छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा, हरेक युगको प्रकृतिअनुसार, मेरो कार्य अन्तर्वस्तुमा भिन्‍नभिन्‍न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरू पूरा गर्छ—वा अझै स्पष्ट रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिअनुसार यो कार्य गरिन्छ। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु, मेरो विवेक र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानको सबै युक्तिहरू उजागर गर्नु, र त्यसमार्फत शैतानको राज्यक्षेत्रभित्र जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउन र शैतानको असहनीय कुरूपता प्रकट गर्नको लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृष्टि गरिएका प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने मौका दिनको लागि हो, म नै सबै थोकको शासक हुँ भनी थाहा दिनको लागि हो, शैतान मानवजातिको शत्रु हो, पतित दुष्ट हो भनी स्पष्टसित देखाउनको लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने मौका दिनको लागि हो। यसरी, अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानवजातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले खुसीसाथ उपभोग गर्ने कुराहरू दिन सक्छु; अनि तिनीहरूले जान्‍नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरे तर पछि त्यो मेरो विरुद्ध खडा भयो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृष्टि गरिएका प्राणीहरूलाई मेरो गवाही दिन, मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्‍न सक्षम बनाउने प्रभाव हासिल गर्नको निम्ति म यसरी काम गर्छु। यसर्थ, मेरो छ-हजार-वर्षे व्यवस्थापन योजनाको सुरुवाती कार्यको दौरान, मैले व्यवस्थाको कार्य गरे, र त्यो कार्य यहोवाले मानिसहरूलाई अगुवाई गर्नुभएको कार्य थियो। दोस्रो चरण अनुग्रहको युगको कार्यको रूपमा यहूदियाका गाउँहरूमा सुरु भयो। येशूले अनुग्रहको युगका सबै कार्यहरूको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ देहधारी हुनुभयो, र क्रूसमा टाँगिनुभयो, र उहाँले अनुग्रहको युग पनि सुरु गर्नुभयो। उहाँ छुटकाराको कार्यलाई पूरा गर्न, व्यवस्थाको युग अन्त्य गर्न र अनुग्रहको युग सुरु गर्नको निम्ति क्रूसमा टाँगिनुभयो, र त्यसैले उहाँलाई “सर्वोच्‍च सेनापति,” “पापबलि,” र “छुटकाराकर्ता” पनि भनिन्छ। परिणामस्वरूप, अन्तर्वस्तुको हिसाबमा येशूको कार्य यहोवाको कार्यभन्दा भिन्‍न थियो, जबकि तिनीहरू एकै सिद्धान्तका थिए। यहोवाले व्यवस्थाको युग सुरु गर्नुभयो, र पृथ्वीमा परमेश्‍वरको कार्यको लागि आधार—सुरुवात विन्दु—स्थापना गर्नुभयो, र व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। यी उहाँले गर्नुभएका दुईवटा कार्यहरू हुन्, र यिनले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्छन्। येशूले अनुग्रहको युगमा गर्नुभएको कार्य व्यवस्था जारी गर्नको लागि थिएन, बरु त्यसलाई पुरा गर्नको लागि थियो, र यसरी अनुग्रहको युग आरम्भ गर्नु थियो र दुई हजार वर्षसम्म रहेको व्यवस्थाको युग समाप्त गर्नु थियो। उहाँ पथप्रदर्शक हुनुहुन्थ्यो, जो अनुग्रहको युगको सुरुवात गर्न आउनुभयो, तर पनि उहाँको कार्यको मुख्य हिस्सा छुटकाराको कार्य थियो। त्यसैले उहाँको कार्य पनि दुई भागको थियो: नयाँ युगको सुरुवात गर्ने, र उहाँको क्रूसीकरणद्वारा छुटकाराको कार्य पूरा गर्ने। यसपश्‍चात् उहाँ बिदा हुनुभयो अनि व्यवस्थाको युगको अन्त्य भयो र अनुग्रहको युगको सुरुवात भयो।

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसहरूको आवश्यकताबमोजिम थियो। उहाँको कार्य मानवजातिलाई छुटकारा दिलाउनु थियो, तिनीहरूलाई तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्णतया नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेमिलोदयालुपनले भरिएको थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिष्‌हरू र मानिसहरूले आनन्द लिन सक्‍ने सबै कुराहरू ल्याउनुभयो, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति शान्ति र खुसीका साथै उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमिलोदयालुपन दिनुभयो। त्यस समयमा, मानिसहरूले सामना गरी आनन्द लिन सक्‍ने कुराहरूको प्रचुरता—तिनीहरूको हृदयभित्रको शान्ति र सुरक्षाको आभास, तिनीहरूको आत्माहरूभित्र निश्‍चिन्‍तपनको भावना, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—यी सबै नै तिनीहरू बाँचेको त्यस युगअनुसारका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यही कारणले गर्दा, सबै मानवजातिलाई छुटकारा गर्ने कार्य हासिल गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र अझ भन्‍ने हो भने, लक्षित प्रभाव हासिल हुनलाई मानवजातिका पापहरूको प्रायश्‍चितको लागि पर्याप्त हुने एक बलिको आवश्यकता थियो। मानवजातिले अनुग्रहको युगमा जे देखे त्यो केवल मानवजातिका पापहरूको निम्ति मेरो प्रायश्‍चितको बलि थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै थाहा पाए, र तिनीहरूले येशूको कृपा र प्रेमिलोदयालुपन मात्रै देखे। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको छुटकारा हुनुअगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्‍द उपभोग गर्नुपर्थ्यो जुन अनुग्रहहरू येशूले तिनीहरूमाथि बर्साउनुभएको थियो ताकि तिनीहरूले यसबाट फाइदा लिन सकून्। यस तरिकाले, अनुग्रहको आनन्द उपभोगमार्फत तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्द उपभोगमार्फत छुटकारा पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यतामार्फत मात्र तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जित्थे। यो त येशूले म धर्मीलाई होइन बरु पापीलाई छुटकारा दिलाउन आएको छु, पापीहरूलाई तिनीहरूका पापहरूको क्षमा दिन आएको छु भनेर भन्‍नुभएजस्तै हो। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घन नसहने स्वभाव लिएर आउनुभएको भए मानिसले छुटकारा पाउने अवसर कहिल्यै पाउँदैनथ्यो र ऊ सदाको लागि पापी रहनेथ्यो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षे व्यवस्थापन योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसका पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढिरहन्थे र मानवजातिको सृष्टि व्यर्थको हुनेथ्यो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू सृष्टि गरिएका पहिलो मानिसहरूको भन्दा अधिक हुनेथ्यो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त कृपा र प्रेमिलोदयालुपन बर्साएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, येशूद्वारा मुक्ति पाउनको लागि र येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभएको हराएको थुमा कहलिनको लागि मानवजाति त्यति नै धेरै हकदार भयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँका अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटी स्‍नेही आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुहुन्‍नथ्यो, बरु सान्त्वनाले भरिएको हुनुहुन्थ्यो; उहाँ तिनीहरूको माझमा रिसको आवेगमा आउनुभएन, बरु उहाँले तिनीहरूका पापहरूमा सहिष्णुता राख्‍नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो कि उहाँले भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरीपटक क्षमा दिनु।” यसरी उहाँको हृदयद्वारा अरूहरूको हृदय रूपान्तरित भयो, र यसरी मात्र उहाँको सहिष्णुतामार्फत मानिसहरूले आफ्नो पापको क्षमा प्राप्त गरे।

येशू उहाँको देहधारणमा पूर्ण रूपले बिनाभावनाको हुनुभएको भए पनि, उहाँले सधैँ उहाँका चेलाहरूलाई सान्त्वना दिनुभयो, तिनीहरूको लागि आवश्यक कुराहरू जुटाउनुभयो, तिनीहरूलाई मदत गर्नुभयो र तिनीहरूलाई साथ दिनुभयो। उहाँले जति नै काम गर्नुभएको भए पनि, वा उहाँले जति नै दुख सहनुभएको भए पनि, उहाँले कहिल्यै पनि मानिसहरूलाई अत्यधिक मापदण्डहरू दिनुभएन, उहाँ त तिनीहरूको पापप्रति सधैँ धैर्य र सहिष्णु भई बस्‍नुभयो, अनि अनुग्रहको युगका मानिसहरूले उहाँलाई प्रेमले “प्रेमिलो मुक्तिदाता येशू” भनी बोलाए। त्यस समयका मानिसहरूको लागि—सबै मानिसहरूका लागि—येशूमा जे थियो र येशू जे हुनुहुन्थ्यो, त्यो कृपा र प्रेमिलोदयालुपन नै थियो। उहाँले मानिसहरूको अपराधहरू कहिल्यै सम्झनुभएन, र तिनीहरूप्रति उहाँको व्यवहार कहिल्यै पनि तिनीहरूको अपराधमा आधारित थिएन। त्यो एउटा बेग्लै युग थियो, त्यसैले उहाँले धेरैपटक मानिसहरूलाई भरपूर मात्रामा भोजन दिनुभयो ताकि तिनीहरूले आफ्नो पेट भर्न सकून्। उहाँले आफ्ना सबै चेलाहरूलाई अनुग्रहद्वारा व्यवहार गर्नुभयो, बिरामीहरू निको पार्नुभयो, भूताहरू धपाउनुभयो, मरेकालाई जीवित पार्नुभयो। मानिसहरूले उहाँमा विश्‍वास गर्न सकून् र उहाँले सबै कुरा गम्भीरतापूर्वक र इमानदारीपूर्वक गर्नुभएको थियो भनी देख्‍न सकून् भनेर, उहाँले एउटा सडिसकेको लासलाई समेत पुनरुत्थान गर्नुभयो, र यसमार्फत उहाँको हातमा मृतक मानिस पनि जीवनमा फर्केर आउन सक्छ भनी देखाउनुभयो। यस तरिकाले, उहाँले चुपचाप सहेर तिनीहरूमाझ उहाँको छुटकाराको कार्य गर्नुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा नै, येशूले आफैमा मानवजातिका पापहरू लिइसक्‍नुभएको र मानवजातिको लागि पापबलि बनिसक्‍नुभएको थियो। क्रूसमा टाँगिनुपहिले नै, उहाँले मानवजातिलाई छुटकारा दिलाउन क्रूसको बाटो खोलिसक्‍नुभएको थियो। अन्ततः उहाँ क्रूसमा टाँगिनुभयो र क्रूसको खातिर आफैलाई बलि चढाउनुभयो, र उहाँले मानवजातिलाई आफ्नो सबै कृपा, प्रेमिलोदयालुपन, र पवित्रता दिनुभयो। मानवजातिप्रति, उहाँ सधैँ सहनशील हुनुहुन्थ्यो, कहिल्यै प्रतिशोधपूर्ण हुनुहुन्‍नथ्यो, र उहाँले तिनीहरूका पापहरूको क्षमा दिनुहुन्थ्यो, तिनीहरूलाई पश्‍चाताप गर्न प्रेरित गर्नुहुन्थ्यो, र तिनीहरूलाई धैर्यता, संयम र प्रेम धारण गर्न, उहाँको कदम पछ्याउन र क्रूसको खातिर आफूलाई बलि दिन सिकाउनुहुन्थ्यो। दाजुभाइ र दिदीबहिनीहरूको लागि उहाँको प्रेम मरियमको लागि भन्दा बढी थियो। उहाँले गर्नभएका कामले बिरामीहरू निको पार्ने र भूतहरू धपाउने कार्यलाई सिद्धान्तको रूपमा लिए, र यी सबै उहाँले उहाँको छुटकाराको कामको खातिर गर्नुभएको थियो। उहाँ जहाँ जानुभए पनि, उहाँले उहाँलाई पछ्याउने सबैलाई अनुग्रही व्यवहार गर्नुभयो। उहाँले गरिबलाई धनी, लङ्गडोलाई हिँड्ने, अन्धोले देख्‍ने, र बहिरोले सुन्‍ने बनाउनुभयो। उहाँले सबैभन्दा तुच्छ व्यक्तिहरू, दरिद्रहरू, पापीहरूलाई समेत उहाँसँगै एउटै मेचमा बस्‍नको निम्ति आमन्त्रित गर्नुहुन्थ्यो, तिनीहरूबाट अलग्गै कहिल्यै बस्‍नुहुन्‍नथ्यो, बरु सधैँ धैर्यता राख्दै, यस्तो समेत भन्‍नुहुन्थ्यो: जब एउटा गोठालोले सयओटा भेडामध्ये एउटालाई हराउँछ, तब ऊ उनान्सय भेडालाई छोडेर त्यो एउटा हराएको भेडा खोज्न जान्छ, र जब उसले त्यसलाई भेट्टाउँछ ऊ अत्यन्त धेरै आनन्दित हुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई त्यसै गरी प्रेम गर्नुभयो जसरी एउटी भेडीले आफ्नो पाठालाई प्रेम गर्छे। तिनीहरू मूर्ख र अज्ञानी भए पनि, र उहाँको नजरमा पापी भए पनि, र साथसाथै समाजका सबैभन्दा तुच्छ सदस्यहरू भए पनि, उहाँले ती पापीहरूलाई—अरूले बहिष्कार गरेका ती मानिसहरूलाई—आफ्नो आँखाको नानीको रूपमा लिनुभयो। उहाँले तिनीहरूको पक्ष लिनुभएको हुनाले, वेदीमा बलि चढाइएको थुमाको रूपमा उहाँले तिनीहरूको निम्ति आफ्नो ज्यान दिनुभयो। उहाँ तिनीहरूको दास नै हुनुहुन्थ्यो जसरी तिनीहरूमाझ जानुभयो, र निसर्त आफैलाई तिनीहरूमा सुम्पिएर तिनीहरूलाई उहाँको प्रयोग गर्न र उहाँको हत्या गर्न दिनुभयो। उहाँका अनुयायीहरूको लागि उहाँ प्रेमिलो मुक्तिदाता येशू हुनुहुन्थ्यो, तर मानिसहरूलाई एउटा उच्‍च आसनबाट भाषण दिने फरिसीहरूलाई भने उहाँले कृपा र प्रेमिलोदयालुपन देखाउनुभएन, बरु घृणा र आक्रोश देखाउनुभयो। उहाँले फरिसीहरूको माझमा त्यति धेरै कामहरू गर्नुभएन, कहिलेकाहीँ तिनीहरूलाई प्रवचन दिने र गाली गर्ने मात्र गर्नुभयो; उहाँ छुटकाराको कार्य गर्दै तिनीहरूको माझमा जानुभएन, न त उहाँले चिन्हहरू र अचम्मका कामहरू नै देखाउनुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई सबै कृपा र प्रेमिलोदयालुपन देखाउनुभयो, र अन्तिमसम्म यी पापीहरूका खातिर उहाँले कष्ट सहनुभयो र उहाँ क्रूसमा टाँगिनुभयो, र उहाँले पूर्ण रूपमा सबै मानवजातिलाई छुटकारा नदिलाउन्जेल हर अपमान सहनुभयो। यो नै उहाँको कार्यको समग्रता हो।

येशूको छुटकाराबिना, मानवजाति सदा पापमा जिउनेथ्यो र पापको सन्तान बन्‍नेथ्यो, दुष्टका सन्तान बन्‍नेथ्यो। यही कुरा नै जारी रहेको भए, पुरै संसार शैतान बस्‍ने जगत्, शैतानको बासस्थल बन्‍नेथ्यो। यद्यपि, छुटकाराको कार्यको लागि मानवजातिप्रति कृपा र प्रेमिलोदयालुपन देखाउन आवश्यक थियो; त्यस्तो माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः परमेश्‍वरद्वारा पूर्ण पारिने र पूरै रूपमा प्राप्त गरिने हक पाउन सक्थ्यो। यस चरणको कार्यबिना, यो छ-हजार-वर्षे व्यवस्थापन योजनाले प्रगति गर्न सक्दैनथ्यो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीहरू निको पार्ने र भूतहरू भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिँदैनथ्यो। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षको अवधिमा, उहाँले आफ्नो छुटकाराको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, उहाँले क्रूसमा टाँगिएर र पापी देहको स्वरूप बनेर अनि दुष्टको हातमा आफैलाई सुम्पिएर क्रूसीकरणको कार्यलाई पूरा गर्नुभयो र मानवजातिको भवितव्यलाई काबू गर्नुभयो। उहाँले आफूलाई शैतानको हातमा सुम्पिनुभएपछि मात्रै मानवजातिलाई छुटकारा दिलाउनुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्‍नुभयो, उहाँको गिल्ला गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, यहाँसम्म कि उहाँको शिर राख्‍ने ठाउँ थिएन, विश्राम गर्ने स्थान थिएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्वसहित—एउटा पवित्र र निर्दोष शरीरसँगै—क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरप्रकारको कष्ट सहनुभयो। सत्तामा रहेकाहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सैनिकहरूले उहाँको मुखमा समेत थुके; तैपनि उहाँ चुप भई बस्‍नुभयो र अन्त्यसम्मै सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुससम्मै सुम्पिनुभयो, र यसमार्फत उहाँले सबै मानवजातिलाई छुटकारा दिलाउनुभयो। तब मात्रै उहाँले विश्राम लिन पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो आखिरी दिनहरूको कार्यको प्रतिस्थापन नै थियो। अनुग्रहको युग अर्थात् दोस्रो युग—मानवजातिले पार गरिसकेको छुटकाराको युग—मा येशूले गर्नुभएको कार्यको सार यही हो।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (३)

अर्को: आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय ४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो भेलामा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गर्‍यौँ। त्यो के थियो के तिमीहरूलाई सम्झना छ? म त्यो कुरा...

अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

अन्धकारको प्रभाव भनेको के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको छल, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्