देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु। अविश्‍वासीहरू यसबारे पूर्ण रूपमा अनभिज्ञ छन्। तिमीहरूमाझको मेरो काम बाहिरियाहरूका लागि बन्द छ। यी वचनहरू, यी सजाय र न्यायहरू, तिमीहरूलाई मात्र थाहा छ, अरू कसैलाई थाहा छैन। यी सबै काम तिमीहरूको बीचमा गरिन्छ र तिमीहरूकै निम्ति मात्र अनावरण गरिन्छ; अविश्‍वासीहरू कसैलाई पनि यो कुरा थाहा छैन, किनकि समय अझै आइपुगिसकेको छैन। यहाँका यी मानिसहरू सजाय सहेपछि पूर्ण पारिइन लागेका छन्, तर बाहिरियाहरूलाई यसबारे केही पनि थाहा छैन। यो काम अत्यन्तै गुप्त रहेको छ! उनीहरूका लागि, देहधारी परमेश्‍वर गुप्त रहनुभएको छ, तर यस प्रवाहमा हुनेहरूका लागि भने उहाँ खुला हुनुहुन्छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरमा भएका सबै कुरा खुला छन्, सबै प्रकट भएका छन, र सबै स्वतन्त्र पारिएका छन्, तैपनि यो कुरा उहाँमा विश्‍वास गर्नेहरूका लागि मात्र सत्य छ; जहाँसम्म बाँकी मानिसहरू, अर्थात् अविश्‍वासीहरूको कुरा छ, उनीहरूलाई केही पनि थाहा दिइएको छैन। अहिले तिमीहरूको बीचमा र चीनमा भइरहेको काम तिनीहरूलाई थाहा नदिनका निम्ति कडाइका साथ ढोका बन्द गरिएको छ। यदि उनीहरूले यस कामको बारेमा थाहा पाए भने, उनीहरूले यसलाई निन्दा गर्नेछन् र सतावटमा पार्नेछन्। उनीहरूले यसमा विश्‍वास गर्नेथिएनन्। ठूलो रातो अजिङ्गरको देशमा, यो सबैभन्दा पछौटे स्थानमा काम गर्नु सजिलो छैन। यदि यो कामलाई खुला गरिएको भए, यसलाई अगाडि बढाउन असम्भव हुनेथियो। कामको यो चरण यस ठाउँमा पूरा गर्न सकिँदै सकिँदैन। यदि यो काम खुला रूपमा गरिएको भए, उनीहरूले यसलाई कसरी अगाडि बढ्न दिन सक्थे र? के त्यसले कामलाई अझ बढी जोखिममा पार्नेथिएन र? यदि यो काम लुकाएर नगरिएको भए, येशूको समयमा जस्तो उहाँले आश्‍चर्यजनक रूपमा बिरामीहरूलाई निको पारेको र दुष्टात्मा धपाएको जस्तै गरी गरिएको भए, के धेरै पहिले नै यो काम दियाबलसहरूद्वारा “कब्जा गरिएको” हुनेथिएन र? के उनीहरूले परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्‍नेथिए र? यदि त्यति बेला मैले सभाघरहरूमा पसेर मानिसहरूलाई प्रचार गर्थेँ र प्रवचन सुनाउँथेँ भने, के म धेरै पहिले नै टुक्रा-टुक्रा पारिइसकेको हुनेथिइनँ र? यदि त्यस्तो हुन्थ्यो भने, मेरो काम कसरी भइरहन सक्थ्यो र? खुल्लमखुल्ला कुनै चिन्ह र चमत्कारहरू प्रकट नगरिनुको कारण यसलाई लुकाउनका लागि नै हो। यसैले, अविश्‍वासीहरूले मेरो काम देख्‍न, जान्‍न, वा थाहा पाउन सक्दैनन्। यदि यो चरणको काम पनि अनुग्रहको युगमा येशूको जस्तै गरी गरिएको भए, यो अहिले जति स्थिर छ त्यति स्थिर हुन सक्दैनथियो। यसैले, यस तरिकाले गोप्य रूपमा काम गर्नु तिमीहरूका लागि र सम्पूर्ण कामका लागि फाइदाजनक छ। जब पृथ्वीमा परमेश्‍वरको काम समाप्त हुन्छ, अर्थात् जब यो गुप्त कार्य समाप्त हुन्छ, तब कामको यो चरण खुला रूपमा विस्फोट हुनेछ। चीनमा विजेताहरूको एउटा समूह छ भनी सबैले थाहा पाउनेछन्; र परमेश्‍वर चीनमा देहधारी हुनुभएको छ र उहाँको काम समाप्त भएको छ भनी सबैले थाहा पाउनेछन्। त्‍यसपछि मात्रै मानिसले यो कुरा देख्‍नेछ: चीनमा अझै पनि किन ह्रास वा पतन देखिन बाँकी छ? के देखिन्छ भने, परमेश्‍वरले चीनमा व्यक्तिगत रूपमा आफ्नो काम गरिरहनुभएको छ र मानिसहरूको एउटा समूहलाई सिद्ध पारी विजेताहरू बनाउनुभएको छ।

परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेलामा, देहधारी परमेश्‍वरले उहाँको पछि लाग्‍ने केही मानिसहरूको अगाडि मात्र आफैलाई प्रकट गर्नुहुन्छ, सबै प्राणीहरूको अगाडि होइन। उहाँ केवल आफ्नो कामको एक चरण पूरा गर्न मात्र देह बन्‍नुभयो, मानिसलाई आफ्नो स्वरूप देखाउनका निम्ति होइन। यद्यपि उहाँको काम उहाँ आफैले गर्नुपर्छ, त्यसैले उहाँले देहमा नै त्यो काम गर्नु आवश्यक छ। जब यो काम समाप्त हुन्छ, उहाँ मानव संसारबाट प्रस्थान गर्नुहुनेछ; उहाँ आउने कामको बाटोमा खडा हुने डरले मानवजातिबीच लामो समयसम्म बस्‍न सक्‍नुहुन्‍न। उहाँले भीडलाई उहाँको धर्मी स्वभाव र उहाँका सबै कामहरू मात्र देखाउनुभएको छ, र उहाँ दुईपटक देह बन्‍नुभएको स्वरूप देखाउनुभएको छैन, किनकि परमेश्‍वरको स्वरूपलाई उहाँको स्वभावद्वारा मात्र देखाउन सकिन्छ, र उहाँको देहधारी शरीरले त्यसको स्थान लिन सक्दैन। उहाँको देहको स्वरूप सीमित मानिसहरूलाई मात्र देखाइन्छ, उहाँले देहमा काम गर्नुहुँदा उहाँको पछि लाग्‍नेहरूलाई मात्र देखाइन्छ। यसैले, अहिले भइरहेको काम गोप्य रूपमा गरिन्छ। त्यसरी नै, जब येशूले आफ्नो काम गर्नुभयो, तब उहाँले आफूलाई यहूदीकहाँ मात्र देखाउनुभयो, र अरू कुनै पनि जातिको सामु आफैलाई खुल्लमखुल्ला कहिल्यै देखाउनुभएन। यसरी, उहाँले आफ्नो काम सिध्याइसक्‍नुभएपछि, उहाँ मानिसको संसारबाट तुरुन्तै जानुभयो र त्यहाँ बसिरहनुभएन; पछि, आफैलाई प्रकट गर्नुहुने उहाँ, मानिसको स्वरूप हुनुहुन्‍न थियो, तर पवित्र आत्मा हुनुहुन्थ्यो, जसले प्रत्यक्ष रूपमा काम गर्नुभयो। जब देहधारी परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, उहाँ मरणशील संसारबाट जानुहुन्छ, र उहाँले देहमा हुँदा जुन काम गर्नुभयो त्यो काम फेरि कहिल्यै गर्नुहुनेछैन। त्यसपछि, सबै काम पवित्र आत्माले नै प्रत्यक्ष रूपमा गर्नुहुनेछ। यस अवधिमा, मानिसले उहाँको शारीरिक स्वरूपलाई मुस्किलले मात्रै देख्‍न सक्छ; उहाँले आफूलाई मानिससामु कुनै पनि हालतमा देखाउनुहुन्‍न, सदासर्वदाका लागि गुप्त रहनुहुन्छ। देहधारी परमेश्‍वरको कामको समय सीमित छ। यो एक निश्चित युग, अवधि, जाति र विशेष मानिसहरूमाझ पूरा गरिन्छ। यो कामले केवल परमेश्‍वरले देहधारण गर्नुभएको अवधिमा गरिएको कार्यलाई मात्रै प्रतिनिधित्व गर्छ; यसले एउटा युगको प्रतिनिधित्व गर्छ, र यसले एक विशेष युगमा परमेश्‍वरका आत्माको कामलाई प्रतिनिधित्व गर्छ, र उहाँको सम्पूर्ण कार्यलाई होइन। त्यसैले, देहधारी परमेश्‍वरको स्वरूप सबै मानिसलाई देखाइनेछैन। भीडलाई जे देखाइन्छ त्यो उहाँ दुईचोटि देह बन्‍नुहुँदाको उहाँको स्वरूप होइन, बरु परमेश्‍वरको धार्मिकता र उहाँको सम्पूर्ण स्वभाव हो। मानिसलाई देखाइएको यो स्वरूप एउटै र एकलो स्वरूप होइन, न त दुईवटा मिश्रित स्वरूपहरू नै हो। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरले आफूले गर्नुपर्ने काम पूरा गरेपछि यस पृथ्वीबाट प्रस्थान गर्नु अनिवार्य छ, किनकि उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्र आउनुहुन्छ, मानिसहरूलाई आफ्नो स्वरूप देखाउन होइन। देहधारणको महत्त्वलाई परमेश्‍वरले दुईपटक देह बनेर पूरा गरिसक्‍नुभएको छ, तापनि उहाँलाई यसअघि कहिल्यै नदेख्‍ने कुनै पनि जातिको सामु उहाँले आफूलाई खुल्लमखुल्ला प्रकट गर्नुहुनेछैन। येशू फेरि कहिल्यै पनि आफूलाई धार्मिकताको सूर्यको रूपमा यहूदीहरूसामु देखा पर्नुहुनेछैन, न त उहाँ जैतून डाँडाको टुप्‍पामा खडा भएर सबै मानिसहरूको सामु देखा नै पर्नुहुनेछ; यहूदीहरूले येशू यहूदियामा हुनुहुँदाको अवधिमा जे देखे त्यो उहाँको चित्र मात्र हो। किनकि येशूले उहाँको देहधारणमा गर्नुभएको काम दुई हजार वर्षअघि नै समाप्त भयो; उहाँ एक यहूदीको रूपमा यहूदियामा फर्कनुहुनेछैन, उहाँले आफैलाई कुनै पनि अन्यजातिका मानिसहरूकहाँ प्रकट गर्नुहुनेछ भन्‍ने कुरा त कल्पनै नगरौं, किनकि देहधारी येशूको स्वरूप एक यहूदीको स्वरूप मात्र हो, र यूहन्‍नाले देखेका मानिसको पुत्रको स्वरूप होइन। येशूले आफ्ना चेलाहरूलाई उहाँ फेरि आउनुहुनेछ भनेर प्रतिज्ञा गर्नुभए पनि उहाँले आफैलाई ती सबै अन्यजाति राष्ट्रहरूमा एक यहूदीको रूपमा प्रकट गर्नुहुनेछैन। देहधारी परमेश्‍वरको काम एउटा युग सुरु गर्नु हो भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यो काम केही वर्षहरूमा सीमित हुन्छ, र उहाँले परमेश्‍वरका आत्माका सबै काम पूरा गर्न सक्‍नुहुन्‍न, जसरी एक यहूदीको रूपमा रहेको येशूको स्वरूपले केवल उहाँले यहूदियामा काम गर्नुहुँदाको परमेश्‍वरको स्वरूपलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र उहाँले क्रूसमा टाँगिने काम मात्र गर्न सक्‍नुहुन्थ्यो। येशू देहमा हुनुभएको अवधिमा, उहाँले युगलाई अन्त्य गर्ने वा मानव जातिलाई नाश पार्ने काम गर्न सक्‍नुभएन। त्यसकारण, उहाँ क्रूसमा टाँगिनुभएपछि र आफ्नो कामलाई निष्कर्षमा पुऱ्याउनुभएपछि, उहाँ सर्वोच्‍च उचाइमा चढिजानुभयो र सधैँभरिका लागि आफूलाई मानिसबाट लुकाउनुभयो। त्यस बेलादेखि यता, अन्यजाति देशहरूका विश्‍वासयोग्य विश्‍वासीहरू प्रभु येशूको प्रकटीकरण देख्‍न असमर्थ रहे, तिनीहरूले भित्तामा टाँसेका उहाँको तस्विरलाई मात्रै देख्‍न सके। यो चित्र मानिसले बनाएको चित्र मात्रै हो, र त्यो परमेश्‍वरले आफैलाई मानिसकहाँ देखाउनुभएको स्वरूप होइन। परमेश्‍वरले आफैलाई उहाँले दुईचोटि देहधारण गर्नुभएको स्वरूपमा खुल्लमखुल्ला भीडहरूको सामु प्रकट गर्नुहुनेछैन। उहाँले मानवजातिको बीचमा गर्नुहुने काम उनीहरूलाई उहाँको स्वभाव बुझ्ने मौका दिनको लागि हो। यी सबै कुरा मानिसलाई विभिन्‍न युगहरूको कामद्वारा देखाइन्छ; यो येशूको स्वरूप प्रकटीकरणद्वारा नभई उहाँले प्रकट गर्नुभएको स्वभाव र उहाँले गर्नुभएका कामद्वारा पूरा हुन्छ। यो भनेको के हो भने, मानिसको निम्ति परमेश्‍वरको स्वरूपलाई देहधारी स्वरूपद्वारा नभई, स्वरूप र रूप दुवै हुने देहधारी परमेश्‍वरले गर्नुभएको कामद्वारा चिनाइन्छ, र उहाँको कामद्वारा, उहाँको स्वरूप देखाइन्छ र उहाँको स्वभावलाई प्रकट गरिन्छ। उहाँले देहमा गर्न चाहनुभएको कामको महत्त्व यही हो।

जब परमेश्‍वरका दुईवटा देहधारणका काम समाप्त हुन्छ, तब उहाँले अविश्‍वासीहरूका सबै राष्ट्रहरूभरि आफ्नो धार्मिक स्वभाव देखाउन सुरु गर्नुहुनेछ, र भीडलाई उहाँको स्वरूप देख्‍न दिनुहुनेछ। उहाँले आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यस माध्यमद्वारा मानिसका विभिन्‍न वर्गहरूको अन्त्य भएको स्पष्ट पार्नुहुनेछ, र यसरी पुरानो युगलाई पूर्ण रूपमा अन्त्य गर्नुहुनेछ। उहाँले देहमा गर्नुभएको काम धेरै क्षेत्रमा भएन (जसरी येशूले यहूदियामा मात्रै काम गर्नुभयो, र आज म केवल तिमीहरूको बीचमा काम गर्छु) किनकि देहमा उहाँले गर्नुहुने कामहरूको सीमा र हदहरू छन्। उहाँले एक साधारण र सामान्य मानिसको स्वरूपमा छोटो समयका निम्ति काम गर्दै हुनुहुन्छ; उहाँले अनन्तको काम गर्न वा अविश्‍वासी राष्ट्रका मानिसहरूको सामु देखा पर्न देहधारी शरीरको प्रयोग गरिरहनुभएको छैन। देहको काम क्षेत्रमा सीमित मात्र हुन सक्छ (जस्तै केवल यहूदियामा वा केवल तिमीहरूका बीचमा मात्रै काम गर्नु), त्यसपछि, यी सीमाहरूभित्र गरिएको कामद्वारा यसको दायरा विस्तार गर्न सकिन्छ। निश्चय नै, विस्तारको काम सीधै उहाँका आत्माद्वारा गरिन्छ, त्यसपछि यो काम अबउप्रान्त उहाँको देहधारी शरीरको काम हुनेछैन। किनकि देहको कामका सीमाहरू हुन्छन् र त्यो ब्रह्माण्डका सबै कुनासम्म फैलन सक्दैन—यसले यस्तो उपलब्धि हासिल गर्न सक्दैन। देहमा गरिने कामद्वारा, उहाँका आत्माले त्यसपछिको काम गर्नुहुन्छ। त्यसकारण, देहमा गरिएको काम उद्‍घाटन प्रकृतिको हुन्छ, जुन निश्चित सीमाहरूभित्र गरिन्छ; त्यसपछि, उहाँका आत्माले यो काम अगाडि बढाउनुहुन्छ, र उहाँले विस्तारित क्षेत्रमा त्यो काम गर्नुहुन्छ।

परमेश्‍वर युगलाई डोऱ्याउनको लागि मात्रै पृथ्वीमा काम गर्न आउनुहुन्छ; उहाँले एउटा नयाँ युग सुरु गर्ने र पुरानो युगलाई समाप्त गर्ने मात्र अभिप्राय राख्‍नुहुन्छ। उहाँ पृथ्वीमा कुनै मानिसको जीवन बिताउन, मानव संसारको जीवनको आनन्द र दुःखहरू आफै अनुभव गर्न, वा आफ्‍नै हातद्वारा कुनै निश्चित व्यक्तिलाई सिद्ध बनाउन वा कुनै व्यक्ति बढ्दै गएको व्यक्तिगत रूपमा हेर्न आउनुभएको होइन। यो उहाँको काम होइन; उहाँको काम भनेको नयाँ युगलाई सुरु गर्नु र पुरानोलाई अन्त्य गर्नु मात्रै हो। अर्थात्, उहाँले व्यक्तिगत रूपमा एउटा युगको सुरु गर्नुहुनेछ, व्यक्तिगत रूपमा अर्कोलाई अन्त्य गर्नुहुन्छ, र व्यक्तिगत रूपले आफ्नो काम गरी शैतानलाई पराजित गर्नुहुनेछ। प्रत्येकचोटि जब उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्नुहुन्छ, तब त्यो उहाँले युद्धको मैदानमा खुट्टा टेक्‍नुभएको जस्तो हुन्छ। सर्वप्रथम, देहमा हुँदा उहाँले संसारलाई परास्त गर्नुहुन्छ र शैतानमाथि विजयी बन्‍नुहुन्छ। उहाँले सम्पूर्ण महिमा लिनुहुन्छ र दुई हजार वर्षको सम्पूर्ण कामको पर्दा उठाउनुहुन्छ, जसले गर्दा पृथ्वीमा सबै मानिसले हिँड्ने सही मार्ग र जिउनका निम्ति शान्ति र आनन्दको जीवन पाउन सक्छन्। तापनि, परमेश्‍वर मानिससँग लामो समयसम्म यस संसारमा बस्‍न सक्‍नुहुन्‍न, किनकि परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, र जे भए पनि मानिसजस्तो हुनुहुन्‍न। उहाँले सामान्य व्यक्तिको जीवनकाल बाँच्न सक्‍नुहुन्‍न, अर्थात् उहाँ पृथ्वीमा त्यस्तो व्यक्तिको रूपमा वास गर्न सक्‍नुहुन्‍न, जो कुनै विशेष व्यक्ति होइन, किनकि उहाँसँग आफ्नो मानव जीवन थेग्‍नका निम्ति सामान्य व्यक्तिको सामान्य मानवताको थोरै मात्र अंश छ। अर्को शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले कसरी पृथ्वीमा एउटा परिवार सुरु गर्न, वृत्ति विकास गर्न र छोराछोरीहरूलाई हुर्काउन सक्‍नुहुन्छ? के त्यो उहाँको बदनाम हुनेछैन र? सामान्य रूपले काम गर्न दिने उद्देश्यले मात्र उहाँलाई सामान्य मानवता प्रदान गरिएको हो, एक सामान्य मानिसले जस्तो परिवार सुरु गर्न र वृत्ति विकास गर्न सक्षम पार्नको लागि होइन। उहाँको सामान्य चेतना, सामान्य दिमाग र सामान्य भोजन र उहाँको देहको बस्‍त्र नै उहाँसँग सामान्य मानवता छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो; उहाँसँग सामान्य मानवता छ भनी प्रमाणित गर्नको लागि उहाँले परिवार सुरु गर्न वा वृत्ति विकास गर्न आवश्यक छैन। यो पूर्ण रूपमा अनावश्यक हुनेथियो! परमेश्‍वर पृथ्वीमा आउनु भनेको वचन देहधारी हुनु हो; उहाँले मानिसलाई उहाँको वचन बुझ्‍न र उहाँको वचन हेर्न दिइरहनुभएको छ, अर्थात् देहले गरेको काम मानिसलाई हेर्न दिइरहनुभएको छ। मानिसहरूले उहाँको देहलाई कुनै खास तरिकाले व्यवहार गरून् भन्‍ने होइन, बरु मानिसले आखिरीसम्म आज्ञापालन गरोस्, अर्थात् उहाँको मुखबाट निस्केका सबै वचन पालन गरोस्, र उहाँले गर्नुहुने सबै काममा समर्पित होस् भन्‍ने उहाँको उद्देश्य हो। उहाँले देहमा रही केवल काम गरिरहनुभएको छ; उहाँले जानाजानी मानिसलाई उहाँको देहको महानता र पवित्रताको बढाइ गर्न भनिरहनुभएको छैन, बरु उहाँले मानिसलाई उहाँको कामको ज्ञान-बुद्धि र उहाँको सम्पूर्ण अख्तियार देखाउँदै हुनुहुन्छ। त्यसकारण, उहाँसित उत्कृष्ट मानवता भए पनि उहाँले कुनै घोषणा गर्नुहुन्‍न, उहाँले गर्नुपर्ने काममा मात्र ध्यान केन्द्रित गर्नुहुन्छ। परमेश्‍वर किन देहधारी हुनुभयो तर पनि उहाँले आफ्नो सामान्य मानवताको किन प्रचार गर्नुहुन्‍न वा गवाही दिनुहुन्‍न, केवल आफूले गर्न चाहनुभएको काम मात्र गर्नुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। त्यसकारण, तिमीहरूले देहधारी परमेश्‍वरबाट देख्‍न सक्‍ने भनेको उहाँ ईश्‍वरीय रूपमा जो हुनुहुन्छ त्यही मात्र हो; यसको कारण के हो भने मानिसले अनुकरण गर्न सकोस् भनेर उहाँले उहाँ मानिसको रूपमा जे हुनुहुन्छ सो कहिल्यै पनि घोषणा गर्नुहुन्‍न। जब मानिसले मानिसहरूलाई डोऱ्याउँछ तब मात्र उसले प्रशंसा र सङ्कल्‍प प्राप्त गर्दै अरूको नेतृत्व प्राप्त गर्नको लागि मानिसको रूपमा ऊ को हो भनी बताउँछ। यसको विपरीत, परमेश्‍वरले उहाँको कामद्वारा मात्रै मानिसलाई जित्‍नुहुन्छ (अर्थात् मानिसले प्राप्त गर्न नसक्‍ने काम); उहाँलाई कुनै मानिसले प्रशंसा गर्नु वा उहाँले मानिसलाई उहाँको श्रद्धा गर्ने बनाउनुको कुनै अर्थ छैन। उहाँले मानिसभित्र उहाँप्रति श्रद्धाको भाव वा उहाँको अथाहपनको भाव मात्रै स्थापित गरिदिनुहुन्छ। परमेश्‍वरले मानिसलाई प्रभावित पारिरहनुको कुनै आवश्यकता छैन; तैँले उहाँको स्वभाव देखेपछि उहाँलाई आदर गरिस् भने उहाँलाई पुग्छ। परमेश्‍वरले गर्नुहुने काम उहाँकै हो; मानिसले उहाँको सट्टामा यो काम गर्न सक्दैन, न त मानिसले यसलाई प्राप्त नै गर्न सक्छ। परमेश्‍वरले मात्रै आफ्‍नो काम आफै गरेर मानिसलाई नयाँ जीवनमा लैजानका निम्ति नयाँ युगको प्रारम्भ गर्नुहुन्छ। उहाँले गर्नुहुने काम भनेको मानिसलाई नयाँ जीवन धारण गर्न र नयाँ युगमा प्रवेश गर्न सक्‍ने तुल्याउनु हो। बाँकी काम सामान्य मानवता भएका ती व्यक्तिहरूलाई सुम्पिइएको छ, जसलाई अरूले इज्‍जत गर्छन्। त्यसकारण, अनुग्रहको युगमा, उहाँले दुई हजार वर्षको काम आफ्नो तेत्तीस वर्षको देहबाट मात्र साढे तीन वर्षमा पूरा गर्नुभयो। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम पूरा गर्न आउनुहुन्छ, उहाँले जहिले पनि केही वर्षको छोटो अवधिभित्र दुई हजार वर्षको वा एउटा सम्पूर्ण युगको काम पूरा गर्नुहुन्छ। उहाँ रोकिनुहुन्‍न, र उहाँले ढिलाइ गर्नुहुन्‍न; धेरै वर्षको काम केही वर्षभित्रै पूरा होस् भनेर उहाँले केवल त्यसलाई छोट्याउनुहुन्छ। यसको कारण के हो भने, उहाँले व्यक्तिगत रूपमा जुन काम गर्नुहुन्छ त्यो पूर्ण रूपमा नयाँ बाटो खोल्न र नयाँ युगतिर डोऱ्याउनका निम्ति हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्