीनदेखि पाँच जना मानिसहरू भेला हुनु राम्रै हो भन्छन्, तब तिनीहरू प्रतिवाद गर्छन्: “यस्तो त हुँदैन—मेरो प्रवचन सुन्ने मानिसहरू किन यति थोरै छन्? यो मैले समय दिन लायक छैन। हामीले एउटा भव्य मण्डली भवन किन्नुपर्छ जसले अलि गरिमामय प्रवचनका लागि दसौँ हजार मानिसहरू अटाउन सकोस्।” के तिनीहरू काल खोजिरहेका छैनन् र? ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा यस्तै हुन्छ। के तिनीहरू लाजसरम पचेका पनि भइरहेका छैनन् र? तिनीहरूमा विलासी जीवन र भौतिक वस्तुहरूप्रति अत्यन्तै अनियन्त्रित चाहना र रुचि हुन्छ, जुन ख्रीष्टविरोधीहरूको चरित्रको अर्को विशेषता हो। कसैले मिठो खाना, विलासी गाडी, ब्रान्डेड कपडा, अनि उच्च-स्तरीय र महँगो वस्तुहरू उल्लेख गर्ने बित्तिकै तिनीहरूका आँखा चम्किन्छन् र लोभले हरिया बन्छन्, साथै तिनीहरूका चाहनाहरू सतहमा आउँछन्। यो चाहना कसरी पैदा हुन्छ? यो निस्सन्देह तिनीहरूको भूतिया प्रकृतिको प्रकाश हो। कतिपय ख्रीष्टविरोधीहरूमा पैसाको अभाव हुन सक्छ, उच्च-स्तरीय गहना वा दुई-तीन क्यारेटको हिराको औँठी लगाएको व्यक्ति देख्दा तिनीहरूको आँखा चम्किन्छ र तिनीहरूले यसो सोच्छन्, “यदि मैले परमेश्वरमा विश्वास नगरेको भए मैले पाँच क्यारेटको लाउन सक्थेँ।” तिनीहरूले आफूसँग एक क्यारेटको औँठीसमेत नभएको तथ्यबारे सोच-विचार गर्छन्, अनि दुःखी हुन्छन् र तिनीहरू परमेश्वरमा विश्वास गर्नु सार्थक छैन भनेर सोच्न थाल्छन्। तैपनि थप सोच-विचार गरेपछि तिनीहरूले यसो सोच्छन्, “मैले परमेश्वरमा आस्था राखेकाले भविष्यमा ठूला आशिष्हरू प्राप्त गर्नेछु। म पाँच-सय क्यारेटको हिरा लिएर टाउकोमा पहिरिन सक्छु।” के तिनीहरूमा चाहनाहरू छैनन् र? टिभीमा धनी व्यक्तिहरू डिजाइनर कपडा लगाएर र समुद्रमा विलासी जहाजमा तैरिरहेको देख्दा तिनीहरूलाई त्यो अत्यन्तै आनन्दमयी, मनोरम, प्रतिष्ठित र डाहलाग्दो लाग्छ। तिनीहरूले र्याल चुहाउँछन् र यसो भन्छन्, “म कहिले त्यस्तो व्यक्ति अर्थात् मानिसहरूमाझको अतिमानुष बन्न सक्छु होला? मैले कहिले यस्तो जीवनको आनन्द लिन सक्ने होला?” तिनीहरू त्यो कुरा बारम्बार हेर्छन् र अन्त्यमा परमेश्वरमा विश्वास गर्नु भनेको साँच्चिकै अरोचक हुन्छ भन्ने सोचाइमा पुग्छन्। तर त्यसपछि तिनीहरूले फेरि एकपटक चिन्तन गर्छन् र सोच्छन्, “मैले यसरी सोच्न मिल्दैन। म किन परमेश्वरमा विश्वास गर्छु? ‘अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।’ भविष्यमा मेरो जीवन तिनीहरूको भन्दा धेरै राम्रो हुनेछ। तिनीहरू विलासी समुद्री-जहाजमा घुम्छन्, तर म कुनै विलासी हवाइ-जहाज वा विलासी उडन तस्तरीमा उड्नेछु—म चन्द्रमामा जानेछु!” के यी सोचहरू अलिकति पनि व्यावहारिक छन् त? के ती सामान्य मानवतासँग मिल्छन्? (अहँ, मिल्दैनन्।) यो ख्रीष्टविरोधीहरूको मानवतामा हुने अर्को तत्त्व हो—भौतिक वस्तुहरू र विलासी जीवनशैलीप्रतिको अत्यन्तै अनियन्त्रित चाहना हो। तिनीहरूले एकपटक यी कुराहरू पाएपछि तिनीहरू अतृप्त रूपमा लोभी बन्छन्, अत्यन्तै लोभी नजर र प्रकृति देखाउँछन् र यी चिजहरू सदाका लागि आफूसँग होस् भन्ने चाहन्छन्। ख्रीष्टविरोधीहरूको मानवतामा तिनीहरूले शक्तिशालीलाई ईर्ष्या गर्ने कुरा मात्र पर्दैन; तिनीहरू भौतिक वस्तुहरू र उच्च गुणस्तरीय जीवनको चाहना पनि राख्छन्। सामान्य मानवतामा जीवन र भौतिक वस्तुहरूप्रति आवश्यकताहरूको यथोचित दायरा हुन्छ: तिनीहरूको दैनिक आवश्यकताहरू, काम र जियाइ परिवेशका आवश्यकताका साथै शारीरिक आवश्यकताहरू पनि हुन्छन्। यी आवश्यकताहरू पूरा भएमा त्यो नै काफी हुन्छ, आफ्नो क्षमता र आर्थिक अवस्थाका आधारमा तिनलाई समायोजन गर्नु केही हदसम्म सामान्य मानिन्छ। तर ख्रीष्टविरोधीहरूको भौतिक वस्तुहरूप्रतिको आवश्यकता र लिप्तता असामान्य र कहिल्यै तृप्त नहुने प्रकारको हुन्छ। कतिपय ख्रीष्टविरोधीहरू विशेषगरी उच्च गुणस्तरीय जीवन पछ्याउँछन्—जब तिनीहरू कुनै अतिथि सत्कारक परिवारमा बस्छन् र त्यहाँको खानामा सबै सामान्य परिकार मात्र हुन्छन्, तब तिनीहरू अलि झर्को मान्छन्। यसका साथै यदि त्यस परिवारका मानिसले सत्यता पछ्याइरहेका छन्, अलिक इमानदार छन्, तिनीहरूलाई मक्ख पार्दैनन्, खुसामद गर्दैनन् वा तिनीहरूले सुन्न चाहेको कुरा भन्दैनन् भने तिनीहरूलाई त्यो कुरा झनै दिक्क लाग्छ र तिनीहरूले सोच्छन्, “मैले कहाँचाहिँ राम्रो खाना खान र ठूलो घरमा बस्न पाउँछु? बस्ने व्यवस्था कसकोमा राम्रो छ? कोसँग गाडी छ र कसले मलाई ठाउँ-ठाउँमा लान र त्यहाँबाट ल्याउन सक्छ ताकि मैले हिँड्न नपरोस्?” तिनीहरू सधैँ यस्ता मामलाहरूको चासो लिइरहेका हुन्छन्। के तिमीहरूका वरिपरि यस्ता मानिसहरू छन्? के तिमीहरू यस्ता व्यक्ति हौ? (यी कुराहरू हाम्रो मानवतामा पनि छन्।) त्यसोभए के तिमीहरूले तिनलाई नियन्त्रणमा राख्न सक्छौ? आराम भोग गर्नु भनेको अतृप्त लोभ जस्तो होइन; आफ्नो कर्तव्य निर्वाहलाई असर नगरी यसलाई संयममा राख्नुपर्छ। यो सामान्य भ्रष्ट मानिसहरूमा हुने मानवता हो। तर ख्रीष्टविरोधीहरूले संयम अभ्यास गर्दैनन्; तिनीहरू अतृप्त र अत्यन्तै लोभ गर्ने बानी भएका हुन्छन्। यस प्रकटीकरणका सम्बन्धमा के तिमीहरूलाई अरू केही थप्नु छ? (परमेश्वर, मैले यसअघि एउटा ख्रीष्टविरोधी देखेको छु। त्यसबखत एक जना दिदीले उसलाई दशवटा भन्दा बढी ज्याकेट किनिदिएकी थिइन्, ती सबै चर्चित ब्रान्डका थिए, त्यस ख्रीष्टविरोधीले तिनलाई पालैपालो लगाई, हरेक पटक बाहिर निस्कँदा नयाँ लगाई। पछि ऊ अगुवा बनी र उसले गाडी किन्नका लागि परमेश्वरका भेटीहरू प्रयोग गरी। एक जनाले त उसलाई पाहुना राख्नकै लागि एउटा राम्रो घरसमेत किनिन्, अनि जब ऊ किनमेल गर्न बाहिर जान्थी, अतिथिसत्कार गर्ने यी दिदी उसकै पछि लाग्थिन्। यदि उसलाई एउटा कपडा मन पर्यो भने उसले औँलाले देखाउने बित्तिकै त्यस दिदीले हतार-हतार उसका लागि त्यो किनिदिन्थिन्। जब ऊ घर फर्कन्थी, उसले अतिथि सत्कार गर्ने परिवारलाई पहिल्यै फोन गर्थी र आफूलाई मःमः खान मन लागेको भन्थी। मःमः पकाउने समय ठ्याक्कै हिसाब गर्नुपर्थ्यो—चाँडो भयो भने चिसो हुन्थ्यो र ढिला भयो भने ऊ घर पुग्दा भोक-भोकै पर्खेर बस्नुपर्थ्यो। ऊ बूढी महारानीझैँ थिई; उसको जीवनशैली अत्यन्तै विलासी थियो। पछि यस ख्रीष्टविरोधी निष्कासित भई।) हेर्, यी मानिसहरू कति अज्ञानी र मूर्ख थिए, तिनीहरूले एउटी ख्रीष्टविरोधीका लागि घर र पारिवारिक गाडी नै किने! ख्रीष्टविरोधीहरू विश्वास गर्छन् कि मानिसहरू यस संसारमा रमाइलो गर्नकै लागि आउँछन्, यदि कोही यी चिजहरूमा रमाइलो गर्दैन भने उसले व्यर्थमा जीवन जिएको हुन्छ। यो नै तिनीहरूको सिद्धान्त र वाद हो। के यो वाद सही हो? यो विशुद्ध रूपमा गैरविश्वासी, पशु र आत्माविहीन मृत मानिसहरूको विचार हो। जो मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र अझै पनि त्यस्ता दृष्टिकोणहरू बोक्छन् तिनीहरू पूर्णतः अविश्वासी र गैरविश्वासीहरू हुन्। यस्ता मानिसहरू एकपटक हैसियत प्राप्त गरेपछि पूर्ण रूपमा ख्रीष्टविरोधी बन्छन् र हैसियतबिना तिनीहरू दुष्ट मानिस हुन्छन्।
झुट बोल्ने बानी, कपट र निर्दयता, सम्मानबोध नहुनु र लाजसरम पचेको हुनु, स्वार्थी र दुष्ट हुनु, शक्तिशालीसँग लपक्क टाँसिनु र कमजोरलाई दमन गर्नु, अनि भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्नु—ख्रीष्टविरोधीहरूको चरित्रका यी विशेषताहरू खाँटी, अत्यन्तै प्रतिनिधि गर्ने र प्रस्ट छन्। यीमध्ये कतिपय प्रकटीकरणहरू साधारण मानिसहरूमा केही हदसम्म देखा पर्न सक्छन्, तर तिनीहरूका प्रकटीकरणहरू भ्रष्ट स्वभाव मात्र हुन् वा शैतानको भ्रष्टताबाट पैदा हुने असामान्य मानवता वा मानवताको कमीका प्रकटीकरणहरू मात्र हुन्। परमेश्वरका वचनहरू पढेर यी मानिसहरूले विवेकको चेतना अनि यी वस्तुहरू छोड्ने र तिनका विरुद्ध विद्रोह गर्ने र पश्चात्ताप गर्ने क्षमता विकास गर्छन्। यी विशेषताले तिनीहरूमा प्रबल भूमिका खेल्दैनन्, र तिनले तिनीहरूको सत्यता पछ्याइलाई वा तिनीहरूका कर्तव्य निर्वाहलाई असर गर्नेछैनन्। ख्रीष्टविरोधीहरूले मात्र चाहे जतिवटा प्रवचन सुने पनि सत्यता स्विकार्न मान्दैनन्। तिनीहरूको मानवतामा अन्तर्निहित प्रवृत्ति र विशेषताहरू बदलिनेछैनन्, त्यही कारणले गर्दा त्यस्ता मानिसहरू परमेश्वरको घरमा निन्दित हुन्छन् र तिनीहरूले कहिल्यै मुक्ति पाउन सक्दैनन्। तिनीहरूले किन मुक्ति पाउन सक्दैनन्? त्यस्तो चरित्र भएका मानिसहरूले मुक्ति पाउन सक्दैनन् किनभने तिनीहरूले सत्यता स्विकार्न मान्दैनन्, तिनीहरू सत्यताप्रति, परमेश्वरप्रति अनि सारा सकारात्मक कुराहरूप्रति शत्रुवत् हुन्छन्। तिनीहरूमा मुक्ति प्राप्त गर्ने अवस्था र मानवता नै हुँदैन, त्यसकारण हटाइनु र नरकमा फालिनु नै यी व्यक्तिहरूको नियति हुन्छ।
डिसेम्बर १२, २०२०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।