३. परमेश्‍वरको नामको सत्यता सम्बन्धमा

१. केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ भनी निश्‍चय गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

— वचन देहमा देखा पर्नुहुन्छको “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट उद्धृत गरिएको

२. सुरुमा परमेश्‍वरको कुनै नाउँ थिएन भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के त्यसको निर्णय गर्न उहाँलाई तेरो, अर्थात् उहाँको सृष्टिको आवश्यकता पर्छ? परमेश्‍वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्‍ने अनुसार छ, तर यो नाउँ कुनै यस्तो कुरा होइन जुन मानिसले उछिन्‍न सक्छ!

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

३. परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँले त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ, जसको क्षणिक महत्त्व हुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्‍वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

४. के येशूको “परमेश्‍वर हामीसँग” भन्ने नाउँले परमेश्‍वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्‍वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्‍वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्‍वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्‍वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्‍वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्‍वर हामीसँग हुनुहुन्छ भन्‍ने नाउँले मात्र पूर्ण रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्‍वास गर्छस्? परमेश्‍वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्‍वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्‍वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्‍वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्‍वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्‍वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्‍वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, सम्मानित, अचम्मका, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान र यस्तै अन्य। धेरै वटा शब्दहरू! यो सीमित शब्दावलीले मानिसले परमेश्‍वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्‍ने तिनीहरूले ठानेका थिए: परमेश्‍वर अति महान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। यसैले, मानिसका निम्ति परमेश्‍वरका नाउँ धेरै छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्‍वरको अस्तित्व प्रशस्त भएकोले र मानिसको भाषा अति दुर्बल भएको गर्दा यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँमा सम्पूर्ण रूपले परमेश्‍वरको प्रतिनिधित्व गर्ने क्षमता हुँदैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्‍ने सोच्छस्? उहाँ यति महान् र अति पवित्र हुनुहुन्छ, तापनि तैँले उहाँलाई प्रत्येक नयाँ युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

५. प्रत्येक युगमा परमेश्‍वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्‍ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्‍वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्‍वरलाई यहोवा भन्नुबाहेक अरू अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्‍वर होइन। वा अन्यथा परमेश्‍वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्‍वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्‍वर पनि परमेश्‍वर हुनुहुन्न। मानिसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनी विश्‍वास गर्दछ, तर परमेश्‍वर, परमेश्‍वर हुनुहुन्छ, जो मानिससँग हुनुहुन्छ, र उहाँलाई येशू भन्नुपर्छ, किनकि परमेश्‍वर मानिससँग हुनुहुन्छ। यसो गर्नु भनेको सिद्धान्त अनुरूप हुनु, र परमेश्‍वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्‍वरले गर्नुहुने काम, जुन नाउँद्वारा उहाँ बोलाइनुहुन्छ, र उहाँले धारण गर्नुभएको स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—ती सबैले एउटै मात्र नियम पालन गर्दैनन्, र कुनै पनि प्रकारको सीमामा बाँधिएका छैनन्। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्‍वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

६. प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

७. येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्‍यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्‍यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका आत्माको काम थिए। … उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्‍वरलाई एउटा नाउँले बोलाइन्छ, उहाँले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ, र नयाँ मार्ग सुरु गर्नुहुन्छ; र हरेक नयाँ मार्गमा, उहाँले नयाँ नाउँ धारण गर्नुहुन्छ, जसले परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने देखाउँदछ, र उहाँको काम कहिल्यै अगाडि बढ्नुबाट रोकिँदैन। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा पुर्‍याउनको लागि त्यो अगाडिको दिशामा बढिरहनुपर्छ। प्रत्येक दिन उहाँले नयाँ काम गर्नुपर्दछ, प्रत्येक वर्ष उहाँले नयाँ काम गर्नुपर्दछ; उहाँले नयाँ मार्गहरू सुरु गर्नुपर्दछ, नयाँ युगहरू सुरु गर्नुपर्दछ, नयाँ र अझ ठूलो काम सुरु गर्नुपर्दछ, र ती सँगसँगै नयाँ नाउँहरू र नयाँ काम ल्याउँदछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

८. मैले इस्राएलमा मेरो काम गर्दा “यहोवा” नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले मानिसलाई टिठ्याउनुहुन्छ, मानिसलाई सराप दिनुहुन्छ, मानिसको जीवनको मार्गदर्शन गर्नुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। … यसको तात्पर्य, यहोवा मात्र इस्राएलका चुनिएका मानिसहरूको परमेश्‍वर, अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, याकूबका परमेश्‍वर, मोशाका परमेश्‍वर र इस्राएलका सारा मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हालको युगमा, यहूदी मानिसहरू बाहेक सारा इस्राएलीहरूले यहोवाको आराधना गर्छन्। तिनीहरूले उहाँलाई वेदीमा बलि चढाउँछन् र पूजाहारीको पोसाक लगाएर मन्दिरमा उहाँको सेवा गर्छन्। तिनीहरूले आशा गर्ने कुराचाहिँ यहोवाको पुर्नउदय हो। … यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। कामको हरेक युग र हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। “यहोवा” ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्‍वरलाई बोलाउने आदरार्थी नाम हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट उद्धृत गरिएको

९. व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१०. यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

११. अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्‍वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१२. “येशू” इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। … येशू मात्र मानवजातिको उद्धारक हुनुहुन्छ, र उहाँ मानवजातिलाई पापबाट उद्धार गर्ने पापबलि हुनुहुन्छ। जसको तात्पर्य, येशूको नाउँ अनुग्रहको युगबाट आयो र अनुग्रहको युगमा उद्धारको कामको कारणले अस्तित्वमा आयो। येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। …“येशू” ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा उद्धार पाएकाहरू सबैका परमेश्‍वरको नाउँ हो।

— वचन देहमा देखा पर्नुहुन्छको “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट उद्धृत गरिएको

१३. अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र त्यो अनुग्रह, प्रेम, करुणा, सहनशीलता, धैर्यता, नम्रता, वास्ता, सहिष्णुता थियो र उहाँले गर्नुभएका धेरै वटा काम मानिसको छुटकाराको लागि नै थियो। उहाँको स्वभाव करुणा र प्रेमको स्वभाव थियो, र उहाँ करुणामय र प्रेमिलो हुनुभएकोले उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्‍यो, अनि परमेश्‍वरले मानिस आफैलाई जस्तो प्रेम गर्नुहुन्छ भनी देखाउन त्यसो गर्नुभयो, यहाँसम्म कि उहाँले आफैले पूर्णरूपमा अर्पण गर्नुभयो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको नाम येशू थियो, अर्थात्, परमेश्‍वर मानिसलाई मुक्ति दिने परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ एक करुणामय र प्रेमिलो परमेश्‍वर हुनुहुन्थ्यो। परमेश्‍वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको करुणा र उहाँको उद्धारले प्रत्येक व्यक्तिलाई समेटेको थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्‍वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्‍वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१४. यहोवा, येशू, र मसीह सबैले मेरो आत्माको प्रतिनिधित्व गर्ने भए पनि, यी नाउँहरूले मेरो व्यवस्थापन योजनाको विभिन्न युगहरूलाई सूचित गर्छन्, र समग्र रूपमा मेरो प्रतिनिधित्व गर्दैनन्। पृथ्वीका मानिसहरूले मलाई पुकार्ने नाउँहरूले मेरो समग्र स्वभाव र म जे छु सो सारा कुरालाई व्यक्त गर्न सक्दैनन्। तिनीहरू विभिन्न युगहरूको अवधिमा मलाई पुकारिने विभिन्न नाउँहरू मात्र हुन्। त्यसैले जब अन्तिम युग—आखिरी दिनहरूको युग—आउँछ, मेरो नाउँ फेरि बदलिनेछ। मसीह भन्नु त छोडिदिऊँ, मलाई यहोवा वा येशू पनि भनिनेछैन—मलाई शक्तिशाली सर्वशक्तिमान परमेश्‍वर स्वयम्‌ भनिनेछ, र म यही नाउँमा समग्र युगको अन्त ल्याउनेछु। म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ।

— वचन देहमा देखा पर्नुहुन्छको “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट उद्धृत गरिएको

१५. राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले सम्‍भव भएको कुनै पनि उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोज्दै, परमेश्‍वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै यो पवित्र नाउँ पुकारिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ८” बाट उद्धृत गरिएको

१६. संसारका सबैले म वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुँ भनी देखून्। सबै मानिसहरू पूर्ण रूपमा विश्‍वस्त हुन्छन् र कसैले पनि फेरि मेरो प्रतिरोध गर्दैनन्, न त मेरो आलोचना गर्ने वा मेरो निन्दा गर्ने आँट नै गर्छन्। होइन भने, तिनीहरूमाथि तत्कालै श्राप आइपर्छ, र तिनीहरूमाथि विपत्ति खस्छ। तिनीहरूले तिनीहरूको आफ्नै विनाश ल्याएकोमा रुन र दाह्रा किट्न मात्र सक्नेछन्।

सबै मानिसहरूले जानून्, ब्रह्माण्ड र पृथ्वीको छेउहरूसम्म, हरेक घर-परिवारमा, र सबै मानिसहरूले यो जानून्: सर्वशक्तिमान्‌ परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। सबै जनाले, एक-एक गरी घुँडा टेक्नेछन् र मेरो आराधना गर्नेछन्, र भर्खरै बोल्न सिकेका बालबालिकाहरूले समेत “सर्वशक्तिमान्‌ परमेश्‍वर” भनी पुकार्नेछन्!

— वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ३५” बाट उद्धृत गरिएको

१७. केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्‍वरको इच्‍छा सँधै परिवर्तन भइरहने भएकोले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्ने प्रमाण होइन—त्यस्तो बुझाई गलत हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१८. परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको महिमा कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टिहरूलाई उहाँको नयाँ इच्छा र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१९. यदि मानिसहरूले मलाई सदैव येशू ख्रीष्ट भन्छन्, तर आखिरी दिनहरूको अवधिमा मैले नयाँ युग सुरु गरेको छु र नयाँ काम सुरु गरेको छु भन्ने जान्दैनन् भने, र यदि मानिसहरूले मुक्तिदाता येशूको आगमनलाई नै उन्मत्त रूपमा प्रतीक्षा गरिरहन्छन् भने त, म यस्ता मानिसहरूलाई त ममा विश्‍वास नगर्ने मानिसहरू भन्‍नेछु; तिनीहरू मलाई नचिन्ने मानिसहरू हुन्, र मप्रतिको तिनीहरूको विश्‍वास झूटो हो। के यस्ता मानिसहरूले स्वर्गबाट आउनुभएको मुक्तिदाता येशूको आगमनलाई देख्न सक्छन्? तिनीहरूले प्रतीक्षा गरेको कुरा मेरो आगमन होइन, तर यहूदीहरूका राजाको आगमन हो। यो अशुद्ध पुरानो संसारलाई मैले सर्वनाश गरेको तिनीहरू चाहना गर्दैनन्, बरु येशूको दोस्रो आगमनको उत्कट इच्छा गर्छन् जसमा तिनीहरूको उद्धार गरिनेछन्। अझै एक पटक यो अशुद्ध र अधर्मी मुलुकबाट सारा मानवजातिलाई येशूले उद्धार गर्नुभएको होस् भनी तिनीहरूले अपेक्षा गर्छन्। यस्ता मानिसहरूले आखिरी दिनहरूमा मेरो कामलाई पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्? मानिसको चाहनाहरू मेरा इच्छाहरू पूरा गर्न वा मेरो काम सम्पन्न गर्न असक्षम छन्, किनभने मानिसले मैले पहिले गरेका कामको मात्र सराहना गर्छन् वा कदर गर्छन्, र म सदैव नयाँ हुने र कहिल्यै पुरानो नहुने परमेश्‍वर स्वयम् हुँ भन्ने त तिनीहरूलाई थाहा नै छैन। मानिसले म यहोवा र येशू हुँ भन्ने मात्र जान्दछ र मानवजातिलाई समाप्‍त पार्ने आखिरी दिनहरूमध्ये एउटा म नै हुँ भन्ने कुराको कुनै आभास उसलाई छैन। मानिसले चाहेको र जानेका सबै कुराहरू तिनीहरूको आफ्नै धारणहरूबाट नै आउँछन् र यो तिनीहरूको आफ्नै आँखाले देख्न सक्ने कुराहरू मात्र हुन्‌। यो मैले गर्ने कामसँग मिल्दैन, तर योसँग असङ्गतमा छ।

— वचन देहमा देखा पर्नुहुन्छको “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट उद्धृत गरिएको

२०. के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास त गरे, तर जीवनको सत्यतालाई भने पछ्याएन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै अल्झिबस्‍ने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो विश्‍वास उपहासपूर्ण र हाँस्यस्पद छैन र? म तिमीहरूलाई अझै अरू कुराहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? के तैँले म येशूको विरोध गर्नेछैनँ भनी साँच्‍चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुसरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि छैनस् भन्‍ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसअतिरिक्त, तिनीहरूले येशूको पुनरागमनलाई शैतानको छलको रूपमा देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, सेतो बादलमा येशू देह भई फर्कनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई भन्छुः सत्यता ग्रहण नगर्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरूले निश्‍चय नै पवित्र आत्माको निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौं; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गरेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के कुरालाई समातिराख्‍नेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बारम्बार स्वीकार गर्ने गर्छौ, के सच्‍चाइ यही हो? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरू के बलि चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्‍च पार्ने वर्षौँको कार्य हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के कुरालाई समातिराख्‍नेछौ? कुनै सत्यता पालन नगर्ने के तिमीहरूको त्यही अहङ्कारी प्रकृति होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ” बाट उद्धृत गरिएको

अघिल्लो: २. देहधारणको सत्यता सम्बन्धमा

अर्को: ४. अनुग्रहको युगको मुक्ति र राज्यको युगको मुक्तिको सत्यता सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा,...

अध्याय १०

आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छन्, त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्