जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र परमेश्वरका आत्माले ख्रीष्टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट देह र रगतले बनिनुभएको हुनुहुन्न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्वरत्वले परमेश्वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्टको सार भनेको आत्मा नै हो, जुन ईश्वरत्व हो। त्यसकारण, परमेश्वर स्वयम्को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्नुहुन्न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्वरको सार छ, र परमेश्वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्ट भनी भन्ने, तैपनि परमेश्वरको काम गर्न नसक्नेहरू ठगहरू हुन्। ख्रीष्ट पृथ्वीमा परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्ने देह होइन, तर पृथ्वीमा परमेश्वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्ने देह हो। ढिलो वा चाँडो, ख्रीष्टको नक्कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्वर स्वयम्ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ
पृथ्वीमा ख्रीष्टले परमेश्वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई शरीरमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्न; उहाँको हातद्वारा मानिसलाई डोर्याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्टको शरीरको उद्देश्य परमेश्वर स्वयमको कार्य, अर्थात्, शरीरमा गरिने परमेश्वरको कार्यको लागि हो, तर उहाँको शरीरको स्वभावलाई पूर्ण रूपमा बुझ्न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा शरीरद्वारा प्राप्त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा शरीरमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्न। यसको साथै, शरीरमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्टले शरीरमा परमेश्वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वलाई इन्कार गर्नुहुन्न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो शरीरभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्ट बाहेक, आफूलाई ख्रीष्ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्ने आचरणसँग तुलना गर्दा, शरीरको कुन आचरण साँचो ख्रीष्ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्म झूटा ख्रीष्टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्हरू देखाउन र अचम्मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्टहरूमा परमेश्वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्ट कलङ्कित हुनुहुन्न। शरीरको कार्य गर्नको लागि मात्रै उहाँ शरीर बन्नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो
यदि, वर्तमान दिनका दौरान, चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्चर्यकर्महरू प्रस्तुत गर्न सक्ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। परमेश्वरको काम मानिसका धारणाहरूसँग परस्पर विरोधी छ; उदाहरणको लागि, पुरानो करारले मसीहको आगमनको भविष्यवाणी गर्यो, र यो भविष्यवाणीको नतिजा येशूको आगमन थियो। यो पहिले नै भइसकेकाले, अर्का मसीह फेरि आउनु गलत हुनेथियो। येशू एक पटक पहिले नै आइसक्नु भएकाले, यदि येशू यो पटक फेरि आउनुभयो भने, यो गलत हुनेथियो। प्रत्येक युगको लागि एउटा नाम छ, र हरेक नाममा उक्त युगको चरित्र चित्रण हुन्छ। मानिसका धारणाहरूमा, परमेश्वरले सँधै चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीलाई निको पार्नुपर्छ र भूतप्रेतलाई निकाल्नुपर्छ, र सधैँ येशू जस्तै हुनुपर्छ। तर पनि यस पटक, परमेश्वर यस्तो हुनुहुन्न। यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्वरले चिन्हहरू र अचम्मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आज परमेश्वरको कामलाई बुझ्नु
केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्वर हुँ, म ईश्वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्वर हुनुहुन्न थियो र? के उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्नथ्यो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्वरले मानिसलाई सजाय दिनुहुन्छ-—यी सबै व्यक्त गर्ने तेरो क्षमतादेखि बाहिर छन्। यसैले परमेश्वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्वरको कुरा छ, उहाँ परमेश्वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्वर कहलिन सक्दैनस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (१)
यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्वरका विरुद्धको शत्रुवत् दबाब हो भन्ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्वस्त हुन्छ, र यसका साथसाथै परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्वरको इच्छा, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा विश्वास राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्वरले गर्नुभएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ