00:00 00:00
00:00
00:00

आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्‍वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्‍वरको दिन आएको छ। परमेश्‍वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्‍म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्‍वर स्वयम्‌को युगमा ल्याउनुहुन्छ। परमेश्‍वर स्वयम्‌को युगमा आइपुग्‍नुभन्दा पहिले, परमेश्‍वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानवको अनाज्ञाकारितालाई न्याय गर्नु हो, किनकि परमेश्‍वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले पवित्र पार्नुहुन्छ। यस दिनसम्म परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनेहरू सबै परमेश्‍वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्‍वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्‍वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्‍वरको न्यायको पात्र हुन्छ।

विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा परमेश्‍वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्‍वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू प्रकट गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्‍ने खालका अलौकिक कल्पनाहरूमा विश्‍वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्‍वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल व्यङ्ग्य-चित्रहरू मात्र हुन् र तिनीहरूले परमेश्‍वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्‍वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्‍वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्‍वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्‍वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्‍वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्‍वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्‍वरको न्यायको काम आश्‍चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्‍वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्‍वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्‍वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्‍वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्।

अब हामी हाम्रो बहुमूल्य समयलाई खेर नफालौँ, अनि यी घिनलाग्ने र घृणात्मक कुराहरूका बारेमा कुराकानी गर्दै नगरौँ। बरु हामी न्यायमा के संलग्न छ सो बारेमा कुराकानी गरौँ। “न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई हप्काउन बोल्‍नुभएको वचनहरूका बारेमा सायद तैँले विचार गर्छस् होला। ती वचनहरू कठोर हुँदा-हुँदै पनि, ती मानवका लागि दिइएका परमेश्‍वरका न्यायका वचनहरू होइनन्; ती वचनहरू विभिन्न वातावरणहरूभित्र, अर्थात् विभिन्न सन्दर्भहरूमा परमेश्‍वरले बोल्नुभएको थियो। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई न्याय गर्नुहुँदा उहाँले बोल्नुहुने वचनहरू यी वचनहरूभन्दा भिन्न छन्। आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव आश्वस्त रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरको इच्छा खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा कुनै पनि मानवले यो गर्न सक्दैन। मानवजातिलाई जित्नका लागि न्यायचाहिँ सत्यताको प्रयोग भएको हुनाले, मानवका बीचका यस किसिमको काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी रूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। त्यसो भन्नुको अर्थचाहिँ, आखिरी दिनहरूका ख्रीष्टले, सारा संसारभरिका मानिसहरूलाई सिकाउन यो सत्यता प्रयोग गर्नुहुनेछ र तिनीहरूलाई सबै सत्यताहरू प्रकट गरिदिनुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका बारेमा धेरै व्यक्तिहरूमा खराब अनुभूति छन्, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुन्छ भन्‍ने कुरा विश्‍वास गर्न धेरै मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम प्राय मानवका अपेक्षाहरूभन्दा धेरै पर हुन्छन्, र यसलाई स्वीकार गर्नका लागि मानव मनलाई कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीका कीराहरू मात्र हुन्, र परमेश्‍वरचाहिँ विश्‍वलाई भर्नुहुने सर्वोच्च व्यक्ति हुनुहुन्छ; मानवको मन फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कार्यको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग झगडा गर्ने कोसिस गर्छन्, र अन्त्यमा कसले हार्नेछ भन्‍ने कुरा स्वयं सिद्ध छ भनी म भन्छु। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूहरूले सत्यताको सामु आफ्ना शिरहरू निहुर्याउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको रोक्नै नसकिने गति छ। तैँले दिएको “योगदान” को कारणले गर्दा मात्रै उहाँले न्यायको कार्यलाई फेरि दोहोर्याउनुहुने छैन, र अनि यति असल अवसरलाई गुमाउनु परेकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, तँमाथि न्याय आउनका लागि आकाशको ठूलो सेतो सिंहासनको निम्ति पर्खी! सबै इस्राएलीहरूले येशूलाई निन्दा र इन्कार गरेका कुरा तँलाई थाहा हुनैपर्छ, र पनि सबै मानवजातिका निम्ति भएको येशूको उद्धारको यथार्थ सारा विश्‍वभरि र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के परमेश्‍वरले धेरै पहिले बनाउनुभएको यथार्थ यो होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको ठुटाजस्तो[क] हठी छस् भनी म भन्दछु। येशूले तँजस्ता सत्यप्रति निष्ठा नभएका र आशिषमात्र खोज्ने झूटा विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। बरु, लाखौँ वर्षसम्म आगोको कुण्डमा जलिरहन उहाँले तँलाई त्यहाँ फाल्दा कुनै कृपा देखाउनुहुनेछैन।

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। सेवा गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानवलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका दुष्ट कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको सेवा गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको शुद्धीकरण हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू अविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

फूटनोट:

क. काठको ठुटा: चिनियाँ टुक्‍का, जसको अर्थ “कामै नलाग्‍ने” भन्‍ने हुन्छ।

थप पढ्नुहोस्

थप शीर्षकहरू